‘नेपाल बलियो बन्दै जाँदा धेरैका दोकान सुक्छन्’



हाम्रो इकोनोमि

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार याक एण्ड यति होटलमा सम्पादकहरुसँग ‘लञ्च मिटिङ’ गरे । सचिव शंकरदास बैरागीलाई दायाँतर्फ राखेर प्रस्तुत भएका मन्त्री ज्ञवालीले भने– ‘यो कुनै न्युजका लागि गरिएको छलफल होइन, तर गोप्य पनि होइन ।’

 

कार्यक्रममा परराष्ट्र सचिवले केही कुरा राखिसकेपछि मन्त्री ज्ञवालीले सामयिक विषयमा आफ्नो धारणा प्रस्तुत गरे । त्यसपछि उनले पत्रकारबाट सोधिएका विविध प्रश्नको जवाफ दिए । पछिल्लो समय भारत, चीन लगायतका सबै मित्र राष्ट्रहरुसँग सम्बन्ध सुध्रिएको र विश्व रंगमञ्चमा नेपालको क्षमता बढेको मन्त्री ज्ञवालीले दाबी गरे ।

 

मन्त्री ज्ञवालीको निश्कर्ष यस्तो थियो– ‘नेपालप्रति विश्वास बढेको छ । नेपालप्रति आकर्षण पनि बढेको छ । हामीमा अलिकति क्षमता पनि देखिएको छ । रियालिटी के हो भने आफ्ना सम्बन्धहरुलाई हामीले ब्यालेन्स गर्न सक्छौं, सक्नुपर्छ । नेपालको विदेश नीति स्वतन्त्र छ भनेर स्पष्ट पार्न हाम्रो क्षमता देखिएको छ । यसमा हामीले गर्व गर्न सक्नुपर्छ ।’

 

‘हीन ग्रन्थी टाउकोमा नराखौं’

विश्वराजनीतिको ‘प्याराडिगम सिफ्ट’ भएर एशियातिर आएको दाबी गर्दै यसबाट नेपालका लागि सम्भावनाका ढोकाहरु खुलेको र केही चुनौती पनि देखिएको मन्त्री ज्ञवालीले बताए ।

 

देशको प्रतिष्ठा राष्ट्रिय हितसँग जोडिने भएकाले बाह्य सम्बन्ध र राष्ट्रिय सुरक्षाका बारेमा लेख्दा वा बोल्दा परिपक्व एवं सन्तुलित हुन उनले मिडियासँग आग्रह गरे । मन्त्री ज्ञवालीले भने, ‘देशहरुको प्रोफाइल बढ्दा हामी सबैको प्रोफाइल बढ्छ ।’ नेपालले केही पनि गर्न सक्दैन भन्ने हीनग्रन्थी र ‘कन्सपिरेसी थ्यौरी’ टाउकोमा राखेर नहिँड्न ज्ञवालीले आग्रह गरे ।

‘हामीले संविधानको सपथ खाएका छौं, अञ्जानमा समस्याहरु हुन सक्छन् तर इन्ट्रिग्रिटीमा समस्या हुँदैन,’ मन्त्री ज्ञवालीले मिडियाकर्मीसँग भने, ‘राष्ट्रिय हितका प्रश्नमा ग्याप सकेसम्म कम हुनुपर्छ भन्ने ठान्दछु ।’

 

‘धेरैका दोकान सुक्छन्’

परराष्ट्रमन्त्री ज्ञवालीले देशमा राजनीतिक स्थिरता कायम गरिएको भए पनि त्यसलाई संस्थागत गर्न बाकि रहेको र अस्थिरताका कारक तत्वहरु बाँकी नै रहेको बताए ।

मन्त्री ज्ञवालीले भने, ‘हामीमा अझै केही समस्या छन् । स्थिरता हासिल ग¥यौं । तर, यसलाई संस्थागत बनाउन बाँकी छ । यहाँ बोर्ड नै राखेर द्वन्द्वको खेती चल्दोरहेछ । अस्थिरताका कारकतत्वहरु बाँकी नै छन् ।’

मन्त्री ज्ञवालीले अगाडि भने, ‘नेपाल बलियो बन्दै जाँदा धेरैका दोकान सुक्छन् ।’ नेपालको द्वन्द्व व्यवस्थापन आन्तरिक मामिला भएको र यसको समाधान अरु देशको मोडल अनुसार नभएर मौलिक ढंगले गरिने मन्त्री ज्ञवालीले स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन संशोधन गर्दा गम्भीर अपराधमा माफी नदिइने तर, परिपुरण र मेलमिलापमा जोड दिइने बताए ।

 

‘हाम्रा केही अन्तरराष्ट्रिय दायित्वहरु पनि छन् । सर्वोच्च अदालतले पनि आदेश दिएको छ । अन्तरराष्ट्रिय समुदायको चासो र पीडितको समेत सरोकारलाई ध्यानमा राखेर टीआरसी ऐन संशोधन गर्न लागेका छौं’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अन्तरराष्ट्रिय समुदाय पनि विश्वस्त हुनुहुन्छ । हामी केमा सजग छौं भने यसमा विलम्ब गर्नु हुन्न, जसले गर्दा कसैले खेल्न नपाउन् ।’

 

अमेरिका भ्रमणबाट छिमेकी झस्किएका छैनन्

परराष्ट्र मन्त्री ज्ञवालीले हाल सम्पन्न आफ्नो अमेरिका भ्रमणबाट छिमेकीहरु नझस्किएको दाबी गरे । उनले भने– ‘अमेरिकासँग भएका कुराकानीबाट छिमेकी झस्किएजस्तो लाग्दैन ।’

