देउवा, रामचन्द्रको काम छैन, अबको कांग्रेस सभापति मै हुँ : शशांक
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिको दावेदार भएको बताएका छन् ।
उनले कांग्रेस संस्थापक नेता तथा आफ्ना पिता बीपी कोइरालाको अधुरो सपना पूरा गर्ने दायित्व आफूमा रहेकाले १४ औं महाधिवेशनमा सभापतिमा दावी गरे ।
कांग्रेसको जारी केन्द्रीय समितिमा भाग लिन बिहीबार पार्टी मुख्यालय सानेपा आएका महामन्त्री कोइरालाले पत्रकारहरूसँग आफू मेडिकल क्षेत्रबाट राजनीतिमा होमिनुको कारण बीपीको सपना साकार पार्नु रहेको स्पष्ट पारेका छन् ।
पत्रकारहरुसँग उनले भने, ‘बीपीको सपना अधुरो हुन नदिन नै मैले छँदाखाँदाको मेडिकल क्षेत्रलाई माया मारेको हुँ ।’ बीपीको सपना साकार गर्नेतर्फ अहिलेसम्मको नेतृत्व नलागेको बताउँदै उनले अबको दुई वर्षको समय आफूलाई सभापतिमा तयार गर्न खर्चिने बताए ।
अहिले पार्टीभित्रका धेरैले आफूलाई सभापतिका लागि तयार रहन सुझाव दिइरहेको बताउँदै उनले बीपीको सिद्धान्तमा अविचलित भएर लाग्ने मान्छे कहिले असफल नहुने बताए ।
उनले महाधिवेशन नआउञ्जेलसम्म सभापति शेरबहादुर देउवालाई सहयोग गरिरहने बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउनु नै आफ्नो दावेदारी रहेको बताए ।
हिन्दू राष्ट्रको बहस, कांग्रेस केन्द्रीय समितिभित्र प्रवेश, शशांक पक्षमा सिटौला बिपक्षमा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिमा हिन्दू राष्ट्रको बहसले प्रवेश पाएको छ । महामन्त्री शशांक कोेइरालाले हिन्दू राष्ट्र र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने सार्वजनिक धारणा राखेपछि कांग्रेसभित्र बहस सुरु भएको हो ।
नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट बनाउँदा कुनैपनि राजनीतिक दलभित्र औपचारिक छलफल भएको थिएन । नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला एक्लैले धर्मनिरपेक्ष राष्टका बिषयमा निर्णय लिएका थिए । उनको निर्णय कांग्रेसले मानेपनि केही नेताले भने असन्तुष्टी जनाउँदै आएका थिए ।
कांग्रेसका तत्कालिन नेता खुमबहादुर खड्काले धर्मनिरपेक्षताका बिषयमा जनमतसंग्रह माग गर्दै आएका थिए । उनको माग न कांग्रेसले सुन्यो नत गिरिजाप्रसाद कोइरालाले सुने । उनी दिंवगत भएको एक बर्षपछि कोइराला परिवारकै सदस्य शशांकले हिन्दू राष्ट्रका पक्षमा बहस थालेका छन् ।
महामन्त्री शशांकको सार्वजनिक धारणा बुधवार कांग्रेस केन्द्रीय समितिको बैठकमा बहस समेत भयो । अधिकाँस केन्द्रीय सदस्यहरुले हिन्दुराष्ट कांग्रेसको एजेण्डा बनाउनु पर्ने धारणा राखेका छन् । तर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने हिन्दुराष्ट एजेण्डाको बिपक्षमा देखिएका छन् ।
बैठकमा सिटौलाले हिन्दुराष्टका पक्षमा पार्टीभित्र ठुलो बहसको आवश्यकता भएको बताए । उनले भने-हिन्दू राष्ट्रको एजेण्डा लिदैमा पार्टी ठुलो नहुँने जिकिर गरेका छन् । हिन्दू राष्ट्रको एजेण्डाले पार्टी ठुलो हुनेभए कमल थापाको पार्टी किन सुक्यो ? बैठका सिटौलाले प्रतिपश्न गरे ।
नेपालको बदनाम गराउने युनिभर्सल पिस फेडेरेसनलाई प्रतिबन्ध लगाउन गगन थापाको माग
क्रिश्चिन धर्मप्रचारकका रुपमा चित्रित गरिएको युनिभर्सल पिस फेडेरेसनलाई तत्काल प्रतिबन्ध लगाउन नेपाली कांग्रेसका नेता गगन थापाले सरकारसँग माग गरेका छन् । विभिन्न समयमा नेपालका शिर्ष नेताहरुलाई प्रयोग गर्दै आएको युनिभर्सल पिस फेडेरेसनले नेपालको बद्नाम गरेको भन्दै थापाले तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् ।
आफ्नो आधिकारीक फेसबुक पेज मार्फत उनले नेपालको बदनाम गराउने र धर्मान्तरको कामलाई तीब्रता दिने विवादित संस्थालाई तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् ।
युनिभर्सल पिस फेडरेशनले नेपालका नेताहरु मात्र प्रयोग नगरी नेपाललाई नै बद्नाम गरेको उनको तर्क छ । १३ वर्ष अगाडि नोबेम्बर २२, २००५ मा नेपालमा युनिभर्सल पिस फेडरेशन उद्घाटन भ्रमणको दिन नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भन्नु भ्रामक टिप्पनी थापाले गरेका छन् ।
युनिभर्सल पिस फेडरेशन उद्घाटन टुर कहिले, कसले गर्यो त्यो विषयमा हाम्रो कुनै चासो छैन तर सोही दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ, नेता थापाले भने, ‘पहिलो कुरा, नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि।सं २०६२ मंसिर ७ गते संसद नै थिएन। हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन ।
स्मरण रहोस् त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको दिन हो, त्यहि समझदारीको जगमा भएको जनआन्दोलनले संसदको पुनर्स्थापना गरेको थियो। दोस्रो कुरा नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन । यो आफैमा झुटो, कपोलकल्पित र बदनियतपुर्ण छ ।
यसले नेपालको सम्मानित संसदको दुरुपयोग मात्र गरेको छैन, अन्तराष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएको छ, यो कृत्य निन्दनीय छ, थापाले आफ्नो फेसबुक पेजमा भनेका छन् ।