देउवाले भने आइजीपी न्यायाधीशले बनाउँदैन, निर्मलाको हत्या उखुबारीमा भएको हैन



हाम्रो इकोनोमि

 

विपक्षी दल नेपाली कांग्रेसका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छोटो बोल्छन्, तर समाचार हुने गरी बोल्छन् । कांग्रेस पदाधिकारीले आइतबार राति वाग्मती किनारको भ्याली टप रेस्टुरेन्टमा आयोजना गरेको लेखक/सम्पादकसँगको अन्तरक्रियामा पनि कांग्रेस सभापति देउवाले छोटो अभिव्यक्ति दिए ।

 

अन्तरक्रियामा केही स्तम्भकारहरुले चुनावअघि आइजीपी प्रकरण र सुशीला कार्कीमाथिको महाअभियोगका कारण कांग्रेसको जनमत खस्किएको टिप्पणी गरेका थिए । करिब ३ घण्टासम्म अरुका कुरा सुनिसकेपछि देउवाले भने– ‘एउटा म के स्पष्ट गर्न चाहन्छु भने आइजीपी सरकारले बनाउँछ ।’

 

आइजीपी बनाउने काम न्यायाधीशको होइन भन्दै देउवाले थपे– ‘००७ सात सालदेखि यही हुँदै आएको छ । न्यायाधीशले आइजीपी बनाउन पाउँदै पाउँदैन । म भोलि पनि भन्छु, पर्सि पनि भन्छु, आइजीपी बनाउने काम सरकारको हो, न्यायाधीशको होइन । यो सिद्धान्तको प्रश्न हो ।’

 

‘निर्मलाको हत्या उखुबारीमा भएको हैन’

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा पनि कांग्रेस सभापति देउवाले बोल्दै आएका छन् । बुधबार संसदको हिउँदे अधिवेशनमा पनि उनले यो विषय उठाएका थिए । आइतबार पनि उनले यो विषयलाई नेपाली कांग्रेसले उठाउन नछाड्ने बताए ।

 

घटनास्थलको प्रकृति हेर्दा निर्मला पन्तको हत्या उखुबारीमा हुन नसक्ने देउवाले तर्क गरे । उनले भने, ‘अन्तै मारेर त्यहाँ ल्याएर फालिएको हुनुपर्छ ।’

 

त्यसैगरी उनका कपडाहरु धोएर प्रमाण नष्ट गरिएको उनले जिकिर गरे । र, यो घटनाले नेपालको शीर विदेशीका सामु पनि झुकाएको भन्दै देउवाले बलात्कारी जुनसुकै पार्टीको भए पनि कारवाही हुनुपर्ने बताए । साथै यो विषय नेपाली कांग्रेसको मुद्दा नभएर सिंगै देशको मुद्दा भएको उनले बताए ।

 

‘निर्मला पन्तको विषय कांग्रेसको मात्रै होइन । बलात्कारी भनेको कांग्रेस होस्, कि कम्युनिष्ट होस् कि पुलिस होस् कि त्यो अपराधी नै हो,’ देउवाले भने, ‘निर्मला पन्त कांग्रेस पार्टीमा थिइनन्, उनी १२÷१३ वर्षकी बच्ची हुन् ।

 

केपी ओलीले आफू निकटका पत्रकारलाई निर्मला पन्तका बारेमा नलेख्न भनेको आफूले सुनेको देउवाले बताए । अहिले सेल्फ सेन्सर लागूभएको उनले दाबी गरे । उनले भने, ‘ओलीले आफ्नै पार्टीका मान्छेलाई सहँदैनन् । आफ्नै पार्टीकालाई सहँदैनन् भने अरुलाई सहन्छन् ?… अहिले सेल्फ सेन्सर लागूभएको छ ।’

 

‘कांग्रेसलाई धन्यवाद दिनोस्’

सभापति देउवाले महासमिति बैठकबाट नेपाली कांग्रेस पार्टीलाई समावेशी बनाइएको दबी गर्दै पत्रकार/लेखकसँग भने, ‘यसमा धन्यवाद दिनोस् न । पार्टीले यत्रो ठूलो फड्को मारेको छ, बधाइ दिनुपर्ने हो ।’

 

कतिपयले बाहिर बाहिर जति समावेशीको कुरा गरे पनि भित्रैबाट कोही पनि समावेशी बनाउन चाहँदैनन् भन्दै देउवाले थपे, ‘हामीले समावेशी बनाएका छौं ।’

 

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नेपाली कांग्रेसले आफ्नो एजेण्डा छाडेको र गोविन्द केसीको पछि लागेको आरोपसमेत लगाएका थिए । जवाफमा देउवाले माइतीघरको कार्यक्रममा कांग्रेस गोविन्द केसीसँग मिसिएको नभएर पुलिसको हस्तक्षेप हुँदा त्यस्तो देखिएको तर्क गरे ।

 

देउवाले भने, ‘अर्काको जुलुसमा जाने गरी कांग्रेस पार्टी सिद्धिएको छैन । पार्टी त्यहाँ गएको छैन । गगन थापा व्यक्तिगतरुपमा सहभागी भएका हुन् । झण्डा लिएर गएका होइनन् । पार्टी सहभागी भएको होइन ।’

 

केपी ओली सरकारविरुद्ध कांग्रेसले सडकमा बन्द हडताल गर्न सक्ने भएता पनि जनतालाई दुःख दिने गरी पार्टीले बन्द गर्न नचाहेको देउवाले बताए ।

 

चुनावमा नेपाली कांग्रेसले हारे पनि समानुपातिकतर्फ एमालेसँग एक प्रतिशतमात्रै मतान्तर रहेको देउवाले बताए । आफूहरुको चिन्ता चुनावको परिणाममा भन्दा पनि ‘डेमोक्रेटिक सिस्टम’ बस्छ कि बस्दैन भन्नेमा रहेको उनले बताए ।

 

कांग्रेस सभापति देउवाले केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भइसकेको आरोप लगाए । उनले भने, ‘कहाँ छ राष्ट्रवाद ? लम्पसारवादमा गइसक्यो ।’

 

लेखक/सम्पादकहरुसितको तीनघण्टा लामो अन्तरक्रियामा कांग्रेस सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधी र विजयकुमार गच्छदारका साथै महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कासमेत सहभागी थिए ।

 

नेपाली कांग्रेसका शीर्षनेताहरुले एकै ठाउँ भेला भएर अरुका कुरा सुन्न थालेको भन्दै सहभागीहरुले कांग्रेस पदाधिकारीलाई धन्यवाद दिएका थिए । अनौपचारिक भन्दै आयोजना गरिएको कार्यक्रमको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...