महेन्द्र र वीपीको भ्रममा बाँचेका छन् केपी ओली



 

कांग्रेस महासमिति बैठकमा प्रधानमन्त्री केपी ओलीका बारेमा तपाईंहरुको मूल्यांकन के रह्यो त ?

अहिले प्रधानमन्त्रीजीको ग्राफ वास्तवमा निकै तल झर्दो क्रममा छ । उनी मानसिकरुपमा पनि अलिकति आत्तिएको जस्तो देखिएका छन् । उनका अभिव्यक्तिहरुले त्यो संकेत गर्दछन् । उनको फरक गुटका मान्छेहरुले लखेट्न खेद्न थालिसकेका छन् ।

 

एउटा कुरा म जोड्न चाहान्छु भने अहिलेको विश्व एकदमै पपुलिष्ट कार्यक्रम लिएर जाने, डेलिभरी दिन नसक्ने अनि पतन हुँदै जानेखालको देखिन्छ । हंगेरीमा त्यही भएको छ । फ्रान्समा इमानुयल म्याक्रोन राष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा लोकप्रिय मत पाएर जितेका थिए । तर, डेढ वर्षको दौरानमा यति तल झर्‍यो नि उनको ग्राफ, अहिले उनी मस्ट अनपपुलर प्रेसिडेण्ट बनेका छन् ।

 

अब अहिलेको समाज एकदमत्तै सुसुचित र उत्तेजित छ । उसले तुरुन्तै डेलिभरी चाहान्छ । यो कुरा हाम्रो छिमेकबाटै सिक्दा पनि हुन्छ । मोदीजीकै लोकप्रियता घट्दो छ । अहिलेको विश्वको ट्रेण्ड नै यस्तै छ ।

 

अब, आउने कुनै पनि सरकारले जे गर्न सकिन्छ ठिक्क बोल्ने गरिहाल्ने भयो भने हुन्छ । तर, खड्गप्रसादजीले धेरै ठूला कुरा गरेर भोट लिनुभयो । उहाँले ती सबै काम गर्न सक्ने अवस्था त छैन । त्यसैले उहाँको बोली र डेलिभरी मिलेन । अब ओरालो यात्रा शुरु भयो ।

 

तपाईको विचारमा ओलीजीको नियति के होला त ?

यिनको नियतिचाहिँ अब ५/६ महिना अरु यसैगरी तानिन्छन् । त्यसपछि आन्तरिक वातावरण यसरी पाक्दै जान्छ कि पार्टीभित्रै कर्नरमा पार्छन् । अहिलेनै पूर्वएमालेका नेताहरुले पुष्पकमललाई पावर हातमा दिइहाल्न पनि सकेका छैनन् । तर खड्गप्रसादलाई पावर चेक गर्नको लागि माधव नेपालहरुले माओवादीसँग तालमेल गर्न सक्छन् ।

 

माधव नेपाल कडा विकल्प होइनन् । कडा विकल्प पुष्पकमल नै हुन् । विस्तारै पुष्पकमलले पावर हातमा लिने अवस्था आउला । प्रचण्डलाई अलि–अलि बाह्य ब्याकअप पनि हुन सक्छ । अहिले भारत अर्को असार साउनसम्म आफ्नै चुनावमा व्यस्त हुने भएकाले बाहिर नहेर्ला ।

अहिले बाहिरी वातावरणले तुरुन्तै राजनीतिक परिवर्तन हुँदैन । तर, आन्तरिक वातावरणचाहिँ ओलीजीको विरुद्ध बनिरहेको छ । अबका दिनमा हेर्दै जाउँ । तर, उनको त्यति राम्रो हुने देखिन्न ।

 

केपी ओलीमा महेन्द्रको भूत सवार भएको भन्ने आरोप तपाईहरुले किन लगाउनुभएको ?

वास्तवमा ओलीजीले मौका पाएको हो । दुई तिहाईको नेतृत्व गर्ने अवसर विपी कोइरालापछि ओलीलेनै पाएको हो । तर, उनले धेरै महत्वाकांक्षा देखाए । आफ्नो प्रचारमा बढी केन्द्रित भए । फोटो शहरमा टाँग्ने प्रोपोगाण्डाको भूत सवार भएको छ ।

 

अर्को कुरा यी मान्छे कन्फ्युजमा छन् । वाह्य सम्बन्ध उनले सोचेजस्तो पनि भइसकेकोछैन । जनतालाई डेलिभरी दिन पनि सकेका छैनन् । वास्तवमा दुई तिहाइको वजनलाई उनले बोक्न सकिरहेका छैनन् । दुई तिहाईको भारले उनलाई बिस्तारै थिच्दै लगेको छ ।

 

वीपीको त उनी छेउमै पर्न सक्दैनन् । वीपीसँग त उनको तुलनै हुन सक्दैन । तर पनि मैले नै गर्दा आएको त हो दुई तिहाई भन्ने परेको होला । अलि–अलि वीपी कोइरालाको करिस्म्या्टिक पनि मसँग छ भन्ने उनमा परेको होला । अर्कोतिर राजा महेन्द्रको राष्ट्रको राष्ट्रवावादी सोच पनि छ भन्ने होला । यसरी दुईटाको बीचमा म छु भन्ने भ्रममा यिनी बाँचिरहेका छन् जस्तो लाग्यो मलाई ।

 

अब कांग्रेस चाहिँ ओलीको पतन र नेकपाको पराजयमा आफ्नो उत्थान देखेर बस्ने कि आफ्नोभित्र पनि समीक्षा गर्नुभयो यो महासमितिमा ?

हामीले गत वैशाखभरि नै चुनावमा पराजयको समिक्षा गर्‍यौं । यो महासमितिमा त समिक्षाको कुरा थिएन । महासमितिमा केही साथीहरुले कुरा उठाउनुभयो । चुनाव हार्नमा हामी सबै कार्यसमितिका सदस्य जिम्मेवार हौं भन्यौं । तर, पनि यसमा साथीहरुले असन्तुष्टि जनाउनुभएको छ ।

वास्तवमा शेरबहादुरजीले भन्नुहुन्छ–आफू हार्ने अनि मैले हारको जिम्मा लिनुपर्ने ? सभापतिले नैतिक जिम्मेवारी त लिनुर्छ भनेको छु मैले । तर उहाँ त्यसको लागि तयार हुनुहुन्न ।

 

हिजो शेरबहादुर देउवालाई सभापति बनाउन सघाउने कृष्ण सिटौला र अर्जुननरसिंह केसीलगायतका नेताहरुले निकै ठूलो आरोप लगाएर उहाँलाई छाडेको देखिन्छ, कांग्रेसमा अबको सत्ता राजनीति फेरिन लागेको हो ?

यो बडो ठूलो समस्या हो । बैचारिक गुट नभएपछि यस्तो हुँदोरहेछ । शेरवहादुरजीले नयाँ आइडिया वा विचार लिएर समाजवादको विषय उठाएको भए वा धर्मकै कुनै मुद्दा बोकेर ती व्यक्ति जोडिएका भएदेखि त्यो बिचारले जोडि राख्थ्यो । जस्तो कि खुमबहादुरजीले हिन्दूत्वको बिचार बोकेका थिए । त्यहाँ पनि मान्छे अल्झिए । खुमबहादुरका जो थिए, ती रहिरहे ।

 

तर, यहाँ बिचार नभएकाले हिजो शेरवहादुरजीसँग जोडिँदा चुनाव जित्छु भन्ने लागेर उनीतिर गए । मन्त्री बन्न पाइन्छ भन्ने भयो । तर, जब व्यक्तिगत स्वार्थमा टकराव आयो, जिल्लाको राजनीतिको समीकरण बिग्रिएपछि गुट छाड्ने कुरा आउँदो रहेछ ।

 

त्यसोभए जिल्लाको मान्छेलाई प्रवक्ता बनाएर सिटौलाजी बिच्किए त ?

त्योभन्दा पनि उनको अरु गुनासो थियो जस्तो लाग्छ । चुनावमा टिकट दिने बेलामा मलाई समानुपातिकको लिष्ट पनि नदेखाउने ? को को समानुपातिकमा परे भनेर हामी जत्तिको नेताले पनि हेर्न नपाउने ? उनको यसमा प्रश्न थियो । पछि त के के भयो मलाई थाहा छैन । म व्यक्तिहरुको कुरामा जान चाहान्न ।

 

नेकपामा केपी ओली कमजोर हुँदै गएको भन्नुभयो, कांग्रेसमा पनि महासमितिसम्म आइपुग्दा शेरवहादुर देउवा कमजोर भए कि झन् बलियो हुँदैछन् ?

अहिले एउटा कुरा मैले बिचार गरेँ, महासमितिकै बीचमा पनि शेरवहादुरजीको धेरै खस्किसकेको थियो । निकै कचिंगल र असन्तुष्टि थियो । ७० अशन्तुष्टि शेरवहादुरलाई र ३० प्रतिशत रामचन्द्रलाई बोकाइराखेका थिए । तर, विधान घारघुर तरिकाले पारित गरेपछि उनले जुन चलाखीपूर्ण अभिव्यक्ति दिए, त्यसले ताली प्नि खाए ।

 

पार्टीमा विधान नै नआउने हो कि, झगडा गरेर यत्तिकै फर्किनुपर्ने हो कि भन्ने थियो । विधान पनि आयो । उनीहरुले भनेका एकदुईटा माग पनि पूरा भए । केन्दीय सदस्य तलबाट जानुपर्छ, पटक–पटक समानुपातिकमा त्यही व्यक्ति आउनु हुँदैन भन्नेमा शेरवहादुरजीले समर्थन जनाए ।

 

यी सबै घटनाक्रमले शेरवहादुरजीको फिगर जसरी झरेको थियो त्यसलाई पूरानै पोजिशनमा ल्याएको छ । बरु महासमितिले रामचन्दजीलाई अलि छायाँमा पारेको देखियो । जस चाहिँ शेरवहादुरजीले पाउने अवस्था देखियो । समग्रमा महासमितिले शेरवहादुर बलियो र रामचन्द्र छायाँमा परे ।

 

अहिले जसरी विधान पारित भयो धेरै पदाधिकारी राख्ने गरी, यसले शेरबहादुरलाई बलियो बनाएको हो र ?

यो विधानलाई त मैले गुटहरुबीचको सम्झौताको दस्तावेज हो भनेको छु । बढ्दै बढ्दै गएर यहाँसम्म पुग्यो । मैले आफूले कार्य समिति बैठकमा पनि भनेको छु– यो अति उदार हुने मान्छेहरुलाई राम्रो लाग्ला । दक्षिणपन्थी उदारवादीहरुलाई त रामा्रो लाग्ला । तर, व्यवहारिकरुपमा यो विधानलाई थेग्न गाह्रो हुन्छ । यसको व्यवस्थापन गर्न गाह्रो हुनेछ ।

 

समावेशी राम्रो सिद्धान्त हो । तर, भोलि सभापति एउटा पक्षको र पदाधिकारी अर्को पक्षको हुने अवस्था आउँछ । सभापतिले कामै गर्न नसक्ने अवस्था आउँछ । प्यानलवाइज चुनाव हुन्छ र सभापति अल्पतमा पर्ने खतरा देखिन्छ । यसले समस्या खडा पार्ने देखिएको छ ।

 

बरु सभापति महाधिवेशनबाट सिधै निर्वाचन गरौं र अरु पदाधिकारी कार्य समितिबाट निर्वाचित गरौं भनेको हो । अब शेरबहादुरजीले को–कोसँग कुन कोठामा बसेर यो सम्झौता गर्नुभयो, मैले बुझेको छैन । वास्तवमा यो विधान पार्टीमा वृहत छलफल गरेर भन्दा पनि अँध्यारा कोठाभित्र बसेर आएको हुनाले यसले क–कसलाई अप्ठेरो पार्छ हेर्दै जाउँ । यद्यपि शेरबहादुरजीले यसमा पनि बाजी मार्नुभयो ।

 

त्यसोभए कांग्रेसभित्रको शेरबहादुर देउवा विरोधी गुट झन् कमजोर हुन्छ ?

वास्तवमा कांग्रेसभित्र शेरवहादुरजी आफ्नो गुटमा चुनौतिविहीन छन् । यतापट्टि अर्को गुटमा सबै महत्वाकांक्षीहरुको जमात छ । कोही विरासतका कुरा बोकेर आइरहेका छौं । हामी कोइराला हौं भन्दैछन् । लञ्चहरु चलेका छन् । मानिलिउँ कोइराला हौं भनेपछि सबै झुकिहाल्छन् भन्ने सोच देखिन्छ ।

 

विरासत बोकेर अघि बढ्नेवाला छन् । कोही हामी महामन्त्री भइसकेका हौं भन्ने पनि छन् । यी सबै जमात एकातिर छन् । अर्कोतिर शेरबहादुरजी उनको गुटमा सर्वसम्मत रुपमा छन् । अर्को गुटमा जो सभापतिको बलियो दाबेदार भन्छ, उसले सबैलाई सन्तुलन मिलाउनुपर्ने चुनौति छ ।

 

रामचन्द्र पौडेल अर्को गुटको नेता होइन र ?

नेता त हो । तर, एकले अर्कोलाई त्यहाँ टेर्दैन । विरासत, परिवार र पावरको कुरा छ । उहाँ अझै पनि छाड्ने मुडमा हुनुहुन्न । तर, त्यो ब्लकको सिंगो नेता उहाँ हुन सक्नुभएको छैन र सम्भव पनि छैन । त्यहाँ परिवारवादको कुरा पनि चर्को रुपमा आइसकेको छ ।

 

भारतमा गान्धी परिवारजस्तै नेपालका कांग्रेसभित्र कोइराला परिवारको विरासततै स्वीकार्य भइसकेको कुरा होइन र ?

भारतको प्रसंग अलि फरक छ । गान्धी परिवारको लिगेसी स्वीकार्य छ । मैले त भारतीय कांग्रेसको ८४ औं महाधिवेशन पर्यवेक्षक भएर हेरेँ पनि । त्यहाँचाहिँ माइनस राहुल गर्ने हो भने ठूला घाघडान नेताहरुबीचमै कसलाई मान्ने हो भन्ने समस्या आइहाल्यो ।

 

इन्दिरा गान्धीकै पालामा पनि मोरारजी देसाईलाई प्रधानमन्त्री बनाउँदा समस्या आइहालेको थियो । अहिले राहुल गान्धी सबैलाई बाइण्ड गर्नसक्ने देखिए । तर, त्यहाँ गान्धी परिवारजस्तो स्वीकार्य यहाँ हाम्रोमा कोइराला परिवार हुँदैन ।

 

त्योखालको आकर्षण पनि छैन यहाँ उनीहरुमा । वीपी आफैंले पनि त्यो खालको परिवारवादको विरासतको कुरा गर्नुभएन । गिरिजाबाबुले धेरै गर्नुभयो । सकेसम्म परिवार स्थापित गर्न खोज्नुभयो । तर विरातसँगै क्षमता पनि भयो भने स्वीकार्य हुन्छ । क्षमता नभई विरासतमात्र भँजाएर हुँदैन ।

 

महासमिति बैठकबाट निस्कँदै गर्दा कांग्रेसले आन्दोलन गर्ने भनेको छ, अहिले आन्दोलन गरिहाल्नुपर्ने मुद्दा के छन् ?

यो सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने धेरैवटा मुद्दा छन् । अधिनायकवाद भन्ने कुरा त एउटा जार्गनमात्र हो । अहिले केपी ओली वा यो सरकार अधिनायकवादतर्फ जान सक्ने सम्भावना त देखिन्न । प्रधानमन्त्रीले बढिमात्रामा पावर हातमा लिन खोजे भन्ने कुरा छ । ५० अर्बमाथिका ठूला आयोजनाहरु सिधै प्रधानमन्त्री माताहतमा लैजाने लगायत गुप्तचर सम्बन्धी निकाय सिधै उहाँले सम्हाल्ने भनेपछि अलि शक्ति केन्द्रित भयो । त्यसले अधिनायकवादको ट्रेण्ड चाहिँ देखाउँछ ।

 

अहिले जुन हत्या र बलात्कारमा केसहरु धेरै आइरहेका छन् । महँगीका कुरा छन्, निजी क्षेत्र निराश भएको छ । कर्मचारीदेखि लिएर पुँजी बजारका मान्छेहरु पनि आन्दोलनमा छन् । यी सबै कुराको विरुद्ध सशक्त आवाज लिएर कार्यकर्तालाई अझ बढि सक्रिय र उर्जाशील बनाउँदै यो सरकारलाई दबाबमा पार्नुपर्छ भन्ने कुरा आएको हो ।

हामी कहिले सडक आन्दोलनमा जाने भन्ने सल्लाह गर्छौं । तर हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ ।

 

आन्दोलनचाहिँ नगरी नहुने के भाउँतो आइलाग्यो त ?

अब हेर्नुस् न धर्मकै कुरा आएका छन् । एशिया प्यासिफिक समिटका नाममा जुन गरियो यी सबैले गर्दा अस्थिरताको राजनीति होला जस्तो छ । यसका विरुद्ध त आन्दोलन गर्नुपर्नेभयो ।

 

यो समिटमा हिजो गिरिजाप्रसाद र कृष्णप्रसादहरु पनि भाग लिएर अवार्डेड भएका थिए, कांग्रेसले गर्दाचाहिँ ठीक हुने ?

यसको प्रक्रिया र नेचरमा फरक छ । हिजो गिरिजाप्रसाद र कृष्णप्रसाद भट्टराईलाई अवार्ड दिए पनि पवित्र माता बोलाएर होली वाइन खुवाएका थिएनन् । पशुपति र बौद्धनाथको बीचमा यो कार्यक्रम गरिएको थिएन । हिजो शान्तिको नाममा गरेका हुनाले अज्ञानताका कारण उहाँहरु सहभागी हुनभएको थियो ।

 

मैले त किसुनजीलाई त्यतिबेलै पनि यो गलत कार्यक्रम हो भनेको थिएँ । उसको लक्ष्य नै एक सय वर्षमा सबैलाई क्रिश्चियन बनाउने हो । मलाई एकनाथ ढकालको संस्थाले दुई तीनपटक भाग लिनुपर्‍यो भनेको हो । कतिपयलाई योबारेमा थाहा छैन ।

 

अहिले हाम्रो प्रधानमन्त्री लगायतका नेताहरुले यो बारेमा बुझ्नुपथ्र्यो । एशिया प्यासिफिक समिटमा अरु देशका महामहिम राष्ट्रपति,सरिकार प्रमुख बोलाउँदा आपत्ति भएन । तर, यसको पृष्ठभूमि राम्रो भएन । हाम्रा परम्परागत धार्मिक मान्यतालाई चुनौति दिने ढंगले आएको हुनाले यसको बिरोध गर्नुपरेको हो ।

हामी सबै धर्मको सम्मान गर्छौं । तर, प्रलोभनमा पारेर धर्म परिवर्तन गर्ने, हाम्रो परम्परात विपरीत होली वाइनका नाममा के–के गर्ने यो ठीक भएन । यसमा सरकार र नेकपाको सहभागिता देखियो ।

 

तपाईहरुको निष्कर्ष कम्युनिस्ट पार्टीले संस्थागत रुपमा क्रिश्चियानिटी बढाउन खोज्यो भन्ने हो ?

अझै पनि म उहाँहरुलाई त्यो आरोप लगाउन चाहान्न । जान अन्जानमा उहाँहरु यसमा सहभागी हुनभएको छ । टिकट फ्री पाइने, देश विदेश घुम्न पाइने, फाइभ स्टरमा बस्न पाइने भनेर पनि नेताहरुले विश्लेषण नगरी भाग लिएका पनि हुन सक्छन् ।

 

कांग्रेसको महासमितिमा यही मौकामा हिन्दूत्वको एजेण्डा ल्याउन तपाईहरुमाथि दबाव बढेको हो ? अझ महामन्त्रीले नै प्रस्ताव नै ल्याउने भन्ने थियो, के भयो ?

यसमा फेरि पनि प्रष्ट पारौं, हामी क्रिश्चियन धर्मको विपक्षमा होइनौं । राज्य नै सहभागी हुनुहुँदैनथ्यो त्यो सम्मेलनमा भन्ने मात्र हो । धर्म परिवर्तन रोक्नुपर्छ भन्ने हो । हिन्दू धर्मको एजेण्डा कांग्रेस महासमितिमा उठेको हो । तर, यो कुरा मञ्चबाट होइन, फ्लोरबाट आएको हो ।

 

हामीले कार्य समितिबाट पारित गरेर हिन्दूत्वको एजेण्डा लगेको होइन र अहिले आउँदा पनि आउँदैन । तलबाट यो कुरा आएको हो । ८० प्रतिशत हिन्दू भएको देश हिन्दू राज्य हुनुपर्छ भनेर तलबाट कुरा आउनु स्वाभाविक हो । तर, कार्य समितिमा यो प्रवेश गरेको छैन ।

 

भनेपछि कांग्रेसको कार्य समितिमा हिन्दूत्वको एजेण्डा प्रवेश गरेको छैन ?

केन्द्रीय सदस्यहरुका बिचार आउँछन् । तपाईले भनेजस्तो एकजना महामन्त्रीले पनि कता बाहिर यो कुरा राख्नुभयो । तर, महामन्त्रीले पनि आधिकारिक रुपमा यो कुरा उठाउनुभएको छैन । उहाँले अस्ति त धार्मिक स्वतन्त्रताको कुरा पो गरेको भन्दै हुनुहुन्थ्यो ।

वास्तवमा यो धार्मिक लफडामा परेर प्रधानमन्त्री खड्गप्रसाद ओलीजी आफैंले आफूलाई विवादमा तान्नुभयो ।अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस
हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला

     निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि

नारायणगढ–मुग्लिन सडकमा बस र हायस ठोक्किँदा ५ जनाको मृत्यु

    नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

    काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द गर्न लागिएको

एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार