रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा, बम्जन पक्राउ
नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो । प्रहरीका एक अधिकारीले भने, ‘आश्रममा छापा मारेका छौं, अहिले यत्ति भन्छौं ।’ बम्जन पक्राउ परेको स्रोतको दाबी छ ।
बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीले अनुमति दिएको थियो । बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र आएको थियो । परिवारका सदस्यहरुले पनि प्रहरीमा उजुरी दिएका छन् ।
बम्जनको आश्रमबाट बेपत्ता पारिएकाका परिवारले भने – कि भेटाऊ, कि लास देऊ
लिटल बुद्ध भनेर चिनिने रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता भएका ३ जनाको परिवारले सरकार र प्रहरी प्रशासनले खोजतलासमा गम्भीर नबनेको आरोप लगाएका छन् । शुक्रबार राजधानी आइपुगेका उनीहरुले पत्रकार सम्मेलनमार्फत सरकार र प्रहरी प्रशासनलाई गम्भीर बनिदिन आग्रह गरे ।
यसअघि ३० भदौमा रौतहटकी १८ वर्षीय गंगामाया तामाङले बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै आश्रममा हुने गरेका दुर्व्यवहारबारे बताएकी थिइन् ।
त्यसपछि बम्जनको आश्रमबाट ४ जना बेपत्ता भएको रहस्य सार्वजनिक भएको थियो । बम्जनको आश्रमबाट बेपत्ता भएका ४ जनामध्ये तीन जनाको परिवारले न्याय खोज्दै शुक्रबार राजधानी आइपुगेको छ । ।
बेपत्ता पारिएकी मकवानपुरका फूलमायाकी भाई विजय रुम्बा भन्छन्, ‘०७१ सालमा माघमा दिदीसँग अन्तिम पटक सम्पर्क भएको थियो । एकदिन एक्कासि भेट्न मन छ भने भोलि नै आउनुस् नत्र भेट हुँदैन भनेर फोन आयो । त्यतिवेला जान सम्भव थिएन । त्यसपछि पटकपटक सम्पर्क गर्न खोज्दा पनि भेट भएन ।’
‘त्यतिवेला आश्रममा छे, राम्रै होला भनेर खासै आवस्था गरिएन । तर, भूकम्पको बेला सिन्धुपाल्चोक तहसनहस भएको खबर आएपछि आत्तिएर बोडे गाउँ पुग्दा उनलाई भेट्न सकिएन’, उनले स्मरण गरे, ‘गुम्बामा जाँदा सुरुमा बुबालाई प्रवेश गर्न दिइएन । जासुस आए जस्तो व्यवहार गरिन्थ्यो ।’
‘गुम्बामा बुबाले घोडाको तबेलामा सरसफाइ गर्ने मान्छेलाई भेट्नु भएछ’, उनले थपे, ‘उनले ५ जना आश्रमबाट निस्किएर गएको सुनाएका थिए । त्यसपछि आफू घर गएको र अन्य कुरा थाहा नभएको बताएका छन् ।’
विजयका अनुसार यसअघि बम्जनमाथि बलात्कार आरोप लगाउने गंगामायासँगै बस्थिन्, उनकी दिदी । गंगामायाले आफूमाथि बलात्कार भएको बताएपछि उनी लगायत परिवारका अन्य सदस्य झल्यास्स भए ।
त्यसपछि अहिले फेरि बेपत्ता फूलमायाको खोजीमा जुटेका छन् । ‘३ वर्ष ३ महिनासमम गुफामा बसेर ध्यान गर्ने चलन छ’, उनले थपे, ‘त्यसैले त्यस्तै ध्यानमा छे कि भनेर पहिले खोजी गरेको थिएनौं ।’
बेपत्ता भएकी नुवाकोटकी कर्मा भनेर आश्रममा चिनिने चिनिमाया तामाङकी दिदी गंगामायाले बहिनी जिउँदो भए भेट गराइदिन आग्रह गरिन् । ‘नत्र लाश देखाऊ’, उनले विनय गरिन् ।
उनले बहिनीको बम्जनप्रतिको आस्थालाई स्मरण गर्दै भनिन्, ‘बहिनी बम्जनप्रति यति आस्था राख्थी कि उनको पैतालाको माटो पनि ल्याएकी थिई । शक्ति आउँछ भन्थी ।’
तर, अहिले त्यति धेरै विश्वास गरेकै व्यक्तिले आफ्नो बहिनी बेपत्ता पारेको उनले आरोप लगाइन् ।
०७२ सालमा सिन्धुपाल्चोकस्थित आश्रममा गएका रम्तलाल बाइबा पनि अहिले बेपत्ता छन् । उनका छोरा महेन्द्र पनि बुबाले एक पटक फोन गरेर फर्किन्छु भनेको सम्झिन्छन् । तर, त्यसयता उनको बुबासँग सम्पर्क भएको छैन ।
‘हामी पहिले बम्जनलाई भगवान मान्थ्यौं’, पीडित परिवारसँगै आएका नेपाल अहिंशावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका प्रमेदोर्जे लामाले भने, ‘तर, उनको असली चरित्र बाहिर अलग थियो । ०६६ माघ ४ गतेदेखि नै हामी उहाँबाट अलग भएका थियौं ।’
उता, बाराका सुरेशकुमार आले मगरको परिवारले भने त्यहीँको प्रहरीमा खोजतलास गरिदिन भन्दै उजुरी दिएको छ । तीन वर्षयता उनी सम्पर्कविहीन भएको परिवारको आरोप छ ।


