प्रधानमन्त्रीलाई असफल बनाउँदै पर्यटनमन्त्री अधिकारी



 

 

सरकारले बढ्दो ब्यापार घाटा कम गर्न इन्धन आयात प्रतिस्थापन गर्नका लागि विद्युतीय सवारी साधन प्रयोगलाई प्राथमिकता दिने नीति लिएको छ । तर सरकारको यो नीति लागू गराउन कर्मचारीतन्त्र नै बाधक देखिएको छ ।

 

सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिने भने पनि कर्मचारीले कमिसन नपाउने भएपछि त्यसलाई असफल पार्ने खेलमा लागिसकेका छन् । लुम्बिनीमा संचालन गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा २०७५ कात्तिकमा ल्याइएका ५ वटा विद्युतीय बस साझा यातायातको ग्यारेजमा थन्किएका छन् ।

 

विद्युतीय बसको बडो उत्साहका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । लुम्बिनीमा तत्काल चार्जिङ स्टेसन नभएका कारण साझा यातायातलाई ती बस संचालन गर्न दिइएको थियो । वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्न अनुमति नपाएपछि बस साझाको ग्यारेजमै थन्किन पुगेका हुन् ।

 

लुम्बिनीमा संचालन गर्नका लागि ल्याइएका ती बस सोझै खरिद गरिएका कारण कमिसन नपाएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री, सचिव र कर्मचारीहरुले स्पेसिफिकेसन अनुसार नभएको भनी संचालन अनुमति नै रोकेका छन् । पर्यटन मन्त्रालयले ती बस स्पेसिफिकेसन अनुसार छन् कि छैनन् भनेर मेकानिकल इन्जीनीयर रहेको कमिटी गठन गरेको थियो ।

 

सहसचिव नीता अर्यालको संयोजकत्वको ५ सदस्यीय कमिटीले ती विद्युतीय बस स्पेसिफिकेसन अनुसार नभएको प्रतिवेदन दिएपछि अनुमति नदिइएको पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले दृष्टिलाई बताएका छन् । उनले भने, मेकानिकल इन्जीनीयरसहितको कमिटीले स्पेसिफिकेसन अनुसार नभएकाले ती बस संचालन अनुमति दिन नमिल्ने उनको प्रतिक्रिया छ ।

 

मेकानिकल र इलेक्ट्रिकल इन्जीनीयरको टोलीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दीपक देवकोटालाई पनि राखिएको छ । अनियमितता भए छानबिन गर्नुपर्ने निकाय अख्तियारकै इन्जीनीयरले बसको स्पेसिफिकेसन हेर्ने कमिटीमा बस्न मिल्छ त भन्ने प्रश्नमा देवकोटाले भने–सरकारले बोलाएकाले गएको हुँ ।

 

चीनबाट पनि इन्जीनीयर ल्याइएको बताउँदै उनले भने–कमिटीले प्रतिवेदन दिइसकेको छैन । विद्युतीय बस चीनमा बनेको भनिए पनि बडी भारतमा बनेको र एसी चिसो तातो दुवै हुनुपर्नेमा चिसोमात्र दिन्छ । एसीमा तातो राखेर बडी चीनमै बनाएर ल्याए अरु ठीकै छ, देवकोटाले भने ।

लुम्बिनीमा संचालन गर्नका लागि ल्याइएका विद्युतीय बसको गएको ६ कात्तिकमा प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री युवराज खतिवडा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, वनमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री वर्षमान पुनलगायत काठमाडौं र ललितपुर महानगरका प्रमुखको उपस्थितिमा तामझामका साथ उद्घाटन गरेका थिए । यसरी प्रधानमन्त्रीलाई उद्घाटन गर्न लगाएर बस संचालन अनुमति नदिएपछि सरकारलाई असफल पार्ने खेलमा कर्मचारीहरु नै लागेको स्पष्ट भएको छ ।

 

कर्मचारीले कमिसन पाउने भए स्पेसिफिकेसन हेर्न कमिटी नै बनाउँदैनथे, तर विद्युतीय बसमा एशियाली विकास बैंकले कमिसन नदिने भएपछि कमिटी बनाएर प्रधानमन्त्रीलाई नै विवादमा पार्ने काम गरेका छन् । सरकारले काम नगरेको आरोप एकातिर छ भने सरकारको पनि गुनासो कर्मचारीले नटेरेको भन्ने छ । त्यसैको एउटा उदाहरण बिजुली बस पनि हो ।

प्राविधिक समितिले अध्ययन गरिरहेको छ: पर्यटन मन्त्रालय 
विद्युतीय गाडीको विस्तृत अध्ययन गर्न बनेको पाँच सदस्यीय प्राविधिक समितिले अध्ययन गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए ।

 

पर्यटन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नागरिक उड्डयन प्राधिकरणका मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरसहितको समितिले प्रतिवेदन बुझाएपछि मात्र अनुमति दिने–नदिने विषयमा निर्णय हुने उनको भनाइ छ । विस्तृत अध्ययन गरेपछि मात्र बस सञ्चालन गर्न अनुमित दिइने मन्त्रालयले जनाएको छ ।

 

एउटा गाडीको मूल्य १ करोड ७५ लाख
एउटा विद्युतीय बस १ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको सिइओ तुलाधरले बताए । चालकसहित २० सिट क्षमता भएको बस उभिएर पनि यात्रा गर्न सकिनेखालको छ । तीनदेखि चार घन्टा चार्ज गरेपछि दुई सय किलोमिटर गुड्ने बताइएको छ । बसमा सिसी क्यामेरा जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्