आज पत्रकार सम्मेलन गरेर पर्यटन मन्त्री अधिकारीले राजीनामा दिने



 

वाइडबडी विमान खरीद प्रकरणमा जाेेेडिनु भएका पर्ययटन मन्त्री रवीन्द्र अधिकारीले आज सोमबार राजीनामा दिने बिषेश स्रोतको दाबी छ । मन्त्री अधिकारीले आज बिहान १० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

 

सोमबार नै लेखा समितिको बैठक तोकिएको छ । बिहान ११ बजे बस्ने बैठकले पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी भइरहेको छ । पर्यटन मन्त्री अधिकारीको त्रुटि देखिएको बताउँदै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिने समितिको तयारी छ ।

 

लेखा समितिको सिफारिस अगावै मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर आफ्नाे भनाइ राख्नु हुनेछ । मन्त्री अधिकारीले आइतबार राति अबेरसम्म बालुवाटारमाा छलफल गर्नु भएकाे छ ।

 

कृष्ण देवकोटा र सुगतरत्न कंसाकार निलम्बनमा !

 

वाइडबडी विमान खरीद प्रकरणमा मुछिएका पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार निलम्बनमा पर्ने भएका छन् ।

 

वाइडबडी विमान खरीद प्रकरणमा भ्रष्टाचार भएको छानबिन गर्न गठित लेखा समितिको उपसमितिले बनाएको प्रतिवेदनका आधारमा देवकोटा र कंसाकारलाई निलम्बन सिफारिस गर्न लागिएको हो ।

 

‘सोमबारको लेखा समिति बैठकमा प्रतिवेदनमाथि छलफल हुने र प्रतिवेदनका आधारमा तत्काल देवकोटा र कंसाकारलाई निलम्बन गर्न सिफारिस गरिनेछ,’ लेखासमितिका एक सदस्यले भने, ‘वाइड बडी विमान प्रकरणमा देवकोटा र कंसाकारको प्रत्यक्ष संलग्नता देखिएकाले निलम्बनकाे सिफारिस गरिन लागिएको हो ।’

ती सदस्यका अनुसार, पर्यटन मन्त्री रवीन्द्र अधिकारीबारे पनि लेखा समितिले धारणा बनाएको छ । ‘विमान खरीद प्रकरणमा पर्यटनमन्त्री अधिकारीको पनि गम्भीर त्रुटि देखिएकाले सोही अनुसार प्रक्रिया अगाडि बढाउन लेखा समितिले सिफारिस गर्ने छ ।’

 

राईलाई सफाइ
यस्तै, सोमबार हुने लेखासमितिको बैठकले प्रतिवेदनमा दोषी बनाइएका सचिव प्रेम राईलाई भने सफाइ दिने सम्भावना छ । ‘सचिव प्रेम राईका हकमा उपसमितिको प्रतिवेदन नै त्रुटिपूर्ण रहेको ठहर छ,’ एक सदस्यले भने, ‘राईलाई सफाइ दिइने सोच बनेको छ ।’

 

दुई पूर्वमन्त्रीमाथि छानबिन
यस्तै, लेखासमितिले पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही र जितेन्द्र नारायण देव तथा सचिव शंकर अधिकारीको हकमा छानबिनपछि ठहरे बमोजिम हुने गरी कारबाहीका लागि सिफारिस गर्ने भएको छ । वाइड बडी विमान भ्रष्टाचार प्रकरणलाई मिहीनसँग छानबिन गर्न लेखासमितिले मुद्दा अख्तियारमा पठाउने भएको छ । यो घटनाले विमान खरीद प्रकरणमा दोषीलाई कारबाहीका लागि बाटो खुलेको छ । अख्तियारले मुद्दा अनुसन्धान गर्दा अरु प्रभावकारी हुने आशा गरिएको छ ।

 

कंसाकारको प्रशस्त बदमासी
वाइड विमान खरीद प्रकरणमा वायुसेवा निगमका महाप्रबन्धक कंसाकार मुख्यरुपमा दोषी देखिएका छन् । यतिसम्म बदमासी भएको छ कि, कंसाकारले विमान खरीदका लागि पठाएको रकम समेत विभिन्न खातामार्फत पठाइएको खुलेको छ । विमान बैनाको रकम एउटा खातामा र पछिल्लो भुक्तानी अर्को खातामा समेत पठाएर कंसाकारले बदमासी गरेको उपसमितिकै प्रतिवेदनमा लेखा समिति पनि सहमत देखिएको छ ।

 

भूषण राणाबारे प्रतिवेदन मौन
यस्तै, वाइडबडी विमान प्रकरण छानबिन गर्न गठित उपसमितिले भूषण राणाबारे मौनता साधेकामा भने लेखा समितिका सदस्य र अन्य सांसदहरुले पनि चासो राखेका छन् । विमान खरीद प्रकरणमा भूषण राणाको पनि संलग्नता छ । सतहमा देखिने गरी कंसाकारले बदमासी गरे पनि यो विमान खरीद प्रकरणमा राणाको पनि संलग्नता छ ।

 

राणा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका साला तथा डा. आरजु राणाका भाइ हुन् । नेपाल वायुसेवा निगममा कंसाकारलाई महाप्रबन्धक बनाउने योजनासमेत राणाकै भएको उनका निकटवर्तीहरु बताउँछन् ।

 

आफ्नो मान्छे सत्तामा भएका बेला शक्ति दुरुपयोग गरेर राणा कंसाकारलाई महाप्रबन्धक बनाउन र विमान खरीद गर्ने योजना साकार पार्न सफल भएका थिए । प्रतिवेदनमा राणाबारे मौनता उपसमितिको अध्ययन कमी या संलग्नता नदेखिएको भन्नेबारे खुलेको छैन । तर सांसदहरु र लेखा समिति सदस्यहरुले राणालाई पनि छानबिनको दायरामा ल्याउनु पर्ने राय राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्