नेपालमा विदेश मामिलालाई लिएर कतिपय भ्रामक हल्ला हुने गरेको मन्त्री ज्ञवालीले गुनासो गरे । प्रधानमन्त्री रसुवा जाँदा भारत रिसाएको चर्चा हुने गरेको र भारत भ्रमणमा जाँदा चीन रिसाएको चर्चा हुने गरेको भन्दै मन्त्री ज्ञवालीले ‘क्रस भेरिफिकेसन’ नगरी भ्रम छर्ने गरिएको गुनासो पोखे ।

 

आफ्नो अमेरिका भ्रमणमा इण्डो प्यासिफिक रणनीतिबारे कुनै छलफल नभएको मन्त्री ज्ञवालीले दाबी गरे । उनले भने, ‘जिओ पोलिटिकल खिचातानी स्वाभाविकै हो, यो हिजो पनि थियो । उहाँहरुको स्ट्राट्रेजीबारे नेपाल बेखबर छैन । तर, हामी आर्थिक विकाससँग जोडिन चाहन्छौं । हामी आर्थिक विकासमा साझेदारी गर्न चाहन्छौं । हामी कसैको स्वार्थमा नतानिऔं भनेर सजग हुन चाहन्छौं ।’

 

इपीजीको प्रतिवेदन किन बुझिएन ?

मन्त्री ज्ञवालीले भारतसँगको सम्बन्ध राम्रो बनेको दाबी गरे । तर, इपिजीको प्रतिवेदन भारतले किन बुझ्न मानेन भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले भारतको चुनाव अगावै त्यो प्रतिवेदन बुझ्ने विश्वास व्यक्त गरे ।

 

‘दुबै देशको पोलिटिकल लिडर कमिटेड छ, तल एकरुपता छैन । मिस रिपोर्टिङ पनि भएको छ कि जस्तो लाग्छ । मिस गाइडेडजस्तो पनि छ,’ मन्त्री ज्ञवालीले इपीजीको रिपोर्टबारे भने,‘मलाई विश्वास छ, यो रिपोर्ट बुझिन्छ । भारतको चुनावभन्दा अघि नै बुझिनेमा आशावादी छु, कार्यान्वय चुनावपछि जाला ।’

इपीजीको प्रतिवेदन दुबै देशका स्वतन्त्र विज्ञहरुको प्रतिवेदन भएको बताउँदै मन्त्री ज्ञवालीले यो बाध्यकारी भन्दा पनि सुझावमूलक भएका बताए । तर, दुबै देशले यसका सुझावहरुमा अपनत्व लिने उनले स्पष्ट पारे । इपीजीको प्रतिवेदन कार्यान्वयन हुँदा नेपाल र भारतको सम्बन्ध विल्कुल फरक जगमा उभिने मन्त्री ज्ञवालीको दाबी छ ।

 

सन् १९५० को सन्धीले दुबै देश बराबर सार्वभौम अधिकार भएका देश हुन् भन्न गाह्रो भएको बताउँदै ज्ञवालीले भने, ‘तर, यसलाई मन नपराउनेहरु पनि छन् । देशभित्रै पनि छन्, बाहिर पनि छन् । सीमानामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नुपर्छ भन्दा चर्को विरोध हाम्रो फाँटबाट पनि भयो । एउटा दलले त्यसको विरोध ग¥यो ।’

यद्यपि पछिल्लो समयमा नेपाल र भारतवीच असमझदारी हटेको मन्त्री ज्ञवालीको दाबी छ । हवाइ रुट, पेट्रोलियम पाइपलाइन लगायतका विषयमा पनि समस्या नरहेको ज्ञवालीको दाबी छ ।

प्रत्येक दुई महिनामा दुई देशका परराष्ट्र सचिवहरुवीच भिडियो वार्ता हुन थालेकाले असमझदारीहरु हटाउन सजिलो भएको ज्ञवालीले बताए । उनले भने– ‘ज्वाइन्ट कमिटीको बैठक पनि अब चाँडै बस्दैछ ।’

 

क्षेत्रीय फोरममा सक्रियता, चीनसँग पनि राम्रो !

मन्त्री ज्ञवालीले उत्तरी छिमेकी चीनसँग पनि राम्रो सम्वन्ध विकास भएके बताए । केरुङ काठमाडौं रेल्वे सम्बन्धी सम्वाभ्यता अध्ययन प्रतिवेदन तयार भएको र तातेपानी नाका केही महिनापछि सञ्चालनमा आउने उनले बताए ।

मन्त्री ज्ञवालीले विभिन्न क्षेत्रीय फोरमहरुमा नेपालको सक्रिय उपस्थिति देखिएको बताए । काठमाडौंमा बिमस्टेक सम्मेलन भएको र सांघाइ को–अपरेशनमा जान नेपालले पत्रचार गरिसकेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

परराष्ट्र मन्त्री ज्ञवालीले भने– ‘सार्क समिट तत्कालै हुने स्थिति छैन, हामी न्युयोर्कमा बैठक बस्यौं । सार्क समिट नभए पनि यसका मेकानिज्महरु सक्रिय नै छन् । सार्क दिवसमा सबैले प्रतिवद्धतासमेत जनाएका छन् ।’

परराष्ट्र मन्त्रालयले आन्तरिक नीतिहरुमा पनि केही सुधारहरु गरेको मन्त्री ज्ञवालीले दाबी प्रस्तुत गरे । बाह्य देशहरुसँग द्वीपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रालयमा बनाइएको संयन्त्र प्रभावकारी भएको उनले बताए ।

त्यसैगरी विभिन्न देशमा भएका ३० दूताबास र तीन मिसनरीहरुको प्रभावकारिताको मूल्यांकन गर्न थालिएको र राजदूतहरुको नियुक्तिबारे मापदण्ड बनाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...