सपथपछि रेशम चौधरीले भने : माला र खादा लगाएर फेरि जेल जानुपर्ने ?
सांसद रेशम चौधरीले सपथ खुवाएपछि सांसदलाई जेल पठाउन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् । बिहीबार संसद सचिवालयमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएपछि उनले सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेक हुन् ।
‘यो लोगो सांसदको लोगो हो । एकजना सांसदलाई सपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन ?’ उनले भने ‘यो लोगोको सम्मान के हो ? यो लोगो हामी सम्पूर्ण प्रतिनिधि र राष्ट्रियसभामा सहभागी हुने सदस्यको कत्तिको इज्जत राख्छ राज्यले बोल्ला, संसदले बोल्ला ।’
आफू माला र खादा लगाएर फेरि जेल जानुपर्ने भन्दै उनले प्रश्न गरे । ‘मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ कति रहन्न ?’ नेपाली कानूनमा कुनै पनि व्यक्तिलाई साढे ३ वर्षसम्म पुर्पक्षका लागि थुनामा राख्न नपाइने भए पनि आफूहरु जेलमा बसिरहेको भन्दै चौधरीले यो मुद्दा छिटो भन्दा छिटो टुंग्याउन आग्रह गरे । आफूले द्वन्द्व नचाहेको भन्दै उनले जनताले न्याय नपाएसम्म समृद्धि नआउने बताए । ‘शान्ति नभई समृद्धि बन्न सक्दैन । समृद्धि बनाउन जनतालाई न्याय दिनुपर्छ’ उनले भने ।
प्रवासमा पकौडा खाएर बस्नुभन्दा आफ्नै देशको दालभात तरकारी मन परेर जेल बस्न आएको उनले बताए । ‘मलाइ मेरै देशको दालभात तरकारी मन प यो र जेलमा बन्द भएँ । जेलमा पनि सर्वसाधारण कैदीको जीवनयापन गरिरहेको छ’ उनले भने ।
सपथ ग्रहणपछि रेशम चौधरीलाई रिहा गर्न उपेन्द्र यादवले ओलीलाई दिए यस्तो दवाब
उपप्रधानमन्त्री एवं स्थास्थ्यमन्त्री उपेन्द्र यादवले सांसद रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने बताएका छन् । आफूलगायत सबैतिरबाट पहल भएपछि चौधरीलाई सपथ ग्रहण गराउने सहमति भएको उपप्रधानमन्त्री यादवले जानकारी दिए ।
हाल जेलमा रहेका सांसद चौधरीमाथि लागेको मुद्दा राजनीतिक भएकाले उनलाई रिहा गरेर राजनीतिक समझदारीका आधारमा हल गरिनुपर्ने मन्त्री यादवले बताए । यादवले भने- ‘यो राजनीतिक मुद्दा हो । राजनीतिक मुद्दामा थुनेर हुँदैन, राजनीतिक समझदारीबाट अगाडि बढ्नुपर्छ ।’
जेलमा रहेका बेला चुनाव लड्नसमेत पाइने बताउँदै मन्त्री यादवले जेलमा रहेका बेला सपथ ग्रहण गर्न कानूनले नछेक्ने प्रतिक्रिया दिए । उपप्रधानमन्त्री यादवले भने- ‘जेलमा हुँदाखेरि उम्मेदवारी दिन मिल्छ, सपथ ग्रहण गर्न किन मिल्दैन ? यो कानूनमा अमिल्दो विषय होइन । जेलमा बसेर चुनाव लड्न मिल्छ भने चुनाव जितेपछि जेलमा बसेर सपथ लिन मिल्छ।’
संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले अगाडि भने, ‘सपथ ग्रहण जहाँ गराए पनि हुन्छ । तर, सपथ ग्रहणपछि संसदमा उपस्थित नगराई जेलमै लैजानुपर्ने कारणचाहिँ किन ? यो प्रश्नमा उपप्रधानमन्त्री यादवको जवाफ छ, ‘यो त गृहमन्त्रालयलाई थाहा हुन्छ । प्लान उसैको हो ।’