डा. केसी पुस १७ गतेबाट १६ औ अनसन बस्दै , यस्तो छ उनको माग
सरकारले माग पुरा नगरेको भन्दै डा गोविन्द केसीले आगामी १७ गतेदेखि आमरण अनसन सुरु गर्ने भएका छन्। सरकारलाई माग पुरा गर्न पटक पटक समय दिँदा पनि आलटाल गरेको भन्दै उनले १६ औं अनसन सुरु गर्न लागेका हुन्।
डा .केसीले हिजो प्रेस विज्ञप्ति जारी गर्दै अनसनको घोषणा गरेका हुन्।
डा केसीले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक संसदमा पेस हुनुपर्ने र त्यही अनुसार आउनु पर्ने माग गरेका छन्। उनले मंसीर ११ गते सार्वजनिक गरेको तीन बुँदे माग पूरा नभए १७ गतेदेखि सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने भएका हुन्।
डा केसीले राखेका मागहरु
१. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस्।
क) सम्झौताबमोजिम अक्षरसः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस्।
ख) गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि।वि। पदाधिकारीलगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस्। त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थामै फिर्ता गरियोस्।
ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस्।
२. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस्।
३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरियोस्।
कांग्रेस महासमिति बैठकमा तनाव, केसीले बोल्दा प्रकाशसरणले माइक खोसे
नेपाली कांग्रेसको महासमितिको बैठकमा नेताहरुबीच माइक खोसाखोस भएको छ ।सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो । केसी मन्चमा गएर बोल्दाबोल्दै महत आएर माइक खोसेका थिए । त्यतिबेला केहीबेर तनाव देखिएको थियो ।
नेता केसीले भने, ‘महासमिति बैठक सुरु भएको आज चार दिन भयो तर, पार्टीको विधान अझै आएन । पहिले विधान चाहियो त्यसपछि मात्रै बैठक प्रारम्भ गर्नुपर्छ भनेर म मञ्चमा बोल्दै थिएँ तर, प्रकाशसरण महतजी आएर माइक खोस्नुभयो ।’दुई नेता बीचको माइक खोसाखोसका कारण होहल्ला भएपछि बैठक अहिले स्थगित गरिएको छ ।
केसीले महासमितिको बैठकको मुख्य विषय नै पार्टीको विधान संशोधन भएकाले विधान छिटो प्रस्तुत हुनुपर्ने बताए ।तर, नेताहरुबीच पदाधिकारीको संख्या कति राख्ने भन्नेमा विवाद भएकाले विधान अझै बैठकमा प्रस्तुत हुन सकेको छैन । विधान टुंगो लगाउने प्रयासमा सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा नेताहरुको बैठक बसे पनि सहमति जुटेको छैन ।
मंगलबार बिहान पनि देउवा पक्ष र पौडेल पक्षका नेताहरु छुट्टाछुट्टै बैठक बसेका थिए । तर, महासमिति बैठक स्थलमा महत र केसीबीचको विवाद भएको खबर पाएलगत्तै पार्टी सभापति शेरबहादुर देउवा महासमिति त्यता लागेका छन् ।