महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबीच विवाद, मन्त्रीकै अगाडि मुक्का हानाहन
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अध्यक्ष मण्डलका संयोजकको विषयलाई लिएर जनकपुरमा कार्यकर्ता र नेताबीच तनाव बढ्दै गएको छ ।
अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो बहुमतबाट चयन भएपछि जनकपुरमा महन्थ ठाकुरको पूर्वतमलोपा निकट र राजेन्द्र महतोको पूर्वसद्भावना निकटका नेता तथा कार्यकर्ताबीच तनाव बढ्दै गएको छ ।
राजपाका २ नम्बर प्रदेश सचेतक परमेश्वर साह र राजेन्द्र महतो समर्थित जिल्ला स्तरीय नेताबीच हात हालाहाल भएको छ । बिहीवार बिहान ८ बजे प्रदेशका राजपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनालको निवासमा राजपाका जिल्ला स्तरीय नेता सञ्जय चौधरीले सचेतक परमेश्वर साहलाई कुटपिट गर्ने प्रयास नै गरेका थिए ।
चौधरी महतो निकट नेता हुन् भने साह पूर्वतमलोपाको धनुषा अध्यक्ष थिए भने धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । महतो आफैं पनि धनुषाको क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
घटनाबारे सञ्जय चौधरीको भनाई
बिहीवार हामी मन्त्री सोनालको निवासमा पुगेका थियौं । त्यहाँ पहिलेदेखि नै परमेश्वर साह पनि बसेका थिए । हाम्रो राजपाको रौतहटका जिल्ला संयोजक शेख जम्सेदसँग सचेतक साहको बहस भइरहेको थियो ।
साहले ‘जुन मानिसको वडाध्यक्ष समेत बन्ने हैसियत छैन, त्यस्तो मान्छे राष्ट्रिय अध्यक्ष बनेको’ भन्दै महतोजीको आलोचना गरिरहेका थिए । त्यतिकैमा मैले पनि परमेश्वरजी तपाईं र महन्थ ठाकुरजी आफूलाई त्यागी त भन्नुहुन्छ तर सम्धी सम्धिनीलाई मात्र अवसर दिने गरेको होइन भनिरहेको थिएँ ।
ठाकुरजी वा तपाईं आफैं पनि विगतमा कांग्रेसबाट आएको तर महतोजी सधैं मधेशवादी भएर नै संघर्ष गर्दै आएको कुरा तपाईंले कसरी बिर्सनुभयो भनेर रौतहटका साथी जम्शेद जीले भनिरहँदा सांसद साह आफ्नो कुर्सीबाट जुरुक्क उठेर जम्शेदतर्फ औला देखाउँदै आक्रोशित हुन थाले ।
त्यसपछि मैले पनि उहाँलाई परमेश्वरजी तपाईं आफ्नो हैसियतभन्दा बढी कुरा गरिरहनु भएको छ भन्दै धक्कामुक्काको अवस्था आयो ।
के भन्छन् सचेतक शाह ?
आफ्नो चरित्र हत्या गर्न सामाजिक सञ्जालमा आफू कुटिएको विषय बाहिर आएको प्रमुख सचेतक साहले बताए । साहले लोकान्तरसँग भने, ‘ठाकुरजी माथि सम्धी सम्धिनीको आरोप लगाइरहँदा मैले पनि महतोजीले नरमाया ढकाललाई सांसद बनाएको कुरा बिर्सन नहुने भनेको हो ।’ आफूलाई कसैले पनि कुटेको नभई चरित्र हत्याको प्रयास मात्र भएको साहले बताए ।
हातपात र कुटाकुटको विषयमा वास्तविक के भयो भन्ने स्पष्ट रूपमा नआएपनि राजपाभित्र जनकपुरमा पूर्वतमलोपा र पूर्वसद्भावना पार्टीका कार्यकर्ताबीच तनाव बढ्दै गएको छ ।