निर्मला प्रकरण झन् जेलिँदै, आइजिपी खनाल भन्छन्– १३ वर्ष लाग्छ



हाम्रो इकोनोमि

 

प्रहरीसँग के औजार छ   जसले पक्राउ  पर्नासाथ निर्दोषलाई पनि ‘म दोषी हुँ’ भनेर बक्न लगाउँछ ।  सुरुमै जीवन घर्तीमगर र बीचमा दिलीपसिंह विष्टले पनि अपराध आफैले गरेको बयान दिएका थिए । अहिले प्रदीप र विशालले पनि त्यस्तै बयान दिएका छन्, तर डिएनए म्याच हुनेमा प्रहरी नै ढुक्क छैन ।

 

अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ । पछिल्लोपटक पक्राउ परेकाहरूले अपराध स्वीकार गरेको प्रहरीको भनाइमा पनि धेरैको अविश्वास छ ।

 

पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन । आफैं ढुक्क हुन नसक्ने बयान कसरी प्रहरीले संकलन गरिरहेको छ भन्ने प्रश्न पनि झन् गम्भीर हुँदै गइरहेको छ ।

 

विगतमा पक्राउ परेका केही अभियुक्तले समेत आरोप स्वीकार गरेका थिए । त्यसैले डिएनए रिपोर्टविना प्रहरी औपचारिक रूपमा केही बोल्न मानेको छैन । अपराध स्वीकार गरे पनि डिएनए नमिलेमा उनीहरूलाई छाड्ने प्रहरी तयारी छ ।

 

यसअघि पक्राउ परेका दिलीपसिंह विष्ट र जीवन घर्तीमगरले पनि आफूले निर्मलाको हत्या गरेको स्वीकार गरेका थिए । घर्तीमगरले खुकुरीले हानेर निर्मलाको हत्या गरेको प्रहरी सोधपुछमा बताएका थिए । तर, घटनासँग उनको कुरा नमिलेपछि प्रहरीले छाडिदिएको थियो ।

 

तर, दिलीपसिंहको बयान त घटना अवस्थासँग मिल्दो थियो । निर्मलालाई साइकलको चेन बनाउन सहयोग गर्ने क्रममा एक्कासि उत्तेजना आएपछि खोलाछेउमा लगेर बलात्कार गरेको बताएका थिए । सोही आधारमा प्रहरीले उनलाई अभियुक्त भन्दै ४ भदौमा सार्वजनिक गरेको थियो । उनको साबिती बयानको भिडियो नै सार्वजनिक भएको थियो । तर, डिएनए परीक्षणमा उनको संलग्नता नरहेको प्रस्ट भयो ।

 

दिलीपसिंह र जीवनलाई प्रहरीले हिरासतमा मानसिक यातना दिएको पछि खुल्यो । हाल थुनामा रहेका प्रदीप र विशालको बयान पनि मिल्दो रहेको प्रहरी दाबी छ । निर्मलालाई आफूले चिन्ने र कुरा गर्न भनेर कर गरेर खोलापारि लगेको उनीहरूको भनाइ छ । कुरा गर्ने क्रममा उत्तेजना भएपछि उखुबारीमा लगेर दुवैजना मिलेर बलात्कार गरेको उनीहरूको बयान छ । तर, डिएनएबाट पुष्टि भएन भने उनीहरूको बयान पनि बनावटी रहेको प्रस्ट हुनेछ ।

 

पक्राउ गरेपछि प्रहरीले यातना दिएर वा दबाब दिएर अपराध स्वीकार गर्न त लगाउँदैन ? यो घटनापछि प्रहरीमाथि यस्तो आशंका बढेको छ । यो प्रकरणले विगतमा पनि धेरै व्यक्तिहरू अपराध नगरीकन प्रहरी अनुसन्धानका क्रममा अपराध स्वीकार गरेर जेल गएको हुन सक्नेसमेत आशंका बढेको छ ।

 

प्रहरी प्रवक्ता उत्तम सुवेदी भने प्रहरी अनुसन्धान बयानमुखीभन्दा प्रमाणमुखी नै रहेको बताउँछन् । प्रहरीले यातनामा विभिन्न शैली अपनाउन सक्ने तथा आरोपीलाई यातना दिएर आरोप स्वीकार गर्न लगाउने कुरा झुटो भएको बताउँछन् ।

 

पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी दबाब तथा लोभले कतिपय आरोपीले घटनामा संलग्न नभए पनि स्वीकार गरेको हुन सक्ने बताउँछन् । आरोपीले सोधपुछका क्रममा स्वीकार गरेपछि अनुसन्धान पूरा नगरी विषयलाई बाहिर ल्याउनु प्रहरीको गल्ती भएको उनको भनाइ छ ।

 

‘विगतमा अभियुक्तलाई एक महिनासम्म गोप्य रूपमा थुनामा राखेर पनि हामीले अनुसन्धान गरेका छौँ,’ उनी भन्छन्, ‘अहिले प्रहरीले सूचना बाहिर ल्याउन बढी हतार गरेजस्तो लाग्छ ।’ तर, सबै प्रहरीले त्यसरी दबाब दिएर अपराध स्विकार्न नलगाउने र अब बयानमुखीभन्दा प्रमाणमुखी हुनुपर्ने उनको भनाइ छ ।

 

प्रहरीद्वारा किन आफ्नै ल्याबमा डिएनए परीक्षण ?

 

प्रहरीमाथि विश्वासको संकट छ । प्रारम्भिक अनुसन्धानमा प्रहरीले चरम लापरबाही गर्‍यो । मानसिक सन्तुलन बिग्रिएका व्यक्तिलाई अभियुक्तका रूपमा खडा गरिएका कारण प्रहरी अनुसन्धानमा सबैतर्फबाट प्रश्न उठिरहेको छ । यस्तो अवस्थामा थप आशंकित व्यक्तिहरूको डिएनए परीक्षण पनि प्रहरीकै प्रयोगशालाबाट भइरहेको छ ।

 

जब कि प्रहरीको भन्दा अत्याधुनिक प्रयोगशाला खुमलटारमा छ । सरकारकै मातहतको केन्द्रीय विधिविज्ञान प्रयोगशाला भए पनि प्रहरीले आफैँ डिएनए परीक्षण गर्नुले पनि प्रहरीमाथि थप आशंका बढेको छ ।

 

हाल थुनामा रहेका प्रदीप र विशालसहित थप १५ जनाको डिएनए परीक्षणको क्रममा छ । केन्द्रीय विधिविज्ञान प्रयोगशालाको सहयोग लिएर प्रहरीले आफैँ त्यसको परीक्षण गरिरहेको छ । डिएनए स्याम्पलिङका लागि मात्र प्रहरीले केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाउने गरेको छ ।

 

प्रहरीको प्रयोगशाला अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त रहेको र त्यहाँ विशेषज्ञहरू रहेकाले कुनै शंका गर्नुनपर्ने केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् । केन्द्रीय विधिविज्ञान प्रयोगशालासँग मिलेर नै पछिल्लो समय डिएनए परीक्षण भइरहेको उनको दाबी छ ।

 

डिएनए परीक्षणमा समेत चलखेल हुन सक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगले निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको शुक्रकीटको नमुना सुरक्षित राख्न प्रहरीलाई निर्देशन दिएको थियो ।

 

समय–सन्दर्भ
कञ्चनपुरका डिएसपी कृष्णराज ओझाका अनुसार निर्मलाको हत्या भएको दिन र अहिले पक्राउ परेका दुई युवाको समय–सन्दर्भ :

-९ साउन, राति : पुनीराम चौधरीको पसलबाट कुखुरासहित १५ सय नगद र अन्य सामान चोरी ।

-१० साउन, बिहान ८ बजे : प्रदीप रावललाई पक्राउ गरेर प्रहरीले सालघारी प्रहरी बिटमा लग्यो, सोधपुछ गर्दा उनले विशाल चौधरीको नाम लिए, आपूmले छुटकारा पाए । (अर्काको नाम लिनेबित्तिकै उनलाई प्रहरीले किन छोड्यो भन्ने स्पष्ट खुल्दैन ।)

 

-१० साउन, बेलुका साढे ६ बजे : शिवज्ञानेश्वर विद्यालय परिसरबाट विशाल चौधरी पक्राउ, सालघारी प्रहरीले पक्राउ गरेर वडा प्रहरी कार्यालयमा बुझायो । रातभरि हिरासतमा राखियो । ११ गते बिहान बाबुआमाको जिम्मा लगाइयो । (प्रहरीले विशाल साढे ६ बजे पक्राउ परेको दाबी गरेको छ भने विशालका बाबुले साढे ४ बजे पक्राउ परेको जनाएका छन् ।)

 

 आइजिपी खनाल भन्छन्– १३ वर्ष पनि लाग्न सक्छ

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने–

-यहीँ नजिकै ललितपुर बडीखेल घटनाका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको हुँ, कुनैकुनै घटनामा समय लाग्छ सक्छ, तर यसको मतलब अनुसन्धान नै भएको छैन भन्ने होइन ।

-निर्मला हत्या घटनाको अनुसन्धान साँघुरिँदै गएको छ, तर यति नै वेला निष्कर्षमा पुगिन्छ भन्न सकिन्न । कुखुरा चोरले गरेन भन्न कसैले सक्नुहुन्न । एकपटक कुखुरा चोरेको कुरालाई सधैँ यो कुखुरा चोर हो भनिरहन पनि त्यति सान्दर्भिक हुन्न ।

-ममाथि कसैको दबाब छैन । मैले पनि अनुसन्धानमा कसैलाई दबाब दिएको छैन । त्यस्तो भेट्टाइयो भने संसद्मा ल्याएर मेरो बर्दी फुकालिदिए हुन्छ ।

-अनुसन्धान निष्कर्षमा नपुग्दा चिन्ताले निद्रा पनि नलाग्ने अवस्था छ । हाम्रो सामथ्र्यले गर्न सक्ने काम गरिरहेका छौँ । अनुसन्धानमा प्रभावित हुने काम नभइदिए हामी छिटो परिणाममा लैजान्थ्यौँ । मैले व्यावसायिकतामा एक रौँ पनि गल्ती गरेको छैन, गर्न दिएको छैन ।

 

 विशाल चौधरीका बाबु भन्छन्– ‘थुनामा मेरो छोराले अपराध हामीले नै गरेका हौँ भन्यो, तर नसामा झ्याप थियो’

तपाईंको छोरा विशाललाई प्रहरीले कञ्चनपुरबाट ल्याएको छ, छोरासँगै तपाईंलाई पनि काठमाडौं ल्याएको थियो । यसअघि पनि तपाईंको छोरा पक्राउ परेको भन्ने छ । खासमा उनी कहिले र किन पक्राउ परेका थिए ?

 

म मजदुरी गर्ने मान्छे हुँ, घर बनाउने काम गर्छु । बिहानै काममा जान्छु । साउन १० गते प्रदीप रावललाई पुलिसले समातेछ । किनकि, ९ गते कुखुरा र पैसासैसा चोरी भएको रहेछ । प्रदीपले विशालको नाम लिएछ । उसले विशालको घर पनि देखाइदिएछ । १० गते नै बेलुकी साढे ४ बजेतिर मेरो छोरा विशाललाई समातेर वडा पुलिस कार्यालय लगियो ।

 

त्यो दिन हिरासतमै राखे । ११ गते हामीलाई बोलाए । तर, कुखुरा र पैसा हराउने मान्छे चौकीमा आएन । कुर्दाकुर्दा अढाइ बज्यो । त्यसपछि हामीलाई जानूस् भने, हामी छोरालाई लिएर आयौँ । १२ गते हामी गयौँ, त्यो मान्छे १२ गते पनि आएन । त्यसपछि हामी घर फर्कियौँ ।

 

तपाईंका अनुसार १० गते बेलुका विशाल पक्राउ परे, ११ गते छुटे । १२ गते पनि वडा प्रहरी कार्यालय गएर फर्कनुभयो । त्यसपछि प्रहरीले खोजेको थियो कि थिएन ?

१२ गतेपछि पनि दुई–तीनपटक बोलाएको थियो । किनकि, निर्मलाको घटना भएको नजिकै नयाँ घर बनिरहेको थियो । घर बन्ने ठाउँमा मेरो छोराले पनि दुई–तीन दिन काम गरेको थियो । त्यहाँ काम गर्ने सबैलाई चौकीमा हाजिर गराइएको थियो । त्यही वेला विशाल पनि गएको हो । तर, सबैलाई जस्तै बुझेर मेरो छोरालाई पनि छोडियो ।

 

पछि, विशालको मामाको एउटा टोली मजदुरी गर्न दाङ जान थालेको थियो । विशाल पनि उनीहरूसँगै जान खोज्यो । त्यसैले मैले पुलिस कार्यालय गएर सोधेँ, ‘मेरो छोरा काम गर्न दाङ जान थालेको छ, जान मिल्छ कि मिल्दैन सर ?’ उनीहरूले आवश्यक प¥यो भने बोलाउँछौँ, अहिले जान दिनूस् भने । डेढ महिनासम्म दाङमा सिमेन्ट फ्याक्ट्रीमा काम गरेर दसैँमा घर आएको हो । त्यसपछि कतै गएको छैन ।

 

पछिल्लोपटक फेरि प्रहरीले कसरी पक्राउ गर्‍यो ?
अस्ति फेरि मंसिर १९ गते पुलिसले विशाललाई खोज्यो । सीधै मलाई फोन गरेका थिए । म काममा थिएँ, हुन्छ पठाइदिन्छु भनेँ । १२ बजे म घर पुग्दा छोरा गाउँतिर निस्किएको रहेछ । पछि खबर आयो– उतैबाट पक्राउ परेछ ।

 

त्यो रात त्यहीँ राखे, राति फेरि पुलिस घरमा आए । साढे १२, १ बजेको थियो होला । उसको कपडा र चप्पल लिएर गए । बिहान मलाई फोन गरेर बोलाए । जिप्रकामा गएपछि उनीहरूले भने, ‘काठमाडौंमा प्रदीप रावल भन्ने पक्राउ परेको छ, उसले मान्छे चिन्छु भनेको छ, त्यसैले विशाललाई लिएर काठमाडौं जानुपर्छ । ४ बजेको फ्लाइट छ, २ बजे तयार भएर आउनू ।’

 

दिनेश चौधरी पनि पक्राउ परेको थियो, उसको बुबालाई पनि त्यसै भनिएको रहेछ । हामी २ बजे पुग्यौँ । त्यहाँ केटाहरूलाई एउटा गाडीमा र हामीलाई अर्को गाडीमा राखेर धनगढी पुर्‍याइयो । धनगढीसम्म त पाँचजना पुलिसको टोली थियो । जहाजमा एकजना सरमात्र आउनुभयो । विशाललाई लिएर पुलिस सर पछाडि बस्नुभयो, हामी तीनजना अगाडि एउटै लाइनमा बस्यौँ । साढे ५ बजे काठमाडौँ पुग्यौँ, ६ बजे सिआइबीको कार्यालयमा पुग्यौँ ।

 

केटाहरूलाई भित्र लगियो, हामीलाई खानासाना खानूस्, टिभी हेर्नूस् भनेर हलमा राखियो । त्यसो गर्दागर्दै १० बज्यो, १२ बज्यो । साढे १२ बजे आएर मलाई भने, ‘ए विशालको बुबा तिम्रो छोराले बयान गर्न लागेको छ, ल सुन्न हिँड ।’ भित्र जाँदा १०÷१२ जना स्टाफ थिए, हामी चारजना थियौँ । पुलिसले भने, ‘ल विशाल भन् ।’

 

विशालले भन्यो, ‘हामी दुईजनाले यो गल्ती गरेका हौँ, प्रदीप र मैले गरेका हौँ ।’ त्यतिवेला ऊ पूरै नसाको झोंकमा थियो । ‘तँ त १० गते पुलिस कार्यालयमा थिइस्, कसरी गइस् त्यहाँ ?’ मैले यति भन्नासाथ पुलिसले ‘लौ लौ सुत्ने वेला भयो, जाऔँ’ भनेर हामीलाई बाहिर निकाले ।

 

निर्मलासँग कहाँ भेट भयो, कसरी घटना भयो भन्ने विषयमा उनले के बयान दिए ?
केटाहरूले डिटेलमा केही पनि भन्न पाएनन् । त्यो दिन त्यसभन्दा बढी कुरै हुन पाएन । अर्को दिन बिहानै पुलिसले भने, ‘विशालको डिएनए टेस्ट गर्न थालिएको छ, त्यसको रिपोर्ट नआएसम्म उसलाई छोड्न मिल्दैन । तपाईं बस्ने कि जाने ?’ मैले भनेँ, ‘यहाँ छोरा भित्र बस्ने, आपूm बाहिर बस्ने भएपछि के काम ?, म जान्छु ।’

 

उता, दिनेशलाई छोडिसकेको थियो । त्यसैले उनीहरूका बाबुछोरा र म घर फर्कने तयारीमा लाग्यौँ । घर आउने वेलामा एकपटक छोरा भेट्न दिनूस् भनेँ । खाना खाएर १० बजेदेखि पर्खिन थालेको, ३ बज्यो, बल्ल भेट्न पाइयो ।

 

भेटमा के कुरा भयो ?
भेट्नसाथ मैले सोधेँ, ‘तैँले त मैले आफैं गरेको हुँ भन्दै थिइस् हिजो, हो कि होइन ?’ उसले ‘हो’ भन्छ । तर, नसामा पूरै झ्याप थियो । तर, फेरि भन्छ, ‘हामी दुईजनाले गरेका हौँ ।’ दिनमा हो कि राति भनेर सोधेँ । ‘दिनमा हो’ भनेर जवाफ दिन्छ । उल्टाखाम भनेको त्यत्रो मान्छे हिँड्ने ठाउँ हो, दुईजनाले कसरी अट्याक गर्‍यौ भन्दा चुप लाग्छ । हो कि होइन भन् भनेर सोध्दा ‘हो’ भन्छ ।

 

छोराले यस्तो बयान किन दियो जस्तो लाग्छ ?
मलाई लाग्छ, मेरो छोरा दबाबमा छ । गाँजासाँजा खाने मान्छे हो, त्यही खुवाएर त्यस्तो अवस्थामा ल्याए कि । त्यसपछि ऊसँग कुरा हुन पाएको छैन । अस्ति ३ बजे काठमाडौँबाट हिँडेको, हिजो (आइतबार) घर आइपुगेँ ।

 

त्यसपछि पुलिससँग पनि कुरा भएको छैन, भन्न त पुलिसले भनेको छ, ‘तिम्रो छोराले हो भनेर बयान दिएको छ, तर उसले हो भनेर मात्र पनि हुँदैन, होइन भनेर पनि हामी छोड्दैनौँ । डिएनए टेस्टले जे भन्छ, त्यही हुन्छ ।’ तर, डिएनए टेस्टमा पनि गड्बड हुन्छ कि भन्ने डर लागेको छ । हामी त पढेलेखेको छैनौँ । अन्याय हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...