पूर्वी चितवनको भण्डारा र जुटपानीमा १५ शय्याको अस्पताल बन्ने
प्रदेश सरकारले चितवनको दुई ठाउँमा १५ शय्याको अस्पताल बनाउने भएको छ । चितवनको राप्ती नगरपालिकास्थित भण्डारा स्वास्थ्य चौकी र कालिका नगरपालिकास्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने भएको हो ।
यी दुई संस्थालाई स्तरवृद्धि गर्न प्रदेश सरकारले स्वीकृत प्रदान गरिसकेको प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले जानकारी दिए ।
अस्पताल सञ्चालनका लागि उपकरण खरिद गर्न सरकारले रकमसमेत छुट्याएको मन्त्री लामाले बताए । राप्ती नगरपालिकामा ६ वटा सरकारी स्वास्थ्य संस्था भएपनि डाक्टरको दरबन्दी भने छैन ।
अस्पताल सञ्चालन भएपछि डाक्टरको सेवा सुरु हुने र जटिल किसिमका बिरामीलाई राहत मिल्ने राप्ती नगरपालिकाकी मेयर प्रभा वरालको दावी छ ।
यहाँका स्थानीयलाई जटिल खालको स्वास्थ्य समस्या आइपरे सदरमुकाम भरतपुर धाउनु पर्ने वाध्यता छ ।
भण्डारा स्वास्थ्य चौकीबाट तत्काललाई अस्पतालको सेवा सञ्चालन हुने मेयर वरालले बताइन् । निर्माणाधीन वडा कार्यालयको भवनमा पछि अस्पताल सञ्चालन हुनेछ ।
मेयर बरालका अनुसार अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले एक करोड र नगरपालिकाले २५ लाख रुपैयाँ छुट्याएको छ । भण्डारा र जुटपानीले माघको पहिलो साता देखिनै अस्पतालको सेवा सञ्चालन गर्ने तयारी गरेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र जुटपानीमा यसअघिनै डाक्टरको दरवन्दी रहेपनि अस्पतालको मान्यता पाएपछि यहाँका स्थानीय खुसी भएको कालिका नगरपालिका ६ का वडाध्यक्ष विनोद रेग्मीले वताए ।
प्राथमिक स्वास्थ्य केन्द्र जुटपानीलाई भने प्रदेश सरकारले यस वर्ष ५० लाख रुपैयाँ छुट्याएको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।
अनुमतिबिना संचालित ओम गुरुकुल हेल्थ केयरको लापरबाहीले सुत्केरीको ज्यान गयो, संचालक फरार
सिरहाको लहानस्थित सञ्चालित ओम गुरुकुल हेल्थ केयरको लापरबाहीले एक सुत्केरीको ज्यान गएको छ। मिर्चैया नगरपालिका- ११ सितापुरकी २१ वर्षीया सुत्केरी सन्जु पासमानको शल्यक्रिया गर्दा मृत्यु भएको हो। बिहीबार रातिदेखि उनका आफन्त शव हेल्थ केयर अगाडी राखेर धर्नामा बसेका छन्।सुत्केरी पासमानको मृत्यु भएपछि सञ्चालक दिपेन्द्र यादव हेल्थ केयर बन्द गरेर फरार छन्।
मृत्यु भएकी सन्जु गोलबजार नगरपालिका- ६ माइतमै बस्थिन्। मृत्यक सन्जुकी आमा शिला पासमानकाअनुसार बुधबार दिउँसो घरमा व्याथाले च्यापेपछि छोरीलाई नजिकैको सरकारी अस्पताल पुर्याए।अस्पतालले अन्त लैजान सुझाव दियो।त्यसपछि बुधबार दिउँसो उनलाई लहानका राउ स्मारक अस्पतालमा भर्ना गरायो। ४ घटनापश्चात लहान अस्पतालले बिरामी बढ्दै गएको भन्दै अन्त लैजान सुझाव दियो।
’रेफर गर्नासाथ एक एम्बुलेन्सले लहानकै गुरुकुल अस्पतालममा लगिदियो,’ मृत्यककी आमा शिलाले भनिन्,’सुरुमा शल्यक्रिया गर्नुपर्छ भन्यो, हामी तयार भयौं, शल्यक्रिया पनि भयो।’
उनका अनुसार केही समयपछि गुरुकुलका चिकित्सकले बिरामीलाई रगत चाहियो भनेर हामीलाई रगत लिन पठायो। ‘हामीलाई बाहिर जानासाथ बिरामीलाई एम्बुलेन्समा राखेर विराटनगर लग्नुपर्छ भन्यो’, उनले भनिन्, ‘जबरजस्ती एम्बुलेन्समा राखेर विराटनगर पुर्यायो। त्यहाँ पुग्दा अस्पतालले बिरामीको पहिल्यै नै मृत्यु भइसकेको जानकारी दियो।’
सरकारी अस्पताल लहानका मेडिकल अधिकृत डा. सरोज यादवका अनुसार बिरामीको अवस्था हेर्दा आइसीयुमा राख्नुपर्ने भएकाले हामीले धरान लान सुझायौं।
लहानमा कुनै पनि निजी तथा सरकारी अस्पतालमा त्यस्तो सुविधा थिएन। बिरामीको विपी तलमाथि हुँदै थियो, उनले भने, ‘जसका कारण केही खतरा हुनसक्थ्यो त्यसैले हामीले धरान रेफर गर्यौँ।’ बिरामीका आफन्तले एम्बुलेन्सवालाको कुरामा लागेर लहानकै गुरुकुल पुर्याएछन्।’बिरामीको मृत्युभएको सुन्दा आफू आश्चर्यमा परेको उनले सुनाए।
जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका शाखा अधिकृत उमेशलाल कर्णका अनुसार गुरुकुलले शल्यक्रिया गर्ने अनुमति पाएको छैन।
यस हेल्थ केयर दर्ता पनि स्वतः खारेज भइसकेको छ। इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजेश थापाका अनुसार हेल्थ केयरका सञ्चालक फरार रहेकाले खोजी भइरहेको छ।घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी गराए।