बमजन काण्ड : कारबाही कहिले सरकार ?



 

भगवान् गौतम बुद्धले लामो समयसम्म महिलालाई दीक्षा दिनुभएन । उहाँका चेलाहरू पुरुष मात्रै थिएनन्, तर दीक्षा दिएर सँगै राख्ने मामिलामा उहाँ धेरै नै चुजी हुनुभयो । एक दिन आनन्द (बुद्धका नातेदारसमेत रहेका निकटवर्ती जो सधैँ बुद्धका साथ रहन्थे) ले सोधे– पुरुष मात्र होइन केही महिला पनि हजुरका भक्त छन् ।

 

हामी जहाँ–जहाँ गयौँ त्यहीँ गएका छन्, लामो साथ र समय बिताएका छन्, तर तिनले चेला हुने अवसर किन पाइरहेका छैनन् ? उनीहरूलाई दीक्षा दिन किन नहुने ? गौतम बुद्धले जवाफमा भन्नुभयो–महिलालाई सकेसम्म चेला बनाउनुहुँदैन, दीक्षा दिनुहुँदैन । दिइहाले पनि ती जतिसुकै पाको उमेरका हुन् तिनले पुरुष चेलालाई गुरुलाई झैँ मान्नुपर्छ । पुरुष चेलाका अगाडि महिला चेलाहरूले शिर झुकाएर अभिभादन गर्नुपर्छ ।

 

आनन्द छक्क परेको उक्त अभिव्यक्तिलाई लिएर कतिले बुद्धको आलोचना पनि गरे । तर, ओशो रजनिशले यसलाई फरक तरिकाले व्याख्या गर्नुभएको छ । उहाँका अनुसार सामान्यतया जसलाई धेरै आदर गरिन्छ उसले कुदृष्टि लाउन सक्दैन । भगवान् गौतम बुद्ध चाहनुहुन्थ्यो, सकेसम्म आश्रममा महिलाको उपस्थिति नै नहोस्, भइहाले कसैले पनि कुदृष्टि नलगाओस्, सइज्जत बाँच्ने वातावरण बनाओस् । त्यसैले आश्रममा बस्ने महिलाले पुरुषलाई आदरभाव राखुन्, उनीहरूले आदर गरेपछि आफूलाई आदर गर्नेमाथि कुदृष्टि पर्दैन भनेर बुद्धले त्यसो भन्नुभएको हो ।

 

भगवान् बुद्ध महिलाको सम्मान र आत्मसम्मानमाथि त्यति धेरै सचेत हुनुहुन्थ्यो । यता बुद्धको नाममा आफूले आफैँलाई लिटल बुद्ध घोषणा गरेका रामबहादुर बमजनले युवतीहरूको बलात्कार गरेको कुरा बाहिर आएको छ । वनजङ्गलमा आश्रम बनाएर बस्दै आएका बमजनको एक ठाउँ मात्रै नभएर विभिन्न स्थानमा बस्ने ठाउँहरू देखिन्छन् । सेतोपाटी अनलाइनले बमजनबारे शृङ्खलाबद्ध खोजी समाचारहरू प्रकाशित गरेपछि पीडितहरूले धमाधम आफ्नी छोरी, दिदी, बहिनी या घरपरिवारका सदस्यहरू बमजन आश्रमबाट हराएकाले खोजी गरिदिन प्रहरीसमक्ष निवेदनहरू दिएका छन् ।

 

बमजनबारे धेरै कुरा बाहिर आए पनि प्रहरी प्रशासनबाट उनको खोजी कसरी भइरहेको छ ? भइरहेको छ कि छैन ? भन्ने बाहिर आएको छैन । अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने हुन्छ, तर अहिलेसम्म उनी पक्राउ परेको सुनिएको छैन । बोधी श्रवण धर्म सङ्घका नामबाट बमजनका विरुद्ध भ्रम सिर्जना गरिएको भन्ने खण्डन आएको छ । रोचक पक्ष त के छ भने यसरी खण्डन गर्नेमा राजनीतिक दलका प्रतिनिधिहरूसमेत सामेल छन् ।

 

धर्मका नाममा महिलाको शोषण नयाँ कुरा होइन । छिमेकी मुलुक भारतमा आशारामदेखि राम रहिमसम्मले धर्म र आश्रमका नाममा महिलामाथि गरेका यौनशोषणका घटनाबाट बेखबर नभए पनि हामीकहाँ यस्ता आश्रममा के हुन्छ ? भनेर खोजी गर्ने गरिएको छैन । राम बमजनलाई जसरी प्रचार गरिएको छ उनी त्यो होइनन् भनेर केही वर्षअघि नै एक विदेशी महिलाले सार्वजनिक गरेकी थिइन्, तर उनले आफ्नो भोगाइको वास्तविकता बाहिर ल्याउँदासमेत प्रशासनले बमजनमाथि कुनै प्रकारको छानबिन गरेन । जसको परिणाम जिन्दगीमा शान्ति खोज्न आश्रम पुगेका महिलाले बलात्कृतसम्म हुनुपर्यो । त्यतिबेलै छानबिन गरी कारबाही अघि बढाइएको भए पछिल्ला घटनाहरू हुन पाउने थिएनन् ।

