नैतिक सङ्कटमा परेपछि आजै राजीनामा दिने मुडमा पर्यटन मन्त्री अधिकारी



हाम्रो इकोनोमि

 

मङ्गलबार जब सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदनलाई अन्तिम रूप दिँदै दुईवटा वाइडबडी  खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ घोटालामा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको नाम जोड्यो, यसले राजीनिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न गराएको छ ।

 

सार्वजनिक फोरममा बाइडबडी खरिदमा गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु भन्दै आएका मन्त्री अधिकारीले अब सन्यासको बाटो रोज्लान् वा आफूलाई चोख्याउन उच्च तहको दौडधूप बढाउँलान् ? यो प्रश्न आम सर्वसाधारणका लागि चासोको विषय बनेको छ ।

 

कात्तिक २५ गते एक मिडियामा अन्तरवार्ता दिँदै बाइडबडी खरिदमा आफ्नो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु भनेका मन्त्री अधिकारीको राजनीतिक भविष्य अब के ? भन्ने डिस्कोर्स सुरु भएको छ ।

 

हामीले उपसमितिले अधिकारीलाई पनि दोषी ठहर्याउँदै निकालेको प्रतिवेदनपछि मन्त्री अधिकारीको धारणा बुझ्न खोज्यौँ । तर पटक पटक सम्पर्क गर्दा पनि प्रतिक्रिया पाउन सकेनौँ ।

 

रवीन्द्र अधिकारी युवाहरूमाझ लोकप्रिय भए पनि पछिल्लो समय प्रभावकारी काम गर्न नसकेको आरोप खेप्दै आएका मन्त्रीमध्येमा पर्छन् । तर उनले पटक–पटक सार्वजनिक कार्यक्रममै वाइडबडी खरिद प्रकरणमा आफ्नो संलग्नता नभएको र यदि त्यसो भेटिए आफू राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गर्दै आएका थिए ।

 

आफ्नै अभिव्यक्ति र उपसमितिको प्रतिवेदनलाई केलाउँदा अधिकारी नैतिक सङ्कटमा परिसकेका छन् ।  उनले मङ्सिर १० गते पोखरामा आयोजित कार्यक्रममा पनि वाइडबडी विमान खरिद प्रक्रियामा दोषी पाइए जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताएका थिए ।  आफै दोषीको दर्जामा रहेको भेटिएपछि उनी आफै कारवाहीको प्रक्रियामा आउनुपर्ने चुनौती बढेको भएको छ । नैतिक सङ्कट परेपछि पर्यटन मन्त्री अधिकारीले आजै राजीनामा दिने मुड बनाएको बिषेश स्रोतको दाबी छ ।

 

वाइडबडीबारे अध्ययन गर्न लेखा समितिका सदस्य राजेन्द्र केसीको नेतृत्वमा बनेको उपसिमितिको प्रतिवेदनले जहाज खरिद गर्दा ८४ लाख अमेरिकी डलर, लागत अनुमान र खरिद मूल्यमा २३.६ मिलियन अमेरिकी डलर, कबोल गरेको मूल्यमा ६.८ मिलियन अमेरीकी डलर, प्रि–इन्सपेक्सनमा १ करोड घाटा भएको सार्वजनिक गरिसकेको छ ।

 

यो हिसावमा हालका डलर सटहीदरलाई आधार मान्दा ४ अर्ब ३५ करोड ५६ लाख नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, एयरबस कम्पनीले के–कति रकम प्राप्त गरेको हो, सो तथ्य जानकारीमा नआएकाले यस्तो नोक्सान अझै बढ्नसक्ने सम्भावना पनि उपसमितिले औँल्याएको छ ।

 

उपसमितिले मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्री जीवनबहादुर शाही, जितेन्द्र नारायणदेव, बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा, हाल गृहसचिव रहेका तात्कालीन पर्यटन  कृष्ण देवकोटा  र हाल गृहसचिव रहेका तत्कालीन पर्यटन सचिव प्रेम राई र पूर्व सचिव शङ्कर अधिकारीलाई दोषी ठहर गरेको छ ।  यता वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारवाही गर्न पनि उपसमितिले सिफारिस गरेको छ ।

 

वाइडबडी विवादको जड

 

महालेखा परीक्षकको कार्यालयले वायुसेवा निगमको दुईवटा वाइडबडी एयरबस ए ३३० २०० खरिदमा गम्भीर त्रुटि औँल्याएपछि सार्वजनिक लेखा समितिमा यो विषयले प्रवेश पाएको थियो । महालेखाले विमान खरिद प्रक्रिया र मूल्य दुवै हिसाबले त्रुटिपूर्ण रहेको औँल्याएको थियो । महालेखा परीक्षकको २०७४/०७५ को ५ औँ वार्षिक प्रतिवेदनले एयरबस निर्माता कम्पनीलाई छलीबीचमा दलाल राख्ने उद्देश्यले एक हजार घण्टा  उडेको जहाजका लागि आर्रएफपी जारी गर्नु र तयसपछि तीन चारवटा दलाल खडा गरी खरिद प्रक्रिया अघि बढाउनु कानुनविपरीत भएको उल्लेख गरेको थियो ।

 

के सोच्दैछन् प्रधानमन्त्री  ?
केही समयअघि सत्तारुढ दलका एक नेताले सार्वजनिक कार्यक्रममा भनेका थिए– भ्रष्टाचारीलाई जहाँ भेटे पनि कालोमोसो दल्नूस् ।’ यसो भन्ने नेता अरू कोही नभएर सरकारको नेतृत्वकर्ता दल नेकपाका नारायणकाजी श्रेष्ठ हुन् । त्यस्तै प्रधानमन्त्री र गृहमन्त्रीले पनि भ्रष्टाचार हुनै नदिने र कसैले गरे तत्काल कारवाही गर्ने बताउँदै आएका थिए । सुशासन र समृद्धि वर्तमान सरकारको नारा हो ।

 

यो नाराअनुसार सरकारले आफ्ना काम कारवाही अगाडि बढाउने प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू तथा सत्तारुढ दलका नेताहरूले पटक पटक दोहोर्याउँदै आएका छन् । तर मिनी संसद मानिने संसदीय समितिको प्रतिवेदनमै सरकारका मन्त्री भ्रष्टचारमा संलग्न भएको किटान गर्दै कारवाहीका लागि सिफारिस भइसकेपछि प्रधानमन्त्री ओली र सो पार्टीका नेताहरूले त्यस्ता मन्त्रीलाई कतिबेला र कस्तो कारवाही गर्लान् ? या जोगाउन खोज्लान् ? धेरैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...