केपी ओलीले गुटबन्दी गरेको भन्दै स्थायी कमिटी बैठकमा खनिए योगेश भट्टराई
काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा मंगलबार पनि बोल्ने अधिकाशं नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीमाथि प्रश्न गरेका छन् ।
बैठकमा बोल्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले अध्यद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन अहिलेको आवश्यकता अनुसार नभएको बताएका छन् ।
बैठकमा सहभागि एक स्थायी कमिटी सदस्यका अनुसार भट्टराईले सांगठनिक एकीकरण ढिला हुनुमा पूर्वएमालेभित्रको नेतृत्वले गरेको गुटबन्दीको कारण भएको धारणा राखेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नामै नलिइकन नेतृत्व आफ्नो विरोध गर्नेलाई सिध्याउन लागिपरेको आरोप लगाए ।
‘क–कसलाई सिध्याउने, क–कसलाई बचाउने भन्दा भन्दै ढिला भयो । एकीकरणले पूर्णता नपाउँदै गुटबन्दीले पार्टीलाई सिध्याउँछ । खासगरी पूर्व एमालेका नेतृत्वले यसको समीक्षा गर्नुपर्छ ।’ यस्तै उनले नेता माधव नेपालको समेत खुलेर आलोचना गरेको ती सदस्यको भनाई छ ।
भट्टराईको भनाई उदृत गर्दै ती सदस्यले भने, ‘बामदेव कमरेडले प्रस्तुत गरेको प्रतिवेदनमा कतिपय पक्षहरु राम्रा छन् ।
तर ओलीसँग यो विषयमा रिस उठ्यो त्यसकारण ल्याएको भन्ने हो भने हामीले किन समर्थन गर्ने ? त्यसैले त्यस्तो कुरा नगर्नुस् । ठीक हो भने यो ठीक छ भनेर उहाँले भन्नु पर्यो ।’
ओली–प्रचण्डको प्रतिवेदन ‘अराजनीतिक’, आलोचना गर्न भीम रावलले मागे थप समय !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेता भीम रावलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीको कडा आलोचना गरेका छन् ।
ओली– प्रचण्डको कार्यशैलीमाथि धेरै प्रश्न गर्ने ठाउँ भएको भन्दै उनले थप समय उपलब्ध गराइए सम्पूर्ण फेहरिस्त दिन तयार रहेको बताए ।
बैठकमा हरेक स्थायी कमिटी सदस्यलाई धारणा राख्नका लागि २० मिनेट समयको उपलब्ध गराइएको थियो । तर सो समयले अपुग हुने भन्दै रावलले थप समय माग गरेका हुन् ।
बैठकमा सहभागी एक स्थायी कमिटीका सदस्यले रावलको भनाइ उद्धृत गर्दै भने, ‘सरकारमा कसलाई ल्याउने, कसलाई नल्याउने भनेर पार्टीमा छलफल हुनुपर्दैन ? सरकार सञ्चालक दलाल पुँजीपति वर्गको दबाबमा छ ।
समय भए यसको फेहरिस्त दिन तयार छु । अध्यक्षद्वयको प्रतिवेदन राजनीतिक नभएको टिप्पणी गरेका उनले बैठकमा लिखित सुझाव सहितको प्रतिवेदन नै पेश गरेका छन् ।
‘संविधान संशोधनको कुरा नेतृत्वले गरेका छन्, त्यो हो भने बैठकमा एजेन्डा बनाएर छलफल गरिनुपर्छ । के आवश्यकता छन्, के छैनन् । एसिया प्यासिफिक समिटले देशको शिर निहुर्याएको छ । यसमा आत्माआलोचना हुनुपर्छ । यसलाई बैठकमा एजेन्डा बनाइयोस्,’ बैठकमा रावलले भने ।
रावलको भनाइ उद्धृत गर्दै ती सदस्यले थपे, ‘बामेदव गौतमले पेश गर्नुभएका सुझाव राम्रा छन्, त्यसलाई समावेश गरिनुपर्छ । सरकारको गम्भीर समीक्षा होस्, त्यसलाई छुट्टै कार्यसूची बनाइयोस् ।’
त्यस्तै नेता रावलले राष्ट्रियता, साङ्गठनिक, सरकार सञ्चालन लगायतका कुरालाई छुट्टै एजेन्डा बनाएर यही बैठकमा निर्णय गरिनुपर्ने बताएका छन् ।
आजको बैठकमा केशव बडाल, भीम रावल, योगेश भट्टराई, सोमनाथ प्यासी, सत्यनारायण मण्डल, टोपबहादुर रायमाझी, शङ्कर पोखरेल, पृथ्वी सुब्बा गुरुङले पनि अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमा प्रश्नै प्रश्न गरेका छन् ।