‘ओली र प्रचण्ड राजा हुन्, लडिन्छ यिनीहरुसँग’, मार्सी चामल खायो भन्दैमा सम्बन्धन दिने ?



 

ओलीजीले चाहिँ उनको क्षेत्रमा एउटा भ्यु टावर खोल्ने रे । त्यसमा एक अर्ब थप्यो भने त उनकै क्षेत्रमा सरकारी मेडिकल कलेज खुल्छ । त्यो भ्यु टावर त प्राइभेटलाई दिए भैहाल्यो नि । टिस्टासम्म देखिने भ्यु टावर रे ! साम्यवादी नेताको त्यो प्राथमिकता हो ? पुँजीवादी देशका क्रोनी क्याटालिस्टले पनि लाज मान्छन् यस्तो गर्न ।

 

म इलाममा मेडिकल कलेज, अस्पताल खोल्नुपर्छ भनेर दबाव दिन गएको हो । त्यो मेची अञ्चल त ओलीजीको क्षेत्र हो । झलनाथ खनालजीको हो । सुवास नेम्वाङजीको हो । यी छन् नि आफूलाई युवा नेता हो भन्छन् (योगेश) । जनताले दिएको तलब भत्ता खान्छन् । तर, यिनीहरु माफियाको काम गरिराखेका छन् ।

 

साम्यवादी सरकार भएको ठाउँमा मनपरीतन्त्र ढंगले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण गरेका छन् । साम्यवादी, समाजवादी भनिएका शीर्षस्थ नेताहरुले माफियासँग साँठगाँठ गरिरहेका छन् ।

 

ओली र प्रचण्ड राजा हुन् !

संसद, समिति, उपसमितिचाहिँ सार्वभौम हुन् रे ! अहिले के छ भनेदेखि, चाहे प्रधानमन्त्री हुन्, चाहे राष्ट्रपति हुन्, चाहे मन्त्री हुन्, चाहे सांसद हुन्, जे हुन्, अहिले उनीहरु नेपाली जनताको मालिकका रुपमा व्यवहार गरिरहेका छन् । मालिक । राजाका रुपमा व्यवहार गरिरहेका छन् । उनीहरु भनेका त तीन करोड नेपालीका नोकर हुन् । म त सेवक पनि भन्न चाहदिनँ कि नोकर हुन् । र, सार्वभौम भनेको को रहेछ भने ओलीजी र मन्त्रीहरु रहेछन् । केही हदसम्म प्रचण्डजी रहेछन् ।

 

किनभने, ओली र प्रचण्डजीले कालोलाई सेतो भनिदिएदेखि त्यहाँका सबै सांसदहरु कालोलाई सेतै भन्छन् । त्यो संसद सार्वभौम हैन । ओलीजी र प्रचण्डजीले जे भने, त्यही हुने हो । र, उनीहरुले गर्ने भनेकै माफियाको काम गरिदिने हो । माफिया, बिचौलिया र दलाल । अहिले राज्य माफिया, बिचौलिया र दलालहरुले चलाइरहेका छन् ।

 

सार्वभौम को हो ? ओलीजी र त्यसपछि प्रचण्डजी हो । अहिले उनीहरु राजा हुन् । हामीलाई अहिले पनि रैतीको व्यवहार गरिरहेका छन् । हामी नेपाली रैती हैन, सार्वभौम नेपाली नागरिक हौं । र, सरकार, चाहे व्यवस्थापिका भनौं, चाहे न्यायपालिका, यिनीहरु जनताका सेवक हुन् । कुरो बुझ्नु भो त ?

 

मार्सी चामल खुवायो भन्दैमा सम्बन्धन दिने ?

बीएण्डसीलाई सम्बन्धन किन दिने ? अरुलाई किन नदिने ? बीएण्डसीमा प्रचण्डजीको अबौर्ं रुपैयाँ छ भन्दैमा दिने हो र ? अथवा ओलीजी र प्रचण्डजीले उनीहरुको मार्सी चामल खाए भन्दैमा सम्बन्धन दिने हो र ? अरुचाहिँ छैनन् ?

नेपालमा १५ वटा मेडिकल कलेज छन् । तीनवटा मात्रै सरकारी मेडिकल कलेज छन् । संसारमा कहीँ पनि नभएको ! अनि के उनीहरुलाई मात्र सम्बन्धन दिँदै हिँड्ने ?

