कठघरामा केशव स्थापित : एमाले फुटाउँदा मैले मात्रै २७ करोड उठाएँ
अभियोग १ : अध्ययन, प्लानिङ र तयारीविनाका अकाशे योजनाका बारेमा घन्टौँ गफ दिनुहुन्छ । त्यही भएर मान्छेहरू तपार्इंलाई ‘देशकै अब्बल गफाडी’ पनि भन्छन् । तपाईंलाई यो उपाधिप्रति कुनै खेद छैन, खुसी नै हुनुहुन्छ ।
पहिला मेरो बारेमा मान्छेहरू स्पष्ट हुनुपर्छ । स्थापित भनेको कुनै जात होइन, हामीले मल्लकालको सुरुवातमा पाएको पदवी हो । काठमाडौं दरबार स्क्वायरको तलेजु बनाएपछि हाम्रो पुर्खाले पाएको पदवी हो । तपाईंहरूले काठमाडौंमा देख्ने इनारदेखि पुरातात्विक सम्पदा सबै मेरो पुर्खाले बनाएका हुन् । त्यसकारण मेरो रगतमै त्यो छ । यहाँका मन्दिर, कुवा, दरबार, त्यहाँ लगाइएका झ्याल, त्यहाँ भएका मेटेरियलबारे मेरो पुर्खाले हस्तान्तरण गरेको कुरा त मसँग छ ।
त्यसको प्रविधि मात्रै होइन, तिनको जगमा के हालेको छ भन्ने पनि मलाई थाहा छ । अरूलाई यही कुरा सुनाउँदा ‘गुप्त कुरा गर्यो,’ ‘लुकेको कुरा गर्यो,’ ‘हावा कुरा गर्यो’ पनि भन्छन् । कसैले रुख देख्यो भने आगो बाल्ने सोच्छ । त्यसमा उसको पनि गल्ती छैन, बाँकी कुरा थाहा नै छैन । तर, मैले हेर्दा यो काठको यस्ता कलात्मक मूर्ती बनाउन सकिन्छ भन्ने सोच्छु, फर्निचर देख्छु । हामीले जानेको त्यही हो । अरूलाई यही कुरा कथा लाग्छ ।
म भ्रमणशील मान्छे पनि हुँ । सूचना संग्रह त म गर्छु नै भौतिक रूपमा पनि सम्बन्धित ठाउँमै पुग्छु । त्यही कुरा अरू टिभीमा हेरेर थाहा पाउँछन् । आफैँ फिल्डमा गएपछि सबै सूचना लिएर त्यसको संश्लेषण गरेर ‘यो हुन्छ’ भन्ने टुंगो लागिसकेपछि त्यो देश र जनताको हितमा हुन्छ भने अरूले जे भने पनि किन व्याख्या नगर्ने ? विज्ञानले सूक्ष्म रूपमा अध्ययन गरेर पृथ्वी गोलो छ भन्ने पत्ता लागेपछि अरूले मानून् कि नमानून ‘पृथ्वी गोलो छ’ भनेर हिँड्नै पर्यो नि । जनकल्याणका लागि काम गर्दा, बोल्दा कसले के भन्छ भन्ने सोच्नुहुन्न । मैले माइतिघर मण्डला भत्काएर बनाउँदा सबैले यो हुनै सक्दैन भन्थे ।
दरबारका राजा, सिंहदरबारका शेरबहादुर देउवादेखि मैरै पार्टीका कतिपय नेतासम्म कसैले पत्याएनन् । ‘यो हुनै नसक्ने काममा हात नहाल’ भन्थे । तर, मैले १४ दिनमा गरेर देखाइदिएँ । गरेँ मात्रै होइन, गज्जबै गरेँ । नेपालीहरूले पनि इच्छाशक्ति छ भने गर्न सक्छन् भन्ने देखाइदिएँ । कतिपयले त्यसलाई ‘एकपल्ट मात्रै गर्यो’ भने । म एकपल्ट होइन, हजारपल्ट त्यस्ता काम गर्न जन्मिएको हुँ ।
अभियोग २ : राजनीतिक रूपमा कहिल्यै स्थिर हुनुभएन । पञ्चायतमा जनपक्षीय उम्मेदवार बन्नुभयो । बहुदल आएपछि एमालेबाट महानगरको मेयर बन्नुभयो । एमाले फुटाएर मालेतिर लाग्नुभयो । राजाको सक्रिय शासनकालमा मेयर मनोनीत हुँदै प्रजा परिषद् ब्युँताउनुभयो । बीचमा माओवादीको निकट भएर पनि बस्नुभयो । ०७० को संविधानसभा निर्वाचनमा संघीय समाजवादीको उम्मेदवार बनेर एमालेका योगेश भट्टराईलाई हराउन भूमिका खेल्नुभयो । सबैतिर डुल्दा पनि केही पार नलागेपछि फेरि एमालेमै फर्किनुभयो ।
