प्रचण्डले दुई घण्टा लगाएर ओलीलाई यसरी झपारे,’पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी होइन’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले नै सरकार चलाउने हो, सरकारले पार्टी होइन भन्ने स्पष्ट पारेका छन्।
जारी स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै प्रचण्डले सदस्यहरुले उठाएका धारणाको जवाफ दिएका थिए।
उनले झन्डै दुई घण्टा आफ्नो धारणा राखेका थिए। त्यसक्रममा उनले पार्टी एकताको पृष्ठभूमिदेखि सरकार सञ्चालनका विषयमा समेत आफ्नो धारणा राखेका थिए। उनले दुई पार्टी फरक राजनीतिक पृष्ठभूमिका रहँदादेखि नै छलफलमा रहेको अवगत गराएका थिए।
‘जोखिमपूर्ण अवस्थामा पनि हामीले छलफल र संवाद जारी राख्यौं’, प्रचण्डको भनाइ उदृत गर्दै नेता योगेश भट्टराईले भने, ‘एकताको लागि लामो प्रयत्न थियो। केही कमजोरीका बाबजुद पनि यो एकता ऐतिहासिक छ।’
उनले वर्तमान राजनीतिक अवस्थाको बारेमा संक्षिप्तमा वर्णन पनि गरेका थिए। समाजवादको आधार तयार गर्ने हाम्रो अबको कार्यभार हुनुपर्ने उनले बताएका थिए।
प्रचण्डले पार्टीलाई विगतको आँखाले हेर्न नहुने बताएका थिए। हिजो कसरी चलियो, त्यसलाई बिर्सेर अगाडि बढ्नुपर्ने उनको धारणा थियो। ‘हिजोका गुटबन्दीहरुका प्रभाव नयाँ पार्टीमा रहनुहुँदैन’, प्रचण्डले भनेका थिए, ‘त्यसमा हामी दुवै अध्यक्ष स्पष्ट छौं। पार्टीभित्र हार्दिक एकता गरौं। सबैको भूमिकालाई सम्मान गरौं। म त्यो चाहन्छु।’
प्रचण्डले जारी बैठक आफ्नो लागि एउटा स्कुल भएको र आफूले धेरै कुरा सिकेको बताएका थिए। ‘स्थायी समिति सदस्यको विचार र भावना के रहेछ, उहाँहरुभित्र पस्न मलाई सजिलो भयो’, प्रचण्डले भने।
सकारको विषयमा पनि प्रचण्डले बोलेका थिए। उनले सरकार पेचिलो अवस्थामा बनेको बताएका थिए। आफूहरुलाई सरकार बनाउनै नदिने प्रयत्न भएको सन्दर्भ जोड्दै उनले यो सरकार ठूलो मूल्यमा बनेको बताए।
उनले एमालेसँग एकता नगर्नका लागि आफूलाई अनेक किसिमको प्रलोभन देखाइएको उनले बताएका थिए। ‘तर केही सीप नलागेपछि अनेक धम्की मसेत पनि दिइएको थियो’, प्रचण्डले भने।
प्रचण्डले सरकारले यसबीचमा केही महत्त्वपूर्ण कामहरु गरेको बताए। कानुन बनाएको, चीन र भारतमा प्रधानमन्त्रीले भ्रमण गरेको र ऐतिहासिक समझदारी गरेको लगायतका उदाहरण प्रचण्डले दिएका थिए। ‘यसका साथसाथै केही कमजोरीहरु पनि भएका छन्।
त्यसलाई सुधारेर जानुपर्छ’, उनले भने, ‘पार्टीले सरकारलाई असहयोग गर्ने र सरकारले पार्टीलाई बेवास्ता गर्ने अतिवादबाट अगाडि बढ्नुहुँदैन। पार्टीले सरकारलाई मदद्त गर्ने, सकारले पार्टीको सहयोग लिने कोसिस गर्नुपर्छ।’
प्रचण्डले विभिन्न कारणले कमिटीहरुको गठनमा ढिलाइ भएको बताएका थिए। अहिलेसम्म ढिला भएको भए पनि अब ढिला गर्नु नहुने बताएका थिए। सबै कमिटीहरुको एकता र गठन गर्न यही बैठकले कार्यदल गठन गर्नुपर्ने उनले बताएका थिए। त्यही कार्यदलले स्थायी समितिमा ल्याउनुपर्ने उनले बताए। त्यसमा छलफल गरेर टुंग्याउन प्रस्ताव गरेका थिए।
‘प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा स्थायी समितिका सदस्यहरुबाट व्यक्त विचार सुझाब आलोचना सबैलाई ध्यान दिएर त्यसका सकारात्मक पक्षहरुलाई समावेश गर्दै यो प्रतिवेदनलाई परिमार्जित प्रतिवेदनका रुपमा पारित गर्नु उपयुक्त हुन्छ’, प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘र, त्यो परिमार्जित प्रतिवेदनले आजको पार्टीको आवश्यकता राष्ट्रको आवश्यकता सम्बोधन गर्दै पार्टी एकतालाई झन् बलियो बनाउनेगरी अगाडि बढ्नुपर्छ भन्ने विचार व्यक्त गर्नुभएको छ।’
प्रचण्डले स्थायी समितिमा भएको छलफलबाट पार्टी एकतालाई बलियो बनाउने मात्रै होइन, सरकारलाई सफल बनाउने पनि आधार प्रदान भएको बताएका थिए।
पार्टी र सरकारलाई अलगथलग होइन, द्वन्द्वत्मक सम्बन्धका आधारमा पार्टीले सरकारलाई सफल बनाउन सम्पूर्ण रुपले सहयोग गर्ने र सरकारले पार्टीलाई सहयोग गर्ने वातावरण बनाउने र सामूहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्न प्रचण्डले जोड दिएका थिए।
प्रचण्डले दिएको वक्तव्यले धेरै समस्याहरुको समाधान गरेको नेता झलनाथ खनालको धारणा छ। ‘अरु सबै समस्याहरुको समाधान गर्नका लागि केन्द्रीय कमिटीको एउटा कार्यदल बनाएर हल गर्नुपर्छ भन्नुभएको छ’, उनले भने।