‘राजा ज्ञानेन्द्रको कुरा नमान्दा मलाई भ्रष्टाचारी बनाइयो’



 

सक्रिय राजनीति गर्दागर्दै निष्कृय बस्नुपरेको छ, कस्तो अनुभव भइरहेको छ ?
पहिले सक्रिय राजनीतिमा थिएँ । अहिले पनि म निष्कृय नै त छैन । केही न केही गरिरहेको नै छु । मैले योबीचमा चारवटा पुस्तक लेखेको छु । ‘बन्धनशालामा खीर’ (उपन्यास), ‘बलिदानले बनेको देश’ (ऐतिहासिक उपन्यास), ‘उज्यालोतिरको यात्रा’ (पुराना कविताहरूको सङ्ग्रह) र ‘नेपाली साहित्य मेरो दृष्टि’ (समालोचना) निकालेको छु । त्यसपछि ‘बहादुर शाह’ नामक ऐतिहासिक उपन्यास प्रेसमा पठाउने तयारी गर्दैछु ।

 

‘स्वाधीनता र भीमसेन’ बहादुर शाह र सुगौली सन्धिलाई समेटेर पुस्तक लेखेको छु । यसबाट पनि म लेख्ने काममा बढी सक्रिय भएको छु भन्दा फरक पर्दैन । आखिर लेखेर सेवा गरे पनि र राजनीति गरे पनि देशकै सेवा गर्ने हो भन्ने लागेर यो काम गर्दैछु । तर, लामो समय राजनीति गरेको मान्छे राजनीति ठीक ढङ्गले गइरहेको छैन भन्ने लाग्यो भने चिन्ता हुने कुरा स्वभाविक हो ।

 

सक्रिय राजनीतिबाट लेखन र अध्ययनतर्फ डाइभर्ट हुनुभएछ, मुलुकको अहिलेको राजनीति चाहिँ कता गएको देख्नुभएको छ ?
मुलुकमा आन्दोलन भयो । संविधान आयो । मुलुकले बाटो पाइसक्यो, अब राजनीतिक समस्या सकियो, आर्थिक समृद्धितिर लाग्नुपर्छ भनेर सबैले भनेका छन् तर मेरो त्यसमा केही असहमति छ । त्यो भनेको संविधान निर्माणको प्रक्रियामा नै केही मानिसहरू वा पक्षहरू असहमत भएर बाहिरै बसेका छन् ।

 

चाहे मधेसको पक्ष वा हिजो माओवादीमा लागेका मोहन वैद्य वा विप्लव समूह नै किन नहुन् ? उनीहरू अलगअलग पार्टी खोलेर बसेकै छन् ।  उनीहरूले असहमति र असन्तुष्टि जनाइरहेका छन् । यसले राजनीति सहज रूपमा अवतरण भयो भन्ने कुरासँग म सहमत हुन सकिरहेको छैन । अब त्यस्तो नहोस्, खराब परिस्थिति नआओस्, सबै राष्ट्रिय राजनीतिको मूलधारमा आऊन् भन्ने चाहाना राख्ने कुरा स्वाभाविक हो । चाहाना एउटा कुरा हो, यथार्थता अर्को कुरा हो ।

 

तर विगतको इतिहास हेर्दा जुनसुकै परिवर्तन हुँदा पनि केही असन्तुष्ट बाँकी नै रहेको पाइन्छ । अहिलेको प्रक्रियामा पनि त्यस्तो अवस्था आउनु स्वाभाविक हैन र ? 
तपाईंको भनाइमा केही सत्यता त छ । तर, हिन्दुस्तानको संविधान बनाउँदा पनि त्यो अवस्था देखिएको हो । तर पछि विस्तारै सबै मूल प्रवाहमा आए । हाम्रो देशमा पनि त्यस्तै होस् भनेर कल्पना र कामना गर्ने त्यही हो । त्यस्तो भए राम्रै हो, यदि भएन भने मुलुक अप्ठ्यारोमा पर्ने र जनताले दुःख पाउने अवस्था आउन सक्छ भन्ने आशङ्का हो ।

 

राजनीतिबाहेक आर्थिक सामाजिक अवस्था कस्तो पाउनुभएको छ ? 
विगत २०-२२ वर्षको बीचमा केही आर्थिक, सामाजिक परिवर्तन भएका छन् । जनताले केही सुविधाहरू पनि पाएका छन् तर पर्याप्त छैन । हाम्रा कलेजबाट शिक्षित र दीक्षित भएर मानिस निस्कन्छन्, त्यसअनुपातमा देशमै रोजगारी पाउने अवस्था छैन ।

 

मानिसलाई रोजगारीको ग्यारेन्टी गर्ने कुरामा धेरै बाँकी छ । तर, २०४६ सालको परिवर्तनसँगै गाउँका जनतामा केही सुविधा र सहुलियत पुगेको छ । सडक, बत्ती, विद्यालय, कलेज खानेपानी, शिक्षा र स्वास्थ्य पनि विस्तार भएको छ ।

 

तर, २०४६ सालको परिवर्तनपछि धेरै नेताहरू आर्थिक अनियमिततामा पनि मुछिएका छन् । त्यसको एक उदाहरण तपाईं आफैं पनि हो । किन राजनीतिक दलका नेताहरू त्यस्तो अनियमिततामा डुब्ने गरेका होलान् ? 

सबैको बारेमा त म के भन्न सक्छु र ? मलाई पनि एउटा अभियोग लगाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा लगायो । मेरो भनाइ राख्न तपाईंलाई कुनै अप्ठ्यारो हुँदैन भने यो प्रकरणबारे प्रष्ट बताउँछु ।

 

म र मजस्ता धेरै साथीहरूमाथि लगाएको त्यो अभियोग प्रायोजित थियो । मेरै सन्दर्भमा मलाई मुद्दा लाउने प्रक्रिया सुरु भइसकेपछि अख्तियारले मेरो बयान लियो । बयान लिने क्रममा हामी ४ जना मानिस थियौं । म, अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय, अख्तियारकै सदस्यसचिव माधवदत्त भट्ट र प्रहरीका एसपी दीपक श्रेष्ठ । बयान सकिएपछि सूर्यनाथ उपाध्यायले भने, ‘तपाईंलाई मुद्दा नलाग्ने रहेछ तर मैले तपाईंलाई मुद्दा नलगाई भा’छैन ।

 

तपाईंलाई मुद्दा लगाउनै पर्ने भएकाले म तपाईंका छोरालाई थुन्छु भने । उसले व्यापार गरेको छ, केही नकेही फेला पर्छ, त्यसका आधारमा थुन्छ’ु भने । मैले त्यस्तो पनि हुन्छ भनेर प्रश्न गरँे । उनले ‘हुन्छ’ भने । भयो पनि त्यही । उनले मुद्दा नलाग्ने रहेछ तर लगाउनै पर्ने भएको छ भन्नुको पछाडि म के बुझ्छु भने उनलाई ममाथि मुद्दा लगाउन तत्कालीन राजाले प्रेसर गरे होलान् ।

 

किन राजाले तपाईंमाथि मुद्दा लागाउन दबाब दिए त ? कारण के हुनसक्छ ?

शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो । म उहाँपछि दोस्रो तहको मन्त्री थिएँ । त्यो बेला प्रधानमन्त्री देउवा विदेश जानुभएको थियो । उहाँ बाहिर गएपछि प्रधानमन्त्रीको कार्यभार मैले सम्हालेको थिएँ । त्यही बेला चुनाव गर्ने तयारी सरकारको थियो । तर, चुनाव हँुदैन भन्ने हल्ला बाहिर व्यापक थियो ।

 

शान्ति सुरक्षाका कारण स्थानीय चुनाव रोकिसकेका थियौँ । संसद विघटन पनि देउवाजीले हामीसँग सल्लाह नै नगरी गर्नुभएको थियो । राजासँग उहाँको इन्ट्रेस्ट मिल्यो होला, अनि संसद विघटन गर्नुभयो । यस्तो अवस्थामा मलाई के लाग्यो भने, स्थानीय चुनाव भएको छैन, संसद विघटन भइसक्यो ।

 

अब संसदीय चुनाव हुन सकेन भने मुलुक धेरै ठूलो दुर्घटनाको खाडलमा पर्छ भन्ने लागिरहेको थियो । यसैक्रममा राजालाई भेट्ने कार्यतालिका थियो । म दरबार गएँ । जाँदाजाँदै मेरो मनमा यदि अनुकूल भयो भने चुनावबारे राजाको धारणा के रहेछ बुझ्नुपर्र्यो भन्ने सोच आयो । यो सोच्दै म दरबार पुगेँ । सानो कोठा थियो त्यो कोठामा म पूर्व फर्केर बसेँ । म पुगेपछि राजा आए उनी पश्चिम फर्केर बसे । अनि राजाले मलाई सोधे ‘मन्त्रीजी मुलुकको हालखवर के छ ?’ भनेर प्रश्न गरे । मलाई पनि उनको मनको कुरा बुझ्ने इच्छा भएकाले मैले जवाफमा भने– ‘सरकार मानिसहरू चुनाव हँुदैन हँुदैन भन्छन् ।

 

किन भनेको हो त्यो त बुझिसकेको छैन तर सबै (कर्नर) क्षेत्रका मानिसको भनाइ यही छ’ भनेँ । मैले यति भनेपछि राजाले केही बोल्छन् कि भन्ने लागेको थियो तर उनी बोलेनन् । त्यसपछि फेरि मैले आफैले थपेँ ‘सरकार अस्थिरता भयो भने विदेशीहरूले बढी खेल्छन्, विदेशी चलखेल बढ्छ । अस्थिरता बढ्दै गएपछि हामीले स्वतन्त्र रूपमा गर्ने निर्णयमाथि पनि हस्तक्षेप गर्न आइपुग्छन् । मुलुकको स्वार्थका कारण पनि हामीले देशमा स्थायित्व कायम गर्नुपर्छ । त्यसका लागि सरकारका विभिन्न अङ्गमध्ये संसद एक हो, जसले सरकार नै बनाउँछ ।

 

त्यस निम्ति कुनै पनि मूल्यमा चुनाव गराउनुपर्छ भने । यतिभन्दा पनि राजा बोल्दैनन् । त्यसपछि अरू केही कुरा हुँदैथियो । त्यसैबेला राजाले भने, ‘मन्त्रीजी तपाईंले भनेको कुरा ठीक हो । अस्थिरता भयो भने विदेशीले खेल्छन् । चलखेल बढ्छ ठिकै हो । तर मुलुकले अस्थिरता कतिसम्म धान्न सक्छ भन्ने कुरा हो ।’ मैले बुझिहालेँ उनको कुरा । उनले हिजो पनि संसद थियो, स्थायित्व भएन । अहिले पनि चुनाव गराएर स्थायित्व हुँदैन । स्थायित्व दिने त मैले हो भन्ने राजाको आशय थियो ।

 

त्यसपछि उनले मलाई एउटा प्रश्न पनि सोधे– मन्त्रीजी के साँच्चै नेपाली जनता प्रजातन्त्रको पक्षमा छ ? राजाको यो प्रश्नपछि मैले सहजै बुँझे राजा प्रजातन्त्रको पक्षमा छैनन् । मैले मेरो आस्था र विश्वास प्रजातन्त्रप्रति नभएको भए राजासँग उभिएर उनकै समर्थन गर्नसक्थेँ । उनी मैले त्यसो गर्दा खुशी हुन्थे होलान । तर मैले प्रजातन्त्रका लागि धेरै वर्ष जेलनेल भोगेँ । सानैदेखि लागेँ ।

 

जनताले चुनेर पठाएको प्रतिनिधि म मन्त्री पनि छु । मन्त्रीले राजालाई भन्दा उनलाई अप्रिय लाग्नु उनको कुरा हो तर सत्य कुरा गर्नुपर्छ भन्ने मलाई लाग्यो र मैले गनेको जसरी भने– सरकार राजनीतिक पार्टीका कार्यकर्ता, शिक्षक, विद्यार्थी, प्राध्यापक, वकिल, पत्रकार, डाक्टर, उद्योगपति, व्यापारी, कर्मचारी र समग्रमा सचेत मानिसहरू प्रजातन्त्रको पक्षमा छन् ।

 

प्रजातन्त्रको माध्यमबाट देश समृद्ध होस्, समाज समुन्त र आफू सम्मानित नागरिक बन्न पाऊँ भन्ने चाहान्छन् । मानिसले खोज्ने भनेको समृद्ध मुलुक र समुन्नत समाज हो । त्यसकारण नबुझ्ने मान्छेको म कुरा गर्दिनँ । फेरि नबुझ्ने मानिसलाई ढुङ्गा हान्न लगाउने पनि बुझ्ने मानिस नै हुन् मैले भने ।

 

त्यसपछि मैले राजाको अनुहार हेरेँ । उनको अनुहार पहिला त राम्रो थियो तर मेरो प्रस्तुति र बोली सुनेपछि एकाएक विग्रियो । अँध्यारो अनुहार लगाए । उनले चाहेको भन्दा फरक धारणा मबाट आएपछि उनको अनुहार विग्रेको कुरा मैले मनमनै त्यहिबेला सोचेँ र मलाई लाग्यो मेरो उत्तर राजालाई बिझ्यो । बेलुकाको कुरा हो यो । त्यसपछि म दरबारबाट निस्के । भोलिपल्ट एक दिन रह्यो । पर्सिपल्टबाट मेरो खिलाफमा अख्तियार पनि प्रयोग भयो । सम्पत्ति शुद्धीकरण आयोग पनि प्रयोग गरियो । यी निकायहरू मेराविरुद्ध प्रयोग भएपछि मिडियाले उचाल्ने त छँदैथियो ।

