निर्मला प्रकरणमा नयाँ खुलासा, प्रदीप पनि नक्कली हत्यारा !
धनगढी- कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको वास्तविक हत्यारा लुकाउन प्रहरीले नक्कली हत्यारा खडा गर्न लागेको आशंका स्थानीयले गरेका छन् । निर्मलाको वास्तविक हत्यारा पत्ता लागेको भन्दै आएको प्रहरीले पछिल्लोपटक नियन्त्रणमा लिएका युवा वास्तविक हत्यारा नभई उनीहरूलाई फसाउन खोजेको आरोप स्थानीय बासिन्दको छ ।
प्रहरीले घटनामा संलग्न भनी नियन्त्रणमा लिएको विशाल चौधरी निर्मलाको बलात्कार भएको साउन १० गते दिउँसोदेखि वडा प्रहरी कार्यालयको नियन्त्रणमा छन् । प्रदीप रावल र विशाल दुवैमाथि कुखुरा चोरेको आरोप थियो । विशालका बुबा वीरबहादुर चौधरीले छोरालाई साउन १० गते बेलुकी साढे चारदेखि पाँच बजे बीचमा प्रहरीले नियन्त्रणमा लिएको बताए ।
‘मेरो छोरा १० र ११ गते दुई दिन प्रहरीकै हिरासतमा थियो’, वीरबहादुरले भने, ‘काठमाडौंमा प्रहरीले मेरैअगाडि बोलाउँदा छोराले घटना गराएको हो भन्यो ।’ प्रहरी हिरासतमा भएको मान्छे राति कसरी घटनामा संलग्न हुन सक्छ भन्दै उनले प्रहरीले यातना दिएर बयान लिइरहेको शंका गरेका छन् ।
विशालसँगै प्रहरीले नियन्त्रणमा लिएका अर्का दिनेश चौधरीलाई भने प्रहरीले घर पठाएको छ । वीरबहादुर, दिनेश र दिनेशका बुबा आइतबार बिहान महेन्द्रनगर पुगेका छन् ।
स्थानीय मानसखण्ड दैनिकले आइतबारको अंकमा प्रदीप रावललाई वडा प्रहरीले साउन १० गते नियन्त्रणमा लिएर ११ साउनमा रिहा गरेको लेखेको छ । उनीहरूमाथि भगतपुरचोक नजिकको एक मासुपसलबाट कुखुरा चोरेको आरोप लागेको थियो । साउन ९ गते प्रदीपले आफ्नो पसलबाट कुखुरा चोरेको पसलधनी पाले चौधरीले वडा प्रहरीमा उजुरी गरेका थिए ।
१० साउन बिहान करिब ९ बजे वडाको गस्ती भ्यान पालेको पसलमा पुग्दा प्रदीप त्यहीं थिए । आफूले प्रदीपलाई चिनाएपछि प्रहरीले प्रदीपलाई भ्यानमा राखेर लगेको पसलधनी पाले चौधरीले बताएको भनी मानसखण्डले लेखेको छ । आफन्तले थाहा नपाउँदा प्रदीप वडा प्रहरीकै नियन्त्रणमा रहेको र १२ साउनमा मात्रै हिरासतमुक्त भएको प्रदीपका काका ठूलो बुबा बलबहादुर रावलले बताए ।
प्रहरीका अनुसार प्रदीप भारत गएको र अचानक काठमाडौंमा देखापरेपछि पक्राउ गरिएको उल्लेख छ । तर, प्रदीप भदौको ११–१२ गतेसम्म महेन्द्रनगरमै रहेको खुलेको छ । उनी विद्युत् प्राधिकरणअगाडिको राई ग्यारेजमा काम गर्थे । १० भदौमा उनी ग्यारेजका साहुबाट दुई हजार रुपैयाँ मागेर काठमाडौं गएका बलबहादुरले बताए ।
बलबहादुरका अनुसार निर्मला हत्याकाण्डको केही महिनाअगाडि प्रदीप बम्बईमा चार महिना बसेर फर्केका थिए । त्यसपछि उनी भारत नगएको बरु निर्मला हत्याकाण्डको एक महिनापछि काठमाडौं गएको बलबहादुरको भनाइ छ ।
प्रदीप काठमाडौं किन गए ?
बलबहादुरका अनुसार प्रदीप भगतपुरकै भोटे राई भनिने हर्के राईले बोलाएर काठमाडौं गएका हुन् । ‘जरुरी काम छ तुरुन्त आइजा भनेर बोलाएको रहेछ,’ बलबहादुरले भने, ‘काठमाडौंमा प्रदीप भोटेसँगै थियो ।’ भोटे राईकै डेरामा प्रदीपले करिब तीन महिना बास बसेको बताउँदै बलबहादुरले कामको बारेमा भने केही भन्न सकेनन् । उनलाई भोटे राईले काठमाडौं बोलाउनुको कारण शंस्कास्पद लागेको छ । भन्छन्, ‘भोटेकै योजनामा प्रदीप फसाइएको हो ।’
प्रदीप को हुन् ?
१७ वर्षीय प्रदीप महेन्द्रनगरका पुराना बासिन्दा भरबहादुर रावलका नाति हुन् । उनका बुवाको नाम टेकबहादुर रावल हो । ऋण लागेपछि जायजेथा सकिएका टेकबहादुर पत्नी र अरु सन्तानसहित भारतको बैंगलोरमा छन् । प्रदीप भने बाजेसँगै भगतपुरको कच्ची घरमा बस्दै आएका थिए । ‘घरमा कोही नभएको हुँदा प्रदीप प्रायः छिमेकी महेश पन्तकै घरमा हुन्थे, उनी महेशलाई घरायसी काममा पनि सघाउँथे,’ बलबहादुर भन्छन् ।
कुखुरा चोरीमा प्रहरी हिरासतमा रहे पनि प्रदीप बलात्कार र हत्यामा संलग्न नभएको बलबहादुरको दाबी छ । प्रदीपलाई काठमाडौं बोलाएर फसाइएको दाबी प्रहरीको छ । हर्के राईमार्फत काठमाडौं बोलाएर प्रदीपलाई फसाउन लागिएको उनले आरोप लगाए । ‘नत्रभने १० साउनमा प्रहरी हिरासतमा रहेको व्यक्तिले कसरी त्यही दिन दिउँसो बलात्कार र हत्या गर्छ ?’ उनको प्रश्न छ । प्रदीपलाई काठमाडौंमा प्रहरीले यातना दिइरहेको आफूले खबर पाएको बलबहादुरले बताए ।
अधिकारकर्मी मीना भण्डारीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा हेरेको कागजमा पनि विशाललाई १० गते ४ बजे घरबाटै पक्राउ गरिएको उल्लेख रहेको बताइन् । डिएसपी कृष्ण ओझाले आफूहरुलाई पक्राउपुर्जी, हाजिरी र बुझिलिएको कगजात देखाए पनि प्रतिलिपि दिन नमानेको भण्डारीले सुनाइन् ।
प्रहरीको औपचारिक स्तरबाट प्रदीप र विशालका बारेमा कुनै आधिकारिक जानकारी प्रवाह नभए पनि प्रहरीको हवला दिँदै मिडियामा आएका समाचारले प्रहरी यिनै किशोरलाई दोषी खडा गर्न लागेको देखिन्छ । यसअघि हत्यामा संलग्न भन्दै मानसिक सन्तुलन ठिक नभएका दिलीप बिष्टलाई नक्कली हत्यारा खडा गरेर चिप्लिएको प्रहरी योपटक पनि त्यसै गरी चिप्लिने सम्भावना बढेको छ ।
यसपटक भने प्रहरीको केन्द्रीय नेतृत्वले नै नक्कली (प्रायोजित) अभियुक्त खडा गरेर हत्याकाण्डलाई किनारा गर्ने कोसिस गरिरहेको आशंका जनमानसमा व्याप्त छ । पक्राउ परेका दुई किशोरले हत्याकाण्डमा संलग्नता स्वीकारिसकेका भन्दै प्रहरीले केही सञ्चारमाध्यममा जानकारी चुहाएको छ ।
प्रहरीले हाल नियन्त्रणमा लिएका दुबै निकै गरिब परिवारका मान्छे हुन् । निर्मला काण्डमा प्रहरी प्रशासन सबै प्रमाण मेटाउन लागेको प्रस्टै भएकाले यी गरिब युवाका लागि प्रहरी प्रमाण मेटाउन लाग्नु भनेको विश्वास नै गर्न नसकिने कुरा भएको स्थानीय बताउँछन् ।
‘घटनामा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्ली बिष्टको छोराको मात्रै संलग्नता भए पनि सिंगो राज्य एकजना एसपी बचाउन यसरी मरी मेटेर लाग्दैन’, अधिकारकर्मी भण्डारी भन्छिन्, ‘यो घटनामा राज्यको उच्च तहमा बस्नेहरुका नजिकका मान्छेको संलग्नताको आशंका बढेर गएको छ ।’ प्रहरीले घटनाबारे के कुरा बाहिर ल्याउँछ त्यसको पर्खाइमा स्थानीय बसेका छन् ।


