बम्जनले ३ आनी बेपत्ता पारे, शिक्षकले पिटेर एकजाना मृत्यु
लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरू बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् ।
विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
बाराको रतनपुरी जंगलमा निराहार तपस्या गरेको भनी चर्चामा आएका बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न फूलमाया रुम्बा २०६८ सालदेखि गएको उनको परिवारले बताएको छ । बम्जनको आश्रममै रहेको अवस्थामा २०७१ सालको अन्त्यबाट सम्पर्क टुटेको भाइ विजयको भनाइ छ । उनका अनुसार अन्य दुई आनी पनि बेपत्ता भएका छन् । ‘हामीले दिदीको खोजी गरिरहेका छौं,’ रुम्बाले भने ।
उनका अनुसार २०७२ सालको भूकम्पपछि उनकी दिदीको अवस्था बुझ्न बुबाआमा बम्जनको सिन्धुपाल्चोक आश्रममा गएका थिए । उनले भने, ‘फागुनदेखि नै यहाँ छैन भनेर फर्काइदिए ।’
फूलमायासँगै आश्रममा गएकी नुवाकोटकी कर्म वाइबा पनि करिब ५ वर्षदेखि बेपत्ता भएको उजुरी परेको छ ।
मकवानपुरको पदमपोखरी, वनस्पतिका महेन्द्र वाइबाले आफ्ना बुबा सञ्चलाल तपस्यास्थलबाट बेपत्ता भएको बताएका छन् । २०७० सालमा तपस्वी बम्जनसँग हिँडेका वाइबाको परिवारसंँग २०७१ चैत १५ गते फोन सम्पर्क भएको थियो । त्यसपछि सम्पर्क छैन ।
सिन्धुपाल्चोकस्थित बम्जनको तपस्यास्थल पुगेर छोरा महेन्द्रले खोजतलास गर्दा फेला पार्न सकेका थिएनन् । सबैतिर खोज्दा फेला पार्न नसकेपछि प्रहरीमा उजुरी दिएको महेन्द्रले बताए । डीएसपी भट्टराईले बम्जनको तपस्यास्थलको खोजीलगायत जानकारी लिने प्रयास गरिरहेको बताए ।
बारा — शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो ।
शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन् । विद्यालयबाट उनको घर ३ किमि टाढा छ । घर पुगेको केही घण्टामै जिल्ला अस्पताल कलैया पुर्याइएका उनको उपचारक्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द्र झाले बताए ।
प्राथमिक तहका शिक्षक यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतालादेखि घाँटीसम्म कुटेको प्रत्यक्षदर्शी अजयकी साथी रीमा मण्डलले बताइन् ।
मृत्युपछि प्रहरीमा जाहेरी दिएको अजयका काका जितेन्द्रले बताए । शिक्षक यादव भने फरार छन् ।
शिक्षकविरुद्ध ज्यान कसुरमा पीडितबाट उजुरी लिएर विस्तृत अनुसन्धान थालिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।
‘शवको पोस्टमार्टम रिपोर्टका आधारमा कारबाही हुन्छ, भिसेरा जाँचका लागि पठाइएको छ’, उनले भने । रिपोर्ट आइसकेको छैन । मृत्युको कारण अहिल्यै भन्न नसकिने उनले बताए । ‘बाहिरी चोटपटक देखिएको छैन, सूक्ष्म अनुसन्धान भइरहेको छ,’ उनले भने ।
साथी रीमाका अनुसार शिक्षकको पिटाइपछि अजय रुँदै विद्यालयबाट निस्केका थिए । घाँस काट्न गएकी आमा कोशिलाले घर फर्कंदा अजयलाई खाटमा बेहोस अवस्थामा भेटेकी थिइन् । ‘छोरालाई बेहोस देखेपछि हतपत अस्पताल लग्यौं, अस्पताल पुगेको केहीबेरमै बाबुको सास गयो,’ कोशिलाले भनिन् ।
उनले भनिन्, ‘किन त्यस्तो भयो, विद्यालयबाट किन चाँडै फर्केको हो भन्ने पछि मात्रै थाहा भयो ।’
त्यही विद्यालयमा कक्षा ६ मा पढदै गरेकी छोरी शान्ति र छिमेककी अर्की छात्राले सुनाएपछि मात्रै घटनाबारे थाहा पाएको उनले बताइन् । अजयका साथी धर्मेन्द्र ठाकुरका अनुसार कक्षा ७ का सबै जनालाई शिक्षक यादवले तेस्रो घण्टीमा बाहिर निकालेका थिए ।
‘कक्षामा फर्काएर सरले अजयलाई बेस्सरी कुट्नुभयो, कुटाइले उ थरथर कामिरहेको थियो,’ उनले भने, ‘सरले कुटदै, हप्काउँदै घर पठाइदिनुभयो, अजय रुँदै गयो ।’ निजी विद्यालयमा पढ्ने अजय यसै वर्षदेखि उक्त सरकारी विद्यालयमा भर्ना भएका हुन् ।
विद्यार्थीको मृत्युपछि गाउँका सयौं व्यक्ति जिल्ला प्रहरी कार्यालय र अस्पताल पुगेका थिए ।
‘अस्पताल ल्याउँदा अजय बेहोस थियो, मुखबाट र्याल निस्केको थियो,’ मेडिकल सुपरिन्टेन्डेड झाले भने, ‘पोस्टमार्टम जाँचका लागि प्रहरीले पेटमा भएको खानाको केही भाग लगेको छ, रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ ।’ अजयले बान्ता र पखाला गरेको देखिएको उनले जानकारी दिए ।