म विगत धेरै कोट्याउन चाहन्नँ । पछिल्लोपटक म खुट्टा भाँचिएर घरमा बसिरहेको थिएँ, कुनै पार्टीमा थिइनँ । पार्टीमा आफ्नो प्रभुत्व भइसकेपछि केपी ओलीले मलाई डाक्नुभयो । उहाँले घाममा राखेर मलाई भनेका सबै शब्द अहिले पनि याद छ । ‘केशव तिम्रा सपना पूरा भए देश त कहाँ पुग्छ पुग्छ । १० प्रतिशत मात्रै पूरा भए पनि हुन्छ ।
म आफैं ठाउँमा नभएका वेला प्रोटेक्सन दिन सकिनँ, अरूले तिमीलाई बुझ्दै बुझेनन् । युवा संघमा काम गरेदेखि म केशवलाई चिन्छु, हामी आन्द्रा गाँसिएका मान्छे हौँ । विकासका सवालमा मलाई केशव चाहियो । विगततिर जाँदै नजाऔँ, भोलि नै पार्टी प्रवेश गर्नुपर्यो’ भन्नुभयो । र, भोलिपल्टै एमाले प्रवेश गरेँ ।
सुनको सिक्कालाई आैँलाले आकाशतिर फाल्दा टिङ आवाज आउँछ । त्यसलाई जति घोटे पनि सुनको भाउ घट्दैन । अनि, खोटो पनि हुँदैन । जहाँ गए पनि चलायमान हुन्छ । म पनि त्यस्तै हो । जहाँ, जुन पार्टीमा गए पनि चलायमान । राजाले टेक ओभर गरिसकेपछि मलाई ‘दोस्रो मान्छे हुन आऊ’ भने । केही न केही म मा देखेर नै भनेको होला नि । तत्कालीन माओवादीका नेता प्रचण्डजीहरू पहिलोपटक सार्वजनिक भएलगत्तै मेरो घरमा आउनुभयो ।
उहाँले किन मसँग मीत लगाउने प्रस्ताव राख्नुभयो र बाबुराम भट्टराईलाई साक्षी राखेर किन मीत लगाउनुभयो त ? उहाँले पनि यो मान्छे बज्ने खालको, कहिले नथाक्ने चलायमान मान्छे हो भन्ने बुझेर त होला नि । हामै्र पार्टीका पनि सबै गुटका नेताले राम्रो भन्छन् नि । पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले ‘आन्द्रा गाँसिएको’ किन भन्नुभएको होला त ? किन भने मेरो सत्वलाई उहाँहरूले बुझ्नुभएको छ क्या ।
मेरो चेतना, क्रियाशीलतालाई थुन्न खोज्यो, सम्मान भएन, निषेध नै गर्न खोज्यो भने म सहँदिनँ । बगिरहेको पानीलाई थुन्छु भन्यो भने आतंक कसलाई हुन्छ ? थुन्नेलाई वा छेक्न खोज्नेलाई नै हुन्छ । म त बगिरहेको पानी आफ्नो बाटो लिउँला नि । प्रजापरिषद्मा त पार्टीले कुनै जिम्मेवारी दिएन, उल्टै अपमान गर्यो त्यसपछि गएको हुँ । मेरो मानमर्दन गरेपछि अब यो पार्टीमा बस्दिनँ, मसँग अरू नै हजार उपाय छन् काम गर्ने भनेर हिँडेको हुँ । त्यसपछि माओवादी साथीहरू आउनुभयो । त्यसअघि उहाँहरू शान्ति वार्ताका लागि आउँदा सिंगो उपत्यकाले बास दिने आँट गरेको थिएन, मैले मेरो घरमा राखेको थिएँ ।
त्यसको केही दिनपछि उहाँहरूले दाङ हान्नुभयो । मलाई सेनाले घेरिहाल्यो । तर, हात हाल्ने आँटचाहिँ गरेन । माओवादीले बजाउने गरेको जनतान्त्रिक रेडियो मैले नै ल्याइदिएको हो । उहाँहरूले लुगा चाहियो, जुत्ता चाहियो भन्नुभयो, मैले चाइना गएर कनेक्सन मिलाइदिएको हुँ । यो कुरा सेनाले थाहा पायो । माओवादीकै पक्राउ परेका केही मान्छेहरूले भनिदिएका रहेछन् । त्यसको लगत्तै आर्मीले मलाई मार्न एउटा टिम बनाएछ । दसैँको बिदालगत्तै मार्छन् भन्ने थाहा पाएपछि म अमेरिका गएँ ।
