१४ वर्षीया किशोरी रिता कार्की , परिवार पाल्न सफारी चलाउदै सम्मान सोरुप शेयर गर्नु होस



हाम्रो इकोनोमि

 

साबिक डाँगीहाट गाविस–५ हाल बेलबारी नगरपालिका–११ मा पर्ने लक्ष्मीमार्ग चोकमा पुग्दा दर्जनभन्दा बढी अटो रिक्सा (सफारी) यात्रु कुरेर लाइनमा बसिरहेका हुन्छन् ।

त्यसै भीडमा भेटिन्छन्, १४ वर्षीया किशोरी रिता कार्की ।

सफारीमा चढेर यात्रु कुरिरहेकी उनलाई देख्नासाथ जो कोहीलाई ‘सफारी चालक’ भनेर पत्याउन मुस्किल पर्छ ।

कारण– घरमा आमाले पकाएर दिएको खाना खाएर स्कुल जाने बेलाकी उनको यो सफारी चलाएर ज्याला–मजदुरी गर्ने उमेर होइन ।

बेलबारी–११, वीरेटोलकी दुर्गाबहादुर कार्कीकी छोरी रिताले १४ वर्षकै केटाकेटी उमेरमा रहरले सफारी कुदाउन थालेकी भने हैनन् ।

परिबन्धले बाँधेर ल्याएपछि उनी विगत ४ महिनादेखि ‘सफारीवाली’ भएकी छन् ।

आफ्नो गाउँ–ठाउँमा रिता ‘कान्छी सफारीवाली’ नामले हिट छिन् ।

रिता बिहानको समयमा स्कुल पढ्न जान्छिन् भने बाँकी समय सफारी चलाएर घरपरिवारको गर्जो टार्छिन् ।

उनी स्थानीय लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् ।

बिहान स्कुल गएर आएपछि उनको मजदुरी सुरु हुन्छ ।

‘स्कुलबाट आएपछि खाना खाएर १२ बजेतिर काममा निस्किन्छु,’ उनले भनिन्, ‘साँझ ६÷७ बजेसम्म सफारी चलाउँछु ।’

स्कुल बिदा भएका दिन रिता बिहानैबाट सफारी लिएर निस्किन्छन् ।

स्कुल गएका दिन कमाइ कम हुन्छ भने स्कुल नलागेका दिन बिहानैबाट सफारी चलाउने हुँदा कमाइ पनि राम्रै हुन्छ ।

‘स्कुल गएर काममा जाँदा ६–७ सय सम्म कमाइ हुन्छ ।

स्कुल बिदा भएका दिन बिहानैदेखि चलाउने भएकाले हजारदेखि १२ सयसम्म पनि हुन्छ,’ रिताले सुनाइन् ।

रिताअघि सफारी उनका बुबा दुर्गाबहादुरले चलाउँथे ।

तर, बुबाले कमाएको पैसा कमै मात्र घर ल्याउँथे ।

मदिरा पिउने आदत परेका दुर्गाबहादुरले सफारी चलाएर कमाएको पैसा जोहो गर्न त परै जाओस्, किस्ता तिर्न पनि पुग्दैनथ्यो ।

बुबाले पैसा जोगाउन छाडेपछि पछि सफारी जेठी छोरीले चलाउन थालिन् ।

‘तर, अस्ति भर्खर दिदीको पनि बिहे भएपछि अहिले म आफैं सफारी कुदाउँछु,’ रिताले भनिन् ।

बुबाले सफारी चलाउँदासम्म आर्थिक रूपमा निकै कठिन अवस्थाबाट गुज्रेको रिताको परिवार पछि दिदीले चलाउन थालिकन राम्रो हुन थालेको रिताले बताइन् ।

दिदीले सफारी चलाएर किस्ता तिर्न, घर खर्च चलाउनदेखि संघ–संस्थामा दैनिक बचत गर्नसम्म पुर्याउँथिन् ।

रिताको घरमा अहिले कमाउने मुख्य मान्छे उनी मात्रै हुन् ।

बुबा घर बनाउने काम गर्छन् ।

तर, उनी प्रायः घरबाहिरै बस्ने भएकाले घरमा भरथेग नरहेको रिता बताउँछिन् । आमा जुना निगुरो (तरकारी) को व्यापार गर्छिन् ।

त्यसले घरखर्चमा सामान्य सहयोग हुन्छ । ‘तर, मैले सफारी नचलाउने हो भने त घर–व्यवहार चलाउनै गाह्रो हुन्छ,’ रिताले सुनाइन् ।

 

रिताको परिवारमा आमा–बुबासहित अहिले भाइ र बहिनी छन् ।

दुई दिदी जेठी र माइलीको बिहे भइसकेको छ ।

भाइ र बहिनी दुवै स्कुल पढ्छन् । बहिनी नितु कक्षा ७ मा पढ्छिन् भने भाइ मदन कक्षा २ मा पढ्छन् ।

यतिबेला दैनिक खर्च, दुःख–बिरामदेखि लिएर अन्य भैपरी खर्च धान्नेसम्मको जोहो गर्ने दायित्व अहिले रितामाथि नै छ ।

यति कलिलै उमेरमा रिता अहिले घरमुलीको रूपमा जिम्मेवारी वहन गरिरहेकी छन् ।

१४ वर्षकै उमेरमा रिता सफारी चलाएर घरखर्च मात्रै टार्दिनन्, उनी राम्रो पैसा पनि कमाउँछिन् ।

तर, स्कुल गएर सफारी चलाएको दिन र नगई चलाएको दिनको कमाइमा फरक हुन्छ ।

स्कुल बिदाका दिन उनी कम्तीमा दैनिक हजार रुपैयाँसम्म कमाउँछिन् भने स्कुल गएका दिन पनि ६–७ सय सम्म हुन्छ ।

‘पहिला त राम्रो कमाइ हुन्थ्यो ।

तर, अहिले सफारी धेरै छन्, पहिलाको जस्तो कामइ हुँदैन,’ उनले भनिन्, ‘हुँदा १२ सय सम्म हुन्छ, नहुँदा पनि ६/७ सय त हुन्छ ।’

सफारी चार्ज गर्दा लाग्ने दैनिक १ सय रुपैयाँ र खाजा खर्च कटाएर रिता आफ्नो उमेरभन्दा निकै राम्रो पैसा कमाउँछिन् ।

उनको मासिक कमाइ औसतमा २५ हजार रुपैयाँसम्म हुन्छ । रिता दैनिक कमाइबाट विभिन्न संस्था–सहकारीमा दैनिक बचत पनि गर्छिन् ।

‘२/३ वटा संस्थामा दैनिक बचत गर्ने गरेकी छु, घरखर्च राखेर सबै बचतमै जान्छ,’ उनले भनिन् ।

सुरुमा सफारी किन्दा रिताका बुबाले किस्तामा निकालेका थिए ।

तर, बुबाको कमाइले मासिक किस्ता तिर्न नपुगेपछि पछि १० धुर जग्गा बेचेर एकैपटक सफारीको ऋण तिर्नुपर्यो ।

त्यसपछि मासिक किस्ता तिर्नुपर्ने झन्झट सकियो ।

तर, भएको जग्गै गयो ।

‘सफारी निकालेको वर्षदिनसम्म पनि तिर्नुपर्ने किस्ता तिर्न नसकेपछि एक वर्षपछि जग्गा बेचेर सफारीको ऋण तिर्यौं,’ रिताले भनिन् ।

अहिले रिताको काँधमा सफारीको किस्ता तिर्नुपर्ने बाध्यता छैन ।

तर, जगा बेचेर किनेको सफारीबाट फेरि जग्गै जोड्न पाए हुन्थ्यो भन्ने रितालाई लागेको छ ।

‘यो सफारीका लागि जग्गा बेचियो, यसकै कमाइले फेरि जग्गा जोड्न पाए हुन्थ्यो भन्ने लागेको छ,’ उनले भनिन्

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...