जब जल शाहको फोन आयो…



 

प्रेम शाहको निधन भएको एउटा वर्ष बित्यो । विद्रोह चेतकी अग्रणी महिला हस्ताक्षर, कथाकार प्रेमा शाह भौतिक रुपमा समापन भएको मिति पोहोरको आजै थियो ।
गत शुक्रबार जल शाहको फोन आयो । ‘हेल्लो, विश्वमणिजी…।’

 

प्रेमाले यो धर्तिलाई छोडेर गएको एउटै सजिव र भौतिक उपहार उनै जलमात्र हुन् । पंक्तिकारका लागि उनको आवाजै काफी थियो, चिन्नलाई । ‘हेल्लो, विश्वमणिजी…’ भन्नासाथ ‘ओहो, जल । क्या हो यार…’ भनेपछि उताबाट फोनमा फिस्स हाँसेजस्तो आवाज सुनियो । त्यसपछिको करिव एक मिनेट उनी फोनमै सुनिने गरी रोइरहिन् ।

 

पोहोर प्रेमाको निधनलगत्तै  अनलाइनखबरमा प्रकाशित एउटा संस्मरणीय सामग्री  जलले अमेरिकामै पढेकी रहिछन् । भनिन्, ‘हामी कस्तो मिल्थ्यौँ है विश्वमणिजी…।’ उनको यो प्रतिक्रियामा पंक्तिकारको जवाफ थियो, ‘जिन्दगी यस्तै हो जल । मामुलाई म कत्ति मिस गर्छु…।’

 

यसपछि जल रुन थालिन् । थामिसक्नुको वेदना थिएन । पंक्तिकारका आँखा पनि नरसाउने कुरै भएन । यसरी रुने सिलसिलाको चक्र बदलियो, पोहोरबाट ।

 

जबसम्म यो धर्तिमा प्रेमाको बास रह्यो, उनी धेरैपल्ट रोइन् । उनैले भन्थिन्, ‘जलका लागि म यति रोएकी छु कि मेरो आँशुको महल बनेर आज ऊ खडा भएकी हो ।’
हुन पनि सत्य त्यही हो ।

आज अपराह्न काठमाडौंमा प्रेमाको स्मरणका लागि जलले एउटा कार्यक्रम आयोजना गरेकी छन् । त्यही निम्तो गर्ने क्रममा हो, जल शुक्रबार फोनमै रोएको ।

 

अर्थात्, अब प्रेमा यो चराचर जगतमा आएर कहिल्यै रुन्नन् । उनलाई जतिसुकै गाली गरौँ, धिक्कारौँ वा पुकारौँ- अब हामी प्रेमाको प्रेममयी रोदनबाट बञ्चित छौँ । र, रुवाइ शुरु भएको छ, छोरीको ।

 

आमाको आँशुको महल बनेर एउटा सुन्दर देह उनले पाएकी थिइन् । त्यसलाई नृत्य र कलामा अनुवाद गरिएपछि अभिनेत्री बनिन् । यस्तो बेला जल शाह अभिनेत्री बनिन् कि, एउटा ठूलो लडाइँमा कमजोर सिपाही बाँचेजस्तो । समय खराब थियो । फिल्मी जिन्दगी, त्यसमाथि महिलाको हकमा एकदमै शोषण र अत्याचारको समय ।

 

यताको फिल्मी बजारमा टिक्न नसकेपछि त्यसबेला चलेका हिरोइनमध्ये करिश्मा मानन्धर मुम्बईमा ‘दंगाफसाद’ फिल्म खेलेर फर्किएकी थिइन् । किनभने, उता झन् मुस्किल रहेछ । गौरी मल्ल पर्दामा देखिन छाडेकी थिइन् ।

 

मौसमी मल्ल, कृष्टि केसीहरु विदेशिए । तृप्ति दार्जिलिङ फर्किइन् । ‘रहर’ फिल्म खेलेर हराएकी निरुताको पत्तो थिएन । काठमाडौंको फिल्मी बजारलाई मेलिना मानन्धर, विपना थापाजस्ता नयाँ-नयाँ हिरोइनहरुले जेनेतेन धान्दै थिए ।

 

यही मेसोमा प्रेमा सर्लाहीबाट छोरी लिएर काठमाडौं आइन्, हिरोइन बनाउन । विजुलीबजारस्थित डायमण्ड एकेडेमी अफ पर्फमिङ आर्टस् (डापा) मा प्रताप सुब्बाले अभिनय र कमल राईले नृत्य सिकाए । त्यहीँ आँखा लगाए, प्रकाश सायमीले । उनैले हो, फिल्म ‘अवतार’ बाट उनलाई पर्दामा उतारेको ।

 

त्यसअघि उनले यादव खरेलको ‘जयबाबा पशुपतिनाथ’ खेलेकी थिइन् । तर, खरेलले अभिनयमा निखार आएन भन्दै आगामी फिल्महरुमा उनलाई खेलाउन नसकिने बताएपछि तालिमका लागि बिजुलीबजार पुर्‍याइएकी हुन् ।

 

त्यो यस्तो समय थियो कि, चारित्रिक विवादमा नपारिएका महिला कलाकार बिरलै हुन्थे । जो त्यस्तो झमेलामा फस्न चाहँदैथे, उनीहरु आफैँ छेउ-कुना लागेको अवस्था । सबभन्दा बजार गर्माएको थियो, समुन्द्र भट्टचन र वर्षा खड्काको झमेलाले ।

 

दीपाश्री-दीपक आलोकको झगडा पनि उत्कर्षमा थियो । अरु झिनामसिना काण्ड यहाँ उल्लेख गर्दा लामै फेहरिस्त उत्रिन्छ । त्यस्तो जटिल समयमा प्रेमाकी छोरीलाई सर्लक्क हिरोइन बनाइदिने जिम्मा थियो, प्रकाश सायमीसँग । जब कि, स्वयं सायमी र मेलिनाको झगडाले पनि त्यसबेला बजार गर्माइरहेको थियो ।

 

कुनै फिल्मी पत्रिकाले ‘जल शाहको ब्वाईफ्रेण्ड’ भनेर एउटा हावादारी टिप्पणी लेखेको थियो । त्यो पढेपछि प्रेमाका लागि लागि धर्ति नै निष्पट्ट अध्यारोजस्तो बन्यो । बिजुलीबजारमा भेटिँदा उनको आँखा आँशुले टम्म भरिएको थियो । ‘लेख्नचाहिँ नचाहिने कुरा लेखेछ । तर, फिल्म लाइनमा अलि-अलि त यस्ता कुरा सहनु पर्छ नि मम्मी’, पंक्तिकारले यत्ति सुझावमात्र के दिएको थियो, प्रेमा बन्दूकझैँ पड्किन थालिन् ।

 

‘किन सहने ? जे पनि लेख्न पाइन्छ ? हामीलाई लेख्न आउँदैन भन्या ? एक-एक मान्छेहरुको पोल खोलौँ ?’ यसरी एकैचोटि चार जटिल प्रश्न गर्दै उनी कड्किएपछि बोल्ने कसरी ? अनि, उनी आँखा छोपेर रुन थालिन् ।

 

अर्थात्, छोरीलाई यति माया गर्थिन् कि, त्यो छोरी अरु कसैकी हुने कुरा कल्पिदा पनि सहन सक्दिन थिइन् । प्रेमी वा पति त टाढाको कुरा भयो, जल शाह आफ्नी छोरीबाहेक अरु कसैकी केही हुने कुरा उनको कल्पनाभन्दा टाढा थियो । केटी साथीसँग पनि धेरै बेर अल्मलिँदा उनी खोज्न थालिहाल्थिन्, बिगारिदिन्छन् कि भनेर ।

 

कतिसम्म भने, सुटिङमा हिरोले हिरोइनको रुपमा जललाई अंगालो हाल्नुपर्छ, चुम्बन गर्नुपर्छ, एउटै ओछ्यानमा सुतेजस्तो गर्नुपर्छ, गीतमा कुम जोडेर नाच्नुपर्छ । तर, यी सब दृश्य प्रेमाको आँखाले कहिल्यै हेर्न सकेन । त्यस्ता सुटिङ प्रेमाको उपस्थितिमा हुनै सक्दैनथे, भएनन् पनि ।

 

यो सिलसिला फिल्म खेल्नुअघिकै हो । जतिबेला डापामा उनी अभिनय सिक्दै थिइन्, सिकाउनेले उनलाई छुन पनि नपाउने । यस्तो दृश्य देखेपछि फिल्म खेलाउन तयार भएका प्रकाश सायमी सोचमग्न भए ।

 

अन्ततः एग्रीमेन्ट पेपरमै ‘सुटिङमा द्वितीय पक्ष (जल) बाहेक निजका आफन्त, अभिभावक वा साथी भएर कोही पनि उपस्थित हुन पाउने छैनन्’ भनेरै लेख्नुपर्‍यो र त्यो एग्रीमेन्टको साक्षीका रुपमा आमालाई सही गराउनुपर्‍यो ।

 

भन्थिन्, उनले आफ्नो जीवन आफ्नै खुशीमा बाँचिन् । तर, छोरीको यौवनकाल शुरु भएयता उनी आफ्ना लागि एकदिन पनि बाँचिनन्, आफ्ना लागि हाँसिनन् पनि । मात्र, बाँचिन् त छोरीका लागि, हाँसिन पनि उनकै लागि मात्र । तर, प्रेमाको जिन्दगीको हिसाबमा हाँसो भन्दा आँशुको तौल बढी छ । समाजले उनलाई कहिल्यै हाँसेर बाँच्न दिएन ।

 

किनभने, उनको दाम्पत्य स्थायी भएन । काखे छोरी च्यापेर यता, उता गर्दै आफ्नो जवानी बितेको पत्तो पनि पाइनन् । सम्पत्तिका नाममा मावलीले पुल्चोकमा दिएको जमिन थियो । भविष्यप्रति उति चिन्ता नगर्ने उनको बानी । जमिन बेचेर जापान घुमिन् । फर्किएर आउँदा आफू र छोरीबाहेक सम्पत्ति केही रहेन ।

 

उनको वहुचर्चित विद्रोही कविता, ‘आऊ मलाई सम्भोग गर’ पढेपछि ‘साँच्चै होला त’ भनेर आफ्नै दाइ पर्ने मान्छे वीरगञ्जस्थित घरमै ‘लु, म आएँ’ भन्न पुगे । त्यो कविताले कस्तो बजार पायो भने, राम्रो र नराम्रो दुबै नियतका मान्छे उनलाई भेट्न, नजिकबाट बोल्न लालयित हुन्थे ।

 

प्रेमा २००२ साल असार १६ गते शुक्रबार वीरगन्ज, श्रीपुरमा जन्मिएकी हुन् । उनको चिनाको नामा गिरिराजलक्ष्मी शाह थियो । पूर्णेन्द्रविक्रम उनका बाबु र अरुणा आमा हुन् । उनले ०२६ सालमा नेपाली साहित्यमा स्नातकोत्तर गरेकी थिइन् ।

 

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस र नेपालगञ्जस्थित महेन्द्र क्याम्पसमा प्राध्यापन पनि गरिन् । लामो समय सर्लाहीस्थित नवजीवन विद्याश्रममा पढाएकी उनी नारायणी वाङमय प्रतिष्ठानकी संस्थापक हुन् । उनले ०२३ सालमा कथासंग्रह ‘पहेँलो गुलाफ’, ०२८ मा ‘विषयान्तर’ ०४० मा लघु उपन्यास ‘ममी’ सहित केही वालकथा, कविता लेखेकी छन् ।अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस
रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने

    कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान

बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन: एमाले

    काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले

हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण