बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु
काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ ।शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार सुकेखोलाको एक घरमा भाडामा बस्दै आएकी मगर पाँच महिनाकी छोरीसहित बुधबार राति सुत्ने बेलामा कोठाभित्र दाउरा र कोइला बालेर सुतेकी थिइन् ।
श्रीमान् र तीन छोरीसहित पाँचजनाको परिवार एउटै कोठामा सुतेका उनीहरूमध्ये श्रीमतीको मृत्यु भएको हो । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनास्थलको अवलोकनपश्चात शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिएको छ ।
मृतक मगरको पाँच वर्षीय छोरी एउटा र अन्य साना दुई छोरी छन् । घटनाको प्रकृति हेर्दा चिसो भुईंमा र कोठाको झ्यालढोका सबै बन्द गरी दाउरा बालेर सुतेकाले निसास्सिएर मृत्यु भएको हुनसक्ने आशङ्का रहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् । उनले भनिन् ‘शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएका छौँ । थप अनुसन्धान भइरहेको छ ।’