 

श्रम शोषणदेखि यौनशोषणसम्मको फेहरिस्त बाहिर आउँदा र पीडित स्वयमले ममाथि बलात्कार भएको छ भनी मानिसको नामै किटेर भन्दासमेत छानबिन गरिएको छैन । पीडितहरूले उजुरी दिएपछि तत्काल हुनुपर्ने अनुसन्धान अहिलेसम्म किन हुन सकेन ? उनलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई केले रोकेको छ, बुझ्न सकिएको छैन । भारतमा राम रहिमहरूका विरुद्ध उजुरी पर्नासाथ प्रहरीले पक्राउ गरी अनुसन्धान गर्यो र उनीहरू जेल परे । उस्तै घटना हामीकहाँ हुँदा सरकारका तर्फबाट चासो नदेखाइनु आश्चर्यजनक छ ।

 

धार्मिक आस्थाका नाममा महिला किन शोषणमा पर्छन् त ? भन्नेबारेमा पनि अब समाजमा खुलेर चर्चा–परिचर्चा गर्नु आवश्यक छ । धर्म भनेपछि महिला लल्याकलुलुकै हुन्छन् । तन्त्रमन्त्रजस्ता अन्धविश्वासलाई आत्मसात् गर्नेहरूमा पनि महिला नै अगाडि छन् ।

 

जब मानिस दुःखी हुन्छ उसलाई सहाराको जरुरी हुन्छ । कसले राम्रो कुरा भनिदेला, यसो गर्दा पो हुन्छ कि उसो गर्दा पो हुन्छ कि भनेर ऊ भौँतारिन थाल्छ । आफ्ना कामहरू बनुन्जेल, जिन्दगी ठीकठाक चलुन्जेल चिना बोकेर ज्योतिषी खोज्दै को हिँड्छ र ? जिन्दगीमा आउने हतास क्षणमा महिलाको मात्र होइन पुरुषहरूको अवस्था पनि त्यस्तै हुन्छ ।

 

आफूवरिपरिको परिवेशले महिलालाई असुरक्षित बनाइदिँदा उनीहरू आश्रमसम्म पुग्ने गरेका छन । कतिले भन्छन्– गुरु भनेपछि हुरुक्कै भएर महिलालाई अघिपछि किन गर्नुपर्यो ? किनभने गुरुलाई उनीहरूले आदर्श ठानेका हुन्छन् । आफूले आदर्श ठानेको मान्छेले आफूलाई जोखिममा पार्दैन भन्ने विश्वास हुन्छ । विश्वास टुट्दासम्म उनीहरू ठूलो जोखिममा परिसकेका हुन्छन् ।

 

महिलालाई आश्रमसम्म पुर्याउन उनीहरू बाँचिरहेको वातावरण जिम्मेवार छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ । सुखी, खुसी, आत्मनिर्भर महिला कसैको पछि लागेर आश्रम खोज्दै हिँड्दैनन् । अध्यात्म र दर्शन बुझेर आफैं आश्रमसम्म पुग्नेहरूलाई शोषणको सम्भावना कम हुन्छ । राम बमजनको सन्दर्भमा गाउँका सोझा महिला शान्तिको कामना गर्दै बौद्धधर्मप्रति आस्थावान भएर आश्रमसम्म पुगेको देखिन्छ । आफ्नो सम्पूर्ण जीवन ध्यान–तपस्या गरेर बिताउन गएका अबोध ग्रामीण महिलामाथि भएको जघन्य अपराधबारे अहिले पनि खोजी गरिएन भने धर्मका नाममा कलङ्कहरू बढ्दै जानेछन् ।

 

हामीकहाँ आश्रमका नाममा कहाँ के भइरहेको छ, खोजि गर्ने गरिएको छैन । यसप्रकारका आश्रमहरूभित्र के हुन्छ ? ती कति पारदर्शी छन् ? तिनले के गर्छन् ? के गर्न हुने के नहुने ? आश्रम सञ्चालनका लागि आचारसंहिता बनाउन आवश्यक छ । साथै आश्रममा जानेले पनि आफू जहाँ जाँदै छु त्यहाँको वातावरण कस्तो छ ? जसलाई आफूले गुरु मान्दै छु ऊ को हो ? के म त्यहाँ सुरक्षित हुन्छु ? भन्नेबारेमा स्पष्ट भएपछि मात्र जानुपर्छ । अहिलेलाई चाहिँ बमजन घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही नै प्रमुख कुरा हो । यसप्रकारका सबै आश्रममा सरकारले कडा निगरानी राख्नु पनि त्यत्तिकै जरुरी छ ।

बबिता बस्नेत घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्