एकाएक किन रोकियो दीपक मनाङेको सपथ
राजीव गुरुङ ऊर्फ दीपक मनाङेले प्रदेशसभा सदस्यको सपथ लिन नपाउने भएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार सपथ गराउन नमिल्ने निश्कर्ष निकालेका हुन् ।
सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापतिसमेत रहेका सभामुख अधिकारीले राजीवलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिए । राजीवलाई सपथ खुवाउने–नखुवाउने विषयमा सांसदहरुको फरकफरक मत छ ।
सभामुख अधिकारीले यसअघि सपथका विषयमा छलफल गर्न परामर्श समितिको बैठक डाकेका थिए । आइतबार बसेको बैठकमा पनि सपथ गराउने–नगराउने विषयमा छलफल भएको थियो । मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् ।
सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेश सभा सचिवालयमा गुरुङको निवेदन पुगेपछि सभामुख अधिकारी विभिन्न व्यक्तिसँथ छलफल तथा राय मागेका थिए । मनाङेले १२ गते एक व्यक्तिमार्फत प्रदेशसभामा सपथको माग गर्दै लिखित निवेदन दर्ता गराएका थिए ।
मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।
प्रतिनिधि सांसद रेशम चौथरीको सपथलाई नजिर मान्दै सभामुख अधिकारीले पनि राजीवलाई सपथ गराउनेअनुमान धेरैको थियो । तर, सभामुख अधिकारीले गुरुङलाई सपथ नगराउने निश्कर्ष निकालेका हुन् ।
मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै राजीवले सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए ।
राजीव गुरुङ सपथको माग गर्दै सर्वोच्च जान सक्ने छन् । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा निर्वाचित भएका थिए । सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा विभिन्न दलका नेताहरुले आफ्नो धारणा राख्ने छन् ।
यस्तो थियो तयारी
स्वतन्त्र सांसद एवं गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङ्गेले आज सपथ ग्रहण गर्दैछन् । मनाङ्ग जिल्लाबाट प्रदेशसभामा निर्वाचित मनाङ्गे सपथ लिनका लागि आइतबार बिहानै पोखरा आउने तयारीमा रहेको थियो ।
ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङ्गेको मुद्दा किनारा अझै लागेको छैन । उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।
हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साताअघि प्रदेशसभामा निवेदन दिएका थिए ।
मनाङ्गे तत्कालीन पुनरावेदन अदालतबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आई नसकेकाले सपथ लिन पाउनुपर्ने तर्क उनका पक्षमा रहेकाहरूले गर्दै आएका थिए।
गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठक बोलाइएकाले आइतबार उनको सपथ हुनसक्ने भए पनि खुलाइएको भने छैन ।
जेलमै रहेर पनि राष्ट्रिय जनता पार्टी राजपा नेपालका कैलाली १ का प्रतिनिधिसभा सांसद रेशमलाल चौधरीले सपथ लिएपछि मनाङ्गेलाई पनि सपथ लिने बाटो खुलेको हो।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश सांसद मनाङ्गेको पनि सपथको चर्चा चलेको थियो ।
मनाङ्गेले तत्कालीन एमालेको समर्थनमा चुनाव जितेका थिए । उनलाई पहिले एमालेले नै टिकट दिए पनि विवाद भएपछि स्वतन्त्र उम्मेदवार बनाइएको थियो । अहिले भने सिंगो नेकपा बनेको छ ।