ऐनमा त लेखि नै सकेको छ नि, जुन क्षेत्रमा हो, त्यो क्षेत्रको युनिर्भसिटीले आफ्नो आंगिक क्याम्पस खोल्छ । त्यसपछि उनीहरुले निजी मेडिकल कलेजलाई सम्बन्धन दिने हो । त्यो कुरा प्रावधानमै उल्लेख गरिएको छ ।

 

पत्रिकामा लेखिएको मैले हिजो पढेँ । त्यसैका आधारमा मैले भनेको हुँ, उनीहरु त सार्वजनिक किन गर्थे ? गर्दै गर्दैनन् । उनीहरुलाई त षडयन्त्र गर्नु छ । फेरि चोरी काम गरेर देश लुट्नु छ । मफिया पोस्नु छ । माफिया पोस्नु भनेको आफू पोस्नु हो ।

शीर्षस्थ नेताको कृपा भयो भनेर अस्पताल चलाएको छ, के चलाएको छ । एउटा माफिया भयो, डन भयो भन्दैमा जे पनि गर्न पाइन्छ ? कुर्न पर्‍यो ।  पूर्वाञ्चल हो भनेदेखि पूर्वाञ्चल विश्वविद्यालय छँदैछ । पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो आंगिक क्याम्पसलाई सम्बन्धन दिइहाल्छ । हो, इलाममा हो भने त्यहाँ खोल न ।

 

नेताका ठाउँमा हामीले लड्नुपर्ने ?

त्यो (नेताका) ठाउँमा अस्पताल बनाऔं भनेर हामी लड्छौं । त्यहाँबाट निर्वाचित गरेको सांसदले चाहिँ माफियालाई पोसेर जनतालाई धोका दिनेे ? जनताको भुँडीमा लात्ती मार्ने ? यो जनतालाई धोका दिएको हैन ? भोट दिएपछि जनताको हकहित गर्नुपर्ने हो नि । के सोझासाधा नागरिकलाई बेवकुफ बनाउने ? योगेश भट्टराईजी, भन्नोस् त ।

 

म भर्खर एउटा अप्रेसन गरेर आएको हुँ । उनको घर सिन्धुली । उनी पाँचथरमा काम गर्ने । गरीब मान्छे । त्यही अस्पताल भइदिएको भए सजिलो हुन्थ्यो, ज्यान पनि खतरामा हुँदैनथ्यो । तर, त्यहाँबाट यहाँ ल्याइयो । उनको खुट्टा काट्नुपर्ने । सिन्धुलीको मान्छे, पाँचथरमा दुर्घटनामा परेको मान्छे ।

 

ताप्लेजुङ, पाँचथर, इलाम र तेथ्रथुमका मान्छेको यही अवस्था छ । उनीहरु उपचारका लागि काठमाडौं आउनुपर्छ । त्यहीँ अस्पताल बनाइदिएको भने के हुन्थ्यो ? भनेपछि ओलीजी, योगेश भट्टराईजी, खगराज अधिकारीजी, आफूलाई साम्यवादी भन्ने तर, यिनीहरु जनता मार्न माफियासँग लागेका छन् । जनतामारा, विद्यार्थीमारा हुन् यिनीहरु । सर्वहारावादी भन्छन्, तर सर्वहारामारा हुन् यिनीहरु ।

 

८० प्रतिशतभन्दा बेसी जनता ग्रामीण भेगमा बस्छन् । साधारण रोगको उपचार नपाएर उनीहरुले दीर्घरोगी भएर बस्नुपर्ने हुन्छ । अथवा ऋण गरेर उपचार गर्नलाई शहरमा जानुपर्छ । ती ठाउँमा अस्पताल खोल्नुपर्छ । संविधानले दिएको अधिकार हो यो । स्वास्थ्यसम्बन्धी संविधानले दिएको नैसर्गिक अधिकार हो यो ।

 

ग्रामीण भेगमा सरकारी मेडिकल कलेज खोल्नुपर्‍यो । ग्रामीण भेगमा खोलिसकेपछि त्यहाँका जनताले पनि गुणस्तरीय स्वास्थ्य सेवा पाउँथे । डाक्टर पनि त्यहीँ, नर्स पनि त्यहीँ बन्थे । त्यहीँ नै सेवा पनि गर्थे । त्यो ठाउँको समग्र विकास पनि हुन्थ्यो । यो त राज्यका लागि अवसर हो नि, हैन र ?

