फोरम नेता नै अपहरणकारी, भारतबाट अपहरित बालक नेपालमा बन्धक



हाम्रो इकोनोमि

 

भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं. २ बाट अपहरित एक बालकको जिल्ला प्रहरी कार्यालय, झापाले सकुशल उद्दार गरेको छ ।

 

७ वर्षीय बालक महफुज आलम २० गते हराएका थिए । तर, नेपालमा बन्धक बनाएर राखिएको सूचना पाएको २४ घन्टा वित्न नपाउँदै बुधबार अवेर प्रहरीले उद्दार गरेको छ ।

 

घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनले भने, ‘भारतबाट बालकलाई २० गते अपहरण गरेर ल्याइएको रहेछ । हामीलाई २४ गते साँझ खबर आयो । भोलिपल्ट साँझसम्ममा हामीले बालकको उद्दार गरिसकेका थियौं ।’

 

उनका अनुसार पक्राउ पर्नेमा गौरिगञ्जका ४७ वर्षीय बद्री यादव, गौरीगञ्ज-४ का श्रीप्रसाद मुखिया र उनकी श्रीमती अन्जुदेवी मुखिया छन् । पक्राउ परेका यादव संघीय समाजवादी फोरमका नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा गौरीगञ्ज गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार बनेका थिए । त्यसअघि ०६४ र ०७० सालको निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेवार बनेका थिए ।

 

जब फोरम नेता फिरौती लिएर आए…

अनुसन्धान अधिकारीहरुका अनुसार भारतको सुपोल जिल्लाबाट मोहमद सद्दामका छोरा महफुज २० गते अपहरणमा परेका थिए । मोटरसाइकलमा आएका दुई जनााले खेलिरहेको महफुजलाई बिस्कुट दिएर फकाउँदै नेपालतर्फ ल्याउन सफल भए ।

 

प्रहरीले गरेको अनुसन्धानका क्रममा अपहरणपछि बालकलाई झापाको गौरिगञ्ज हुँदै नेपालतर्फ लगेको खुल्यो । त्यसवेलासम्म बालकका बुबालाई फिरौती वापत १५ लाख रुपैयाँ भारु माग गर्दै फोन आउन थालिसकेको थियो ।

 

‘फिरौती नदिए वा प्रहरीमा खबर गरे बालकलाई मारिदिने धम्की दिइएको थियो’, एसपी ढकाल भन्छन्, ‘तर, हामीलाई ४ दिनपछि त्यो खबर प्राप्त भयो र, अनुसन्धानका लागि टोली खटियो ।’

 

दमक र गौरीगञ्ज क्षेत्रमा सुक्ष्म रुपमा प्रहरी परिचालित भए । दमकका डीएसपी श्यामल सुब्बा, गौरिगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेल लगायत सीमा क्षेत्रको चेकजाँच र होटल लजहरुको निगरानी र तलासीमा खटिए ।

 

प्रहरीले परिवारलाई विश्वासमा लिएर अपहरणकारीलाई फिरौतीको पासो फाल्यो । २५ गते बिहान ४ बजेतिर फिरौती लिन एक अपहरणकारी गौरिगञ्जको खजुरगाछी चोकमा आइपुगे । तीन वटासम्म ठाउँ परिवर्तन गरेर उनी त्यहाँ आउन राजी भए । फिरौती बुझ्न आएका उनी प्रहरीको नियन्त्रणमा परे ।

 

त्यसपछि खुल्यो, अपहरणका नाइके फोरमका स्थानीय नेता बद्री यादव रहेछन् । उनकै सूचनाको आधारमा प्रहरीले दमक-५, गोर्खाली टोलस्थित देउराली होटलको कोठा नं. १०७ बाट अपहरित बालकको सकुशल उद्दार गर्‍यो भने अञ्जुदेवी पक्राउ परिन् । थप अनुसन्धानका क्रममा श्रीप्रसाद पनि समातिए ।

 

यद्यपि, भारततर्फबाट नेपाल ल्याउन सहयोग गर्ने एक जना अझै फरार रहेको हुनसक्ने प्रहरीको आशंका छ । उनको खोजी भइरहेको झापा प्रहरीले बताएको छ ।

 

पक्राउ परेका ३ जनैमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत, झापाबाट ५ दिनलाई म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...