कांग्रेसको दस्तावेज पढेपछि निराश भएँ- घनश्याम भुसाल
नेपाली कांग्रेसले अलि गरी खाला भन्ने लागेको थियो । खासगरी यो महासमिति बैठक वरिपरि चलेको चर्चा, सरगर्मी हेर्दा र अस्ति चुनाव हारेपछि कांग्र्रेस अलि गम्भीर भयो होला भन्ने लागेको थियो । तर, उसको आर्थिक र राजनीतिक प्रतिवेदनले मलाई निराश बनायो ।
प्रतिपक्षीको हिसाबले भन्दा आफूभित्र के चलिरहेको छ ? म के हुँ ? कता जाँदैछु ? भनेर कांग्रेसले राम्ररी छलफल गर्ला र निष्कर्षहरु निकाल्ला भन्ने लागेको थियो । तर, उसको दस्तावेज हेर्दा त्यस्तो पाइएन ।
यसलाई दुई-तीन पक्षबाट हेरौं ।
पहिले त आजको दुनियाँमा कांग्रेसको औचित्य पुष्टि गर्ने बैचारिक धरातल के हो भन्नेमा जानुपथ्र्यो । आफूलाई बैचारिक रुपमा उन्नत बनाउने, परिस्कृत र अपडेट हुने उपक्रम गर्नुपथ्र्यो । तर, उसले केवल बीपीको नाममा टेकेको छ, त्यो पनि बीपीको समयलाई बिर्सेर । बीपीको समय सम्झेको भए त्यो समयमा बीपीको विचार के थियो र आजको विचार यो हो भन्ने निर्धारण गर्न सजिलो हुने थियो । त्यतातिर कांग्रेस पस्दै पसेन ।
बीपीको समयपछाडि विचारधाराहरुमा उथलपुथल भएको छ । आज कांग्रेसको बैचारिक उर्जा के रहेछ भने बीपीको नाम । त्यो बाहेक अरु देखिएन । उसले आफूलाई अपडेट गर्नुपथ्र्यो ।
दोस्रो, कांग्रेसका लागि ०४६ को प्रजातन्त्र पुनः स्थापना पछाडि ठूलो अवसर थियो । त्यसैले ऊ उदारवादतिर ढल्कियो । उदारवादी भएर आयो भनौं । विश्व अर्थ-राजनीतिमा बलशाली भएर आएको नवउदारवादलाई अंगीकार गर्यो । त्यसबाट अछुतो रहन सक्दैनथ्यो पनि । उसले कुनै न कुनै हिसावले नवउदारवादसँग तालमेल मिलाउनैपथ्र्यो । तर, नवउदारवादको चंगुलमा फस्ने गल्तीहरु गर्यो ।
कांग्रेसले आज नवउदारवादका गलत प्रभावहरु के-के रहे भनेर मूल्यांकन गर्न सक्नुपथ्र्यो । तर, उसले प्रतिवेदनमा नवउदारवादका नकारात्मक कुराहरुलाई नै गौरवका रुपमा प्रस्तुत गरेको छ ।
स्कुलहरु, बैंकहरु भटाभट खुलेको सकारात्मक कुराहरु पनि छन् प्रतिवेदनमा । तर, कांग्रेस जसरी नवउदारवादमा गयो, त्यसले दलाल पुँजीवादलाई जसरी बढायो र दलाल पुँजीवादले पार्टीलाई जसरी कब्जा गर्यो, यो ०४६ पछाडिको नकारात्मक पाटो थियो । यसलाई उसले देख्दै देखेन ।
नवउदारवादले दुनियाँमा कति ठक्कर खाइसक्यो । कांग्रेसचाहिँ अहिले पनि नवउदारवादकै ठाउँमा टेक्छ । यो उसको दोस्रो ठूलो समस्या लाग्यो मलाई ।
तेस्रो, अस्ती भर्खर मुलुकले त्यत्रो नाकाबन्दी ब्यहोर्यो । दुई राष्ट्रबीचको सम्बन्धका हिसावले र पछिल्लो राजनीतिक हिसावले पनि कांग्रेसले त्यसमा अलि ध्यान दिनुपर्थ्यो । यो किन पनि भने संविधान बनाउँदा सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । नाकाबन्दी लाग्दा पनि उहाँ नै प्रम हुनुहुन्थ्यो । उहाँले नाकाबन्दीको बिरोध पनि गर्नुभयो । तर, कांग्रेसको प्रतिवेदनमा त्यत्रो ठूलो परिघटना गायब छ ।
भनेपछि, यो पार्टी भर्खरैको राजनीतिबाट पनि बेखबर छ । नाकाबन्दीले देशभित्र जुन राजनीतिक माहोल बनायो, त्यसले यस्तो झापड हान्यो कि कांग्रेस आज पनि थला परेको छ । तर, त्यत्रो झापड नसम्भिmएजस्तो, बिर्सिए जस्तो गर्छ । मानौं, नेपाल बिरुद्व नाकाबन्दी भएकै थिएन ।
कांग्रेसले न इतिहासमा टेक्यो, न आफ्ना अनुभवहरुलाई समृद्ध बनायो । न त समसामयिक राजनीतिमा सुसुचित भयो ।
मेरो विचारमा, कांग्रेस एउटा लोकतान्त्रिक विकल्पका रुपमा रहिरहनुपर्छ । राजनीतिक रुपले उरन्ठेउलो, उग्रवादी, गैरजिम्मेवार कुरा गर्दा त जे भने पनि हुन्छ । तर, हामीले हाम्रो आठौं महाधिवेशनको प्रतिवेदनमा पनि भनेका छौं- लामो समय वाम कोणमा रहेको लोकतान्त्रिक शक्ति र लोकतान्त्रिक कोणमा रहेको अलिकति वाम झुकाव भएको शक्तिको प्रतिस्पर्धा लामो समय रहन्छ ।
नेपाली समाजमा ‘लेफ्ट’ले नै नेतृत्व गर्छ तर, प्रभावशाली शक्तिका रुपमा कांग्रेस रहिरहन्छ, रहिरहन जरुरी छ । तर, अहिले कांग्रेसको यो प्रतिवेदनका आधारमा हेर्दा कांग्रेसले त्यो गर्न सकेको देखिएन ।
प्रतिवेदन लेख्नेहरुले आफ्नै बढाइ-चढाइ गरेका छन् । यसरी कांग्रेसले आफूलाई बलियो लोकतान्त्रिक शक्तिका रुपमा उभ्याइरहन सक्छ जस्तो लाग्दैन ।
दस्तावेजको पुनर्लेखन गर्नुपर्छ
वर्ग विश्लेषणको आधारमा हेर्दा कांग्रेस र हामी उस्तै हौं । श्रमजीवी वर्ग कम्युनिष्टको छाँया वा झण्डामुनि बस्न अलि आनन्द मान्छ । कम्युनिष्टको झण्डामुनि बस्दा आफ्नो भविष्य असुरक्षित देख्दैन । हाम्रो देशको माथिल्लो वर्ग कांग्रेसको छाँयामा बस्न रुचाउँछ ।
लोकतान्त्रिक विकल्प बन्नका लागि कांग्रेसले श्रमिजीवी वर्गको पक्षमा अलि दृढताका साथ आउनुपर्छ । अन्यथा उसले आफ्नो औचित्य पुष्टि गर्न सक्दैन । वीपीको नाम लिएर मात्रै पुग्दैन, त्यो धेरै पुरानो भइसक्यो ।
कम्युनिष्टहरू चुनावमा आए, सत्ता पनि लिए । लोकतन्त्रको कुरा पनि गर्छन् । यसलाई उनीहरूले आजको माक्र्सवाद भन्छन् भनेर कांग्रेसको राजनीतिक प्रतिवेदनमा एक ठाउँमा लेखिएको छ । शीतयुद्धकै प्रभाव छ । कम्युनिष्टहरूलाई महेन्द्रले हुर्काएका शक्ति हुन् भन्ने छ । लोकतान्त्रिक प्रक्रियामा कम्युनिष्टहरू आउनु कांग्रेसको सैद्धान्तिक विजय हो पनि भन्छन् । यसरी हेर्दा कांग्रेसको प्रतिवेदनले कम्युनिष्ट पार्टीको पनि सही मूल्यांकन गर्न सकेन ।
कांग्रेसलाई बलियो लोकतान्त्रिक विकल्प बनाउन महासमितिमा आएकाहरुले प्रतिवेदनमा प्रश्न उठाउनुपर्छ, पुनर्लेखन गराउनुपर्छ ।
महासमितिभित्र नयाँ कुरा गर्छौं भनेर दाबी गर्नेहरू फाट्टफुट्ट देख्छु । कांग्रेससँग सम्वद्ध व्यक्तिहरूले यो बीचमा केही विमर्श गरेको अनलाइनखबरमै पढेको छु ।
कांग्रेसका बौद्धिक साथीहरूले काल्पनिक समाजवादसम्मको कुरा गरेका थिए । तिनीहरु कता हराए कता । ती सबै जुटुन् र इतिहासको अनुभव र वर्तमान राजनीतिबारे दृढतापूर्वक आफ्ना कुरा राखुन् । त्यसका लागि कमसेकम यो प्रतिवेदन पुनर्लेखन गरेर आफ्नो यात्रा शुरु गरुन् ।
दलाल पुँजीवादकै गोलचक्करमा
म सम्मानका साथ भन्न चाहन्छु वीपी कोइराला आधुनिक नेपाली राजनीतिक आन्दोलनका अग्रणी हुन् । निरंकुशता विरोधी, राजतन्त्र विरोधी र लोकतन्त्र पक्षधर मूर्धन्य व्यक्ति हुन् । त्यो बाहेक वीपीको आर्थिक नीति भनेर जेलाई भनिन्छ, त्यसबारे अहिलेको १६ पृष्ठको आर्थिक प्रतिवेदनमा केही उल्लेख छैन ।
इतिहास ‘दुई चम्चा दूध र गाईको’ वरिपरि छ । वर्तमान ०४८ पछि कांग्रेसले अंगीकार गरेका आर्थिक नीतिकै वरिपरि छ । त्यो नीति असफल भइसक्यो । त्यो दुई चम्चा दूधको प्रसंग र ०४८ पछिको नीति दुबै असान्दर्भिक भइसके । हराइसकेको र असान्दर्भिक ठाउँमा टेकेको प्रतिवेदन उच्च आर्थिक बृद्धिदर हासिल गर्ने, सार्थक संघीय वित्तीय व्यवस्था भन्दै जान्छ र अन्त्यमा सदाचार, सुशासनको कुरा गर्छ । मचाहिँ नेपाली राजनीतिमा हामीलाई समेत चुनौति यही हो भन्छु ।
सदाचार, सुशासन हाम्रो राजनीतिको सबैभन्दा महत्वपूर्ण पक्ष हो । यसलाई प्राथमिकतामा नराखेर वा इन्कार गरेर जानु भनेको त्यही दलाल पुँजीवादको गोलचक्करमा फस्नु हो । राजा जुन बाटो हिँडे अन्तिमतिर, कांग्रेस जुनबाटो हिँड्यो अन्तिमतिर आजको पनि त्यो चुनौति छ । हाम्रो पार्टीमा त्यसको पुनरावृत्ति नहोस् भनेर मैले समाजवादको टोपी लगाउने र दलाल पुँजीवादको जुत्ता लगाउने भन्ने गरेको छु ।
बलियो लोकतान्त्रिक पार्टी बनेन भने नेपाल बन्दैन । राजेश्वर देवकोटाले मलाई एकपटक भन्नुभएको थियो- हामी रामराज्य बनाउन लागेका हौं । ०२६ सालतिर राजा इरान गए । इरानका बादशाहको चकाचौध हेरेर आएपछि उनले राज्यलाई क्रमशः दोहन गरेर त्यस्तै शान शौकत देखाउन लागे । महेन्द्रले जे शुरु गरे, वीरेन्द्र पनि त्यतै हिँडे । र, हाम्रो यो हविगत भयो ।
दलाल पुँजीवादले पञ्चायतलाई कसरी डोर्याएछ भन्ने यसबाट थाहा हुन्छ । पञ्चायतलाई दोहन गरेर खाने जुकोजस्तो थियो, दरबार । फैलावटको हिसाबले यो क्रम पछि कांग्रेसको पालामा हृवात्तै बढ्यो ।
मैले ५-६ अर्बको हुँदादेखि बजेट भाषण सुन्न थालेको हुँ । त्यसलाई खर्बमा पुग्ने ठाउँमा कांग्रेसले नै लिएर गयो । तर, त्यो आर्थिक परिचालन वा वृद्धि कहाँ गयो ? आखिर फेरि पनि त्यो माथिल्लो वर्गकै वरिपरि गयो ।
अहिले पनि बैंकको करिब ८० प्रतिशत कर्जा प्रवाह बिजनेस क्षेत्रमा जान्छ, त्यो पनि आन्तरिक होइन बाहृय व्यापारमा । त्यस्तो मुलुकमा व्यापारघाटा कति हुन्छ भन्ने त यसै बुझिने कुरा हो । त्यसलाई फेर्न राजनीतिक संगठन पनि त्यस्तै हुनुपर्छ । विकास गर्ने हो भने विकासको राजनीतिक संगठन चाहियो । समाजवाद ल्याउने हो भने समाजवादकै संगठन चाहिन्छ ।
मैले भन्न खोजेको, समृद्धिका लागि राजनीतिक संगठन भएन काँग्रेस । ऊ दलाल पुँजीवादकै गोलचक्करमा फस्यो । लाउडा, एनसेल कर फछ्र्योट जस्ता ठूला घोटाला एक हिसाबले राष्ट्रिय सहमति नहुँदासम्म हुन्छ जस्तो लाग्दैन । यस्ता कुराबाट देशलाई बाहिर निकाल्ने कुरालाई कांग्रेसले प्राथमिकतामा राख्नु पथ्र्यो । कसरी यसलाई समाधान गर्न सकिन्छ भन्नेबाट शुरु गर्नुपथ्र्यो ।
कांग्रेसको आर्थिक प्रतिवेदन हेर्दा नर्सिङ होम, सहकारी, विद्यालयमा कम्युनिष्टको प्रवेशले ठूलो आतंक सिर्जना गरेको देखिन्छ । ठूलो व्यापारमा भएको जुन लगानी छ, त्यसले मुलुकमा पारेको प्रभाव, त्यसले बढाएको व्यापार घाटा, औद्योगीकरणमा पारेको बाधा, राष्ट्रिय पुँजी निर्माणमा पुर्याएको बाधालाई अनदेखा गरेर विद्यालय, सहकारीको मात्रै कुरा गर्नु भनेको टाउकोलाई छोडेर पुच्छरको मात्रै कुरा गर्नु हो ।
संविधानमा समाजवाद उन्मुख समाज निर्माण गर्ने भनिएको छ, तर कांग्रेसको दस्तावेज हेर्दा मलाई चिन्ता लाग्यो । कांग्रेस नै त्यसरी गैर-जिम्मेवार भएपछि अरुलाई पनि जिम्मेवार नभए पनि हुने सुविधा भयो । कांग्रेसले भन्दा राम्रो गर्छौं भनेपछि भोट पाइने भयो ।
कांग्रेसले यो बेला ठूलो नैतिक दवाब दिन सक्थ्यो । हामी बिग्रन्छौं कि भन्ने सन्त्रास पैदा गर्न सक्नुपथ्र्यो । तर, कुनै चुनौति दिएन । हामी जति बिग्रे पनि हुने भयो ।अनलाईनखबरबाट