कांग्रेसकाे विधान मस्यौदामा अझै सहमति जुटेन : बन्दसत्रमा धर्म बहस



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथि छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

 

सहमति जुट्न नसकेका कारण पार्टीको प्रस्तावित विधान मस्यौदा बैठकमा पेस हुन सकेको छैन । प्रतिवेदनमध्ये राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधिले शनिबार बैठकमा पेश गरेका थिए । अन्य तीन प्रस्ताव क्रमशः महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवले आइतबार प्रस्तुत गरे । बैठकमा बोल्ने महासमिति सदस्यले राजनीतिक प्रतिवेदनमा थप परिमार्जन गरेर जानुपर्ने धारणा राखेका छन् ।

 

बैठकमा सबै जिल्ला, निर्वाचन क्षेत्र, क्षेत्रीय, जातीयरुपमा प्रतिनिधित्व हुने गरी महासमिति सदस्यलाई बोल्ने व्यवस्था मिलाइएको प्रवक्ता शर्माले जानकारी दिए । महासमिति सदस्यले पार्टीको बृहत्तर एकता र हितमा जोड दिएका छन् । महासमिति सदस्यलई माइकमा बोल्नका लागि चार मिनेटको समय व्यवस्थापन गरिएको छ । चार मिनेटमा स्वतः माइक बन्द हुने प्रविधिको व्यवस्था गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

 

शनिबारदेखि शुरु महासमिति बैठकमा धर्मको मुद्दा पनि प्रवेश गरेको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विरोध गरे । बैठक स्थलबाहिर हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै महासमिति सदस्यकै हस्ताक्षर संकलन थालिएको छ । बैठक पुस ३ गतेसम्म चल्नेछ ।

 

राष्ट्रपतिको आलोचनाप्रति प्रधानमन्त्री आक्रोशित
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । गाडी खरिद, प्रहरी तालिम केन्द्र सारेर हेलिप्याड बनाउने  र हेलिकप्टर खरिदको विषयलाई राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भईरहेको छ ।

 

नेपाल कानुन व्यवसायी संगठनहरुको एकता घोषणा कार्यक्रमलाई पार्टी कार्यालय धुम्बाराही, काठमाण्डौंमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र विरोधीहरु राष्ट्रपतिको आलोचना र विरोध गरेर राजतन्त्र फर्काउने खेलमा लागेको जिकिर गर्नुभयो ।

 

नेपाली कांग्रेसप्रति आक्रमक देखिएका प्रधानमन्त्री ओलीले जनताको सरकार भएका बेला कसरी अधिकार खासियो भनेर प्रश्न समेत गर्नुभयो । कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक परिर्वतनका बेला न्यायपालिका र कार्यपालिकाबीच तालमेलन नमिल्दा दुःख लाग्ने गरेको बताए ।

 

सांसदले गरे घरभाडा फिर्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद् योगेश भट्टराई र पम्फा भुषालले संसद सचिवालयबाट घरभाडा वापत पाएको रकम फिर्ता गर्ने घोषणा गरेका छन् । काठमाडौंमा घर भएका सांसदहरुले पनि घरभाडा वापत रकम लिएको भन्ने समाचार आएपछि भट्टराई र  भुषालले आइतबार विज्ञप्ती जारी गर्दै रकम फिर्ता गर्ने बताएका हुन् ।

 

सांसद योगेश भट्टराईले घरभाडा वापत आफूले प्राप्त गरेको ९० हजार रुपैयाँ पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई आग्रह गरेका छन् । यस्तै भुषालले पनि घरभाडाबापतको रकम कट्टा गर्न आग्रह गरेको जानकारी दिइन् ।

 

राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् । संसद् सचिवालयका अनुसार आईतबार कांग्रेस सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आफुले बुझेको घरभाडा फिर्ता गरेका छन् ।

 

प्रधानन्यायधीशमा सिफारिस जबराविरुद्ध उजुरी आह्वान
प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान गरिएको छ । आइतबार विहान बसेको संसदीय सुनुवाई समितिको बैठकले जबराविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

 

संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।

 

छोरी र श्रीमती हत्या आरोपमा पक्राउ
श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी सर्वजनिक गरेको छ । भारत विहार घर भई हेटाँैडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए ।

 

हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै हेटाैंडा–१९ नेवारपानीस्थित रातु खोलामा हत्या गरेको स्वीकार गरेको बताइएको छ ।

 

अध्यादेशप्रति कर्मचारीको असहमति
कर्मचारी समायोजन अध्यादेशप्रति असहमति जनाउँदै कर्मचारीका विभिन्न संघ संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीआवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियनलगायतका संघ, संगठनहरुले अध्यादेशले आफूहरुलाई विभेद गरेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

 

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर कर्मचारी संघसंगठनहरुले निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा विभेद भएपछि अध्यादेशविरुद्ध आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन् ।  स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठले यही पुस १० गते काठमाडौंमा विरोधसभा गरेर थप कार्यक्रमको घोषणा गर्ने जानकारी दिए ।

 

तीन किलो चरेशसहित विदेशी नागरिक पक्राउ 
प्रहरीले तीन किलो चरेशसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले  चरेशसहित ६१ वर्षीय क्यानेडियन नागरिक टेनिडेनिस लेगलाई आइतबार पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पूजा सिंहका अनुसार हाते झोलामा राखेर चरेश लैजाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो ।

 

 

रनिल विक्रमासिंघेले पद सम्हाले
श्रीलंकामा रनिल विक्रमासिंघेले फेरी प्रधानमन्त्रीको पदभार सम्हाल्लेका छन् । झण्डै दुई महिनाअघि राष्ट्रपति मैत्रीपाला सिरीसेनाबाट बर्खास्त गरिएका विक्रमासिंघे आइतबारदेखी फेरी प्रधानमन्त्रीको पदमा फर्किएका हुन् ।

 

राष्ट्रपति सिरीसेनाले विक्रमासिंघेलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ गराए । विक्रमासिंघे दोस्रो पटक प्रधानमन्त्री बनेपछि श्रीलंकामा जारी राजनीतिक संकट अन्त्य हुने संकेत देखिएको छ ।

 

‘ए’ डिभिजन लिगः नवाैं चरणका खेल आजदेखि
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणका खेल सोमबारदेखि हुने भएकाछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेल सोमबार, मङ्गलबार र बुधबार हुनेछन् ।

 

सोमबार तीन तथा मङ्गलबार र बुधबार दुई÷दुई खेल हुने  लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । सोमबार पहिलो खेल न्युरोड टीम (एनआरटी र हिमालयन शेर्पाबीच हुनेछ । दोस्रो खेल सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । तेस्रो खेल सङ्कटा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...