बिष्णु रिमाल भन्छन – नारायणकाजीजीको तरिका ठीक भएन
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहाकार बिष्णु रिमालले नेपाल कम्युनिष्ट पार्टी ने क पा का प्रवक्ता नारायणकाजी श्रेष्ठको तरिका ठिक नभएको बताएका छन् । मंगलबार प्रमुख सल्लाहाकार रिमालले नेकपाका अध्यक्षहरुले गरेको निर्णय प्रवक्ता नारायणकाजीलाई थाहा नहुने बाहिर गएर अर्ती बुद्धि दिएर के अर्थ रहन्छ भन्दै प्रवक्ताको तरिका ठीक नभएको बताएका हुन् ।
प्रवक्ता श्रेष्ठले पार्टी सरकारले चलाउने होइन । प्रधानमन्त्रीले पार्टी चलाउने तिर लाग्ने होइन अरुलाई जिम्मेवारी दिनुपर्छ भन्दै आएका छन् । सो बिषयमा सल्लाहाकार रिमाल भने ‘वहाँ बैठक छोडेर हिड्नुहुन्छ । बैठकमा राख्ने कुरा रेडियो र टेलिभिजनमा भन्नुहुन्छ । त्यो नै पद विपरित भयो । वहाँ हाम्रो पार्टीको प्रवक्ता हो । प्रवक्ताले विधि सिकाउनुपर्यो । भएका निर्णयहरु बाहिर भन्नु पर्यो ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बोलाइएको पार्टीको सचिवालय बैठकमा झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बहिष्कार गरेका थिए । बालुवाटार समयमै पुगेका तीने जना आधा घण्टा कुर्दा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बैठक कक्षमा नआएपछि बहिष्कार गरेका थिए ।
सल्लाहाकार रिमाल भने ‘प्रवक्ताले नभएका निर्णय भन्नु भएन । नभएका निर्णयहरु कसैले बोल्यो भने प्रवक्ताले यस्तो नहुनु पर्ने मलाई नै पार्टीले तोक्या छ बोल्नलाई के गरेको यो भन्नु पर्नेमा बैठक बस्ने बेलामा बैठक छोडेर हिड्नुहुन्छ ।
पार्टीका कमरेडहरुले बैठकमा के निर्णय गर्नुभयो त्यो वहाँलाई थाहा हुदैन । बाहिर गएर अर्ती बुद्धि दिएर के अर्थ रहन्छ । हाम्रो प्रवक्ता नारायणकाजीजीको तरिका ठीक भएन।’
उनीहरुले बैठक बहिस्कार गरे पनि अध्यक्षद्वय ओली र प्रचण्डसहित ५ जना बैठक बसेका थिए । महासचिव पौडेल, सचिवालय सदस्यद्वय रामबहादुर थापा र ईश्वर पोखरेल सहभागि बैठकले २९ मंसिरमा स्थायी समिति बैठक बोलाउने निर्णय गर्यो ।
सरकारले राम्रो कामको सुरुवात त गर्याे, व्यवस्थापन गर्न सकेन : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका कामको मसिनो गरी समिक्षा हुने बताएका छन् । सिन्डिकेट तोड्ने, सुनतस्करीको जालो तोड्ने र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्नेजस्ता राम्रा कामको सुरुवात गरेपनि त्यसको सहि ढंगले व्यवस्थापन गर्न किन सकेन ? भन्ने प्रश्न स्वभाविक रहेको धारणा राखे ।
मंगलबार कास्कीको मादि गाउँपालिका सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । ‘सरकारले उत्साहका साथ जनसरोकार राख्ने र जनजिविकालाई सहज पार्ने कामको सुरुवात गर्ने काम यि थिए ।’
उनले भने, ‘यसलाई टुंगोमा किन पुर्याइएन भन्ने विषयमा मसिनो गरी समिक्षा गर्दैछौं ।’ उनले सरकारले देशभित्र केन्द्रीत भएर नयाँ गतिका साथ विकास र समृद्धिका लागि काम गर्ने अठोट पनि गरे । सरकारले अब एक वर्षमा देखिने गरी काम गरेर देखाउने पनि दाबी गरे ।
पूर्वाधार निर्माण गर्ने काम भएको छ
अध्यक्ष प्रचण्डले वर्तमान सरकारले विकास निर्माणका लागि पूर्वाधार भने खडा गरेको दाबी गरेका छन् । दशकौंदेखिको डुबान समस्या हटाइएको, हवाई रुटका लागि ४ रुट दिने कुरा, पूर्व पश्चिम रेलमार्ग निर्माणलगायतबारे सम्झौता, विराटनगरमा रहेको भारतीय कार्यालय हटाउने कुरा वर्तमान सरकारले गरेको महत्वपूर्ण काम भएको उनको विश्लेषण छ ।
यसैगरी चीन सरकारसँग ४ वटा बन्दरगाह तेस्रो मुलुकका लागि खुलाउने कुराले नेपालको परिभाषा ल्याण्ड लक्डबाट ल्याण्ड लिंकको रुपमा परिणत भएको उनले बताए । यो सबै दुई तिहाई सरकार भएकै कारणले सम्भव भएको र दरिलो आँट आएको उनको विश्लेषण छ ।
बृद्ध भत्ता अबको बजेटमा बढाउने खुलासा
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आउँदो आर्थिक वर्षमा बृद्धभत्ता बढाइने जानकारी दिए । बृद्धभत्ता नबढाउँदा सरकारले काम गरेन भन्ने गुनासो आइरहेको भन्दै उनले यो आर्थिक वर्षमा नबढेकोमा त्यसको क्षतिपूर्ति गर्नेगरी आगामि बजेटमा भत्ता बढ्ने विषयमा सहमति नै भएको खुलासा गरे ।
उनले भने,‘चुनावताका हामीले गरेका बृद्धभत्तासहित सबै प्रतिबद्धता पूरा गर्छौं, अझ यो वर्षको क्षतिपूर्तिसहित आउँदो वर्ष बृद्धभत्ता बढाँउछौं ।’ उनले अर्को चुनावअघि ५ हजार बृद्धभत्ता बढ्ने दाबीसमेत गरे ।
विकास र सम्बृद्धिमा सहकार्य हुन्छ
अध्यक्ष प्रचण्डले विकास र सम्बृद्धिका लागि ठूला परियोजना सञ्चालन गर्न विपक्षिदल सहित सबैसंग राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्ने बताए । ‘विकास र समृद्धी सबैको एउटै नारा भएको छ,’ उनले भने, ‘यसलाई सफल बनाउन कांग्रेससहित सबै दल र पक्षसंग सहकार्य गरेरै अगाडि बढ्छौं ।’
तल्लो तहसम्म पार्टी एकता छिट्टै
प्रचण्डले पार्टी एकताले छिट्टै तल्लो तहसम्मै पूर्णता पाउने बताए । सबैको भावना समेट्ने र विवाद नआउनेढंगले काम गर्दा एकतामा केहि ढिला भएको उनको भनाई छ । अब बस्ने स्थायी समिति बैठकले पार्टी एकीकरणका सबै प्रक्रिया टुंग्याउने उल्लेख गरे ।
चुनाव चितवनबाटै लड्छु
पहिलो संविधानसभा देखि पछिल्लो संसदीय निर्वाचनसम्म फरक फरक निर्वाचन क्षेत्रबाट निर्वाचन लडेका अध्यक्ष प्रचण्डले अब भने चितवनलाई नै आधार बनाउने प्रष्ट पारे । कास्की आफ्नो जन्मभूमि भएकाले भावनात्मक सम्बन्ध स्वाभाविक भएपनि यहिंबाट चुनाव नलड्ने स्पष्ट पारे ।