कांग्रेस महासमिति बैठकको मेन्यु– छोला भटूरादेखि मटन राइससम्म, खानामा दिनको १० लाख खर्च



हाम्रो इकोनोमि

 

काठमाडौं आगामी मंसिर २८ गतेदेखि पुस ५ गतेसम्म हुने नेपाली कांग्रेसको महासमिति बैठकको तीव्र तयारी चलिरहेको छ । मूल आयोजक कमिटीको रूपमा कांग्रेसको सभापति नेतृत्वको केन्द्रीय समिति रहेको उक्त महासमिति बैठक काठमाडौंस्थित एक पार्टी प्यालेसमा हुँदैछ ।

 

महासमिति बैठकलाई काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति र जिल्ला समितिका सदस्यहरूले स्थानीय रूपमा व्यवस्थापन गरिरहेका छन् ।

 

पाँच वर्षसम्म हुन नसकेको बैठक 

नेपाली कांग्रेसको विधानमा हरेक वर्ष महासमितिको बैठक गर्ने भन्ने उल्लेख गरिएको छ तर गत २०७२ सालको फागुनमा भएको तेह्रौं महाधिवेशनपछि कांग्रेसले महासमिति बैठकको आयोजना गरेको थिएन । ७० सालको निर्वाचन पूर्व नवलपरासीको त्रिवेणीमा आयोजना भएको महासमिति बैठकपछिको यो अर्को बैठक हो ।

 

महासमितिलाई काङ्ग्रेसको संसद्का रूपमा लिइन्छ, यहाँबाट अर्थात् महासमितिबाट पारित भएको हरेक दस्तावेज विधान कार्यान्वयनमा आउँछ । यद्यपि विधानमै उल्लेख भएको हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने भन्ने प्रावधान ५ वर्ष सम्म कार्यान्वयन भएको थिएन ।

 

गत भदौमा महासमितिको बैठक हुने भनिएपनि कांग्रेसले पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति बनाउन नसक्दा भदौमा हुने भनिएको महासमिति बैठक प्रभावित भएको थियो । कांग्रेसले भदौ अन्तिम साता महासमिति बैठक गर्ने निर्णय लिएको थियो । भदौमा विधान संशोधनको मस्यौदा तयारी नभएको भन्दै यही मंसिर ५ गतेदेखि बैठक शुरू गर्ने भनियो । तर पनि शुरू हुन सकेन ।

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन् ‘मंसिर २८ गतेदेखि कुनै पनि हालतमा महाधिवेशन बैठक शुरु हुन्छ ।’ तयारी र अन्य पाटाहरूलाई हेर्दा, महासमितिको बैठक पछिल्लोपटक तोकिएकै मितिमा हुने देखिन्छ ।

 

खानाको मेन्यु :  छोला भटूरादेखि मटन राइससम्म 

राजधानीको योगम्बर पार्टी प्यालेसमा हुने महासमिति बैठकमा दैनिक १५ सय जनाका लागि खाना खुवाउने तयारी गरिएको छ । यसका लागि बनेको मेन्यु अनुसार विहान ब्रेकफास्ट, दिउँसो लन्च र बेलुका हाइटीको व्यवस्था गरिएको छ ।

 

कांग्रेस महासमिति सदस्यहरुका लागि बिहान (ब्रेकफास्ट)मा छोला भटूरा, खीर तरकारी, पकौडा, स्याण्डविच लगायतका मेन्यु तयार गरिएको छ । त्यस्तै दिउँसो (लन्च)मा ‘प्लेन राइस’, दाल फ्राई, मिक्स भेज, साग, मटन, चिकेन, अचार, सलाद र पापडको व्यवस्था गरिएको योगम्बर पार्टी प्यालेसका व्यवस्थापकले लोकान्तरलाई जानकारी दिए ।

‘मेन्युमा आवश्यकता अनुसार खानाका आइटमहरू थपघट गर्न सकिन्छ’ उनले भने ।

त्यस्तै लन्च पछाडि दिउँसो ४–५ बजेतिर हाइटीको रूपमा चिया कफी, कुकिज र आवश्यकता अनुसार स्याण्डविच, पकौडा दिइने जानकारी पार्टी प्यालेसका व्यवस्थापकले दिए ।

 

खानाको मूल्य प्रतिदिन प्रतिव्यक्ति रू ७५० रहेको भएपनि रू ६५० मा सहमति भएको र गेस्टहरू थपिए त्यही मूल्यमा अतिरिक्त खाना उपलब्ध गराउन सकिने पार्टी प्यालेस व्यवस्थापनले लोकान्तरलाई जानकारी दियो । बेलुकाको खाना र बासको लागि भने महाधिवेशन प्रतिनिधिहरुले आफ्नो व्यवस्था आफैं गर्नुपर्ने छ ।

 

प्रतिव्यक्ति ६५० को हिसाबले १५०० सहभागीको दैनिक खानाको मूल्य रू ९ लाख ७५ हजार पर्ने छ । पाँच दिनसम्म चल्ने महासमिति बैठक सकिँदासम्म रू ४८ लाख ७५ हजार खानामा मात्र खर्च हुने देखिन्छ । बेलुकाको खाना र बासको लागि लाग्ने होटेल खर्च प्रतिनिधि आफैले बेहोर्नुपर्ने भएकाले औपचारिक हिसाबमा जोडिएको छैन । जोड्ने हो भने करोडको हाराहारीमा गास र बासमा खर्च हुने देखिन्छ ।

 

तीव्र प्रचारप्रसार

महासमिति बैठकका लागि देशैभर प्रचारप्रसार तीव्र पारिएको छ । ठाउँ ठाउँमा तुल, ब्यानर, पर्चा पम्प्लेट बनाएर बाँड्न शुरू गरिसकिएको छ ।

 

कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले दिएको जानकारी अनुसार ७५३ वटै स्थानीय निकाय र ६ हजार ६ सय ३४ वटै वडा कार्यालय प्रचार प्रसारको काममा लागिरहेका छन् । ‘पाँच वर्षदेखि हुन नसकेको महासमिति बैठक हाम्रो लागि ऐतिहासिक बैठक हो, त्यसैकारणले हामीले देशभर प्रचार प्रसारका काममा कुनै कन्जुस्याई गरेका छैनौं’ पौडेल भन्छन् ।

 

प्रचारप्रसारका लागि काठमाडौंमा ५ ठाउँमा गेट बनाउने काम भइरहेको काठमाडौं जिल्ला सभापति सबुज बानियाँ बताउँछन् । लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘उपत्यकाका तीनवटै जिल्लाका सभापति र जिल्ला समिति प्रचारप्रसारको काममा तीव्र ढंगबाट लागिपरेका छौं । हाम्रो तर्फबाट कुनै कमजोरी हुन दिन्नौं ।’

 

२ करोडभन्दा माथिको खर्च

मुख्य सचिव कृष्ण पौडेलका अनुसार महासमिति बैठकमा २ करोडभन्दा माथि खर्च हुने छ । १५०० प्रतिनिधि, उनीहरूका सहयोगी, ड्राइभर लगायत सबैलाई खानपिन र प्रचारप्रसारका लागि २ करोड रकम लाग्नु सामान्य भएको पौडेलको भनाइ थियो ।

 

‘२ करोड धेरै भएन ?’ भन्ने प्रश्नमा पौडेल भन्छन्, ‘अहिले बढिरहेको महंगी अनुसार यो केही पनि होइन । काठमाडौंमा सस्तो र व्यवस्थित ढंगबाट खाना कसले खुवाउँछ ? सस्तो र व्यवस्थित ढंगबाट प्रचार प्रसारको काम कसले गरिदिन्छ ?’ पौडेलले प्रतिप्रश्न गरे ।

 

महासमिति बैठकमा हुने खर्चको व्यवस्थापन कसरी हुन्छ ? भन्ने प्रश्नमा पौडेल भन्छन्, ‘नेपाली कांग्रेसलाई माया गर्ने शुभेच्छुक, पार्टी सदस्य लगायतबाट त्यति पैसा जुटाउन गाह्रो छैन । त्यसमाथि उपत्यकाका तीनवटै जिल्ला समिति लागिपरेका छन्’ पौडेल थप्छन्,‘पहिल्यैदेखिको ‘रिजर्भ्ड फन्ड’ पनि होला, खर्चको विषय त्यति महत्त्वपूर्ण होइन तर कांग्रेसको महासमितिको बैठकले कांग्रेसले के पाउँछ र देशले के पाउँछ भन्ने प्रश्न महत्त्वपूर्ण हो ।’

 

तर स्रोतका अनुसार प्रत्येक महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेसन शुल्कबापत एक हजार दिनुपर्ने छ । त्यसपछिको अपुग रकम भने पार्टीले बेहोर्नेछ । यसबाहेक केन्द्र र प्रदेशमा सांसद रहेका नेताहरुसँग महासमिति बैठककै लागि भनेर थप रकम लिने योजना पनि नेपाली कांग्रेसले बनाएको छ ।

 

उपलब्धि के ?

महासमिति बैठकले पार्टी थप शसक्त हुने दाबी नेताहरुले गरेका छन् । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सरकारलाई सही दिशामा डोर्‍याउनका लागि कांग्रेस महासमिति बैठक महत्त्वपूर्ण हुन्छ ।  ‘महासमिति बैठक पछि नेपाली कांग्रेस थप शसक्त र एकढिक्का भएर आउँछ र सरकारलाई प्रमुख प्रतिपक्षीको रूपमा सही दिशामा डोर्याउँछ’ प्रवक्ता शर्मा भन्छन् ।

 

तर प्रवक्ता शर्माले भनेजस्तो महासमिति बैठकपछि नेपाली कांग्रेस सशक्त र एकढिक्का भएर आउने सम्भावना न्यून देखिएको राजनीतिक विश्लेषकहरुको मत छ ।

महासमिति बैठकले पार्टीका समस्या समाधान भन्दा थप विवाद उत्पन्न गराउने कतिपयको आकलन छ ।

 

‘बैठकले पार्टीभित्र देखिएका विवादहरू समाधान गर्ने भन्दा पनि थप विवाद निम्त्याउन सक्ने देखिन्छ ।’ कांग्रेसका एक केन्द्रीय सदस्यले नाम नबताउने शर्तमा भने,‘ पार्टीभित्र देखिएका गुट उपगुटले पार्टीलाई बैठकपछि सशक्त बनाउन दिने सम्भावना निकै कमजोर छ ।’

 

२०७४ सालको निर्वाचनपछि कमजोर प्रतिपक्षी बनेको कांग्रेसमा हारको जिम्मेवारी कसले लिने भन्ने बहस अझै पनि चलिरहेको छ । पार्टी सभापति पक्षधरहरुले हारको जिम्मा कांग्रेसका सबै नेता कार्यकर्ताले लिनुपर्ने तर्क गरिरहेपनि संस्थापन इतरका नेताले हारको जिम्मा सभापतिले लिनुपर्ने बताउँदै आएका छन् ।

 

त्यस्तै पार्टीमा पदाधिकारीको संख्याको विषयमा विवाद कायमै छ ।  सभापतिको मनोनयन अधिकार कति रहने, सदस्यता कति प्रकारको हुने भन्ने विवाद अझै सल्टिएको छैन । यी तमाम विवादहरूलाई महासमितिको वैठकले हल गर्यो र कांग्रेस सशक्त भएर आयो भने कांग्रेसकै लागि मात्र नभएर देशकै लागि एउटा सुखद् समाचार बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...