सन्तनेता किसुनजीसँग बदला लिएपछिको सम्बन्ध
किशुनजीले आज कसैलाई पनि नभेट्ने भन्नुभएको छ,’ कविता भट्टराईले आँगनमा उभिएको मलाई फर्कन सुझाब दिँदै भन्नुभयो । तर मलाई जसरी भए पनि त्यस दिन कृष्णप्रसाद भट्टराईलाई भेट्नैपर्ने थियो । मैले ‘कविताजी भोलि बिहान मलेखु (धादिङ)मा काङ्ग्रेसका क्षेत्रभरिका कार्यकर्ताहरूका लागि प्रशिक्षण सुरु हुँदै छ, म आजै त्यसतर्फ जाँदै छु । मलाई किशुनजीले दुईजना प्रशिक्षक पठाइदिने वचन दिनुभएको थियो, म त्यही कन्फर्म गर्न मात्र आएको हुँ ।
एकपटक उहाँलाई स्मरण गराइदिनुहुन्थ्यो कि’ भनी कवितासँग आग्रह गरेँ । उहाँले भित्र गएर किशुनजीलाई पुनः आग्रह गर्नुभयो, तर फेरि पनि किशुनजीले मलाई भेट्न चाहनुभएन । कोपुण्डोलस्थित कृष्णप्रसाद भट्टराईको भाञ्जा ध्रुव शर्माको घरको आँगनमा उभिएको मलाई कविताजीले फेरि पनि बाहिर आएर पुरानै कुरा दोहोर्याउँदै ‘सरी’ भन्नुभयो ।
घटना वि.सं. २०४८ मङ्सिर २० गते बिहानको थियो । मङ्सिर २१ गते मलेखुमा काङ्ग्रेसका कार्यकर्ताहरूका लागि क्षेत्रीयस्तरको एकदिने प्रशिक्षण शिविर आयोजना गरिएको थियो । त्यसको आयोजनामा मुख्य भूमिका मेरो रहेको हुँदा दुईजना प्रशिक्षकहरूको व्यवस्था गर्ने पनि मेरै जिम्मेवारीमा परेको थियो । करिब तीन साताअघि तय गरिएको उक्त कार्यक्रमको बारेमा तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग मेरो कुराकानी भएको थियो । कोइरालाले प्रशिक्षकहरूको व्यवस्था गरिदिने वचन पनि दिनुभएको हो ।
तर, उहाँ भारतको भ्रमणमा जानुपर्ने भएकोले महाराजगञ्जस्थित पार्टी कार्यालयमा किशुनजीसमक्ष मलाई राखेर उक्त कार्य किशुनजीबाट होस् भनी आग्रह गर्नुभएको थियो र किशुनजीले पनि ‘हुन्छ बाबु, मलाई भेट्नुहोला’ भनी बडो प्रसन्नतापूर्वक भन्नुभएको थियो । सोहीबमोजिम म किशुनजीलाई भेट गर्न सो दिन त्यहाँ पुगेको थिएँ ।
किशुनजीको आँगनमा अब कसो गर्ने होला भनी केहीबेर मौनतापूर्वक उभिरहेको थिएँ । मैले नचिनेका तीन महिला उहाँलाई भेट गर्ने भन्दै आइपुगे । उनीहरू आएको खबर पाउनेबित्तिकै किशुनजी बाहिर आउनुभयो । मैले मौकाको ‘फाइदा’ उठाउँदै हात जोडेर भने ‘किशुनजी, तपाईंले बिर्सनुभयो कि ? अस्ति पार्टी अफिसमा गिरिजाबाबुले भन्नुभएको थियो नि भोलिको प्रशिक्षणबारे ।’
मेरो वाक्य पूरा नहुँदै उहाँले क्रोधित हुँदै मलाई हकार्नुभयो, ‘तँ… (अश्लील गाली) लाई कसले राख्नु भनेको थियो प्रशिक्षण ? जेसुकै गर, मलाई के मतलब !’ किशुनजीको व्यवहारले मलाई स्तब्ध र दुःखी तुल्यायो । कुनै प्रतिक्रिया नजनाई त्यहाँबाट म फर्किएँ । कुनै तरिकाले प्रशिक्षण कार्यक्रम सम्पन्न भयो, चिरञ्जीवी वाग्लेले प्रशिक्षकको व्यवस्था गरिदिनुभएको थियो ।
किशुनजीले मलाई गर्नुभएको ‘दुर्व्यवहार’बारे कुनै तहमा सायद चर्चा भएछ, पुरुषोत्तम दाहालजीले पनि सुन्नुभएछ । एक साँझ मलाई उहाँले फोन गरेर भन्नुभयो, ‘त्रिपाठीजी, तपाईं नरिसाउनुहोला र किशुनजी बारेमा पनि नराम्रो पनि नलेख्नुहोला, उहाँको बानी नै त्यस्तो हो, मान्छे चिन्नुहुन्न, चिने पनि कहिलेकाहीँ त्यस्तै व्यवहार दर्शाउनुहुन्छ ।’ मैले पुरुषोत्तमजीलाई किशुनजीको विरुद्ध केही पनि नलेख्ने वचन दिएँ ।
तर, पार्टीको एउटा कार्यक्रम, त्यो पनि धादिङको तीन नं. क्षेत्र जस्तो काङ्ग्रेस कमजोर भएको ठाउँमा गर्न लाग्दा पार्टी सभापतिको रूपमा रहनुभएका व्यक्तिको व्यवहारबाट म चकित र दुःखित भएको थिएँ । युवा मन बदलाको भावनाले ग्रस्त बनेको थियो । मलाई किशुनजीका विरुद्ध मात्र लेखेर आत्मतुष्टि लिने मन थियो तर उहाँसँग बदला लिन सक्ने मेरो हैसियत थिएन । चुपचाप समयको प्रतीक्षा गर्नुको विकल्प मसँग थिएन, गरेँ पनि त्यस्तै ।
०५० जेठ ३ गते एमाले नेता मदन भण्डारीको अप्रत्यासित दुःखद् निधन भएपछि काठमाडौंको क्षेत्र नं. १ मा उपनिर्वाचन हुँदै थियो । ०५० मङ्सिर ३ गते बानेश्वरस्थित काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा किशुनजीले आफू उम्मेदवार बन्न इच्छुक रहेको जानकारी गराउनुभयो । उहाँले इच्छा व्यक्त गरिसकेपछि कसैको विरोधले रोकिने स्थिति थिएन । काठमाडौं १ नंबर क्षेत्रमा किशुनजी उम्मेदवार बन्नुहुने समाचार सार्वजनिक भएकै भोलिपल्ट म प्रधानमन्त्रीनिवास बालुवाटार पुगेँ र सम्बन्धित नेताहरूसँग परामर्श गरेँ ।
‘काङ्ग्रेसलाई जिताएर किशुनजीलाई हराउने कि किशुनजीलाई जिताएर काङ्ग्रेसलाई हराउने’ भन्ने प्रश्नमा गम्भीर विचार-विमर्श भएपछि गिरिजाप्रसाद मलाई विश्वास गर्ने तहमा पुग्नुभयो । निर्वाचनको केही साताअघि मार्शलजुलुम शाक्य र प्रदीप नेपालसहित सम्मिलित विशेष टिममा म पनि सामेल गराइएँ ।
किशुनजीलाई चुनावमा पराजित गराउन नीतिगत कुराहरू टुङ्गो लगाउने टिममा रहेर काम गरिरहँदा मलाई ग्लानिभाव त पैदा हुन्थ्यो, तर ०४८ मङ्सिर २० को घटना स्मरण हुनेबित्तिकै ग्लानिभाव हट्थ्यो र बदलाको भावना जागरुक हुन थाल्थ्यो ।
किशुनजीलाई चुनावमा कसरी पराजित गराइयो भन्नेबारेमा विस्तृत रूपमा केही वर्षअघि नै घटना र विचारमा प्रकाशित भइसकेको छ । उक्त ऐतिहासिक घटनासँग सम्बन्धित सत्य सार्वजनिक भइसकेको सन्दर्भमा पुनः चर्चा गर्न आवश्यक ठानिएन ।
०४८ मङ्सिर २० पछि म किशुनजीको नजिक कहिल्यै गइनँ । चुनावमा पराजित भइसकेको सन्दर्भमा मेरो किशुनजीका प्रति कुनै नकारात्मक भाव थिएन, बरु श्रद्धा र सम्मानभाव पुनर्स्थापित भएको थियो । ०५६ साल जेठ १७ गते किशुनजी प्रधानमन्त्री बन्नुहुँदा म अत्यन्त हर्षित भएको थिएँ ।
गिरिजाप्रसाद कोइरालाको आत्माकेन्द्रित राजनीतिबाट मुलुक मुक्त भएको महसुस मैले गरेको थिएँ । ०५६ को असार १२ गते बिहान ७ बजे मलाई गिरिजाप्रसाद कोइरालाले बोलाउनुभयो र केही कुराहरू भन्नुभयो । त्यसपछि मैले किशुनजीलाई धेरै दिन टिक्न नदिने भए भन्ने निष्कर्ष निकालेको थिएँ ।
गिरिजाप्रसाद कोइराला तत्काल प्रधानमन्त्री बन्न र पुनः पार्टी सभापति हुनका लागि सुशील कोइराला र खुमबहादुर खड्काको बीचमा मेल होस् भन्ने चाहनुहुन्थ्यो । तर, कारणबस त्यो सम्भव हुन सकिरहेको थिएन । कुनै समय गिरिजाप्रसादबाट नै देश बन्ने पूर्ण विश्वासमा रहेको मलाई उहाँप्रतिको मोह पूर्णतः भङ्ग भइसकेको थियो । केही आशा थियो भने त्यो किशुनजीबाट नै थियो ।
त्यसर्थ मैले त्यस दिन गिरिजाप्रसादलाई कुनै पनि प्रकारले सहयोग गर्ने वचन दिइनँ, बरु कुनै तरिकाले त्यहाँबाट उम्किएँ । ०५६ को फागुनमा गिरिजाप्रसादले काङ्ग्रेस संसदीय दलमा किशुनजीलाई अल्पमतमा पुर्याउन जोडदार अभियान सुरु गर्नुभएको थियो । उहाँले किशुनजीको मन्त्रिमण्डलकै सदस्यहरूलाई राजीनामा गराउने प्रयास गर्नुभएको थियो ।
मैले त्यस कुराको जानकारी पाएपछि केही नेताहरूसँग भेट गरी सरकार ढाल्ने प्रयास कसरी भइरहेको भन्ने जानकारी पनि गराएको थिएँ । त्यसक्रममा तत्काल मन्त्रीसमेत रहनुभएका नेता खुमबहादुर खड्कालाई समेत राजीनामा गराइँदै छ भन्ने मैले सुनेँ ।
एक रात नौ बजेतिर हरिहरभवनस्थित मन्त्रीनिवासमा पुगेर खुमबहादुर खड्कालाई भेटी मन्त्रिमण्डलबाट राजीनामा दिनु र कोइरालाको पक्षमा जानु ‘यी-यी कारणले’ गल्ती हुनेछ भनी सुझाएँ । उहाँको साथमा एक व्यापारी पनि सँगै हुनुहुन्थ्यो । मैले कोइरालालाई ‘सर्प’सँग तुलना गर्दै तपाईंले उहाँमाथि विश्वास गरेमा ठूलो धोका खानुहुनेछ सम्म पनि भनेँ ।
खुमबहादुर खड्काले गिरिजाप्रसादसँग आफ्नो समझदारी बनिसकेको बताउँदै वचन दिइसकेको हुनाले धोका दिन नहुने निष्कर्ष मलाई सुनाउनुभयो । आफ्नो वचनप्रति खड्काको दृढताको मनमनै प्रशंसा त गरेँ, तर उहाँलाई भने यदि पुनर्विचार गर्न मिल्ने ठाउँ छ भने गरौँ, किशुनजीको साथ नछोडौँ भनी मैले भनेँ र त्यहाँबाट निस्किएँ ।
खड्कालाई कोइरालाले काङ्ग्रेसको महामन्त्री र गृहमन्त्री बनाउने, मन्त्रिमण्डलमा उहाँको सिफारिसमा चालीस प्रतिशत सदस्यहरू समावेश गर्ने र त्यसपछि हुने ? भविष्यमा हुने आमनिर्वाचनमा पार्टीबाट तर्फबाट उम्मेदवार चयन गर्दा खुमबहादुरको सिफारिसमा चालीस प्रतिशतलाई टिकट दिने विश्वास दिलाउनुभएको रहेछ ।
कोइरालाले वचन पूरा गर्नुहुन्न भन्ने मलाई विश्वास थियो, तर खड्काले उहाँको विश्वास गर्नुभयो र भोलिपल्टै मन्त्रीपदबाट राजीनामा दिएर किशुनजीलाई अप्ठ्यारो पार्नुभयो । खुमबहादुर खड्काले राजीनामा दिनुभएपछि किशुनजीले पनि प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय गर्नु भई संसद्मा एक मर्मस्पर्शी मन्तव्य प्रकट गरेर पदत्याग गर्नुभएको थियो ।
प्रधानमन्त्री पदमा रहिन्जेल मेरो किशुनजीसँग भेट भएन । पदबाट राजीनामा दिनुभएको दुई दिनपछि उहाँको गाडी थापाथलीमा पान खानका लागि रोकिएको ठाउँमा मैले भेटेँ । किशुनजीलाई प्रणाम गरेँ र भेट्न चाहेको इच्छा जाहेर गरेँ । उहाँले निकै प्रसन्नतापूर्वक भोलि बिहान ७ बजे घर (भैंसेपाटी) मा आउन भन्नुभयो ।
निर्धारित समयमा म उहाँको निवासस्थान पुगेँ । त्यहाँ सयौँको सङ्ख्यामा मानिसको भेला भइसकेको रहेछ । म सरासर किशुनजीको बैठककक्षमा प्रवेश गरेँ, त्यहाँ पनि पचासौँ मानिस पुगिसकेका रहेछन् । म ढोकाबाट प्रवेश गर्नेबित्तिकै उहाँले मलाई स्वागत गर्दै भन्नुभयो, ‘ऊ मलाई चुनावमा हराउने मान्छे आउनुभयो ।’
उपस्थित सबैले मलाई हेरे । मैले किशुनजीलाई सफाइ पेस गर्ने मौका पाएँ भन्ने सोचेँ र तत्काल भने, ‘किशुनजी तपाईंले पनि त मलाई बिनाकारण अश्लील गाली गर्नुभएको थियो नि, मैले सहन सकिनँ, बदला लिन प्रेरित भएँ । अब तपाईंकाप्रति मेरो सम्मानभावबाहेक केही छैन ।’
मेरा कुरा पूरा नहुँदै किशुनजीले भन्नुभयो, ‘होइन, अब त्यो च्याप्टर क्लोज’ भइसक्यो, तपाईं अब मेरो मान्छे हो ।’ मैले पनि थपेँ- हो किशुनजी म तपाईंकै समर्थक हुँ । वास्तवमा म धेरै अघिदेखि नै किशुनजीको समर्थक भइसकेको थिएँ ।
त्यस दिनदेखि म उहाँको निवासस्थानमा नियमितजस्तै पुग्ने गर्थें । कहिलेकाहीँ त उहाँ मलाई घटना र विचारका लागि समाचार पनि ‘डिक्टेट’ गराउनुहुन्थ्यो । उहाँले जस्तो लेखाउनुभएको त्यस्तै सामग्री प्रकाशित हुँदा उहाँ निकै खुसी हुनुहुन्थ्यो ।
यो क्रम केही काल चलेपछि नियमित रूपमा म उहाँकहाँ पुग्न सकिनँ । तर, किशुनजीका प्रति मेरो आस्था, विश्वास र सम्मानमा कहिल्यै कमी आएन । उहाँको जस्तै निष्ठापूर्ण जीवन बाँच्न सकेँ भने किशुनजीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने मेरो ठम्याइ छ । प्रिय किशुनजी मेरो हृदयमा तपाईं सदा जीवित रहिरहनुहुनेछ ।( देवप्रकाश त्रिपाठी घटना र विचारबाट)