 

त्यसपछि शेरबहादुरजी नेपाल फर्कनुभयो । सायद साउन ३० गतेको दिन थियो त्यो । देउवाजी बिहानैजस्तो नेपाल फर्केपछि दिउँसो सिंहदरबार आउनुभयो । उहाँसँग भेटभयो ।  ‘प्रमज्यू अब मुलुकमा तीनवटा कुरा हुन्छ है’, मैले भनेँ । के हुन्छ के हुन्छ भनेर उहाँ उद्वेलित हुनुभयो । ‘एक चुनाव हुँदैन । दुई पद्धति नै जान्छ । तीन सरकार त त्यसै जाने नै भयो’ मैले भने । के भो ? के भो ? भन्नुभयो । मैले पहिलाका यी सबै कुरा सुनाएँ ।

 

देउवाजीले तपाईंले यत्रो छलफल गर्नुभएछ । म त त्यस्तो छलफल गर्दिनँ, चाहिएका कुरा गर्छु, नत्र उनका कुरा सुन्छु मात्रै भन्नुभयो । त्यो दिनको कुरा त्यतिमै सकियो । मैले यो कुरा अरू मन्त्रीहरूलाई भनेको थिइनँ । त्यसको १५ दिनपछि शेरबहादुरजीले तपाईंले भनेको कुरा एक दुई जनाले सोचेका रहेछन् । तर त्यस्तो हुँदैन ।

 

सबै ठिकठाक नै छ भनेर देउवाजीले क्याबिनेटमा भन्नुभयो । म देउवाजीको कुरामा आश्वस्त भइनँ । अरू मन्त्रीहरूले के कसो भनेर पनि सोधेनन् । त्यसको एक महिनापछि मैले भनेका तीनवटै कुरा भए । त्यसलगत्तै मेरो अख्तियारमा बयान सुरु भयो । बयान सकेपछि सूर्यनाथले मलाई भने–तपाईंलाई मुद्दा नलाग्ने रहेछ । तर तपाईंलाई मुद्दा नलगाई भएको छैन । त्यसका लागि म तपाईंका छोरालाई थुन्छु भने ।

 

त्यसबेला विवेक शाह राजाको सैनिक सचिव थिए । उनले मैले देखेको दरबार नामक पुस्तकमा ‘२० गते राजाले सूर्यनाथलाई भेटे, अब राजनीतिक मान्छेलाई मुद्दा लाग्छ’ भनेर लेखे । यसबाट पनि के पुष्टि हुन्छ भने त्यसबेला अख्तियारले मुद्दा लगाएको राजाको निर्देशनमा नै हो । राजाको निर्देशनलाई अख्तियारले नटेर्न सकेन, अनि ममाथि मुद्दा लगाइयो ।

 

राजाको निर्देशनमा आफूमाथि भ्रष्टचारको मुद्दा लगाएको भन्ने तपाईंको दाबी रह्यो । अरू प्रमाणले तपाईं भ्रष्टाचारी ठहर भइसक्नुभएको छ । तर तपाईं आफै पनि कुनैबेला भ्रष्टारविरुद्धको कानुन ल्याउनुपर्छ भनेर हिँडेको, प्रजातन्त्रका लागि लडेको मानिस सत्ताको आडमा गल्ती गरेँछु या भ्रष्टचार गर्न नहुने काम रहेछ भन्ने पछुतो लागेको छैन ?      

मैले अघि भनिसकेँ । मैले चुकेर अनियमित काम गरेको भए सूर्यनाथजीले भन्दा हुन्– तपाईंको यो यो ठाउँमा मिस्टेक छ, म तपाईंलाई मुद्दा लाउँछु भनेर । तर त्यो त उनले भनेनन् । मैले जे भन्दैछु  गल्ती र बनावटी कुरा भनेको छैन, भन्नु पनि छैन । अहिले पनि पाकिस्तानमा नवाज सरिफलाई मुद्दा लगाइएको छ । बङ्गलादेशमा शेख हसिनामाथि पनि मुद्दा परेको थियो । पहिला पहिला त ज्यानै जान्थ्यो, गर्धन जान्थ्यो । अहिले पनि प्रजातन्त्र नभएको मुलुकमा गर्धन पनि जाला तर मुद्दा भने लगाइदिने चलन छ ।

 

यदि मैले त्यस दिन राजासँग उभिएर सरकार जनता केको प्रजातन्त्रको पक्षमा हुन्थ्यो भनेर भनिदिएको भए मलाई मुद्दा लाग्दै लाग्दैनथियो । तर म प्रजातन्त्रका लागि ६, ७ वर्ष पहिले नै जेल बसिसकेको थिए । अहिले त्योभन्दा बढी कठिनाइ सहनुपर्यो, व्यथा बेग्लै छ । तर आस्था र विश्वास मेरो हटेको छैन ।

 

तपाईं त झण्डै नौ पटक मन्त्री हुनुभएको मान्छे, धेरै कर्मचारीसँग सङ्गत पनि गर्नुभयो । कतिपयले नेताहरूलाई भ्रष्ट बनाउन कर्मचारीहरूको पनि हात हुन्छ भन्छन्, तपाईं के भन्नुहुन्छ ?

म मन्त्री हुँदा मेरो मन्त्रालयमा रहेका सचिवहरूले त्यस्तो खालको कुनै पनि क्रियाकलाप गरेको मलाई थाहा छैन । अहिले पनि कोही त बाँचेकै होलान् । म स्थानीय विकास मन्त्री हुँदा सचिव उदयराज सोती थिए । सरकारले कर्मचारीलाई तक्मा दिनुछ हजुरको मान्छे को छ ? भनेर सोधेँ । सबै कर्मचारी मेरा हुन् तर त्यसरी तक्मा दिने निजी कोही छैन भने ।

 

कर्मचारीको फाइल आउँछ, त्यसमा पियनदेखि खरदार सुब्बा, सहसचिव र उपसचिवबाट ल्याउनुसभन्दा यस्तो त कसैले गर्दैनन् हजुर, ‘यो यो गर्नुस भनेर भन्छन् । अरूले त’ भने । त्यसकारण सचिवले गर्ने भनेको राज्यको काम हो । ऊ राज्यप्रति जिम्मेवार हुन्छ । मन्त्रीले सचिवलाई काम लगाउने भनेको सरकारको नीति र कार्यक्रमअन्तर्गत रहेर नै हो । त्यो नीति र कार्यक्रमअन्तर्गत रहेर काम गर्न जुनसुकै सचिव भए पनि फरक पर्दैन ।

 

त्यसो भए मन्त्री फेरिँदा किन सचिव पनि फेरिन्छ त ? आफू अनुकूलको सचिव ल्याउन खोज्नु भ्रष्टचार गर्ने नियत होइन भन्न सकिन्छ र ? 
मैले देखेको सरकारको नीति र कार्यक्रम कार्यान्वयन गर्ने कुरामा कुनै पनि सचिव प्रतिकूल हुँदैनन् । किनभने म २०५५ सालमा वाणिज्य तथा भूमिसुधार मन्त्री हुँदा रेवतीरमण पोखरेल र भूमिसुधार सचिव र मोहनदेव पन्त वाणिज्य सचिव थिए ।

 

दुवैलाई गिरिजाबाबुले मुद्दा लगाएर पनि जितेर आएका थिए । तर मेरो कार्यकालमा उनीहरूले त्यस्तो कुनै असहयोग गरेनन् । हो, सचिवहरूलाई कसरी सही ढङ्गले परिचालन गर्ने भन्ने कुरा मन्त्रीको हातमा हुन्छ । उपयुक्त ढङ्गले प्रयोग गर्यो भने, उनीहरूले सहयोग गर्छन् भन्ने मलाई लाग्छ ।

 

कतिपयले नेपालमा भ्रष्टाचारको हतियार मन नपरेका नेताको राजनीतिक जीवन समाप्त पार्न पनि प्रयोग हुन्छ भन्ने गर्छन् । तपाईंको पनि भनाइ त्यही हो ?
घटनाक्रमहरूले त्यो पनि देखिँदै आएको छ । अरूको कुरा गर्न मलाई जरुरी छैन । तर मसँग दरबार किन पनि रिसायो भनेर अघि भने । अर्को मैले २०५४ सालमा प्रश्न उठाएको थिएँ । त्यसबेलाको रेकर्ड हेर्दा पनि थाहा हुन्छ । त्यसबेला यिनै राजा ज्ञानेन्द्र (अधिराजकुमार भनिन्थ्यो) दुबई कतार कता गएका थिए ।

 

त्यहाँ ज्ञानेन्द्रले एउटा अन्तरवार्ता दिए । नेपालमा माओवादीको आन्दोलन बढ्दै गएको थियो । उनलाई त्यहाँको मिडियाले सोध्यो– तपाईंहरूको देशमा यत्रो हिंसात्मक आन्दोलन भइरहेको छ । नेपालको राजसंस्थालाई कम्युनिस्टहरूबाट खतरा छैन ? यो प्रश्नमा उनले ‘हाम्रो देशको राजसंस्थालाई कम्युनिस्टबाट कुनै खतरा छैन’ भनेर जवाफ दिए । त्यसबेला लोकेन्द्रबहादुर प्रधानमन्त्री र बामदेव गृहमन्त्री थिए । मैले उनको भनाइलाई लिएर राजा वीरेन्द्रको भाइ, ज्ञानेन्द्र शाहले यसो भने भनेर प्रश्न संसदमा उठाएँ ।

 

यहाँ काँग्रेसका मान्छे दिनदिनै काटिएका काटिएयै छन् । सरकार नियन्त्रण गर्ने कुरा गर्दैन । राजादेखि तपाईंहरू सबै मिलेर काँग्रेसको विपक्षमा लाग्नुभयो भनेर हामीले किन प्रश्न नगर्ने भनेर बोलेँ । डा. बाबुराम भटट्राईले राजा वीरेन्द्रसँग कार्यगत एकता छ भनेर भन्नुभन्दा अगाडिको कुरा हो यो । त्यसमा पनि ज्ञानेन्द्रको ममाथि असन्तुष्टि हुनसक्छ । अर्को प्रहरी प्रमुख बनाउने कुरा छ ।

 

 

प्रहरी प्रमुख भन्नाले ?
जो (अच्युतकृष्ण खरेल) लाई आईजीपी बनाउन दरबार तयार थिएन । खुमबहादुरजी गृहमन्त्री हुनुहुन्थ्यो । त्यसबेला खरेललाई आईजीपी नबनाउन गणेशमान सिंहकोमा धेरै मानिसहरू आएका थिए । २ नम्बरको धु्रवबहादुर प्रधानलाई बनाउनुपर्छ भन्ने त्यसबेला दरबारको चाहाना बुझिन्थ्यो । तर हामीले १ नम्बरको खरेललाई नै  बनाउनुपर्छ । एक नम्बरकोलाई बनाउँदा दुई नम्बरकाले जागिर छोड्नुपर्दैन भनेर त्यही अडान राख्यौं र अच्युतलाई नै बनायौ ।

 

त्यसपछि सरकार फेरियो, बामदेव गृहमन्त्री भए । अनि खरेल आईजीपी भएको ३६ दिनपछि नै खरेललाई हटाएर धु्रवबहादुर आईजीपी बनाइयो ।
पछि ५५ सालमा गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि अच्युतलाई हटाउने र ध्रुबहादुरलाई बनाउने शर्त बामदेवसँग गरेका रहेछन् ।

 

त्यसका लागि धेरै मिटिङहरू भए । बामदेव मलगायत केही साथीहरू एउटा मिटिङमा थियौँ । मैले पुलिस हटाउने र राख्ने खेल नखेलौँ भने । तर बामदेवले त्यसबेला मलाई यसमा हामी मात्रै छैनौँ । अरू धेरै जोडिएका छन् । तपाईंले धेरै कुरा बिगार्नुभयो, पछि  यसको फल पाउनुहुन्छ भने । यसले मलाई लाग्यो दरबारदेखि अरू धेरै मेराविरुद्ध योजनाबद्ध ढङ्गले लागेका छन् ।

 

तपाईंको बुझाइमा भ्रष्टचार भनेको चाहिँ के हो ? 
भ्रष्टाचारको परिभाषा धेरै होलान् तर तपाईंको प्रश्नको सन्दर्भमा आर्थिक अनुचित र आर्थिक अनियमितता नै भ्रष्टाचार हो । तर मेरो हकमा अख्तियारले तैले यो यो गरिस् र तँलाई मुद्दा लाग्दैछ भनिदिएको भए मैले ए हो रहेछ भन्नसक्थेँ तर तलाईं लगाउनैपर्ने बाध्यता छ भनेपछि केही षड्यन्त्र छ भन्ने मेरो बुझाइ हो ।

 

तर तपाईंमाथि अख्तियार मात्रै नभएर सर्वोच्च अदालतले पनि तपाईंलाई भ्रष्टाचारी प्रमाणित नै गर्यो नि ? 
म भन्दैछु,  क्याप्टेन भीमबहादुर र यज्ञबहादुरलाई फाँसी दिँदा म जेलमा थिएँ । त्यसबारे मैले कविता पनि लेखेको छु । दुर्गानन्द झालाई पनि फाँसी दिएका थिए । फाँसी दिएको पात्र दुर्गानन्द झा अवतरित भएर आएको देखाएर भनेको थिएँ–किन तिमीहरू न्याय माग्न अदालत गएको ? मैले त न्याय माग्न अदालत गएर गल्ती गरेको थिएँ, न्याय पाइनँ । यो अदालतको त प्राणप्रतिष्ठा नै भएको छैन ।

 

न कानुनमा लेखेको छ प्राण प्रतिष्ठाको कुरा न मठमन्दिरमा भनेर मैले कविता लेखेको थिए । अवस्था अदालतको अहिले पनि त्यही हो । अख्तियारले जस्तो मुद्दा लागायो, त्यही फैसला विशेष र सर्वोच्चले गर्यो । यो राजनीतिक केसमा  न्याय दियो भने मिडियादेखि सारा मानिसले हाहाहीही गर्ने, बरु अन्याय नै गर्यो भने वाहवाह पाइन्छ भनेर गर्दारहेछन् ।

सम्मानित अदालतमाथि त्यसरी प्रश्न गर्न मिल्छ र भन्या ?
यथार्थ कुरा गर्न मलाई केको डर ?

 

त्यसोभए भ्रष्टाचारको उद्गमविन्दु के हो जस्तो लाग्छ त ?
हाम्रो मुलुकमा नीतिगत रूपमा भ्रष्टाचार हुने गरेको छ ।  नीतिगत भनेको नियम कानुन बनाएर मिलेर खाने । जस्तो पछिल्लो उदाहरण हो नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रकरण । यो यो राजनीतिक मानिसको आडमा नीतिगत भ्रष्टाचार हो ।

 

वाइडबडीकोे कुरा गर्दा यसअघि लाउडा, धमिजा र चेज एयर काण्डहरू पनि भएका थिए नि ? 
भएका थिए, यी सबै नीतिगत भ्रष्टाचार हुन् । तर जुन कुरा गर्नुपर्ने हो, त्यसलाई नीतिमै हालेर गरिनेलाई नीतिगत भ्रष्टाचार भनिन्छ । नीति बनाउने मन्त्रिपरिषद्ले हो । मन्त्रिपरिषद्ले त्यो खालको नीति बनाउने र त्यही अनुसार काम गर्दा त राजनीतिक रूपमा फाइदा हुनेगरी बनाइन्छ । ब्युरोक्रेसीले कतिपय ठाउँमा मन्त्री र प्रधानमन्त्रीसँग पनि मिलेर भए होलान् । सुन तस्करीकै कुरा गर्नुस् । अहिले पनि दैनिक सुन तस्करी भइरहेको छ । यसमा कहीँ न कहीँ राजनीतिक र प्रशासनिक संरक्षण नभई सम्भव नै छैन ।

 

उदाहरणकै लागि भ्रष्टाचारमा राजनीतिक संरक्षणको कुरा गर्दा राजा ज्ञानेन्द्रले जब आफ्नो हातमा सत्ता लिए र सत्ता लिएको औचित्य पुष्टि गर्न मुद्दा लगाउन प्रारम्भ गरे । त्यसमा पहिला हामी निशाना बन्यौँ । हामी सरकारमा भएकाले पहिला हामी परेका हौँ । राजा लामो समय रहेको भए अरू धेरैले हाम्रो जस्तै नियति भोग्नुपर्ने अवस्था आउँथ्यो । उनले धेरैलाई जाक्ने उद्देश्यले नै अख्तियारले ढिलो गर्यो भनेर अर्को आयोग पनि बनाएका थिए ।

 

त्यो पछि सर्वोच्चले नै खारेज गरिदियो । त्यसैले म भन्छु ज्ञानेन्द्रले गरेका अरू सबै काम बेठीक,  मुद्दा लगाएको चाहिँ ठीक हुन्छ ? भीमसेन थापालाई राजाले मारेकै हो । माथवरसिंहलाई पनि हो । दामोदर पाण्डे र वंशराज पाण्डेलाई पनि राजाले नै मारे । वंशराज पाण्डेले १२ वटा युद्ध जितेको छ । चाइनासँग युद्ध जितेर वेत्रावती सन्धि गराएको दामोदर पाण्डेले हैन ? तर यी सबै मानिस राजाका कारणले मारिए ।

 

तपाईंले नेपालमा देखेको र भोगेको भ्रष्टाचार चाहिँ कस्तो हो ?
मलाई मुद्दा लगाइयो, मेरो छोराले गरेको व्यापारलाई लिएर । कुनै पनि व्यापारीले त पूरै कर त तिरेको हँुदैन ।

 

नेपालमा भ्रष्टाचार हुने चुरो र जरो केबाट सुरु हुन्छ भन्ने लाग्छ ? 
एउटा त प्रवृत्ति पनि हो । ठूलो घर बनाउने, धेरै श्रीमती, गाडी खेत जोड्ने मान्छेको नियत होला । कोही ठीक त्यसको विपरीत पनि छन् । तर कतिपयले गरिबीका कारण भ्रष्टाचार भयो भन्छन्, म त्यसमा सहमत छैन । किन छैन भने गरिब भ्रष्टाचार गर्ने स्थानमा पुग्दैपुग्दैन । जो भ्रष्टाचार गर्ने ठाउँमा पुगेका छन्, ती गरिब र खान नपाउने छैनन् । यो प्रवृत्तिगत कुरा हो । मागेर खाने मान्छेले कसरी भ्रष्टाचार गर्छ ? यो कुनै हालतमा सम्भव छैन । जहिले पनि भ्रष्टाचार त उच्च पदस्थ व्यक्तिले मात्रै गर्ने हो ।

 

तपाईंको विचारमा यसरी हुने भ्रष्टाचार नियन्त्रणमा हुने कानुनी प्रयासहरू ठीक छन् ? 
हुन त हामीले कानुनहरू बनाएका छौँ । त्यो कानुन पनि प्रायोजित रूपमै आएको हो । यो कानुन गृहमा थियो, खुमबहादुरजी गृहमन्त्री बाहिर जानुभएको थियो । शेरबहादुरजीले भन्नुभयो, यो कानुन पास गर्नुछ, तपाईंले गर्नुपर्यो भन्नुभयो ।

 

मैले यसबारे मलाई थाहा नै छैन भने । यदि पास गर्ने हो भने राधेश्याम अधिकारी माथिल्लो सदनको सदस्य हुनुहुन्थ्यो । माथिल्लो सदनमा भए पनि उहाँ कानुनको जानकार भएकाले थाहा हुन्छ लिएर जान्छु भनेर लगेँ । अब उहाँले र सुवास नेम्वाङले परिमार्जन पनि गरे । तर एउटा दुइटा प्रमाण जसले अभियोग लगायो त्यसैले प्रमाण देखाउनुपर्ने ।

 

यसमा राधेश्यामजीले  दुनियाँमा यो कहीँ हुँदैन र राजनीतक रूपमा निर्णय गर्ने हो भने मलाई केही भन्नुछैन तर कानुनी रूपमा यो कुनै हालतमा हुँदैन भने । अनि सबैले रामचन्द्र पौडेलदेखि माधव नेपालसम्मले राजनीतिक रूपमै निर्णय गर्ने भने अनि मैले पनि मान्न बाध्य भएँ । अहिले त्यही आफ्नै खिलाफमा प्रयोग भयो । त्यसकारण कानुन छ, अधिकार छ तर यथार्थ बाहिर आउँदैन । यसको नेक्सस कहीँ न कहीँ माथिल्लो तहका मान्छेहरू चाहे राजनीतिक हुन् चाहे प्रशासनिक, सबैसँग जोडिएको हुन्छ ।

 

तपाईंको निजी विचारमा भ्रष्टाचार निर्मूल नै गर्न के गर्नुपर्ला त ?
छोटकरीमा भन्नुपर्दा मान्छेको हृदय परिवर्तन अनिवार्य छ । जबसम्म सोच परिवर्तन हुँदैन, तबसम्म भ्रष्टाचार निर्मूल हुँदैन । त्यसका लागि शिक्षादीक्षा नै त्यस किसिमको विकास गर्न जरुरी छ । अहिलेको कारवाही प्रक्रियाले केही हदसम्म त्यसलाई नियन्त्रण मात्रै गर्छ । राज्यले लामो प्रयत्न गरे भ्रष्टाचारलाई निर्मूल पार्न असम्भव पनि छैन ।

प्रतिक्रिया दिनुहोस
रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४

रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले

रवि लामिछानेको सांसद पद के हुन्छ ?

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा