जब तस्करकै ट्रक दुर्घटना भयो, तब प्रहरी र तस्करबीच सेटिङमा हुने धन्दाको पोल खुल्यो



हाम्रो इकोनोमि

 

विन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वा भाटामा हिजो साँझ भएको सवारी दुर्घटनाकाण्डले वीरगञ्जबाट कसरी तस्करी भइरहेको छ भन्ने कुरा उजागर हुन पुगेको छ ।

जिप्रकाका एसपी रेवती ढकाल केही दिनलाई बिदामा काठमाडौँ गएको मौका छोपी क्राइम ब्रान्च टोलीका प्रमुख प्रहरी निरीक्षक राजेश दत्तले मरीच र गेडागुडी तस्करीको सेटिङ गरी भारततर्फ तस्करी गराउने क्रममा सो दुर्घटना भएको थियो ।

गेडागुडी र मरीच गरी ६ सय बोरा लोड गरिएको १२ चक्के ट्रकले बहुअर्वा भाटामा ठक्कर दिँदा सविना खातुनको घटनास्थलमै मृत्यु भएको थियो ।

झपड मुखियाकी भान्जी सैमुदिन अन्सारीकी छोरी सविना खातुन पोखरीया नगरपालिका–७ रानीगञ्ज निवासी हुन् ।

तस्करी गर्न लागिएको ६ सय बोरा गेडागुडी र मरीच भिस्वा बस्ने तस्कर किशोर जैसवालको भएको समेत खुल्न आएको छ ।

सुरुमा तस्कर किशोर जैसवालले क्राइम ब्रान्च टोलीका निरीक्षक राजेश दत्तलाई सेटिङ मिलाई तस्करी गर्न लैजाने क्रममा नाकामा सशस्त्र प्रहरीको चेकजाँच भइरहेको देखेपछि सामान पक्राउ पर्ने डरले सामान लोड गरिएको ट्रक फिर्ता गर्ने क्रममा उक्त सवारी दुर्घटना भएको थियो ।

तस्करीको सामान किशोर जैसवालको भए पनि नाकामा सेटिङ मिलाएर भारततर्फ तस्करी गराउने जिम्मेवारी भने अमरपट्टी झौवाका उत्तम तिवारीले जिम्मा लिएका थिए ।

तिवारी सीमा क्षेत्रमा प्रहरी प्रशासनलाई मिलाएर तस्करीको जिम्मा लिने एजेन्टका रुपमा चिनिन्छन् ।

पोखरियामा रहेका दुई वटा गोदामबाट तस्करीको सामान लोड गरी तस्करी गर्न लाग्दा सेटिङ नमिलेपछि पुनः पोखरियामा नै फिर्ता गर्ने क्रममा सो घटना भएको र सविना खातुनको मृत्यु भएको थियो ।

घटनास्थलमै सविनाको मृत्यु भएपछि आक्रोशित स्थानीय जनताले गाडी आफ्नो नियन्त्रणमा लिएको स्थानीय मुखिया एवम् सत्तारुढ नेकपासँग नजिक रहेका जालिम मियाँले हाम्रा संवाददातालाई जानकारी दिए ।

जालिम मियाँका अनुसार ड्राइभर पनि भागेको र रातिसम्म प्रहरीले गाडी धनीलाई पनि उपस्थित गराउन नसकेपछि स्थानीयले उक्त गाडी आफ्नो नियन्त्रणमा लिएको बताए ।

घटना घटिसकेपछि स्थानीयले गाडी नियन्त्रणमा लिएको थाहा पाई प्रहरी निरीक्षक राजेश दत्तले दुई ट्रक प्रहरी घटनास्थलमा पठाई गाडीलाई जवर्जस्ती नियन्त्रणमा लिई तस्करकै गोदाममा पठाउने लागेको भन्दै स्थानीयले नारा–जुलुस गरी गाडी कुनै हालतमा नछोड्ने भनी सडक अवरोध गरेपछि बिहीवार ११ बजेसम्म गाडी धनी ट्रकका चालकलाई उपस्थित गराउने सर्तमा राजेशले लगेको प्रहरी टोली फिर्ता भएको थियो ।

स्थानीयले उक्त ट्रकलाई रातभरि कुरेर बसे भने केही प्रहरी पनि घटनास्थलमा थिए ।

उक्त ट्रकमा के रहेछ भनी स्थानीयले चेकजाँच गर्ने क्रममा ६ सय बोरा गेडागुडी र मरीच रहेको खुल्न आएको हो ।

तस्करसँग मोटो रकम लिई निरीक्षक राजेश दत्तले भारततर्फ तस्करी गराउन लाग्दा उक्त घटना भएको र भोलि सार्वजनिक भई कारवाहीमा परिने डरले उक्त ट्रक जसरी पनि आफ्नो नियन्त्रणमा लिन प्रयास गर्दा स्थानीयले नदिएपछि बिहीवार अपरान्हसम्म पनि स्थानीयले उक्त ट्रक आफ्नो नियन्त्रणमा लिएका छन् ।

प्रहरीलाई मिलाएर वीरगञ्जका विभिन्न नाकाबाट संगठित तस्करी गर्दै आएका किशोर जैसवालसँग निरीक्षक राजेश दत्तको अति नजिकको सम्बन्ध रहेको स्थानीयहरूले बताउँदै आएका छन् ।

मुखिया जालिम मियाँका अनुसार जनताले नियन्त्रणमा लिएको ट्रक नदिएपछि र ट्रकमा भएको तस्करीको सामानका विषयमा स्थानीयले सञ्चारमाध्यम र माथिल्लो निकायमा जानकारी गराउन सक्ने भयले दत्तले नेपाल विद्युत् प्राधिकरणलाई दबाब दिई उक्त क्षेत्रमा बत्ती निभाउन लगाएको स्थानीयहरूले आरोप लगाएका छन् ।

मोबाइल चार्ज गर्लान् वा कुनै भिडियो माध्यमबाट तस्करीका बारेमा तथ्य कुरा बाहिर जाला भन्ने डरले निरीक्षक राजेश दत्तले बत्ती निभाउन लगाएको समेत स्थानीयहरूको आरोप छ ।

यो समाचार तयार पार्दासम्म पनि निरीक्षक राजेश दत्तले गाडीका ड्राइभर र धनीलाई उपस्थित गराउन नसक्दा पर्साको प्रमुख जिल्ला अधिकारी एसपी र राजेश दत्तविरुद्ध सडक बन्द गरी नाराबाजी गरिरहेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग नजिकको सम्बन्ध रहेका र पूर्व गाविस अध्यक्षसमेत रहेका जालिम मियाँका अनुसार यस प्रकरणमा प्रहरी निरीक्षक राजेश दत्तले नांगो नाच प्रदर्शन गरिरहेको छ ।

ना ६ ख ७२८२ नम्बरको ट्रकले खातुनलाई हिर्काएको थियो ।

सीमा क्षेत्रमा रहेका नाकाका चौकीहरूबाट रकम उठाउने, तस्करहरूसँग मोटो रकम लिई लाइन चलाउने गर्दै आएका राजेश दत्तले आफूलाई आइजिपी सर्वेन्द्र खनालको संरक्षण रहेको र कसैले केही गर्न नसक्ने बताउँदै आएका छन् ।

२ नम्बर प्रदेशका डिआइजी हरि पालले यसअघि पनि बारम्बार निजको काम सन्तोषजनक नभएको र धेरै गुनासाहरू आएपछि २ पटकसम्म चेतावनी दिए पनि उनी अझै सुध्रिएको देखिँदैन ।

जागिरको अवधिभर सधैँ घुमुवाका रूपमा सिभिलमा परिचालन भएका राजेश दत्त नेपाल प्रहरीका विवादास्पद र बदनाम प्रहरीका रूपमा चिनिन्छन् ।

एसपी रेवती ढकालले निज दत्तलाई नै प्रयोग गरी रकम असुल्ने गरेको आरोपसमेत स्थानीय व्यापारीहरूको रहेको छ ।

आफू रकमको डिल नगर्ने र राजेश दत्तलाई प्रयोग गरी एसपी ढकालले रकम लिने गरेको आरोप व्यापारीहरूको छ ।

पाल डिआइजीका रूपमा गएपछि ठूलो सिण्डिकेटका रूपमा तस्करी नचले पनि सानो रूपमा भने तस्करी व्यापकरूपमा चलिरहेको छ ।

तस्करीको सम्पूर्ण ठेक्का प्रहरीका तर्फबाट यिनै राजेश दत्तले लिने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...