‘माउन्टेन ग्लोरी’ का २४ कोठामा के गर्दैछन् ज्ञानेन्द्र ?, रिसोर्टमा सर्वसाधारणलाई प्रवेश निषेध



 

 

पूर्वराजा ज्ञानेन्द्र शाह सोमबारदेखि पोखरा छन् । उनी निजी पारिवारिक भ्रमणमा पोखरा आएका हुन् । उनी पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पामा बसिरहेका छन् । यो रिसोर्ट पोखराको एकान्त ठाउँ दोबिल्लास्थित रहिचौरमा छ ।

 

पूर्व राजा ज्ञानेन्द्र बसेपछि हालसालै सञ्चालनमा आएको रिसोर्टको चर्चा चुलिएको छ । ७२ रोपनी क्षेत्रफलमा बनेको यो रिसोर्टमा ८ जना व्यवसायीले लगानी गरेका छन् ।

 

रिसोर्टमा काठमाडौंका होटलमा अनुभव प्राप्त गरेका व्यक्तिदेखि पोखराका अटो क्षेत्रका व्यवसायीसम्मको लगानी छ ।

 

रिसोर्टका एकतर्फ जंगल र अर्कोतर्फ खोला छ । रिसोर्टमा ६४ कोठा छन् । जसमध्ये केही निर्माणाधीन अवस्थामै छन् । शाह परिवारले २४ कोठा बुकिङ गरेका छन् ।

 

रिसोर्टमा ठूला-साना गरी ४ वटा हल छन् । आन्तरिक तथा बाहृय उच्च वर्गका पर्यटकलाई लक्षित गरी यो रिसोर्ट सञ्चालनमा ल्याइएको रिसोर्टका अध्यक्ष नरेन्द्र प्रजापतिको भनाइ छ । यो रिसोर्ट पोखरा विमानस्थलदेखि ७ किलोमिटरको दूरीमा छ ।

करिब एक अर्ब लगानीमा रिसोर्ट सञ्चालनमा आएको लगानीकर्तामध्येका ध्रुव थापा बताउँछन् । एकान्तमा बस्न र जंगलको समेत स्वाद लिन चाहनेका लागि रिसोर्ट उपयुक्त रहेको लगानीकर्ता बताउँछन् ।

रिसोर्टमा ६ वटा ब्लग र ६ वटा भिल्ला छन् । एउटा प्रेसिडेन्टल रुम र एउटा स्वीट छ । अरु सबै सुपर डिलक्स रुम छन् ।

 

स्विमिङ पुल र बारको सुविधासहित रिसोर्टको आकर्षक डिजाइन छ । रिसोर्टबाट हिमालको फूट हिलसहित धौलागिरि, अन्नपूर्णदेखि मनास्लु हिमालसम्म दृश्यावलोकन गर्न सकिन्छ । कोठा र बाथरुमबाटै हिमाली दृश्य देख्न सकिने गरी रिसोर्टको डिजाइन गरिएको छ ।

हिमाली दृश्य, हरियाली वातावरण र सेती तथा फुस्रे खोलाबाट आउने संगीत यो रिसोर्टको अर्को विशेषता हो ।

पूर्वराजा ज्ञानेन्द्र परिवारलाई यो रिसोर्टमा ल्याउन काठमाडौंका व्यवसायीहरु खटिएका थिए । फुट ट्रयाक र साइकल ट्रयाकसमेत रहेको यही रिसोर्टमा सोमबारदेखि बसिरहेका छन् ज्ञानेन्द्र परिवार ।

 

रिसोर्टका २ वटा सुइट र २२ वटा डिलक्स कोठा शाह परिवारले बुकिङ गरेका छन् । उनले १६ दिनका लागि कोठा बुकिङ गरेको रिसोर्ट स्रोतले बताएको छ । राजपरिवारको खानादेखि सम्पूर्ण व्यवस्थापनका लागि काठमाडौंबाटै मानिसहरु खटिएका छन् ।

 

समर्थकसँग भेटवार्तादेखि विन्ध्यवासिनी दर्शनसम्म

निजी भ्रमण भनिए पनि ज्ञानेन्द्रले समर्थक र शुभेच्छुकसँग भेटवार्ता गरिरहेका छन् । राजतन्त्रको पक्षधर पार्टीका कार्यकर्ता, शुभेच्छुक र समर्थकसँग ज्ञानेन्द्रले भेटवार्ता गरिरहेका छन् ।

शुक्रबार राप्रपा अध्यक्ष कमल थापासँग यही होटलमा बसेर पूर्वराजाले कुराकानी गरेका छन् । भेटमा देशको समसामयिक विषयमा कुराकानी भएको राप्रपा निकटको मिडिया नेपालले जानकारी दिएको छ ।

शनिबार पूर्वराजा ज्ञानेन्द्र दम्पतिले विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । परिवारसहित बिहान ११ बजे विन्ध्यवासिनी दर्शन गर्न जाने उनको सचिवालयले जानकारी दिएको छ । उनको दर्शनलाई लिएर विन्ध्यवासिनी क्षेत्रमा कडा सुरक्षा दिइएको छ ।

 

पूर्वराजाको हैसियतमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकासले सामान्य स्वागतको कार्यक्रमसमेत राखेको छ । अन्य विशिष्ट व्यक्तिहरुलाई जसरी विन्ध्यवासिनीमा दर्शन गर्ने प्रवन्ध र स्वागत गरिन्छ, त्यसरी नै पूर्वराजालाई पनि पूजाआजा गर्ने व्यवस्था मिलाइएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

 

सोमबार ज्ञानेन्द्रको स्वागतमा सयौंको संख्यामा उनका समर्थकहरु पोखरा विमानस्थल पुगेका थिए । उनले विमानस्थलमा बोल्दै जनताले बोलाएको ठाउँमा जाने बताएका थिए ।

पोखरा आउनासाथ पोखरा विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्रको जयजय गानसँगै पञ्चेबाजाले उनको स्वागतमात्रै भएन, गणतन्त्र र संघीयता खारेजीको चर्को नारासमेत लागेको थियो ।

एक/दुई दिनमा पूर्वयुवराज पारससँगै परिवारका अन्य सदस्य पनि पोखरा आउने उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

 

एक हप्ताका लागि आएका पूर्वराजा ज्ञानेन्द्रले पोखरामै अंग्रेजी नयाँ वर्षको सेलिब्रेसन गर्नेछन् । विन्ध्यवासिनी दर्शनसँगै उनी यसपटक लेखनाथमा हुने एक कार्यक्रममा पनि सहभागी हुने उनको सचिवालयका एक सदस्यले जानकारी दिए । पूर्वराजा बसेको होटलमा अहिले साधारण व्यक्तिलाई भने प्रवेशमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