कार्यकर्ताले कुटन खोजेपछि हिन्दु धर्मको बिरोध गर्ने विमलेन्द्र निधि हलबाटै बेपत्ता
सिंहदरबारको गेटै अगाडिको एक पाटी प्यालेशमा नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको छ । शनिबार उदघाटन भएको सम्मेलनको सोमबार दोस्रो दिन हो ।
दोस्रो दिन विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र बन्दसत्रमा त्यसमा छलफल हुने कार्यक्रम थियो ।
बिहान निर्धारित समयमै सबैजना महासमिति सदस्य तथा केन्द्रीय नेताहरू उपस्थित भैसकेका थिए । तर पनि त्यहाँ एकजना मानिसको अनुपस्थितिको विषयलाई लिएर सहभागीहरूबीच कानेखुसी चल्यो ।
दोस्रो दिनको निर्धारित कार्यक्रम शुरु भएको केही घन्टासम्म पनि कांग्रेस उपसभापति विमलेन्द्र निधि उपस्थित भएको नदेखिएपछि महासमिति सदस्यहरूले एकअर्काेलाई खोजीरहेका थिए । तर उनीहरूले आफ्नो पार्टीका उपसभापतिलाई भने दिनभर देख्न पाएनन् ।
केही सहभागीले त उपसभापति खोइ भनेर प्रश्न पनि गरे । तर पनि त्यसको सुनुवाई मञ्चबाट भएन, त्यसको जवाफ पनि आएन ।
कहाँ गएका थिए त निधि ? यसको आधिकारिक जवाफ साँझसम्म पनि कसैले दिएनन् । सहभागीले उनलाई कार्यक्रमस्थलमा पाउँदा पनि पाएनन् । केही भन्दै थिए निधि हिजोदेखि नै नरमाइलो मुख लगाएका थिए । यसका कारण थिए विजयकुमार गच्छदार ।
गच्छदारको दमदार प्रस्तुति उदघाटन सत्रमा निकै राम्रो थियो । गच्छदारले दुई नेता (शेरबहादुर देउवा र रामचन्द्र पौडेल)लाई हात मिलाउन लगाएको कुरा सोमबारसम्मका सञ्चारमाध्यममा आएको छ । यसले निधिलाई टाउको दुखाई भएको चर्चा ।
निधिको शनिबारको सम्बोधन मन्तव्यको कुनै अर्थपूर्ण नभएको र सहभागीहरूले पनि कुनै टिप्पणी नगरेकाले उनी आइतबारदेखि नै ‘मुडअफ’मा छन । त्यसमा पनि शनिबार साँझ उनको राजनीतिक प्रतिवेदन आएपछि त निधिको आलोचना नै भएको छ । उनको प्रतिवेदनले कुनै पनि कुरा समेटेको थिएन । जसका कारण सहभागीहरूले पनि उनीमाथि दर्जनौँ प्रश्न उठाएका थिए ।
एकजनाले त निधि आफै सो प्रतिवेदन नलेखेर नरहरि आचार्यलाई लेख्न लगाएको सम्म भनेका थिए । प्रश्नका रुपमा यो कुरा नआएको भए पनि महासमिति सदस्यहरूको खासखुसमा यो कुरा सुनेका उनी यसैकारण पनि मुडअफ भएका थिए ।
यति ठूलो महासमिति बैठकमा उपसभापति जस्तो व्यक्तिले तयार पारेको राजनीतिक प्रतिवेदन यस्तो हल्का र कुनै मार्ग निर्देशकका रुपमा पनि नरहेको भन्दै महासमिति सदस्यहरुले सभाहलमै कडा विरोध गरेका छन ।
कतिले त यस्तो प्रतिवेदन केन्द्रीय समितिले किन पास गरेर ल्याएको हो भनेर चर्को स्वरमा पनि कराएका थिए ।
यता उनको यही प्रतिवेदनको निकै कडा आलोचना गर्दै नेकपाका नेता घनश्याम भुसालले आफू कांग्रेस पार्टीको राजनीति प्रतिवेदन पढेर निराश भएको र त्यो प्रतिवेदनमा कांग्रेसको राजनीतिक विचार र भोलीको दिशानिर्देश कसरी हुनसक्छ भनेर सञ्चारमाध्यममै दिएको अन्तर्वार्ताले निधिलाई झनै लाजमर्दाे बनाएको थियो ।
त्यो प्रतिवेदनलाई पनुर्लेखन गर्नुपर्ने भनी भुसालले भनेजस्तै अधिकांश महासमिति सदस्यहरूले पनि हिजो नै त्यो माग राखेका थिए ।
यो महासमिति बैठकमा निधिको उपस्थिति उपसभापतिको जस्तो नभएको धेरैको गुनासो छ । महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजना गरिएको केन्द्रीय समिति बैठकमा नै उनले अनावश्यक विवाद गरेर हात हालाहातको परिस्थिति बनाएको र त्यसको बडो नकारात्मक प्रचार नेपाली मिडियामा भएकोले यसबाट बैठकमा सहभागी हुन आएका महासमिति सदस्यहरुलाई निराश बनाएको थियो ।
यस विषयमा किन प्रचार गराएको भनेर सभापति देउवाले पनि उनलाई हप्काएका थिए । अनि अर्काे भित्री कुरा के हो भने निधि कांग्रेसमा गच्छदार प्रवेश गराएकोमा त्यसै समयदेखि नै देउवासँग खुसी छैनन् ।
कांग्रेसमा गच्छदार आएपछि निधिले सार्वजनिक रुपमै आफ्ना विरुद्ध देउवाले सौता हालेको भनी सार्वजनिक रुपमा नै टिप्पणी गरेका थिए । उनको त्यो असन्तुष्टि यस पटकको यो बैठकमा स्पष्टै देखिएको छ । यो कुरा सभापति देउवाले पनि थाहा पाएका देउवा निकटस्थहरू बताउँछन् ।
हालैमात्र निधिले जनकपुरमा योगी आदित्यनाथको आगमनको विरोध गरेपछि पनि सभापति देउवाले पार्टीलाई किन विवादमा पारेको भनी उनलाई हप्काएका थिए । यी सबै असन्तुष्टिहरू उनले यसै पटकको यो बैठकमा पोखेका थिए ।