तुइन तान्दै बांगिए औँला : पोहोर नै विस्थापित हुनुपर्ने तुइन अझै उस्तै



हाम्रो इकोनोमि

 

धादिङ चराैंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका छन् । बाबुछोरा तुइनछेउमै रहेको पाटीमा बस्छन् ।

 

तुइनको घिर्नीले च्यापेर सुकबहादुरका हातका दशवटै औँला बांगिएका छन् । तैपनि, रोजगारीको सवाल भएकाले उनी पुल नबनोस् र तुइनमा काम गर्न पाइयोस् भन्नेमा छन् । पुल बने रोजगारी खोसिने उनको चिन्ता छ ।

 

हातले तुइन सार्दा बारम्बार फलामको टुक्राले काट्ने गरेको उनी बताउँछन् । ‘तुइनबाट खोला तर्दा फलामका टुक्राले धेरैपटक हात काटेको छ, जाडोमा त धेरै दुख्छ,’ उनले भने ।

 

पोहोर नै विस्थापित हुनुपर्ने तुइन अझै उस्तै

धादिङको चरौँदीस्थित साबिकको गाविस भवनसँगै रहेको तुइन अघिल्लो वर्ष नै विस्थापित गरिसक्नुपर्ने थियो । तर, एक वर्ष ढिला भइसक्दा पनि निर्माण कार्यले गति लिएको छैन । त्रिशूली नदीमाथि रहेको तुइनको दायाँ किनारा गोरखाको घ्याल्चोक र बायाँ किनारा धादिङमा पर्छ । तुइनको छेवैमा तरकारी संकलन केन्द्र छ । त्यहाँ घ्याल्चोकलगायत आसपासका किसान दैनिक तुइन तरेर तरकारी बिक्री गर्न आउने गर्छन् ।

 

तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गर्न २६ मंसिर ०७३ मा नयाँ बाटो मनी कन्स्ट्रक्सन जेभीसँग सम्झौता भएको थियो । १ करोड ८१ लाख रुपैयाँ (मूल्य अभिवृद्धि करबाहेक)मा निर्माण सम्झौता भएको पुल १५ असोज ०७४ मा सम्पन्न गर्ने लक्ष्य थियो । तर, हालसम्म बायाँ किनारामा झोलुंगे पुलको डोरी बाँध्ने जग निर्माणबाहेक अरू काम अघि बढेको छैन ।

 

सो पुलको साइट इन्जिनियर जनक न्यौपानेले ठेकेदारले समयमा काम नगर्दा निर्माण अघि बढ्न नसकेको बताए । उनले भने, ‘अहिले मैले त्यहाँको जागिर छाडिसकेँ, बाँकी कुरा थाहा भएन ।’ पुलको निर्माण जिम्मा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले लिएको छ ।

 

विभागको झोलुंगे पुल महाशाखा प्रमुखकुमार थापाले निर्माण कम्पनीसँग छलफल गर्न लागेको बताए । उनले भने, ‘काम गर्न १–२ महिनाको समय दिन्छौँ, त्यस अवधिमा पनि कुनै काम नभए सम्झौता तोडेर नयाँ ढंगले अघि बढ्छौँ ।’

 

डोलिडारका प्रमुख डिभिजनल इन्जिनियर डा. हुमाकान्त मिश्रले ठेकेदारले २० प्रतिशत रकम पेस्कीबापत लगिसकेको बताए । ‘सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार ठेकेदार कम्पनीले २० प्रतिशत रकम लगिसकेको छ, तर काम केही भएको छैन,’ उनले भने ।

 

सरकारका प्रवक्ता भन्छन्– विस्थापित भइसकेको तुइनको विषय उठाउनुस्

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तुइन विस्थापित भइसकेको दाबी गरेका छन् ।

 

नेपाल पत्रकार महासंघ धादिङ शाखाको २०औँ साधारणसभामा मंगलबार उनले विस्थापित भइसकेका तुइनमा मानिस चढेर अझै नदी तरिरहेको अवस्था नरहेकाले तुइन विस्थापनका विषय उठाइदिन पत्रकारहरूलाई आग्रह गरेका हुन् ।

 

सञ्चार क्षेत्रलाई पूर्ण स्वतन्त्रता दिइएकाले तथ्यका आधारमा आलोचना गर्न उनको आग्रह थियो । उनले भनेका छन् ‘सिद्धान्त मात्र पढेकाले हाम्रो पत्रकारिता सिकाइको चरणमा छ, त्यसैले आग्रह र पूर्वाग्रह त्याग्नुपर्छ ।’

 

फलाम अभावले काम हुन सकेन : निर्माण कम्पनी

पुल निर्माणको जिम्मा लिएको नयाँ बाटो कन्स्ट्रक्सन जेभीका सञ्चालक महेन्द्र अधिकारीले फलाम अभावमा काम हुन नसकेको बताए । ‘सुरुमा फलाम अभावले काम गर्न सकिएन । पछि ढुंगा, बालुवा पनि खोजेको समयमा भेटिएन । यसपालीको दसैँअघि काम सक्ने भन्ने थियो, तर वर्षामा खोला बढेर काम गर्न पाइएन’ उनले भने सोही कम्पनीले धादिङको दारेचोकमा अर्को झोलुंगे पुल निर्माणको जिम्मा लिएको छ ।

 

१ करोड ३६ लाख रुपैयाँमा निर्माण सम्झौता भएको छ, तर समय अवधि गुज्रिए पनि काम अघि बढ्न सकेको छैन । पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लामा रहेका ११ मध्ये नौवटा तुइनलाई झोलुंगे पुलले विस्थापित गरिसकेको मिश्रले बताए ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...