इन्धनमा महिनामै डेढ अर्ब नाफा, लिटरमा १३ रुपैयाँ नाफा खाएर घटायो २ रुपैयाँ, दिनमा ६ करोड नाफा
नेपाल आयल निगमले उच्च दरमा मुनाफा राखेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले मूल्य घटाएर आइतबार सूची पठाएपछि निगमले पनि मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान २–२ रुपैयाँ घटाएको छ ।
बुधबार बिहानबाट काठमाडौं उपत्यकाका उपभोक्ताले पेट्रोल १ सय १० तथा डिजेल र मट्टीतेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउँछन् । आइओसीले निगमलाई प्रत्येक महिना १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्छ ।
उपभोक्तालाई प्रतिलिटर २ रुपैयाँ मात्र मूल्य घटाएको निगमले आगामी १५ दिनका लागि ८८ करोड २२ लाख रुपैयाँ नाफा सुनिश्चित गरेको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निगमलाई आगामी १५ दिनमा करिब ८८ करोड २२ लाख रुपैयाँ नाफा हुने देखिन्छ ।’ तेल खरिद मूल्यमा धेरै कमी आए पनि निगम भने उपभोक्ताका लागि मूल्य घटाउन कन्जुस्याइँ गरिरहेको छ । उपभोक्तालाई कम मूल्य घटाएर बढी नाफा राख्न निगम व्यवस्थापन उद्यत देखिन्छ ।
निगम प्रवक्ता गोइतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको दररेटमा आएको गिरावटसँगै मूल्य घटाइएको जानकारी दिएका छन् । ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः केही कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएकाले फर्मुलाबमोजिम नै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो,’ उनले भने ।
निगमलाई
महिनामा डेढ अर्ब नाफा
आयल निगमले एक महिनामा करिब डेढ अर्ब नाफा सुनिश्चित गरेको छ । निगमले १७ मंसिरदेखि ३ पुसका लागि निर्धारण गरेको बिक्री मूल्यमा ५६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यतिखेर पनि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएर पेट्रोल १ सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटरमा बिक्री गरेको थियो ।
मंगलबार रातिदेखि लागू नयाँ मूल्यअनुसार अब १७ पुससम्म खरिद–बिक्री हुन्छ । १५ दिनमा ८८ करोड २२ लाख नाफा निकाल्ने लक्ष्य निगमको छ । यसरी एक महिनामा १ अर्ब ४४ करोड ८० लाख नाफा कमाउँदै छ । करिब १० अर्बबराबरको कारोबार गर्दा यो नाफा प्राप्त हुन्छ ।
निगमका कार्यकारी दिर्नेशक भन्छन् – कम मूल्य घटाउनु नियमको बन्धन
निगमले धेरै नाफा राखेर उपभोक्तालाई कम मूल्य मात्रै घटाउनु नियमको बन्धन भएको निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईको तर्क छ । एकपटकमा बिक्री मूल्यको बढीमा २ प्रतिशत हुन आउने रकम मात्र घटाउन वा बढाउन मिल्ने उनले दाबी गरे ।
‘मूल्य निर्धारणको फर्मुलाले आधार मूल्य (कायम रहेको बिक्री मूल्य)को दुई प्रतिशत मात्र बढाउन वा घटाउन दिने भएकाले दुई रुपैयाँको हिसाब निस्किएको हो,’ उनले भने ।
तर, विगतमा किन लागेन यो नियम ?
तर, विगतमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा यो नियम लागू नभएका उदाहरण छन् । ०७१ मा स्वचालित मूल्य प्रणाली लागू भएपछि ४ माघमा मूल्य समायोजन हुँदा पेट्रोलमा प्रतिलिटर ६.५० रुपैयाँ घटाएर १ सय ७ रुपैयाँ कायम गरिएको थियो । डिजेल तथा मट्टीतेल पनि ५.५० रुपैयाँ घटाएर ८४.५० रुपैयाँ प्रतिलिटर कायम गरिएको थियो ।
घाटा हुँदा जनतालाई मर्का, नाफा हुँदा निगमलाई मात्र
पेट्रोल
दैनिक बिक्री : १३ लाख ३३ हजार लिटर
बिक्री मूल्य : प्रतिलिटर ११० रुपैयाँ
नाफा प्रतिलिटर : १३ रुपैयाँ ७१ पैसा
दैनिक कुल नाफा : १ करोड ८२ लाख
डिजेल
दैनिक बिक्री : ४५ लाख लिटर
बिक्री मूल्य : प्रतिलिटर ९७ रुपैयाँ
नाफा प्रतिलिटर : ९ रुपैयाँ ८५ पैसा
दैनिक कुल नाफा : ४ करोड ४३ लाख
मट्टीतेल
दैनिक बिक्री : ७३ हजार लिटर
बिक्री मूल्य : प्रतिलिटर ९७ रुपैयाँ
नाफा प्रतिलिटर : २५ रुपैयाँ
दैनिक कुल नाफा : १८ लाख
आन्तरिक हवाई इन्धन
दैनिक बिक्री : एक लाख ६६ हजार लिटर
बिक्री मूल्य : प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा
नाफा प्रतिलिटर : १३ रुपैयाँ ६१ पैसा
दैनिक कुल नाफा : २२ लाख
बाह्य हवाई इन्धन
दैनिक बिक्री : ३ लाख ३३ हजार लिटर
बिक्री मूल्य : प्रतिलिटर १.१२५ डलर
नाफा प्रतिलिटर : ४७ रुपैयाँ ८७ पैसा
दैनिक कुल नाफा ः १ करोड ५९ लाख
ग्यास
दैनिक बिक्री : ८२ हजार १५६ सिलिन्डर
बिक्री मूल्य : प्रतिसिलिन्डर १४०० रुपैयाँ
घाटा प्रतिसिलिन्डर : २८४ रुपैयाँ ८३ पैसा
दैनिक कुल घाटा : २ करोड ३४ लाख
निगम अाफैँ भन्छ– वर्षमा एक अर्बको तेल चुहावट
कुल कारोबारको ०.५% इन्धन चुहावट हुने गरेको निगमको तथ्यांक छ । गत आर्थिक वर्ष निगमले २ खर्बको कारोबार गरेको थियो । ट्यांकर, डिपो र पेट्रोलपम्पबाट हुने वार्षिक एक अर्बको वैधानिक चुहावटबाहेक पनि थप चुहावट हुन्छ, जसको लेखाजोखा छैन ।
निगमको भण्डारणगृहबाटै प्राविधिक तथा तापक्रमका कारण नोक्सानी हुने गरेको छ । ८ वटा इन्धन डिपोमा राखिएको पेट्रोल ०.५७ प्रतिशतदेखि ०.९० प्रतिशतसम्म चुहावट हुने निगम बताउँछ । डिजेल र मट्टीतेल ०.३२ देखि ०.६२ प्रतिशतसम्म, हवाई इन्धन ०.१० देखि ०.६२ प्रतिशतसम्म चुहावट हुने निर्धारण निगमले गरेको छ ।
निगमले पेट्रोलपम्पलाई समेत चुहावट हुने लक्ष्य निर्धारण गरिदिएको छ । डिपोबाट पम्पसम्म लोड, अनलोड गर्दा पेट्रेलमा तापक्रमबापत ०.५० प्रतिशत र कार्यगततर्फ ०.३० प्रतिशत गरी ०.८० प्रतिशत चुहावट हुने लक्ष्यसहित भर्पाई दिने गरेको छ । डिजेल र मट्टीतेलमा तापक्रमबापत ०.३० प्रतिशत र कार्यगत ०.२५ गरी ०.५५ प्रतिशत नोक्सान दर निर्धारण गरेको छ ।
आइओसीबाट निगमको डिपोसम्म तेल ओसार्दासमेत चुहावट हुने गरेको छ । पेट्रोलियम तातो ठाउँबाट चिसोमा ढुवानी हुँदा घट्ने र चिसोबाट तातोमा ढुवानी हुँदा बढ्ने गर्छ । नेपालभन्दा भारतको तापक्रम बढी भएकाले त्यहाँबाट ल्याएको इन्धन घट्ने गर्छ ।
आइओसीको डिपोबाट निगमको डिपोमा तेल ल्याउँदा प्रतिहजार लिटर पेट्रोल प्रतिडिग्री तापक्रममा १.०६ लिटर तथा डिजेल र मट्टीतेल ०.७५ लिटर घट्ने सूत्र निगमले तयार गरेको छ । जसकारण १२ हजार किलोलिटरको ट्यांकरमा पेट्रोल ल्याउँदा ७ डिग्री तापक्रम कम भए करिब ९० लिटर मात्रा घट्छ ।


