कञ्चनपुर पुग्दै प्रदीप र विशालको डिएनए रिपोर्ट, सरकारी वकिलको रोहबरमा खोलिदै
प्रहरीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त अनुमान गरेका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट आएको छ।
स्रोतका अनुसार दुबैको डिएनए प्रोफाइल रिपोर्ट शिलबन्दी गरेर प्रहरी प्रधान कार्यालय हुँदै मंगलबार कञ्चनपुर पुग्दैछ। स्रोतका अनुसार निर्मलाको भेजिनल स्वाबसँग दुबैको डिएनए प्रोफाइल म्याच गरेको छैन ।
प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्टले शुक्रबार दुबैजनाको रिपोर्ट प्रहरी प्रधान कार्यालयमा बुझाएको थियो। प्रहरी प्रधान कार्यालयले आइतबार कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेरसिंह कडायतलाई जानकारी गराउँदै रिपोर्ट लिन आधिकारिक ब्यक्ति पठाउन भनेको हो।
कञ्चनपुरबाट आएका एक प्रहरी अधिकृतले सोमबार प्रहरी प्रधान कार्यालयबाट रिपोर्ट बुझेका छन्। स्रोतका अनुसार दुबैको रिपोर्ट नकारात्मक छ। निर्मलाको भेजिनल स्वाबसँग दुबैको डिएनए प्रोफाइल म्याच गरेको छैन।
कञ्चनपुर प्रहरीले प्रदीप र विशालको डिएनए रिपोर्ट मंगलबार साँझसम्म आइपुगेमा बुधबार जिल्ला सरकारी वकिल कार्यालयका आधिकारिक व्यक्तिको उपस्थितिमा खोल्ने तयारी गरेको छ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी कडायतले रिपोर्ट आउने क्रममा रहेको बताए। उनले प्रहरी प्रधान कार्यालयले मान्छे पठाउन भनेकाले पत्रसहित एक अधिकृत पठाएको बताए।
निर्मला प्रकरणको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कञ्चनपुर उल्टाखामकै प्रदीप र विशाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। ब्युरोले प्रदीपलाई काठमाडौंबाट र विशाललाई कञ्चनपुरबाट नियन्त्रणमा लिएको थियो। दुबैजना दुई सातादेखि प्रहरीको निगरानी र नियन्त्रणमा छन्।
स्रोतका अनुसार दुबैसँग लिएको बयानमा कहिले घटनामा संलग्नता खुलाउने त कहिले इन्कारी बयान दिएका थिए। दुबै जनाका विषयमा ब्युरोले जानकारी गराएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समेत ब्युरोमा पुगेर सोधपुछ गरेका थिए।
ब्युरोले प्रदीपलाई मंसिर २० र विशाललाई मंसिर २१ मा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। ब्युरोले भदौ १५ देखि थालेको अनुसन्धानमा तानिएका ३४५ मध्ये हाल डिएनए परिक्षणका लागि ल्याईएका १२ जना मुख्य शंकास्पद हुन्।
यी मध्ये अधिकांशलाई यसअघि पनि दोहो¥यार विभिन्न प्रहरी टोलीले सोधपुछ गरिसकेका छन्। प्रहरीले निर्मला हत्या प्रकरणमा दिलिपसिंह बिष्टसहित २४ जनाको डिएनए परीक्षण गरिसकेको छ।
ब्युरोको निर्देशनमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका प्रदीप रावलले गाँउलेहरुसँग निर्मलाका विषयमा भनेको कुराले उनी अनुसन्धानमा तानिएका थिए। यस्तै मोबाइलको लोकेशन, सोधपुछ र उनको भूमिकाले प्रहरी यसपटक सफलता हात लाग्नेमा सकारात्मक देखिएको हो।
निर्मला प्रकरण अन्तर्राष्ट्रिय चासोको विषय बनेपछि गृह प्रशासन यतिबेला चौतर्फी दबाबमा छ। नेपाल भ्रमणमा आएकी संयुक्त राष्ट्र संघकी विशेष र्यापोटर डुब्राभ्का सिमोनोभिकले फर्कने दिन मंसिर १३ मा आयोजित पत्रकार सम्मेलनमा आफूले घटनाको नियमित जानकारी राख्ने बताएकी थिइन्। उनको यो भनाई राष्ट्र संघको औपचारिक भनाई थियो।


