‘हो, ११ सय ६९ चौकीमा शौचालय छैनन्, गाडी मेरो लागि मात्र होइन, पछि आउने आइजिपीले पनि चढ्छन्’



हाम्रो इकोनोमि

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आवश्यकताअनुसार नै बुलेटप्रुफ गाडी किनेको बताएका छन् । प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ गाडी आफ्नो सोख नभई आवश्यकता भएको प्रस्टीकरण दिए ।

 

म गाडीको सौखिन होइन, आवश्यकताले किनेको हो 
गाडीको कुरा आज मिडियामा आएको छ । १२ वर्ष पुरानो गाडी रहेछ । एक ठाउँमा ठोक्किएर आएपछि प्रदेश ५ को एउटा गाडी झिकाएर चढ्दै आएको थिएँ । कतै जाँदा खेरि पाँच–सातजना स्टाफसहित जानुपर्ने हुन्छ । त्यसका लागि हामीले गाडी किनेका हौँ ।

 

त्यो मेरा लागि पनि होइन, संगठनको लागि किनेको हो । अर्काे वर्ष अर्काे व्यक्तिले चढ्ने हो । आवश्यकताको आधारमा गृह मन्त्रालयबाट समेत स्वीकृत भएर खरिद गरिएको हो । म गाडीमा सोख गर्ने व्यक्ति होइन । संगठनलाई चाहिन्छ भनेर किनिएको हो ।

 

अहिले समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रहरी महानिरीक्षककै सचिवालयबाट सञ्चालन भएकाले त्यहाँ धेरै प्रहरी छन् । उनीहरूले ती गाडी प्रयोग गर्ने भएकाले पनि धेरैजस्तो लागेको हुन सक्छ ।

 

शौचालयलाई हामीले प्राथमिकतामै राखेका छौँ
आइजिपीले नयाँ गाडी किन्यो, तर प्रहरीलाई शौचालय छैन भन्ने समाचार आयो । शौचालय आधारभूत कुरा हो, यसमा हामी लागिरहेका छौँ । आठ सय ५० स्थायी र तीन सय १९ अस्थायी गरी एक हजार एक सय ६९ प्रहरी इकाइसँग शौेचालय नभएकाले यो वर्ष चार सय ५० वटा बन्दै छन् । यसलाई पनि हामीले प्राथमिकतामै राखेका छौँ ।

 

१६ करोडको हल म बस्न बनाएको होइन 
आजकै समाचारमा मैले हेरेँ, शौचालय बनेको छैन, १६ करोडको हल बन्दै छ भनेर । त्यो बिल्डिङ मैले बस्न बनाएको होइन । कुनै ठूलो कार्यक्रम गर्नुप-यो भने समस्या छ । भोलि तपाईंहरूलाई पनि यो हल काम लाग्न सक्छ । यो हल बनेमा ‘इन्टरनेसनल इभेन्ट’ गर्न सकिन्छ । यसलाई सकारात्मक रूपमा नै लिइदिनुप-यो ।

 

निर्मला प्रकरणको अनुसन्धान शून्यमा छ भन्न मिल्दैन 
निर्मला हत्याकाण्डबारे म धेरै बोल्दिनँ । घटनाको हामीले इमानदारीसाथ अनुसन्धान गरिरहेका छौँ । यसमा हामीले भन्दा तपाईंहरूले धेरै बुझ्नुभएको छ, फिल्डमा गएर अनुसन्धानमूलक रिपोर्टिङ पनि गर्नुभएको छ ।

 

अनुसन्धान शून्यमा भनेर पनि तपाईंहरूले लेख्नुभयो । शून्य पनि भन्न मिल्दैन, यति प्रतिशत भनेर प्रतिशत पनि निर्धारण गर्न सक्दिनँ । परिणाम चाँडो आओस् भन्ने नै छ । त्यसमै हामी केन्द्रित छौँ ।

 

पहिला केही गल्ती भएकै हो । गल्ती गर्ने प्रहरीमध्ये प्रशासनिक कारबाहीको दायरामा रहेकालाई प्रशासनिक कारबाही हुन्छ, अपराध संहिता आकर्षित हुनेमा त्यसअनुसार पनि कारबाही हुन्छ । तर, जोसुकै व्यक्ति भए पनि यसमा संलग्नहरू पक्राउ पर्छन् । प्रहरीमाथि विश्वास गर्न आग्रह गर्छु ।

 

आइजिपीलाई सवा दुई करोडको बुलेटप्रुफ नयाँ गाडी, प्रहरीका आठ सय ५० कार्यालयमा शौचालय छैनन्

प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा  लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् ।

 

उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ ।   दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम खर्च गरेको छ ।

 

आर्थिक वर्षको अन्तिममा करोडौँ बजेट फ्रिज हुन लागेको भन्दै महानिरीक्षक खनालले आफ्नो लागि भव्य गाडी खरिद गरेका हुन् । तर, यसअघि उनी चढ्ने मित्सुबिसी पजेरोसहित उनको सचिवालयमातहत १९ गाडी परिचालन भइरहेका थिए ।

 

अस्थायीबाहेक प्रहरीका दुई हजार २५ कार्यालय छन् जसमध्ये आठ सय ५० कार्यालयमा शौचालय छैन । यी कार्यालयमा हजारौँ प्रहरी ड्युटी गरिरहेका छन् । तर, जम्मा ८९ कार्यालयमा शौचालय निर्माणाधीन छन् ।

 

प्रहरीको तथ्यांकअनुसार प्रदेश १ मा तीन सय ९६ प्रहरी कार्यालय छन् । तीमध्ये एक सय ३५ मा शौचालय छैन । २६ कार्यालयमा भने निर्माण भइरहेको छ । त्यस्तै, प्रदेश २ का तीन सय ३२ प्रहरी इकाइमध्ये एक सय सातमा शौचालय छैन । यो प्रदेशका जम्मा ६ कार्यालयमा शौचालय निर्माण भइरहेको छ ।

 

प्रदेश ३ मा प्रहरीका दुई सय ५३ कार्यालय छन् । तीमध्ये एक सय ३७ मा शौचालय छैनन्, ३२ मा भने निर्माण भइरहेको छ । गण्डकी प्रदेशमा दुई सय १७ कार्यालयमध्ये एक सय २५ मा शौचालय छैनन् । त्यहाँका जम्मा दुई कार्यालयमा शौचालय निर्माणका लागि बजेट पठाइएको छ ।

 

प्रदेश ५ का तीन सय ४१ प्रहरी कार्यालयमध्ये एक सयमा शौचालय छैनन् । १२ कार्यालयमा भने निर्माणधीन अवस्थामा छन् । कर्णाली प्रदेशमा झन् बिजोग छ । त्यहाँ रहेका एक सय ६० मध्ये जम्मा ५८ कार्यालयमा शौचालय छन्, एक सय एकमा छैनन् । एक कार्यालयमा भने निर्माण हुँदै छ । सुदूरपश्चिम प्रदेशमा प्रहरीका एक सय ९१ कार्यालय छन् । तीमध्ये एक सयमा शौचालय छैन भने तीनमा निर्माण भइरहेको छ ।

 

उपत्यकामै ४५ प्रहरी कार्यालय शौचालयविहीन छन् । सात स्थानमा मात्रै हेडक्वार्टरले निर्माणका लागि बजेट निकासा गरेको छ । उपत्यकामा एक सय ३५ प्रहरी इकाइ छन् ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले सबै प्रहरी कार्यालयहरूमा शौचालय निर्माणका लागि सरकारसँग बजेट माग भइरहेको बताए । प्रतिशौचालय ७ लाखका दरले बजेट माग गरिएको उनले बताए ।

 

महानिरीक्षक खनालका लागि प्रहरीका २० गाडी

महानिरीक्षकको सेवामा
१. बा.२झ ३८८४    टोयोटा ल्यान्डक्रुजर जिप (बुलेटप्रुफ)
२. बा.२झ ३५६३    मित्सुबिसी पजेरो जिप
३. बा.१झ ६४३३     टोयोटा ल्यान्डक्रुजर हाइटप जिप
४. बा.१झ ३६६६     निसान सेड्रिक कार
५. बा.१झ ९२९३    मर्सिडिज बेन्ज कार
६. बा.१झ ९८१२    टोयोटा हाइलक्स पिकअप

 

महानिरीक्षकको निवासमा निजी नम्बर–प्लेटमा
१. बा.१झ २७७३     निसान सेड्रिक कार (बा.१७च ४१७०)
२. बा.२झ ९३    टाटा इन्डिगो कार (बा.१४च १५८७)
३. बा.१झ २७०३    निसान सेड्रिक कार (बा.१७च ४१७०)
४. बा.२झ १०१    टाटा इन्डिगो कार (बा.१७च १२०१)
५. बा.१झ ६९०६    सेन्ट्रो कार (बा.१४च १५९३)
६. बा.२झ ३८४७    महिन्द्रा स्कारपिओ जिप (बा.१९च ८३२२)
७. बा.२झ ११७९    टाटा स्टोर्म जिप (बा.१२च ६३९८)
८. बा.२झ ३३९२    टोयोटा फर्चुनर जिप (बा.१८च ९२२)
९. बा.१झ ८५१८    मित्सुबिसी पजेरो जिप (बा.११च ९१९८)
१०. बा.१झ ७९८२    महिन्द्रा बलेरो जिप

 

महानिरीक्षकको सचिवालयमा
१. बा.२झ २२६    महिन्द्रा बलेरो
२. बा.२झ २५१    महिन्द्रा बलेरो
३. बा.१झ ७९८९    महिन्द्रा बलेरो
४. बा.१झ ६९०८    सेन्ट्रो कार (बा.१४च १५९९)

नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...