 

४ नम्बरमा मेडिकल कलेज हुनुपर्छ भनेर हामी लडिरहेका छौं, खगराजजीलाई त्यो मतलब छैन । भनेपछि, यो सरकारमा यिनीहरु माफियाका लागि आएका हुन् कि जनताको काम गर्न आएका हुन् ? कर्णालीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएको ७ वर्ष भइसक्यो । अहिलेसम्म खोल्न दिएको छैन । अनि हामीले त्यहाँ गएर लड्नुपर्छ ।

 

प्रत्येक प्रदेशमा मेडिकल कलेज खोल्ने भनिएको छ । कालो धनलाई सेतो बनाउन खोलिएका माफियाहरुको मेडिकल कलेजलाई सम्बन्धन दिने ? यिनीहरु अपराधी हुन् । जनताको हकहितमा ऐन बनाउँछन् भनेर यिनीहरुलाई जनताले जिताएर पठाएका हुन् । जनताले तिरेको करबाट यिनीहरुले तलब भत्ता खान्छन् । यिनीहरुले देशै खाइसकेका छन् ।

 

प्रचण्डजीको राजनीतिक उदगमस्थल कहाँ हो थाहा छ ? रोल्पा भनेको राप्ती अञ्चलमा छ । त्यही राप्तीका मान्छेहरु सानो उपचारका लागि कि नेपालगञ्ज पुग्छन्, कि काठमाडौं आउँछन्, कि इण्डिया जानुपर्ने हुन्छ । सुशील कोइरालाका पालामा मैले दाङमा बनाउने भनेको । तर, दाङमा बनाउन दिएनन् । त्यो अवधारणापत्र लुकाइदिए । पछि म अनुसन बस्छु भनेपछि बल्ल खोले ।

 

भनाइको मतलव, प्रचण्डजीको राजनीतिक उदगमस्थल त राप्ती क्षेत्र हो । तर, हामीले लडेर, हाम्रो सत्याग्रहपछि त्यहाँ प्रतिष्ठान खोलियो । उनले प्रधानमन्त्री हुञ्जेल के गरे भने नि, उनको कालो धन सेतो गर्नलाई, त्यसलाई सम्बन्धन दिनलाई बारम्बार पदको दुरुपयोग गरे ।

 

मैले भनेको, इलाममा सरकारी मेडिकल क्याम्पस खोल । त्यसो भएमा यो पूर्वाञ्चलको आंगिक क्याम्पस भो । आंगिक क्याम्पस भैसकेपछि त्यसपछि देऊ न मेडिकल कलेजलाई । त्यसका लागि कुर्नुपर्‍यो । चार वर्ष लाग्ला । पाँच वर्ष लाग्ला । तर, त्यो मतलब छैन हेर्नुस् । इलाममा सरकारी मेडिकल कलेज खोल्न उहाँहरुलाई कुनै मतलव छैन ।

दाङ्गमा पनि आफ्नै कार्यकर्ता छन् । फेरि, लड्यौं हामीले । योग्य व्यक्तिहरुलाई प्रतिष्ठानमा राख्ने भन्ने पनि छैन । त्यहाँ पनि सबै पार्टीगत छ । पैसाको कुरो, आर्थिक चलखेल छ । धनगढीमा पनि त्यस्तै भयो ।

 

सरकारी मेडिकल कलेज तीनवटा मात्र छन् । १५ वटा निजी छन् । संसारमा काहीँ नभएको यो । अब केलाई निजी हुनुपर्‍यो ? अब त सरकारी मेडिकल कलेज हुनुपर्‍यो । ९५ प्रतिशत नेपालीहरुले आफ्ना छोराछोरीलाई डाक्टर/नर्स पढाउन सक्दैनन् । भनिसकेपछि पाँच प्रतिशतका लागि चाहिँ १५ वटा मेडिकल कलेज ? अनि ९५ प्रतिशतलाई चाहिँ जम्मा तीनवटा सरकारी मेडिकल कलेज ?

