प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु
सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हँुदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार÷पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।
मृतकको सनाखत हुन सकेको छैन । चार÷पाँच जनाको समूहमा रहेको शङ्कास्पद व्यक्तिलाई प्रहरी टोलीले रोक्न खोज्दा उनीहरुले प्रहरीलाई लक्षित गरी एक्कासि गोली फायर गरेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा सो समुहका एक व्यक्तिको मृत्यु भएको हो । नाम थर र ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीय एक पुरुष व्यक्तिको गोली लागेर घटनास्थलमा नै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयाँलले बताउनुभयो ।
अन्य व्यक्ति भारततर्फ फरार भएको प्रहरीले जनाएको छ । घटनास्थलमा तत्काल खोजतलास गर्दा गोली लोड भएको कटुवा पेस्तोल दुई थान, तथा मृतकको पाइन्टको खल्तीबाट पाँच वटा गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको छ भने मृतकको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
मन्त्री बिना मगरले प्रचण्डका ज्वाइँको कुरा नमानेपछि खैलाबैला
खानेपानी तथा सरसफाइमन्त्री विना मगरले नेकपाका नेता लेखराज भट्टको कुरा नसुनी बिचौलीयाहरूको प्रभावमा पर्दै गएकी छिन् ।
खानेपानी संस्थानको महाप्रबन्धक भुपेन्द्रप्रसादलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरेपछि मन्त्री मगरले मन्त्रालयका प्राविधिक उपसचिव लीलानाथ ढकाललाई नियुक्त गरेकी छिन् ।
भट्टले संस्थानभित्रैबाट महाप्रबन्धक बनाउन सुझाव दिए पनि उनले अटेर गरेको समाचार साँघु साप्ताहिकले छापेको छ ।

मन्त्री बिना मगर पछिल्ला दिनमा भाइकाजी घिमिरे र दाहाल थरका एक पत्रकारको चंगुलमा परी नेतृत्वले दिएको निर्देशन विपरीत चल्ने गरेको आराोप छ । घिमिरेहरूको प्रभावमा परी उनले खानेपानी विभागको महानिर्देशकमा सुनिल दासलाई बनाएकी छिन् ।
बिनाका परिवारिक सदस्य नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यले विभागका अर्का सहसचिव मनोज घिमिरेलाई महानिर्देशक बनाउने तयारी गरे पनि बिचौलियाको सल्लाहमा हतार हतारमा दासलाई बनाइन् ।
विभागका महानिर्देशक तेजराज भट्टलाई सरुवा गरी दासलाई ल्याएकी हुन् । खानेपानी मन्त्रालयका हरेक निर्यायमा घिमिरेहरूकै सल्लाहमा मन्त्री मगर चल्ने गरेपछि परिवारभित्र पनि उनको कार्यशैलीप्रति असन्तोष छाएको छ ।
अस्पतालभित्रै आत्महत्या
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् ।
काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जानकारी दिए ।
बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका व्यक्ति हुन् । रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ ।
ट्र्याक्टरले किचेर बालकको मृत्यु
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।
आइतबार घर अगाडि खेलिरहेको बालक साफीलाई ज १ त ७११२ नम्बरको ट्र्याक्टरले किच्दा बालक गम्भीर घाइते भएका थिए भने बालक साफीलाई उपचारको लागि भारतमा लगिएको र आज बिहान उनको उपचारकै क्रममा भारतमै मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।
मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


