जनकपुरमा योगीः विमानमा जन्ती, ३६ व्यञ्जन खान्की, ड्रोन क्यामेराबाट निगरानी



 

विवाहपञ्चमीमा जन्तीका रुपमा प्रमुख अतिथि बनेका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था गरिएको छ भने दिवा भोजमा ३६ व्यञ्जनको प्रवन्ध गरिएको छ ।

योगी आदित्यनाथ नौ सिट क्षमताको निजी विमान चढेर बिहान सवा १० बजे जन्तीका जनकपुर विमानस्थलमा उत्रिएपछि उनी कारगेड सुरक्षामा सीधै जानकी मन्दिर दर्शनका लागि जाने कार्यक्रम छ ।

अयोध्याबाट स्थलमार्गबाट जन्तीहरु जनकपुरधाम आउने परम्परा भएता पनि योगी भीआइपी पाहुनाका रुपमा विमानबाटै रामचन्द्र भगवानको ससुराली नगरमा उत्रिनेछन् ।

आदित्यनाथ आउनुअघि नै भारतबाटै बुलेट प्रुफ गाडी जनकपुर आइसकेको छ । यसबाहेक जामरसहित सातवटा अन्य गाडी पनि उनको सुरक्षाका लागि आइसकेको स्रोतले जनाएको छ । जामरले वरपरको क्षेत्रमा मोबाइल नेटवर्कलाई जाम गरिदिन्छ ।

आदित्यनाथको सुरक्षा प्रयोजनका लागि भारतीय सुरक्षाकर्मीहरु पनि जनकपुर आइसकेको डीआईजी पालले बताए ।

मन्दिरमा पूजा गरिसकेपछि उनी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवाभोजमा सहभागी हुन मुख्यमन्त्री निवास ‘मधेस भवन’मा जानेछन् । मुख्यमन्त्रीको निवास परिसरमा आयोजित सन्त महन्तहरुको संयुक्त दिवा भोजमा योगी सरिक हुनेछन् ।

उनको आगमनलाई मध्यनजर गरी रामजानकी मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । अहिले मन्दिर परिसर खालि गराइएको छ ।

योगी आदित्यनाथसहित ५०१ जना साधु सन्तलाई भोजनका लागि ३६ व्यञ्जनको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले अनलाइनखबरलाई जानकारी दिए ।

मधेस भवनमै प्रदेश २ सरकारले योगीलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।

दिवाभोजपछि योगी आदित्यनाथ रंगभूमि मैदानमा आयोजना हुने राम-सीताको स्वयम्बर समारोहमा सरिक हुनेछन् । त्यहाँ जनकपुर उपमहानगरपालिकाले उनलाई अभिनन्दन गर्नेछ ।

विवाह पञ्चमी सकेर योगी अपराह्न ४ बजे जनकपुरबाट स्वदेश फर्किने कार्यक्रम छ ।

 

सुरक्षाकर्मीलाई धपेडी

बाह्र विगाहा मैदान र जानकी मन्दिरमा विवाह पञ्चमीका लागि एसपीको नेतृत्वमा र मधेस भवनमा डीएसपीको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीले दुईवटा ड्रोन क्यामराको प्रयोग गर्ने छ । रंगभूमि मैदान, रामजानकी मन्दिर र मुख्यमन्त्री निवासमा ड्रोन क्यामेराबाट निगरानी गरिनेछ । साथै र्‍यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को समेत प्रयोग गर्न लागेको प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिए ।

 

आरसीएस प्रविधि नेपाल प्रहरीले प्रयोग गर्ने नयाँ प्रविधिहरु मध्येकै एक हो, जसमा  सुरक्षा अधिकारीहरुले कन्ट्रोल रुमबाटै स्थलगत अवलोकन गर्न सक्नुको साथै भिडियो सेटका माध्यमले कुराकानी गर्न सक्छन् ।

सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसीएस प्रविधिको माध्यमबाट प्रत्यक्षरुपमा गतिविधि नियाल्न सक्छन् र निर्देशन पनि दिन सक्छन् ।

‘बेहुली’ बन्यो जनकपुरधाम !

सांस्कृतिक नगरी जनकपुरधाममा आज विवाह पञ्चमी महोत्सव हुँदैछ । राम-सीताको विवाह महोत्सवमा सहभागी हुन उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती लिएर जनकपुर आउँदैछन् ।

त्रेता युगका भगवान राम र सीताको विवाहसँग सम्बन्धित छ जनकपुरको विवाह पञ्चमी महोत्सव । बिहेका लागि रामको जन्मस्थल अयोध्याबाट सीताको जन्मस्थल जनकपुरमा जन्ती आउने गर्दछन् । आजै स्वयम्बर गरेर डोली लिई जन्तीहरु अयोध्या फर्किने गर्छन् । यसलाई हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन उत्सवको रुपमा मनाउने गरिएको छ । यसका लागि केही महिनाअघिदेखि नै तयारी सुरु हुन्छ ।

 

अहिले जनकपुर क्षेत्रलाई विशेष रुपमा सिंगारिएको छ । जनकपुर विमानस्थलदेखि जानकी मन्दिर, मुख्यमन्त्री निवास, रंगभूमि मैदान लगायका स्थानमा उज्यालो प्रकाशको व्यवस्था र झिलिमिली पारिएको छ ।

 

सुरक्षा व्यवस्था कडा

योगी आदित्यनाथका साथै विवाह महोत्सवमा सहभागी हुने भक्तजनहरुको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘राम जानकी विवाह पञ्चमी विशेष सुरक्षा योजना ०७५’ कार्यान्वयनमा ल्याएर सुरक्षा प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले  जानकारी दिए ।

 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी ३ हजार १ सय जना सुरक्षाकर्मी फिल्डमा खटिने छन् । नेपाली सेना भने ‘रिजर्भ फोर्स’को रुपमा रहने छ । सीमा क्षेत्रको सुरक्षाका लागि भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय गरिएको छ । यसैगरी छिमेकी जिल्लाका सीमाना र नाकाहरुमा पनि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

रंगभूमि मैदान क्षेत्रमा पिउने पानी, दमकल, चिकित्सक सहितको एम्बुलेन्स राखिएको छ भने जिल्लाका स्वास्थ्य संस्थामा स्ट्याण्डबाई चिकित्सकको टोली खटाइएको प्रजिअ कँडेलले बताए ।

सवारी साधनको चापलाई मध्यनजर गरेर मंगलबार रातिदेखि नै नगरक्षेत्रमा ठूला सवारी साधनलाई नगर बाहिरै पार्किङको व्यवस्था मिलाइएको छ ।

 

नगरक्षेत्रमा प्रवेश गर्ने चारवटा मार्गमा ठूला क्षमताका गाडी रोकिने छ भने नगरभित्रका गाडीहरुलाई पनि मन्दिर क्षेत्रमा प्रवेशमा रोक लगाइने मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका एसपी किरण बज्राचार्यले जानकारी दिइन् । ट्राफिक व्यवस्थापनका लागि एसपी किरण बज्राचार्यले नै नेतृत्व गरिरहेकी छन् ।

 

जनकपुरधाम पुनर्निर्माण भइरहेकाले खासगरी जानकी मन्दिर आसपास सडकका खाल्डाखुल्डी पुर्ने र खुल्ला रहेका ढल, नाली मर्मत गर्ने काम राति अबेरसम्म पनि जारी थियो । विवाह महोत्सव आयोजनास्थल रंगभूमि मैदानमा २० बाई १० को डिस्प्ले बोर्ड जडान कार्य गए राति अबेरमात्र सकिएको छ । विवाह महोत्सवलाई प्रत्यक्ष भिडियो उक्त बोर्डमा देखाइने छ ।

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