काङ्ग्रेसको नयाँ एजेण्डा, महासमितिका बहुसङ्ख्यक सदस्यहरू हिन्दूराष्ट्रको पक्षमा



हाम्रो इकोनोमि

 

नेपाललाई हिन्दूराष्ट्रकै रूपमा कायम राखिनुपर्छ भन्ने अभियानले नेपाली काङ्ग्रेसभित्र तीव्रता लिएको छ । महासमितिको बैठक चलिरहँदा काङ्ग्रेसका युवानेता शङ्कर भण्डारीलगायतका नेताहरूले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाउँदा सहभागीहरूले उत्साहपूर्वक भाग लिए ।

 

हस्ताक्षर अभियानलाई गति दिन डडेल्धुरा काङ्ग्रेसका सभापति एवम् प्रदेश सभा सदस्य कर्ण मल्ल र पूर्वसांसद शङ्कर पाण्डेलगायतका नेताहरू अत्यन्त सक्रियतापूर्वक लागेका छन् । त्यस्तै, पूर्वसभामुख तारानाथ रानाभाट र चिरञ्जीवी वाग्ले पनि यस अभियानमा विशेष रूपले सक्रिय भएका छन् ।

 

महासमिति बैठकको पूर्वसन्ध्यामा भएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिले धर्मनिरपेक्षतालाई महान् उपलब्धि भनेपछि केही नेताहरूले त्यसमा गम्भीर आपत्ति जनाएका थिए ।

 

सहमहामन्त्री डा. प्रकाशशरण महत तथा युवानेताहरू चन्द्र भण्डारी, एनपी साउद र शङ्कर भण्डारीले धर्मनिरपेक्षता हटाइनुपर्छ भन्ने राय प्रकट गर्दा निधिले धर्मनिरपेक्षताको विरोध गर्नेहरू प्रतिगामी हुन् भनेका थिए ।

 

निधिको यस्तो भनाइको प्रतिवाद हुँदा उनी आक्रामक बनेपछि नेताहरूबीच झन्डै हात हालाहालको अवस्था पैदा भएको थियो । नेताहरूको असहमतिका बाबजुद महेन्द्रनारायण निधिका छोरा प्रतिवेदनमा सुधार गर्न तयार भएनन् । त्यसपछि शङ्कर भण्डारी, कर्ण मल्ल र शङ्कर पाण्डेलगायतका नेताहरू हस्ताक्षर अभियान शुरु गर्न बाध्य भएका हुन् ।

 

महासमितिका करिब सोह्र सय सहभागीहरूमध्ये मंगलबार दिउँसोसम्ममा करिब सात सयभन्दा बढीले दस्तखत गरिसकेका थिए । एक हजारभन्दा बढीको हस्ताक्षर सङ्कलन गर्ने योजना नेताहरूले बनाएका छन् ।

 

हिन्दूराष्ट्रको पक्षमा काङ्ग्रेसलाई उभ्याउन भएको उक्त हस्ताक्षरसहितको प्रस्ताव बुधबार (पुस ४ गते) सभापति शेरबहादुर देउवासमक्ष प्रस्तुत गरिने भएको छ । प्रस्तावमा नेपाललाई बौद्ध, किराँत र बोनलगायत सबै मौलिक धर्म, परम्परा एवम् संस्कृति संरक्षित सनातन हिन्दूराष्ट्रमा रूपान्तरित गर्न पार्टीद्वारा नेतृत्वदायी भूमिका निर्वाह गरियोस् भन्ने माग गरिएको छ ।

 

प्रस्तावमा भनिएको छ– ‘ देशमा २०६३ सालको राजनीतिक परिवर्तनपश्चात् जनतामा जागरण र उत्साह पैदा हुने कतिपय कार्यको उच्च स्मरण गर्दै यस अवधिमा भएका केही अभ्यासले हाम्रो मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र मौलिक धर्म, परम्परा एवम् संस्कृति सङ्कटग्रस्त बन्दै गएकोप्रति हामी गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ ।

 

बडामहाराजाधिराज पृथ्वीनारायण शाहद्वारा एकताबद्ध तुल्याइएको नेपाल चार वर्ण छत्तीस जातको फूलबारी भएको उद्घोष उतिबेलै भएको हो र, यो महान् वाणीको सान्दर्भिकता भूस्वर्गमा यो देशको अस्तित्व रहँदासम्म कायम रहने हाम्रो विश्वास छ । पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको एकीकरण अभियानमा सबै नेपालीबाट कुनै न कुनै रूप र स्तरको सहयोग र सहभागिता रहेको सबैमा अवगत नै छ ।

 

सनातनी हिन्दू, बौद्ध, किराँत र बोन धर्मावलम्बीहरूको पवित्र भूमि यो मुलुकको एकीकरण अभियानमा इस्लाम धर्मावलम्बीहरूले समेत महत्वपूर्ण योगदान पुऱ्याएको यथार्थलाई इतिहासले आत्मसात् गरेको छ ।

 

हिन्दूराष्ट्रका रूपमा नेपाल विधिवत् रहँदा इस्लाम धर्मावलम्बीहरूले समेत आफूहरूलाई संरक्षित र सुरक्षित महसुस गर्ने गरेको तथ्य यहाँ स्मरणीय हुन आउँछ । भगवान् गौतम बुद्धको जन्मस्थलका बासिन्दा भएकोमा हामी सबै नेपाली गौरवबोध गर्दछौँ ।’

 

प्रस्तावमा अगाडि भनिएको छ, ‘नेपाली मात्रको गौरव किराँत धर्म गुरु फाल्गुनन्दलाई हामी सदा स्मरण गर्दछौँ र, उहाँले दर्शाउनुभएको मार्गरेखामा उदात्ततापूर्वक अघि बढ्न प्रेरित छौँ । त्यस्तै, सनातनी परम्पराका महान् सन्त स्वामी प्रपन्नाचार्यलाई हामी सदैव स्मरण गरिरहनेछौँ ।

 

सनातनी मूल्य–मान्यताको संरक्षण, प्रवद्र्धन र विस्तारका निम्ति विशिष्ट योगदान पु¥याउनुहुने भगवान् बुद्ध, गुरु फाल्गुनन्द र स्वामी प्रपन्नाचार्यलगायतका सबै गुरु तथा सन्तहरूद्वारा प्रतिपादित ज्ञान–दर्शनद्वारा नेपाली समाजलाई जागृत गराइरहन हामी सधैँ उत्प्रेरित छौँ ।

 

वैदिककालदेखि नै ऋषिमुनिहरूको तपस्थल रहिआएको नेपाललाई अनेकौँ देवी–देवताहरूको पुण्यस्थलका रूपमा विश्वभरिका वैदिक सनातनीहरू जान्दछन् । पशुपतिनाथ, मुक्तिनाथ, गोरखनाथ, बौद्धनाथ, चन्दननाथ र रत्ननाथको अनुकम्पाले पोषित यो देश राजा जनक र सीताको महिमाद्वारा विभूषित छ ।

 

पाथीभरा, बागेश्वरी, गुह्येश्वरी, छिन्नमस्ता, गढिमाई र बडिमालिकाजस्ता शक्तिपीठ तथा हलेसी र बुढासुब्बाजस्ता धार्मिक केन्द्रले सिङ्गै नेपाल सनातनी वैदिक एवम् धार्मिक सभ्यताको केन्द्र भएको सिद्ध गर्दछ । तर, पछिल्लो समयमा परधर्मी व्यवहारलाई प्रोत्साहित गर्ने कार्य कम्युनिस्ट पार्टी र उनीहरूको सरकारबाट भएकोले देशको मौलिक धर्म, परम्परा तथा संस्कृति नै कालान्तरमा नामेट हुने चिन्ता बढाएको छ ।

 

नेपाली काङ्ग्रेस एउटा ऐतिहासिक प्रजातान्त्रिक पार्टी भएको र, प्रजातान्त्रिक पार्टी भएकैले यो बहुसङ्ख्यक जनताको भावनाप्रति सदा संवेदनशील रहँदै आएको छ । काङ्ग्रेस आफ्नो मुलुकको मौलिक धर्म, परम्परा र संस्कृतिको संरक्षण गर्दै देशको समृद्धि प्राप्त गर्ने लक्ष्यतर्फ अग्रसर राजनीतिक दल भएकोले देशको धर्म–संस्कृति सङ्कटमा पर्दै गएको यस घडीमा मौन रहन या निरपेक्ष बस्न मिल्दैन–सक्दैन भन्ने हाम्रो ठहर छ ।

 

धर्म व्यक्तिको स्वेच्छिक अधिकारको विषय हो र व्यक्तिको यस्तो अधिकारको हामी पूर्ण सम्मान गर्दछौँ । तर, विश्वका वैज्ञानिक तथा प्रबुद्ध समुदाय संस्कृत भाषा र सनातनी सभ्यताको उपादेयताप्रति आकर्षित हुँदै गएको र सच्चा इसाई धर्मावलम्बीले समेत नेपाल हिन्दूराष्ट्रको रूपमा रहनुपर्छ भनिरहँदा पनि हामी किन मौन छौँ ?’

 

‘विश्वको एउटै मात्र हिन्दूराष्ट्रको पहिचान जोगाउन तथा हिमाल, पहाड र तराई (मधेस) बीच एकताभाव जागृत गर्न नेपाल हिन्दूराष्ट्रको रूपमै संविधानमा लिपिबद्ध हुनुपर्ने आवश्यकता हामीले बोध गरेका छौँ । सनातनी परम्पराको सभ्यता र त्यसको उत्थानबिना प्रजातान्त्रिक समाजवादको जग स्थिर हुन नसक्ने हाम्रो ठहर छ ।

 

नेपालको पहिचान भनेकै हिमाल, पहाड र तराई हो र, यी तीन प्रकृतिका भूगोल तथा सांस्कृतिक एवम् पारम्परिक विविधता नै नेपाल हो । यस्तो विविधतालाई एकताबद्ध तुल्याउने सबैभन्दा प्रभावकारी सूत्र वैदिक सनातनी परम्परामा आधारित हाम्रो धर्म हो ।

 

तराईका हिन्दू धर्मावलम्बीहरू आत्मिक शान्तिको खोजीमा पाथीभरा, गोसाइँकुण्ड र मुक्तिनाथजस्ता पवित्र धाममा पुग्छन् भने हिमाली क्षेत्रका बौद्धमार्गीहरूको गन्तव्य पवित्र तीर्थस्थल लुम्बिनी हो ।

 

वैदिक सनातन परम्परामा आधारित धर्म र संस्कृतिले नेपाली समाजलाई अटुट रूपमा जोडेको छ, जोडिरहनेछ । त्यसैले राष्ट्रको आन्तरिक एकता मजबुत तुल्याउन र विश्वमा नेपालको विशिष्ट चिनारी कायम राख्न हामी नेपाललाई वैदिक सनातनी मुलुकको रूपमा विधिवत् स्थापित गर्नुपर्दछ भन्ने ठान्दछौँ ।

 

२०६३ को राजनीतिक परिवर्तनपश्चात् माओवादीको मूलप्रवाहीकरणका नाममा काङ्ग्रेसले जे–जस्ता एजेण्डा बोक्यो र जे छोड्यो, त्यसको समीक्षा तथा आत्ममूल्याङ्कनको उचित समय आएको छ । हामी हाम्रो राष्ट्रियता, राष्ट्रिय एकता, धर्म, संस्कृति र परम्परा रक्षाको निम्ति नेपाललाई बौद्ध, किराँत र बोनलगायतको धर्म, परम्परा तथा संस्कृति संरक्षित हिन्दूराष्ट्रको रूपमा संविधानमै लिपिबद्ध गरियोस् भन्ने चाहन्छौँ ।

 

नेपाली काङ्ग्रेसले आमजनताको यो भावनाअनुरूप आफ्नो एजेण्डा तय गरोस् भन्ने जोडदार माग गर्दै महासमितिको यस (चालू) बैठकमा निर्णयार्थ हाम्रो प्रस्ताव प्रस्तुत गरिदिन सभापतिसमक्ष हार्दिक आग्रह गर्दछौँ,’ प्रस्तावमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...