 

हामीले जुन गरिरहेका छौं, यो भनेको वास्तवमा त उनीहरुको (सरकारको) काम हो नि । ऐन बनाऊ भनेर हामी लडिरहेका छौं । यो काम त तिनै नेतृत्व पक्षको हैन ? ती सम्झौता हामीसित गर्ने, सम्झौता तोड्ने । अनि यिनीहरु माफिया नभएर को हुन् ? यिनीहरु साम्राज्यवादी हुन् । जनतामारा, विद्यार्थीमारा हुन् । माफियावादी हुन् ।

 

लडिन्छ यिनीहरुसँग !

देशमा अहिले अराजकता छ । दण्डहीनता छ । अपराध छ । भ्रष्टाचार त्यत्तिकै भइराखेको छ । अहिले आएर सांसदहरुले माफियालाई पोस्ने काम गरिरहेका छन् । जनताले जिताएर पठाएका यिनीहरुलाई कुर्सीमा बस्न नैतिकरुपले दिँदैन । लडिन्छ यिनीहरुसँग ।

मैले पहिले नै भनेको थिएँ, अनसन सिद्धिइसकेपछि म प्रधानमन्त्री ओलीजीलाई भेट्न गएँ । उहाँको नियत ठीक छैन है भनेर मैले पहिल्यै भनिसकेको थिएँ ।

 

त्यसकारण, हामीसँग भएको सम्झौता अनुसार भएन भने म २५ गते अगाडि नै अनसन बस्छु ।
यो जुन अराजकता छ, भष्टाचार छ । यो दुई तिहाई भनेको लुट्नलाई दिएको हो ? जनतालाई धोका दिनलाई दिएको हो ? जनतालाई यिनीहरुले धोका दिन पाउँछन् ? यो हुन सक्दैन ।

म अब यो प्वाइन्टमा मात्र सीमित रहनेवाला छैन । मानताविरोधी क्रियाकलाप गर्ने नेतादेखि लिएर सबैलाई अबचाँहि छोडिँदैन हेर्नोस् । सबैलाई जवाफदेही बनाएर छोडिन्छ ।

 

‘म अनसन बस्छु, त्यसपछि हेरौं’

यो ओलीजीको सरकार हैन ? म २६ दिनमा हुँदाखेरि ओलीजीले माफियाको पक्षमा लागेर दुईवटा बुँदा थपेर ब्याकमेलिङ गर्न लगाए । म जीवन र मरणको वीचमा लडिराखेका बेलामा । त्यो सम्झौता कार्यान्वयन गरेनन् । यदि माफिया पोस्ने, दलाल पोस्ने विधेयकको हामीले विरोध नगरेको भए दुई तिहाई बहुमतबाट एकै दिनमा पास हुन्थ्यो ।

 

ओलीजीकै सरकारसँग सम्झौता गरेको हो हामीले । फेरि त्यसलाई तोडमोड गर्ने र फेरि समितिमा पठाउने ? त्यसकारण बहुमतले जनता मार्ने निर्णय गरे । बहुमतले विद्यार्थी मार्ने निर्णय गरे ।
म के भन्छु भने सम्झौतामा अक्षरशः जे लेखेको छ, त्यो हुँदैन भने म बस्छु । त्यसपछि हेरौं । ओलीजी, प्रचण्डजी र अर्को नारायणकाजीजी हेर्नुहोस्, म चेतावनी दिन्छु । तपाईका कार्यकर्ताहरुलाई ठीक गर्नोस् । र, हामीसँग सम्झौता गरेको एक शब्द पनि चेञ्ज नगरिकन ऐन आउनुपर्छ ।

 

मलाई पहिलेदेखि नै थाहा छ । के थाहा छ भने नेताहरु यस्तै हुन् । म धेरै भुक्तभोगी भैसकेको छु । उनीहरुसित गएर कुरा गर्न गयो, पछि गएर मिडियामा के भन्छन् भने, डाक्टर साबसित कुरा भयो, उनी आˆनो स्वार्थ हेरेर सहमत हुनुभयो भन्छन् । मैलेे हैन, यिनीहरुले गलत भने भनेर कतिलाई भन्दै हिँड्ने ? मैले यस्तो धोका धेरैपटक खाइसकेको छु ।

 

सीटीइभीटी फेजआउटबारे

सीटीइभीटीको फेजआउट जुन छ, सर्टिफिकेट लेभलभन्दा तलको पढाइलाई फेजआउट गर्ने भनेको हो । फेजआउटको मतलव यो हैन कि जागिर खाइरहेको मान्छेलाई जागिरबाट हटाउने । उहाँहरुले ३०/४० वर्षदेखि सेवा दिइरहनुभएको छ, त्यसको म कदर गर्छु ।

तर, डेढ वर्ष पढेर कति चाहिँ ज्ञान हुन्छ ? जब कि हामी १८-२० वर्ष पढ्दा त कति कुरा मिस हुन्छ । फेरि इलेक्टि्रसिटी, प्लम्बर र स्वास्थ्य भनेको एउटै पनि हैन । यो भनेको त संवेदनशील क्षेत्र हो । त्यसकारण हामीले के भनेका छौं भनेदेखि त्यसलाई ५ वर्षमा फेजआउट गर्ने ।

 

अनमी, अहेब पढ्नलाई एसईई चाहिने हो र हेल्थ असिस्टेण्ट अनि स्टाफ नर्स पढ्न पनि एसईई नै चाहिने हो भने अब जुन पहिले डेढ वर्षको कोर्स पढ्थे, अबचाँहि तिनीहरुले साढे दुई वर्ष वा तीन वर्षवाला कोर्स पढ्न पाउँछन् । र, डेढ वर्ष पढ्नेले भन्दा अढाई वर्ष/तीन वर्ष पढ्नेले गुणस्तरीय सेवा पनि दिन्छन् ।

शहरमा सुपरस्पेसलिष्टको अवधारणा आएको छ भनेर उनीहरुलाई देखाउने । अनि नेताहरु चाहिँ उपचारका लागि विदेश जाने ।

ग्रामीण भेगका जनता जसले आˆनो पेट काटेर उनीहरुलाई त्यहाँसम्म पुर्‍याए, तलब भत्ता खुवाए, उनीहरुलाई चाँहि गुणस्तरहीन सेवा दिएर हुन्छ ?

 

‘गगन थापालाई धन्यवाद दिन्छु’

म गगन थापालाई हार्दिक धन्यवाद दिन चाहन्छु । त्यस्तो नेता चाहिन्छ । गगन थापालाई प्रशंसा गर्‍यो भनेर माओवादी एमालेका नेताहरुले मलाई गाली गर्थे रे । देखिहाल्नुभो नि के गरे यिनीहरुले ? माफिया पोस्ने काम गरे । जनतालाई लात मारे ।

 

उनले मन्त्री हुँदा पनि स्वास्थ्य सेवामा सुधारका कामहरु गरे । ग्रामीण भेगमा पनि सरकारी मेडिकल कलेज खोल्नुपर्छ भनेका थिए, अहिले आएर पनि उनले लडिराखेका छन् । एक्लै भए पनि लडे । तपाईहरुले बुझ्नुहोस्, संसदमा कतिजना सांसद छन् ? त्यसमा कतिजनाचाहिँ लड्नेखालका रहेछन् त ? लु भन्नुहोस् त तपाईहरुले ।

 

अस्ति म इलाम गएँ । म पचहत्तरै जिल्लामा बारबार गएको छु । मैले देखेको छु, कहाँ के चाहिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमका पूर्वीभाग र इलामका मान्छेले उपचार गर्न झापा, बिराटनगर, धरान वा सिलिगुडी जानुपरिरहेको छ ।

 

हाम्रो प्राथमिकता भनेको पाँचथर वा इलाममा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्‍यो । त्यो तीनसय बेडको हुनुपर्छ, त्यहाँ विशेषज्ञहरु हुनुपर्छ । यसो गरेमा त्यस क्षेत्रमा मान्छेले डाक्टर पढ्न पाउने थिए, नर्स पढ्न पाउने थिए । त्यहाँका मान्छेले रोजगारी पाउने थिए । त्यसका लागि हामीले बारबार लड्नुपर्छ । म त्यहाँ गएको कारण के हो भने यसका लागि दबाव पुगोस् ।

 

तर, त्यहाँका नेताहरुलाई केही मतलब छैन । मैले यहाँ आएर पो थाहा पाएँ, ताप्लेजुङका सांसद खुब ठुल्ठुलो कुरो गर्ने, उसले माफियाको हितका लागि यो ऐनको तोडमोड गर्ने लिडरसिप लिएको हो । यस्तोखालको लिडरसिप हुन्छ ?

(डा. केसीले सोमबार शिक्षण अस्पतालमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यक्त विचारको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने