कुखुरा चोरलाई ल्याएर बलात्कारी भन्ने भन्दै सांसदहरुले आईजीपी खनाललाई प्रश्न तेर्साएपछि खनालले भने, ‘कुखुरा चोर संधै कुखरा चोर मात्र रहँदैन’
प्रहरी महानिरीक्षक(आईजीपी) सवेन्द्र खनालले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले कुनै लापरवाही नगरेको बताएका छन् ।
प्रहरीले आफ्नो सामर्थ्यले भ्यायसम्मको अनुसन्धान गरिरहेको खनालको दाबी थियो ।
संसदको दिगो विकास तथा सुसासन समितिमा सोमबार सांसदहरुको प्रश्नमा जवाफ दिँदै आइजीपी खनालले हत्यारा पत्ता लगाउन आफूहरु रातदिन खटिएको र निन्द्रासमेत नलाग्ने अवस्था रहेको बताए ।
‘हत्यारा पत्ता लगाउन रातदिन खटिएका छौं, जसका कारण निन्द्रापनि नलाग्ने अवस्था छ’ आइजीपी खनालले भने,‘हाम्रो सामर्थय जति सकिन्छ त्यति गरिरहेका र्छौं ।’
निर्मला प्रकरणका विषयमा बाहिर अनुसन्धानलाई प्रभावित पर्ने गतिविधि भइरहेको भन्दै भन्दै उनले असन्तुष्टि पोखे । ‘बाहिर अनुसन्धानलाई प्रभावित पार्ने काम भइरहेका छन् त्यो नभइदिए हुन्थ्यो ।’
निर्मला प्रकरणको अनुसन्धानमा कसको दबाब छ भन्ने सांसदहरुको प्रश्नको आइजीपी खनालले प्रतिवाद गरे । ‘अनुसन्धानमा कसैको प्रेसर छैन, प्रेसरले प्रभावित पनि हुँदैन प्रहरी’ सांसदहरुको प्रश्नको जवाफमा आइजीपी खनालले भने ।
अनुसन्धानमा के कति प्रगति भएको छ कहिले पत्ता लाग्छ ? भन्ने सांसदहरुको प्रश्नमा आईजीपी खनालले भने,‘अनुसन्धानमा डिस्टिङ्सन वा फस्र्ट डिभिजन आयो भन्न सकिँदैन पक्राउ परेपछि अभियुक्त एकैपटक सार्वजनिक हुन्छ ।’
आईजीपी खनालले अनुसन्धानको दायरा साँघुरिँदै गएको बताए ।
कुखुरा चोरलाई ल्याएर बलात्कारी भन्ने भन्दै सांसदहरुले आईजीपी खनाललाई प्रश्न गरेका थिए ।
खनालले भने,‘कुखुरा चोर सधैं कुखरा चोर मात्र रहँदैन गलत मान्छेलाई ल्याएर प्रहरीले केही गर्ने छैन ।’
यो समाचार हामीले लोकान्तर डटकमबाट लिएका हौं ।