अमेरिका हुँदा मैले सम्पर्क सूत्रहरू प्रयोग गर्दा राजा नै रिसाएको पाएँ । मैले हाम्रा नेताहरूलाई पनि भनेँ, ‘मैले गरेको कर्म यो हो, यस्तो हुँदै छ । मलाई प्रोटेक्सन पाइन्छ कि पाइँदैन ?’ कोही नेता पनि तयार भएनन् । पछि मैले राजालाई ढाँट्ने उपाय निकालेँ । प्रजापरिषद्को अध्यक्ष मेरो साथीको बुवा हुनुहुन्थ्यो ।
‘ल प्रजापरिषद्को जिम्मा मैले लिन्छु’ भनेँ । बाँच्ने एउटा उपाय त निकाल्नुपर्यो नि । नेपाल फर्केर प्रजापरिषद्को जिम्मा लिएँ र राजालाई एउटा पत्र लेखेँ । त्यो पत्रमा ‘नयाँ शक्ति जन्मियो । अब हिंसाबाट देश मुक्त हुने भयो, त्यसको द्वार खुलिसक्यो’ भनेर लेखेँ । त्यसमा राजा सहमत भएछन् । मैले कसैबाट प्रोटेक्सन नपाएपछि छेपारो जसरी रंग त बदल्नुपर्यो, त्यो कौशल त मसँग छ नि ।
बीचमा संघीय समाजवादीमा जाँदा ममाथि अन्याय भएरै विद्रोहको स्वर बोलेको हुँ । पार्टीको ठूलो पंक्ति मलाई उम्मेदवार बनाउनुपर्छ भन्ने पक्षमा थियो । तर, पार्टीका केही मान्छे भने ताप्लेजुङको एउटा मान्छेलाई ल्याएर उम्मेदवार बनाउन खोज्ने । केही उपाय नलागेपछि म संघीय समाजवादीबाट चुनाव लडेँ । नियोजित रूपमा हो भन्ने थाहा पाएरै सबै कुरा गरेको हुँ ।
अभियोग ३ : आफ्नो बोलीमा लगाम राख्न सक्नुहुन्न । प्रदेश सरकारको मन्त्री हुँदा मन्त्रिपरिषद् बैठकमै मुख्यमन्त्रीलाई अपशब्द बोल्नुभयो । पार्टीको नेता तथा सरकार र जनताको प्रतिनिधिको गरिमा राख्नुभएन ।
मुख्यमन्त्रीलगायतले सार्वजनिक गरेको यो मित्थ्या आरोप हो । त्यहाँ मन्त्रीहरू थिए, प्रमुख सचिव थिए । चारजना त सचिवहरू थिए, दुईजना महिला सचिव । मैले गालीगलौज गरेको भए उनीहरूलाई सोध्दा पनि हुन्छ नि । हो, तनावचाहिँ भएको हो । हाम्रो मुख्यमन्त्रीजीले ‘मन्त्री स्थापित जिल्ला डुलेर, सांसदहरूसँग घुलमिल भएर मलाई अपदस्त गर्न लाग्यो’ भनेर भने ।
यो कुरा मेरो दिमागको कतै कुनामा पनि थिएन । कसैलाई केही भनेको पनि थिएन । तर, उहाँलाई भने यो ठूलो त्रास भयो । अर्को आरोप ‘राजधानी सार्न लाग्यो’ भन्ने लगाए । मैले भनेँ राजधानी सार्ने होइन, तोक्ने हो । सार्न भन्न पाइँदैन । सिंहदरबार गाउँगाउँमा सार्ने भन्ने अनि ९५ प्रतिशत जनता बसेको भू–भागलाई छाडेर २/३ प्रतिशत जनता बस्ने हेटौँडामै किन राजधानी राख्नुपर्ने ? व्यक्तिगत रूपमा उहाँको असाध्यै संकुचित मानसिकता ।
मरिचजस्तै चाउरिएको चिन्तनले सोचेर पनि हुन्छ ? यत्रो ८/९ महिनासम्म राजधानीको विषयलाई प्रवेश नै गर्न नदिने । उल्टै, हेटौँडाभन्दा बाहिर राजधानी तोके नाकाबन्दी लगाउने रे ? यस्तो त्रसित मानसिकता राख्न पाइन्छ ? मतदानमा जाँदा सबै सांसदले हेटाैंडा भन्छन् भने ठीक छ, होइन भने त अन्त मान्न पनि तयार हुनुपर्यो नि । मुख्यमन्त्री भनेको सिंगो प्रदेशको हो कि हेटाैंडाको एउटा वडाको अध्यक्ष जस्तो हो ? मैले भनेकै हुँ, ‘राजधानी हेटौँडा उपयुक्त छैन, यसलाई अन्त राख्ने विषयमा नेतृत्व गर्छु ।’
अर्को कुरा मैले उठाएको वैदेशिक सहायता लिँदा पहिला परराष्ट्र मन्त्रालय र संघीय अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्छ भन्ने हो । तर, कसैलाई जानकारी नगराइकन सिआइएसँग सम्बन्धित, भारतबाट लखेटिएको एउटा संस्थासँग गोप्य रूपमा सहमति गरियो । कुनै योजना छैन, कति खर्च गर्ने भन्ने केही थाहा छैन, प्रडक्ट के आउँछ थाहा छैन ।
तर पनि पाँचवर्षे अवधारणापत्र, १५ वर्षे दीर्घकालीन योजना तर्जुमा गर्ने भन्ने थाहा नभएको संस्थालाई सबै सूचना दिएर कसले प्रसारण गर्यो ? मुख्यमन्त्रीले त एक मिनेटमा राजीनामा गर्नुपर्छ । गर्नै नहुने तहको अपराध गर्ने ? प्रदेशभरिको सूचना सिआइएसँग दिएर गोप्य कोठामा बस्न सकिन्छ ? मेरो मुख्यमन्त्रीले यस्तो गर्यो भन्ने मेरो आरोप हो । यो पुष्टि पनि भइसकेको कुरा हो । मैले यो विषय क्याबिनेटभित्रै उठाएको हुँ ।
अर्को पत्रकारहरूलाई भन्नै पर्ने कुरा टिकट बाँड्ने वेलासम्म हाम्रो मुख्यमन्त्रीजीको नामै थिएन । मेरो, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र एक–दुईजना अरूको नाम थियो । उहाँ त बीचमा प्रवेश गरेको हो । जुन दिन टिकट टुंगो लगाउने गुटको मिटिङ भयो, त्यहाँ सानुकुमार श्रेष्ठलाई सभामुख बनाउने, डोरमणिलाई मुख्यमन्त्री र मलाई वरिष्ठ मन्त्री दिने भनियो । त्यहाँ उहाँ(डोरमणि)लाई किटानीसाथ भनियो, ‘तपाईं ७२ वर्ष नाघिसक्नुभयो, एक/डेढ वर्षपछि तपाईंले भजनकिर्तन गर्ने हो ।
त्यसपछि तपाईं तीर्थयात्रामा जाने र केशव स्थापितलाई ह्यान्डओभर गर्ने हो । यही शब्द हो है ।’ अब एक वर्ष बित्न लाग्दा त एउटा पक्षलाई त केशव स्थापितबाट खतरा भयो । धेरैमा डेढ वर्ष भनेको छ । त्यसैले, बीचमै निकालिदिए त ढुक्क भयो । हटाउनका लागि केही आरोप त लगाउनुपर्यो । यसरी लामो समयदेखि अभ्यास गरेर ममाथि षड्यन्त्र गरिएको हो ।
अभियोग ४ : देशमा राजनीतिक विकृति भित्र्याउन पनि भूमिका खेल्नुभयो । राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमालेसहितको सरकार बनाउने योजनासहित सांसदहरूलाई समिट होटेलमा थुनेर राख्नुभयो । तत्कालीन प्रजातान्त्रिक युवा संघ(अहिलेको युवा संघ नेपाल)को अध्यक्षको हैसियतमा थुनिएका सांसदहरूलाई अस्लिल सिनेमा हेर्ने चाँजोपाँजो मिलाउनुभयो ।
त्यतिखेर म त युवा संघको अध्यक्ष मात्रै थिएँ । पार्टीले युवा संघलाई सांसदहरू भाग्लान्, यिनीहरूको रखवाली गर भनेपछि त गर्नैपर्यो नि । त्यस वेला केही नेताले जो शीर्ष नेताकै छेउछाउका थिए, उनीहरूले गर्नै नहुने के–के काम गरेका हुन् । म अहिले उनीहरूको नामचाहिँ भन्दिनँ है । त्यसमा सबैभन्दा आपत्ति जनाउने भनेको तत्कालीन राप्रपाका नेता स्वर्गीय जोगमेहर श्रेष्ठ हुन् ।
उनैले मलाई पनि भनेका हुन् । त्यो घटना भएको मलाई थाहा थिएन । आरके मैनालीसँग त झन्डै उनको हातपात नै भएको उनको । पञ्चायतको एउटा हस्ती । हरेक कोणबाट हेर्दा पनि पञ्चलाई त मान्छेहरूले खराबै भन्छ नि । त्यस्तो बेठीक मान्छेले समेत ‘नीच काम भयो,’ ‘हृदयमा चोट लाग्ने काम भयो’ भनेपछि आफैं बुझ्नुस् कस्तो काम भयो होला । कम्युनिस्ट पार्टीका कार्यकर्ताले मात्रै होइन, आममान्छेले पनि गर्न नहुने काम समिट होटेलमा भएको हो ।
समिटमा केही दिन राखिएपछि जोगमेहरजीको साह्रै आपत्ति भएपछि बल्खुको पार्टी कार्यालयमा ल्याएर राखियो । त्यसको तारबार लगाउने, खाना खुवाउने, साबुन–तेललगायतका आर्थिक प्रबन्ध मिलाउने काम मैले गरेको हो । लिला श्रेष्ठ सुब्बा भन्ने सांसद हुनुहुन्थ्यो ।
उहाँले ‘सांसदहरू भाग्न थाले, नबस्ने भन्दै छन्’ भनेपछि एउटा टिभी लगेर राखिदिएको हो । ‘बेन्डिट क्विन’ भन्ने फुलनदेवीको फिल्म लगाइदिएको हो । त्यो हेर्दाखेरि पर्दामा देखियो । केही मान्छे पर्दाकै मुनि सुतेका रहेछन् । फिल्ममा बलात्कारका सिनहरू पनि थिए, त्यस्तै आवाज आउने भयो । त्यो यौन व्यवसाय गर्नेको फिल्म त होइन, यथार्थमा आधारित हो । हेर्नचाहिँ त्यहाँ भएका सबै सांसदले हेरेका हुन् ।
जब कि मैले अहिलेसम्म त्यो फिल्म हेरेको छैन है । यही विषय माधव नेपाल, आरके मैनाली, साहाना प्रधानकोमा कम्प्लेन गरियो । साहाना र आरकेले त ‘हामीले पनि हेरेका हौँ, तिमीहरूलाई डिस्ट्रब भएको भए अर्को कोठामा जाँदा हुन्थ्यो नि,’ भन्नुभयो । माधव नेपाल अलि कडा स्वभावको अरूभन्दा अलि क्रियाशील पनि । उहाँले मलाई बोलाएर ‘के भएको हो’ भनेर सोध्नुभयो । मैले ‘भएको यस्तो हो, ल्याउने फलानो हो, चलाउने फलानो हो, हेर्ने फलाना फलाना हुन्’ भनेर सबै भनिदिएँ ।
अभियोग ५ : तत्कालीन एमाले फुटाउनु पनि महत्वपूर्ण भूमिका खेल्नुभयो । पार्टीको नेता र काठमाडौं महानगरपालिकाको तत्कालीन मेयरका हैसियतले नेताहरूलाई मिल्न दबाब दिनुको साटो पार्टी फुटाउन हौस्याउनुभयो । बरु, पैसा जुटाउने जिम्मा लिएर काम गर्नुभयो ।
यो आरोपमा केही सत्यता छ । नेपालगन्ज महाधिवेशनमा पार्टीमा विचलन आएकै हो । महाकालीको मुद्दामा पार्टी दुई ध्रुवमा बाँडिएकै हो । त्यहाँ कुटपिट पनि भएकै हो । महाकाली सन्धि विरोधीमाथि एउटा पक्ष खनिएकै हो । बोल्न नदिएकै हो । महाधिवेशनमा त सबै पक्षले आफ्नो तर्क प्रस्तुत गर्न पाउनुपर्यो नि । त्यस घटनापछि पार्टी विभाजन हुनुअघि कमरेड मनमोहन अधिकारीले ‘पार्टी विभाजन गर्ने भए म आत्मदाह गर्छु, अनशन बस्छु’ भनिदिएको भए के हुन्थ्यो ? मलाई लाग्छ पार्टी विभाजन हुँदैनथ्यो । तर, एउटा खेमाले त मनमोहन कमरेडलाई होटेलमा राखेर हामीसँग भेटघाट गर्नसमेत दिएन ।
पार्टी फुटाउन देशभित्रका, बाहिरका एजेन्सीहरू पनि लागे होलान्, नेता÷कार्यकर्ताबीच पनि अलि उत्तेजना बढ्यो होला । तर पनि त्यसलाई रोक्न सकिन्थ्यो । महाकालीजस्तो मुद्दा ठीक थियो कि थिएन भनेर अहिले पनि बहस गर्न सकिन्छ । सीमा नदीको विषयमा, त्यहाँको भूमि अतिक्रमणबारे नेपालीको मन रोएको छैन र ? त्यस्तो महत्वपूर्ण मुद्दामा अन्तरपार्टी छलफल–संघर्ष चलाए पो पार्टी समृद्ध बन्छ ।
त्यसवेला पनि म पार्टी विभाजन नै गर्न सक्ने हैसियतको मान्छेचाहिँ थिइनँ है । नेतृत्व गर्ने तहमा थिइनँ । काठमाडौैं महानगरपालिकाको मेयर भएको हुँदा मसँग एउटा पंक्तिचाहिँ थियो । अर्को मेरो एउटा बोली बिक्थ्यो । त्यसैले, दुई/चार दिन चाँडो मेरो कारणले पार्टी विभाजन भएको हो । विभाजनअगाडि वामदेव कमरेडले ‘धेरै पैसाको जोहो गर्नुपर्छ,’ भन्नुभयो । मैले ‘आँट गर्नुस्, अगाडि बढ्नुस्’ भनेर भनेको हो । उपत्यका र बाहिरका धेरै व्यापारीलाई ‘यो पार्टी नम्बर वान हुन्छ, यसमा लगानी गर’ भनेर मैले भनेको हुँ ।
यति पैसा उठाइयो भन्ने मलाई थाहा छैन । फलानो खाता नम्बरमा रकम हालिदिन भन्थे । उनीहरूले खाममा राखेर रसिद मलाई दिन्थे । मैले वामदेव कमरेड र रघुवीर महासेठलाई बुझाइदिन्थे । महासेठ त्यतिवेला लेखा समितिमा हुनुहुन्थ्यो । पछि पोखराको भेलामा थाहा भयो मेरो अनुरोधमा जम्मा भएको रकम २७ करोड रहेछ । त्यस्तै, अरूबाट पनि रकम जम्मा भएको थियो । तर, उठाइएको रकम कुन–कुन ठाउँमा खर्च भयो, मैले थाहा पाउने कुरा भएन ।
अभियोग ६ : गुन लगाएको मान्छेलाई समेत अपमानित र बदनाम गर्नुहुन्छ । प्रजापरिषद् खोलेर बसेको तपाईंलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बोलाएर काठमाडौं उपत्यका विकास प्राधिकरणको अध्यक्ष बनाउनुभयो । तर, काम गर्नुको साटो उल्टै बाबुराम दम्पतिलाई बदनाम गरेर निस्कनुभयो ।
हावाबाट बिजुली निकाल्ने भनेर मकहाँ हर्कबहादुर तामाङजी आउनुभयो । उहाँले प्रधानमन्त्री बाबुराम भट्टराईजीसँग कुरा गर्न लगिदिन भन्नुभयो । बाबुरामजीसँग मेरो दोहोरो थिएन, हिसिलाजीसँग भेटाउँछु भनेँ । हामीले हिसिलाजीसँग भेटेपछि ‘यस्तो यस्तो काम छ’ भनेर सुनायौँ । उहाँले टेक्निकल मान्छे नआइकन मैले जान्दिनँ भन्नुभयो । टेक्निकल मान्छे आउने वेलासम्मको खाली समयमा चिया खाँदै मैले ‘तिमीहरूले सुकुम्बासीमाथि गरेको काम ठीक छैन, बाटो विस्तार ठीक छैन, फलानो काम ठीक छैन ।
त्यसले तिमीहरूलाई बदनाम बनाउँछ,’ भनेँ । हिसिलाले मैले बोलेको टिप्दै जानुभयो, मेरो कुराले तानेछ । एकछिनपछि उहाँले ‘म बाबुरामलाई कठालो समातेर ल्याउँछु है,’ भन्दै जानुभयो । नभन्दै साँच्चीकै कठालो समातेर ल्याउनुभयो । बाबुरामजी रिसाउनुभयो । ‘मैले केही गरेको छैन, तपार्इंलाई भेट्न आएको पनि होइन’ भनेँ । उहाँले ‘जे कुरा गर्नुछ, बेलुकी ६ बजे गरौँला’ भन्नुभयो । मैले ‘कुरा गर्नुछैन’ भनेँ । तर, हिसिलाले ‘प्रधानमन्त्रीले भनेपछि आउनुपर्छ,’ भनिन् ।
