संविधान संशोधनमा गर्न सरकार तयार, राजपाले ओलीलाई दियो ७ दिने अल्टिमेटम
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको संविधान संशोधनलगायतका मागबारे ठोस धारणा दिन एक हप्ताको समय माग गरेका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहेको राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग मंगलबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत राजपाको मागमा ठोस धारणा दिन एक हप्ताको समय माग गरेका हुन् ।
राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्यहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीहरुको माग छिटोभन्दा छिटो समाधान गरेर अघि बढ्न तयार रहेको बताएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले उहाँहरुले राखेका मागहरुलाई सकारात्मक ढंगले लिदै चाँडो भन्दा चाँडो समस्या हल गर्ने स्पष्ट पार्नुभयो’ उनले भने ।
संविधान संशोधन गर्नेलगायतका माग सम्बोधनको तयारी गर्न प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको नेतृत्वसँग एक हप्ताको समय पनि माग गरेका छन् ।
एक हप्ताभित्र आफूहरुको माग सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्रीले समय मागेका र आफूहरुले दिएको राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले बताए ।
‘प्रधानमन्त्रीजीले ७ दिनको समय माग्नुभएको छ । यो सन्दर्भमा सरकारको धारणा चैं के कसरी गर्न सकिन्छ ? त्यसको जवाफ हामी दिन्छौं । भन्नुभएको छ’ उनले भने ‘७ दिनसम्म प्रधानमन्त्रीको जवाफ हेर्छौं ।
सबै विषयमा ७ दिनमा चाहिँ उहाँ सल्लाह गरेर बताउनुहुन्छ । साथीहरुसँग सल्लाह गर्नुहुन्छ । त्यो भनेको तपाईहरुको जति समस्या छन्, यो सबै समाधानका सन्दर्भमा राय सल्लाह गर्छु र ७ दिनमा ठोस धारणा दिन्छु भन्नुभएको छ ।’
छलफलमा राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले सहमति अनुसार संविधान संशोधन नगरेको, प्रतिनिधिसभामा निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ खुवाउने व्यवस्था नगरेको तथा विभिन्न राजनीतिक आन्दोलनमा परी जेल चलान भएका र अनावश्यक मुद्दा लगाइएका आफ्ना पार्टीका कार्यकर्तालाई रिहा तथा माफी नदिइएको भन्दै प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि जनाएका थिए ।
त्यस अवसरमा एक हप्ताभित्र पनि आफूहरुको माग सम्बोधन गर्ने तयारी नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी पनि राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले दिएका थिए ।
राष्ट्रिय जनता पार्टी, नेपालले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।
प्रधानमन्त्रीसँगको छलफलमा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोसहित अध्यक्षमण्डलका सबै ६ जना सदस्य सहभागी थिए ।
गल्ती स्वीकार्दै भारतले भत्कायो दशगजाको सडक
मोरङको दशगजा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको सडक भत्काउन थालिएको छ । नेपाली पक्षले दशगजा मिचेर बनाएको सडकको काम रोकेपछि भारतीय पक्षले मंगलबार विहानबाट सडक भत्काउन थालेको हो ।
मोरङको जहदा गाउँपालिका १ कालाबञ्जरस्थित दशगजामा क्षेत्रमा भारतले सडक निर्माण सुरु गरेको थियो । दशगजा मिचेर निर्माण सुरु गरेको सडक स्थानीय प्रशनसनले रोकेपछि गल्ती स्वीकार गर्दै भारतीय पक्षले भत्काउन थालेको सशत्र प्रहरी बल ३ नम्बर गण हेडक्वार्टर मोरङका उपरीक्षक मनिष थापाले जानकारी दिए ।
भारतको विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तीका दुई गाउँ जोड्न दशगजा मिचेर सडक निर्माण सुरु गरेको थियो । दशगजामा सडक निर्माण भएको जानकारी पाएलगत्तै भत्काउन लगाइएको थापाले बताए ।
थापाका अनुसार दशगजा मिचेर करिब ३ सय मिटर सडक निर्माणका लागि माटो थुपारिएको थियो । ‘हामीले भारतीय पक्षसँग कुरा गरेर भत्काउन भनेका छौं’ थापाले भने ‘राति ९ बजेसम्म लगाएर भए पनि खनेको सडक पुर्न भनेका छौं ।’
भारतीय सीमा सुरक्षा बल एसएसबीस“ग समन्वय गरी विहान ९ बजेदेखि सडक भत्काउने काम भएको उनले बताए ।
ठेकेदारले निर्माण गर्नुपर्ने स्थान भन्दा ३५ मिटर उत्तर दशगजामा सडक खनेको थियो । भारतीय एसएसपीस“गको समन्वयमा गर्दा उनीहरुले गल्ती स्वीकार गरेको थापाले बताए ।
भारतीय बिहारका विधायक मनचन केशरीको विधायक फण्डबाट उक्त सडक निर्माणसुरु गरिएको थियो । दशगजामा रहेको १७४÷२ नम्बरको चारपाटे पिलरभन्दा करिब ३ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरेको थियो ।
आइतबार जानकारीमा आउनेबित्तिकै सडक निर्माण रोकिएको बताउदै सशत्र प्रहरी उपरीक्षक थापाले मंगलबारबाट खनिएको सडक भत्काउन लगाएको जानकारी दिए । दशगजामा २५ फिट लम्बाइको सडकमा ३ फिट अग्लो सडक निर्माण गरेको थियो ।