भारतीय ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा बाबुछोराको मृत्यु
भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ ।
ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उहाँका २९ वर्षीय छोरा हेमचन्द्र रहेका छन् । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताउनुभयो ।
एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले दमकको पश्चिम बस रोक्ने ठाउँमा दिउँसो को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
दुर्घटनामा महिलाको मृत्यु
सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा आज अपराह्न बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
ठाडीबाट लहानतर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको स १० प ३५४२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहा निवासी ३५ वर्षीया जुमेदा खातुनको मृत्यु भएको प्रहरीले छ ।
बसलाई उछिन्ने गर्ने क्रममा सो दुर्घटना भएको र घटनास्थलमै खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

