पूर्वराजा ज्ञानेन्द्रसँग यस्तो छ योगी आदित्यनाथको सम्वन्ध, राजतन्त्र फर्काउने नयाँ डिजाईनमा को को
जानकी विवाह महोत्सवमा बुधबार जनकपुर आएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपालका हिन्दू धर्माबलम्बी र पूर्वराजपरिवारसँग निकटको सम्बन्ध रहेको छ ।
नेपालको जनआन्दोलनले निरंकुश राजतन्त्र हटाएर संघीय लोकतान्त्रीक गणतान्त्र स्थापना गर्दै नयाँ संविधानलेसमेत नेपालबाट राजतन्त्र अन्त्य भएको औपचारिक घोषणा गर्दा यतिबेला राजपरिवार र राजावदीहरुको पुनः छटपटी सुरु भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले सन् २०१६ को अक्टोबरमा आयोजना गरेको विराट हिन्दू महासम्मेलनमा पनि योगी आदित्यनाथलाई बोलाएका थिए । उनी सन् २०१४ मा गोरखनाथ मठका महन्थ हुनुभन्दा अघिका महन्थ अवैद्यनाथसँग पनि नेपालको तत्कालीन राजपरिवारको राम्रो सम्बन्ध रहेको थियो ।
पछिल्लो पटक सन् २०१८ को जनवरी महिनाको पहिलो साता नेपालका पूर्वराजा ज्ञानेन्द्रले लखनउस्थित मुख्यमन्त्रीको सरकारी निवासमा उनलाई भेटेका थिए । पूर्वराजासँगको भेटघाट योगी आदित्यनाथले ज्ञानेन्द्र शाहलाएै आफूले सल लगाइदिएको र कुम्भको लोगो उपहार दिएको भनेर ट्वीटरमा फोटोसमेत सार्वजनिक गरेका थिए ।
के विषयमा कुराकानी भयो भन्ने बारेमा चाहिँ उनले त्यतिबेला खोलेका थिएनन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकटको सम्बन्ध रहेका योगी आदित्यनाथसँगको आफ्नो सम्बन्धलाई भारतको संस्थापन पक्षसँग सम्पर्कको महत्वपूर्ण माध्यमका रुपमा नेपालको पूर्वराजपरिवारले लिएको पाइन्छ ।
जनकपुरमा योगीः विमानमा जन्ती, ३६ व्यञ्जन खान्की, ड्रोन क्यामेराबाट निगरानी
विवाहपञ्चमीमा जन्तीका रुपमा प्रमुख अतिथि बनेका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था गरिएको छ भने दिवा भोजमा ३६ व्यञ्जनको प्रवन्ध गरिएको छ ।
योगी आदित्यनाथ नौ सिट क्षमताको निजी विमान चढेर बिहान सवा १० बजे जन्तीका जनकपुर विमानस्थलमा उत्रिएपछि उनी कारगेड सुरक्षामा सीधै जानकी मन्दिर दर्शनका लागि जाने कार्यक्रम छ ।
अयोध्याबाट स्थलमार्गबाट जन्तीहरु जनकपुरधाम आउने परम्परा भएता पनि योगी भीआइपी पाहुनाका रुपमा विमानबाटै रामचन्द्र भगवानको ससुराली नगरमा उत्रिनेछन् ।
आदित्यनाथ आउनुअघि नै भारतबाटै बुलेट प्रुफ गाडी जनकपुर आइसकेको छ । यसबाहेक जामरसहित सातवटा अन्य गाडी पनि उनको सुरक्षाका लागि आइसकेको स्रोतले जनाएको छ । जामरले वरपरको क्षेत्रमा मोबाइल नेटवर्कलाई जाम गरिदिन्छ ।
आदित्यनाथको सुरक्षा प्रयोजनका लागि भारतीय सुरक्षाकर्मीहरु पनि जनकपुर आइसकेको डीआईजी पालले बताए ।
मन्दिरमा पूजा गरिसकेपछि उनी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवाभोजमा सहभागी हुन मुख्यमन्त्री निवास ‘मधेस भवन’मा जानेछन् । मुख्यमन्त्रीको निवास परिसरमा आयोजित सन्त महन्तहरुको संयुक्त दिवा भोजमा योगी सरिक हुनेछन् ।
उनको आगमनलाई मध्यनजर गरी रामजानकी मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । अहिले मन्दिर परिसर खालि गराइएको छ ।
योगी आदित्यनाथसहित ५०१ जना साधु सन्तलाई भोजनका लागि ३६ व्यञ्जनको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले अनलाइनखबरलाई जानकारी दिए ।
मधेस भवनमै प्रदेश २ सरकारले योगीलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।
दिवाभोजपछि योगी आदित्यनाथ रंगभूमि मैदानमा आयोजना हुने राम-सीताको स्वयम्बर समारोहमा सरिक हुनेछन् । त्यहाँ जनकपुर उपमहानगरपालिकाले उनलाई अभिनन्दन गर्नेछ ।
विवाह पञ्चमी सकेर योगी अपराह्न ४ बजे जनकपुरबाट स्वदेश फर्किने कार्यक्रम छ ।
सुरक्षाकर्मीलाई धपेडी
बाह्र विगाहा मैदान र जानकी मन्दिरमा विवाह पञ्चमीका लागि एसपीको नेतृत्वमा र मधेस भवनमा डीएसपीको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीले दुईवटा ड्रोन क्यामराको प्रयोग गर्ने छ । रंगभूमि मैदान, रामजानकी मन्दिर र मुख्यमन्त्री निवासमा ड्रोन क्यामेराबाट निगरानी गरिनेछ । साथै र्यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को समेत प्रयोग गर्न लागेको प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिए ।
आरसीएस प्रविधि नेपाल प्रहरीले प्रयोग गर्ने नयाँ प्रविधिहरु मध्येकै एक हो, जसमा सुरक्षा अधिकारीहरुले कन्ट्रोल रुमबाटै स्थलगत अवलोकन गर्न सक्नुको साथै भिडियो सेटका माध्यमले कुराकानी गर्न सक्छन् ।
सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसीएस प्रविधिको माध्यमबाट प्रत्यक्षरुपमा गतिविधि नियाल्न सक्छन् र निर्देशन पनि दिन सक्छन् ।
‘बेहुली’ बन्यो जनकपुरधाम !
सांस्कृतिक नगरी जनकपुरधाममा आज विवाह पञ्चमी महोत्सव हुँदैछ । राम-सीताको विवाह महोत्सवमा सहभागी हुन उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती लिएर जनकपुर आउँदैछन् ।
त्रेता युगका भगवान राम र सीताको विवाहसँग सम्बन्धित छ जनकपुरको विवाह पञ्चमी महोत्सव । बिहेका लागि रामको जन्मस्थल अयोध्याबाट सीताको जन्मस्थल जनकपुरमा जन्ती आउने गर्दछन् । आजै स्वयम्बर गरेर डोली लिई जन्तीहरु अयोध्या फर्किने गर्छन् । यसलाई हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन उत्सवको रुपमा मनाउने गरिएको छ । यसका लागि केही महिनाअघिदेखि नै तयारी सुरु हुन्छ ।
अहिले जनकपुर क्षेत्रलाई विशेष रुपमा सिंगारिएको छ । जनकपुर विमानस्थलदेखि जानकी मन्दिर, मुख्यमन्त्री निवास, रंगभूमि मैदान लगायका स्थानमा उज्यालो प्रकाशको व्यवस्था र झिलिमिली पारिएको छ ।
सुरक्षा व्यवस्था कडा
योगी आदित्यनाथका साथै विवाह महोत्सवमा सहभागी हुने भक्तजनहरुको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘राम जानकी विवाह पञ्चमी विशेष सुरक्षा योजना ०७५’ कार्यान्वयनमा ल्याएर सुरक्षा प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी ३ हजार १ सय जना सुरक्षाकर्मी फिल्डमा खटिने छन् । नेपाली सेना भने ‘रिजर्भ फोर्स’को रुपमा रहने छ । सीमा क्षेत्रको सुरक्षाका लागि भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय गरिएको छ । यसैगरी छिमेकी जिल्लाका सीमाना र नाकाहरुमा पनि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
रंगभूमि मैदान क्षेत्रमा पिउने पानी, दमकल, चिकित्सक सहितको एम्बुलेन्स राखिएको छ भने जिल्लाका स्वास्थ्य संस्थामा स्ट्याण्डबाई चिकित्सकको टोली खटाइएको प्रजिअ कँडेलले बताए ।
सवारी साधनको चापलाई मध्यनजर गरेर मंगलबार रातिदेखि नै नगरक्षेत्रमा ठूला सवारी साधनलाई नगर बाहिरै पार्किङको व्यवस्था मिलाइएको छ ।
नगरक्षेत्रमा प्रवेश गर्ने चारवटा मार्गमा ठूला क्षमताका गाडी रोकिने छ भने नगरभित्रका गाडीहरुलाई पनि मन्दिर क्षेत्रमा प्रवेशमा रोक लगाइने मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका एसपी किरण बज्राचार्यले जानकारी दिइन् । ट्राफिक व्यवस्थापनका लागि एसपी किरण बज्राचार्यले नै नेतृत्व गरिरहेकी छन् ।
जनकपुरधाम पुनर्निर्माण भइरहेकाले खासगरी जानकी मन्दिर आसपास सडकका खाल्डाखुल्डी पुर्ने र खुल्ला रहेका ढल, नाली मर्मत गर्ने काम राति अबेरसम्म पनि जारी थियो । विवाह महोत्सव आयोजनास्थल रंगभूमि मैदानमा २० बाई १० को डिस्प्ले बोर्ड जडान कार्य गए राति अबेरमात्र सकिएको छ । विवाह महोत्सवलाई प्रत्यक्ष भिडियो उक्त बोर्डमा देखाइने छ ।