सर्वोच्चको आदेशपछि गुण्डा नाइके दिपक मनाङ्गे थुनामुक्त
चर्चित गुन्डा नाइके दीपक मनाङ्गे उर्फ राजीव गुरुङ थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई छाडिएको डिल्लीबजार कारागार स्रोतले बतायो ।
प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।
अघिल्लो वर्ष माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगत्तै फरार भएका उनले सांसदको सपथ समेत लिन पाएनन् ।
सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयम्भूबाट पक्राउ परेका थिए ।
के हो मुद्दा ?
दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्यो ।
सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेपछि प्रहरीले उनको खोजी थालेको थियो ।
पूर्वराजा ज्ञानेन्द्रले कमल थापालाई थर्काएर सोधे- ‘ए कमल पार्टी एकता के हुँदैछ हँ ?’
पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । विगत केही दिनयता पोखरमा बस्दै आएका पूर्व राजा ज्ञानेन्द्र शाह र अध्यक्ष थापाबीच शुक्रबार बिहान नौ बजेदेखि सवा दश बजेसम्म भेटवार्ता भएको राप्रपाका नेता राजाराम वर्तोलाले जानकारी दिए ।
शाह र थापाबीच पोखराको माउन्ट ग्लोरी रिर्सोटमा भेटवार्ता भएको हो । स्रोतका अनुसार भेटमा पूर्व राजा शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र घटनाक्रमहरुका बारेमा अध्यक्ष थापासँग चासो राखेका थिए ।
त्यस्तै उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीचको एकता प्रयासका बारेमा भइरहेको प्रगतिबारे समेत सोधेका थिए ।
‘उहाँहरु बीच ब्रेकफस्टसँगै लामो कुराकानी भएको थियो । जसमा हिन्दु राष्ट्रको प्रसङ्ग, धर्म परिवर्तनको चर्चा र पार्टीहरुका गतिविधिप्रति कुराकानी भएको छ,’ स्रोतले बतायो ।
भेटपछि अध्यक्ष थापाले भने, ‘प्रशिक्षण कार्यक्रममा भाग लिन पोखरामा आएका बेला पोखरामै निजी भ्रमणमा रहिबक्सेका राजा ज्ञानेन्द्रसँग शिष्टाचार भेटगर्ने अवसर प्राप्त भयो । मुलुकको बिग्रदो अवस्थाप्रति राजामा गम्भीर चिन्ता रहेको पाएंँ ।’ थापा र शाहबीचको यो भेटवार्ता राजनीतिक रुपमा अर्थपूर्ण रहेको छ ।
केही दिनअघि पूर्व राजा शाह आफ्नो ज्वाइँको जन्मोत्सव मनाउने क्रममा काठमाडौँको दरवारमार्गमा आफन्तहरुसँग नाचेका तस्विरहरु सार्वजनिक भएका थिए ।
कमल थापालाई पोखरा बोलाएर यसरी हप्कार ज्ञानेन्द्रले,आन्दोलन गर्नुस, नत्र देश रहन्न
पूर्वराजा ज्ञानेन्द्र र कमल थापा बिच पोखरामा गोप्य भेट भएको बिषेश स्रोतले बताएको छ । भेटमा ज्ञानेन्द्रले थापालाई भने अब देशभर आन्दोलन गर्नुस नत्र देश रहन्न भनेको स्रोतको दाबी छ । हिन्दु धर्म र राजतनत्र भएन भने देश नै नरहने भन्दै ज्ञानेनद्रले थापालाई उकासेको दाबी स्रोतको छ ।
यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दाबी गरेका छन् । पोखरामा पूर्वराजा ज्ञानेन्द्र आउँदा देखिएको उपस्थितिले अझै पनि जनतामा राजसंस्थाप्रति आस्था र विश्वास रहेको पुष्टि गरेको थापाले बताएका छन् ।
शुक्रबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले वीपीले कोइरालाले प्रतिपादन गरेको हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा कांगे्रस एकदिन आएरै छाड्ने विश्वास व्यक्त गरेका हुन् । उनले आगामी फागुनबाट राप्रपा ‘जनसंघर्ष’ मा उत्रिने बताए ।
राप्रपा अध्यक्ष थापाले पूर्वराजा ज्ञानेन्द्र पोखरा आउँदा उनलाई स्वागत गर्न आएको भीडले राजसंस्थाप्रति अझै पनि जनतामा आस्था र विश्वास छ भन्ने देखाएको बताए । उनले पोखरामा रहँदा पूर्वराजा ज्ञानेन्द्रसँग भेट हुने सम्भावना रहेको बताए ।
पूर्वराजा ज्ञानेन्द्र पुस २ गतेदेखि पोखरामा छन् । उनी १६ दिन पोखरामा रहने बताइएको छ । राप्रपा अध्यक्ष कमल थापा भने राप्रपाको गण्डकी स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन् विहीबार पोखरा आएका हुन् ।
अध्यक्ष थापाले राप्रपाले आगामी फागुनबाट हिन्दु राष्ट्र निर्माणलाई प्रमुख मुद्दा बनाएर संघर्ष शुरु गर्ने बताए । जन संघर्ष राजसंस्थाको पुर्नस्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनका लागि पनि भएको बताए । जन संघर्षलाई बेवास्ता गरे त्यसको परिणाम राम्रो नहुने थापाले चेतावनीसमेत दिए ।
कांग्रेस हिन्दु राष्ट्रमा आउँछ !
नेपाली कांग्रेस राप्रपाको लाइनमा आउने दाबी गर्दै थापाले भने– ‘कांग्रेसले आफ्नो सिद्धान्त र विचार किन त्याग्यो, मलाई आश्चर्य लाग्छ, तर ढिलोचाँडो हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा कांग्रेस आउँछ भन्ने मलाई विश्वास छ ।’
राप्रपा अध्यक्ष थापाले कांग्रेसलाई हिन्दु राष्ट्रको पक्षमा साहसिक निर्णय गर्न आग्रह गरे । कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिएमा राप्रपा सहकार्य गर्न तयार रहेको बताउँदै उनले भने, ‘कांग्रेसले हिन्दु राष्ट्रको पक्षमा साहसिक निर्णय गरोस् ।’
राप्रपाले हिजो हिन्दु राष्ट्रको एजेण्डा एक्लै बोक्नु परेपनि अहिले कांग्रेसमा हिन्दु राष्ट्रको पक्षमा आवाज उठ्न थालेको भन्दै उनले थपे, ‘कांग्रेसमा जोडदार रुपमा हिन्दु राष्ट्रका पक्षमा आवाज उठ्न थालेको छ, हस्ताक्षर अभियान नै चल्न थालेको छ, अन्ततः कांग्रेस यसैको पक्षमा उभिन्छ ।’
अध्यक्ष थापाले धर्म प्रचारक संस्था युनिभर्सल पिस फेड्रेसनको सम्मेलनमा तामझामसहित सरकारका प्रधानमन्त्री नै सहभागी हुनु संविधानको भावना विपरीत भएको दाबी गरे । उनले अल्पसंख्यकलाई रिझाउने नाममा सरकारले बहुसंख्यकलाई आघात पुर्याएको आरोपसमेत लगाए । उनले नेपालमा योजनाबद्ध ढंगले धर्म परिवर्तन गराउँदै आएको र हालसम्म करीब १२ लाख नेपालीलाई धर्म परिवर्तन गराइसकेको बताए ।
यस्ता गतिविधिले सामाजिक सद्भाव खल्बलाउँदै राष्ट्र नै विखण्डन गर्ने बताए । उनले तराईमा मधेश छुट्टै देशको नारा लगाउँदा प्रशासन मौन बसेको भन्दै सरकारको यस्तै अकर्मन्यताले आवाज बढ्दै गएर देश विखण्डनमा पुग्न सक्ने खतरा रहेको औंल्याए ।
अध्यक्ष थापाले पूर्वसहमति अनुसार आएमात्रै तीन राप्रपावीच एकीकरण हुने बताए । उनले भने, ‘पहिले सबै कुरामा सहमति भइसकेको थियो, पशुपति समशेर र प्रकाशचन्द लोहनीले एक दिन ढिला गरेर भोलि घोषणा गरौं भन्नुभयो, तर पछि उहाँहरु आउनुभएन, पूर्व सहमतिअनुसार आए जुनसुकै बेला उहाँहरुसँग एकीकरण हुन्छ ।’