को हुन मोदीको ५० करोडकी गर्लफ्रेन्ड !
अवसर राजस्थानमा चुनावी सभाको थियो, तर कुरा गर्दै जाँदा जनता दल (युनाइटेड) का नेता शरद यादवले टिप्पणी गरे, “वसुन्धरालाई आराम दिनूस्, निकै थाकिसकिन्। पहिले पातली उनी अहिले धेरै मोटी भइसकिन्। हाम्रो मध्यप्रदेशकी छोरी हुन्।”
शरद यादवको शब्दमा त्यो केवल ठट्टा थियो। तर वसुन्धरा राजेले त्यसप्रति कडा आपत्ति जनाउँदै त्यसबाट आफूले अपमानित भएको महसुस गरिरहेको बताइन्। शरद यादवको मुखबाट त्यस्तो टिप्पणी पहिलो पटक निस्केको होइन।
मान्छेको तौल घटनु-बढ्नु स्वाभाविक कुरा हो। तर पुरूष नेताहरू मोटो भए त्यस्ता सार्वजनिक टिप्पणी दिइन्छन् त?
कुरा केवल तौलको मात्र होइन। पहिरन, रूप-रङ्ग, आनीबानीलाई लिएर महिला र महिला नेताहरू पुरूष नेताहरूबाट अश्लील, अभद्र र अपमानजनक टिप्पणीका शिकार हुने गरेका छन्।
छोरीभन्दा भोटको इज्जत
शरद यादवकै कुरा गर्ने हो भने त्यो मामिलामा उनले विशेषज्ञता नै हासिल गरेका छन्। उनले सन् १९९७ मा संसद्मा महिला आरक्षण विधेयकमाथिको बहसमा भनेका थिए, “यो विधेयकबाट पुरुष जस्तो छोटो कपाल राख्ने (पर-कटी) महिलालाई मात्र फाइदा पुग्छ। उनीहरूले हाम्रा (ग्रामीण महिलाको) प्रतिनिधित्व कसरी गर्छन्?”
बीस वर्षपछि सन् २०१७ मा उनको अर्को भनाइ आयो, “भोटको इज्जत तपाईँकी छोरीको इज्जतभन्दा बढी छ। यदि छोरीको इज्जत गयो भने गाउँ र टोलको मात्र इज्जत जान्छ। तर भोट एक पटक विक्री भयो भने देश र राज्यको इज्जत जान्छ।”
यति मात्र होइन, शरद यादव संसद्मा महिलाको रङ्ग र शरीरको बनोटप्रति पनि कटाक्ष गर्न चुकेनन्। उनले भने, “दक्षिणका महिला जति राम्री हुन्छन्…जति उनीहरूको शरीर देख्दा (हातले शारीरिक बनावट सङ्केत गर्दै)…उनीहरूले नृत्य जान्छन्…मैले त उनीहरूको सुन्दरताको प्रशंसा गरिरहेको छु। (त्यसबीच सांसदको हाँसो सुनिन्छ।)”
यति चर्चा गरिसकेपछि भनि हालौँ, शरद यादवले सर्वश्रेष्ठ सांसदको अवार्ड पनि पाइसकेका छन्।
५० करोडकी गर्लफ्रेन्ड
प्रायःजसो चुनावी सभामा राजनीतिक वक्तव्यबाजीका क्रममा महिलाहरूलाई निशाना बनाइने गरेको छ।
नरेन्द्र मोदीले सन् २०१२ मा चुनावीसभालाई सम्बोधन गर्दै शशि थरूरकी पत्नी सुनन्दा पुष्करबारे भने, “वाह क्या गर्लफेन्ड, तपाईँले कहिल्यै ५० करोडकी गर्लफेन्ड देख्नुभएको छ?”
जवाफ दिँदै शशि थरूरले ट्वीट गरे, “मोदीजी, मेरी पत्नी ५० करोडकी होइन्, बरू अमूल्य छिन्। तर तपाईँले त्यो बुझ्नुसक्नुहुन्न। किनकि कसैको निम्ति तपाईँ प्रेम गर्न लायक नै हुनुहुन्न।”
हालैको कुरा गर्ने हो भने सन् २०१८ मा प्रधानमन्त्री मोदीले संसद्मा सम्बोधन गर्दै थिए। कांग्रेस सांसद रेणुका चौधरी जोड-जोडले हाँस्न थालिन। मुस्कुराउँदै मोदीले भने, “सभापतिजी रेणुकाजीलाई तपाईँले केही नभन्न्स्, रामायण सिरियलपछि यस्तो हाँसो सुन्ने मौका आजै पाइयो।”
पछि केन्द्र सरकारका राज्यमन्त्री किरण रिजीजूले फेसबुकमा एउटा भिडिओ शेयर गर्दै रेणुका चौधरीको हाँसोको तुलना रामायणकी एक पात्र शूर्पणखासँग गरे।
नृत्याङ्गना
भाजपाका नेता नरेश अग्रवालले अभिनेत्री तथा सांसद जया बच्चनलाई ‘चलचित्रकी नृत्याङ्गना’ भनि टिप्पणी गरेका थिए।
चलचित्रमा दिएको योगदानका निम्ति जया बच्चनले पदमश्री सम्मान पाइसकेकी छन्। सन् २०१८ मा उनलाई समाजवादी पार्टीले राज्यसभामा फेरि मनोनित गर्दा नेता अग्रवालले त्यस्तो टिप्पणी गरेका हुन्।
तर जया बच्चनमात्र एक्ली उदाहरण होइनन्। सन् २०१२ मा गुजरातमा चुनावी परिणामबारे टिभीमा भइरहेको बहसमा कांग्रेस सांसद सञ्जय निरुपमले स्मृति ईरानीलाई भने, “हिजोसम्म तपाईँले पैसाको निम्ति नाच्ने गर्नुहुन्थ्यो, आज राजनीति सिक्दै हुनुहुन्छ।”
त्यसको आलोचना भएपछि उनले स्पष्टीकरण दिँदै एउटा टिप्पणी मात्र नहेरी ‘सन्दर्भ बुझ्न पूरै कार्यक्रम हेर्न’ आग्रह गरे।
बलात्कारको मूल्य
सन् २०१२ मा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता अनिसुर रहमानले मुख्यमन्त्री ममता बनर्जीले बलात्कारको मूल्य तोकेको भन्दै पीडित महिलालाई सम्भवत: न्याय नमिल्ने अभिव्यक्ति दिए।
उनले भने, “म ममता दिदीलाई सोध्न चाहन्छु, उनलाई कति क्षतिपूर्ति चाहियो, बलात्कारको निम्ति कति पैसा लिनुहुन्छ?”
यस्ता विवादित टिप्पणीको फेहरिस्त लामो छ। तैपनि नेताहरू सामान्य आलोचनापछि उम्किन्छन्। बीबीसी
भारतमा मोदी युगको यसरी अन्त्य हुँदै, राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा कंग्रेस अघि
भारतका पाँच वटा राज्यमा भएको प्रदेश सभा चुनावको मतगणना आज भइरहेको छ। राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलनंगना र मिजोरममा भएको चुनावको मतगणना जारी छ। यो प्रारम्भिक मतपरिणाम आईरहँदा भारतमा मोदी युगको अन्त्य हुन लागको संकेत देखिन थालेको छ ।
प्रारम्भिक मतपरिणाममा संघीय सरकार चलाइरहेको भारतीय जनता पार्टी विपक्षी भारतीय राष्ट्रिय कंग्रेसभन्दा पछि परेको छ। राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा कंग्रेसले अग्रता लिएको छ भने तेलंगना र मिजोरममा क्षेत्रीय दलले लिड गरेका छन्।
राजस्थानमा १९९ सिटका लागि चुनाव भएको छ। अहिलेसम्मको मतगणनामा कंग्रेस उम्मेद्वारले ९१ स्थानमा अग्रता लिइरहेका छन् भने भाजपाको ६७ स्थानमा अग्रता छ। मतगनणा जारी छ।
२३१ सदस्यीय प्रदेश सभा रहेको मध्यप्रदेशमा २०१३ को चुनाव भाजपाले जितेको थियो। १६६ सिट जितेको भाजपाले स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाएको थियो।
यसपालिको प्रारम्भिक परिणाममा भाजपा मध्यप्रदेशमा पनि कंग्रेसभन्दा पछि परेको छ। कंग्रेस उम्मेद्वार ९१ स्थानमा अगाडि छन् भने भाजपाले ८६ स्थानमा अग्रता लिएको छ।
छत्तिसगढमा पनि कंग्रेस नै अगाडि छ। कंग्रेस उम्मेद्वार ४६ स्थानमा अगाडि छन् भने भाजपाले २४ स्थानमा अग्रता लिएको छ। छत्तिसगढको प्रदेश सभा ९० सदस्यीय छ। सन् २०१३ को चुनावमा भाजपाले ४९ र कंग्रेसले ३९ सिटमा जितेका थिए।
तेलंगनामा ११९ सिटका लागि चुनाव भएको छ। बहुमत ल्याउन ६० सिट जित्नुपर्छ। २०१४ को चुनावमा क्षेत्रीय दल तेलंगना राष्ट्र समितिले ६३ सिट जितेर बहुमत ल्याएको थियो भने २१ सिट जितेर कांग्रेस दोस्रो भएको थियो। यसपालि पनि क्षेत्रीय दलले नै अग्रता लिएको छ। उसले ७६ स्थानमा अग्रता लिएको छ भने कंग्रेसले १८ स्थानमा अग्रता लिएको छ। भाजपा १ स्थानमा अगाडि छ।
उत्तरपूर्वी राज्य मिजोरममा यसअघि कंग्रेसले सरकार बनाएको थियो। ४० मध्ये उसले २९ सिट जितेको थियो। यसपालिको जारी मतगणनामा क्षेत्रीय दल मिजो नेशनल फ्रन्टले अग्रता लिएको छ भने कंग्रेस दोस्रोमा छ। फ्रन्टका उम्मेद्वार २६ स्थानमा अगाडि छन् भने कंग्रेसले ८ स्थानमा अग्रता लिएको छ।