साँझ भेटेपछि बाबुरामजीले ‘मैले एउटा नयाँ कुरा ल्याउन लागेको छु, मलाई सघाउनुपर्यो’ भन्नुभयो । उहाँले काठमाडौं उपत्यका विकास प्राधिकरण बनाउन खोज्नुभएको रहेछ । अर्को दिन हिसिलाजीले फोन गरेपछि फेरि गएँ । बाबुरामजीले हिसिलालाई पनि बाहिर जान भन्नुभयो । तर, हिसिलाले ‘मैले डाकेर बोलाएको हो, म बस्न पाउनुपर्छ’ भन्नुभयो ।
बाबुरामजीले ‘अन्तर्राष्ट्रिय कुरा गर्नुछ’ भनेर बाहिर निकालिदिनुभयो । उहाँले उपत्यकालाई राम्रो बनाउन प्राधिकरणको जिम्मा लिन भन्नुभयो । उहाँले ‘जति रकम चाहिन्छ म दिन्छु र सबै योजनाको अनुगमन म गर्छु’ पनि भन्नुभयो । मैले ‘हिसिलाजीसँग काम गर्न सकिँदैन’ भनेँ । उहाँले ‘हिसिला होइन, तपार्इंको रिर्पोटिङ अफिसर म हुँ’ भन्नुभयो । त्यसको तीन दिनपछि बाबुरामजीले मलाई नियुक्त गर्नुभयो ।
तर, पहिलो दिनदेखि नै हिसिलाजीको हस्तक्षेप सुरु भयो । ‘मैले हो तिमीलाई ल्याएको, यो यो काम गर’ भन्ने उहाँको कुरा आउन थाल्यो । स–सानो कुरामा पनि उहाँले सक्रियता देखाउन थाल्नुभयो । मैले यो कुरा बाबुरामजीलाई सुनाएँ पनि । उहाँले ‘जसले विष खान्छ उही मर्छ’ भन्नुभयो । प्राधिकरणमा ४०/५० करोड मात्रै बजेट आयो । मैले त्यहाँ बस्न सक्ने स्थिति देखिनँ ।
मजस्तो चोखो हृदयको मान्छेलाई पनि काम गर्ने वातावरण बनेन । त्यसपछि सुरुमा हिसिलाजीले मसँग राजीनामा माग्नुभयो । मैले ‘तपार्इंलाई त दिने नै होइन, बाबुरामजीले पो नियुक्ति दिएको हो’ भनेँ । त्यसपछि बाबुरामजीसँग ‘काम ४०/५० अर्बको गर्ने भन्ने बजेट ४०/५० करोड मात्रै दिएपछि कसरी काम हुन्छ’ भनेँ । उहाँले ‘गर्न नसकिने भए राजीनामा दिनुस्’ भन्नुभयो । ‘म गर्न नसक्ने असफल भएर किन जान्छु ? राजीनामा दिन्नँ, सक्नुहुन्छ भने बर्खास्त गर्नुस्’ भनेँ । त्यसपछि उहाँले मलाई हटाउनुभयो । मैले पनि अदालत गएर उहाँलाई च्यालेन्ज गरेँ । र, पुनस्र्थापित पनि भएँ । त्यहाँ मैले काम गर्ने माहोल नै भएन ।
अभियोग ७ : मुख्यमन्त्री बन्ने लोभमा केपी ओली गुटको प्रवक्ताजस्तै भएर नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने सम्भावना बोकेकी एमालेकी तत्कालीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हराउन लाग्नुभयो । तपार्इंलाई मन्त्री मात्रै बनाइयो । त्यहीँ झोकमा मुख्यमन्त्री डोरमणि पौडेललाई असफल बनाउन लाग्दा ओलीकै निर्देशनमा मन्त्री पद पनि गुमाउनुपर्यो ।
पार्टीभित्र गुटहरू छन् । ओली, माधव नेपाल, झलनाथ खनाल म चिन्छु । बाँकी गुट म चिन्दिनँ । अरूसँग व्यवहार पनि गर्दिनँ । मेरो नेचर नै होइन गुट बनाउने । ओली कमरेडले चुनावभन्दा अगाडिदेखि नै मलाई प्रतिनिधिसभामा उठ्नुपर्छ भनेर नौपटक भनिसक्नुभएको थियो । जहिले पनि भेट्ने अनि ‘प्रतिनिधिसभामा उठेर भौतिक पूर्वाधार हेर्ने, मेरो राइट ह्यान्ड भएर काम गर्ने’ भन्नुहुन्थ्यो । एक दिन मेरो परिवार नै डाकेर ‘केशव स्थापित एकदम हठी भयो, मेरो नेक्स्ट म्यान भएर देशभरिको भौतिक पूर्वाधार हेर भन्दाखेरि मान्दैन’ भन्नुभयो ।
त्यसपछि मेरी श्रीमती, छोराबुहारीले पनि ‘केपी कमरेडले भनेको मान्नुपर्छ’ भनेर सम्झाए । तर, मैले ‘बनाउने भए म मुख्यमन्त्री बन्छु, नभए देशव्यापी चुनाव क्याम्पेन गर्छु’ भनेँ । मुख्यमन्त्रीमै मेरो जोड किन थियो भने प्रदेश ३लाई उत्कृष्ट बनाउने मसँग क्लियर पिक्चर थियो । पछि केपी कमरेडले पनि ‘ल त्यसोभए मुख्यमन्त्री तिमी नै । म प्रयत्न गर्छु’ भनेपछि मात्र मैले प्रदेश सभाको उम्मेदवारी दिएको हुँ । त्यस वेलामा भोट पनि मैले म मुख्यमन्त्री भनेरै मागेको हुँ ।
अष्टलक्ष्मीजीजस्तो मान्छेले मतदानमा जानुहुन्थेन । डोरमणिजस्तो सामान्य मान्छेसँग उहाँ प्रतिस्पर्धा गर्न आउने हो र भन्या ? त्यो पनि हार्छ भन्ने पनि निश्चित भएको अवस्थामा । उहाँ प्रतिस्पर्धामा आएपछि हार्नुभयो । केशव स्थापितले हराएको पनि होइन । जे होस् पार्टीको प्रतिस्पर्धामा हार्नुभयो । यस्तो हार र जित त भइराख्छ पार्टीमा । हिजो महाधिवेशनमा माधव नेपाल, केपी ओली पनि हार्नुभएको हो नि ।
अहिले पनि मेरो दाबी छ ३ नम्बर प्रदेश चलाउने भनेको मैले नै हो । लगातार त्यसका लागि लाग्ने हो । प्रदेशका १३ जिल्लाका प्रत्येक गाउँपालिका, प्रत्येक नगरपालिकालाई कसरी के गर्ने मलाई थाहा छ । मुख्यमन्त्री टुंगो लगाउने वेला डोरमणिजीलाई ‘एक/डेढ वर्ष तपाईं चलाउनुस्’ भनिएको हो ।
त्यो समय हुन लागेर त मलाई योजनाबद्ध ढंगले अपदस्त गरिएको हो । मलाई हटाउन अध्यक्षले निर्देशन दिएको पनि होइन । डोरमणिजीले पहिलो दिन प्रधानमन्त्रीलाई भेटेर ‘म अब केशवसँग काम गर्न सक्दिनँ, मलाई झन्डै मार्यो’ भन्नुभएछ । हाम्रो प्रधानमन्त्री र पार्टी अध्यक्षले चाहिँ ‘म अहिले बिरामी छु, अरू नेताहरूसँग पनि छलफल गर्छु, केशव स्थापितलाई पनि भनौँला । के गर्ने भन्ने केही दिनपछि सल्लाह गरौँला’ भन्नुभएको थियो ।
भोलिपल्ट फेरि केही मन्त्रीसहित प्रधानमन्त्रीकहाँ जानुभएछ । ‘मैले हटाउने निर्णय गरेँ, मलाई समर्थन चाहियो’ भनेर भन्नुभएछ । प्रचण्ड कमरेडकहाँ पनि त्यही भन्नुभएछ । प्रधानमन्त्रीले ‘तपाईंले अधिकार प्रयोग गरेर हटाइहाल्नुभयो, निर्णय गरिसक्नुभयो । मैले चाहिँ जानकारी पाएको छु’ भन्नुभएछ । भनेको अर्थ सार्वजनिक रूपमा सबै जनताले पाएजस्तै उहाँले पनि जानकारी पाउनुभएको हो ।
अभियोग ८ : मन्त्री हुँदा पनि आफ्नै स्वभावअनुसार हावादारी गफ दिँदै हिड्नुभयो । कहिले ‘काम नपाएर लोखर्के गनेर बसेको छु’ भन्नुभयो । पार्टी र सरकारको निर्णयविना नै काभ्रेमा राजधानी बनाउने र त्यसका लागि २ सय रोपनी जग्गा खोजिरहेको बताउनुभयो । सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरूलाई पत्तै नदिई धादिङ गएर ‘सुनको टुक्रा’ बनाउँछु भन्नुभयो ।
लोखर्के मैले प्रदेश र संघीय सरकारलाई भनेको हुँ । मुख्यमन्त्रीको जति क्रियाशीलता देखिनुपर्थ्र्यो, त्यो देखिएन । प्रधानमन्त्रीदेखि मन्त्रीसम्म र योजना आयोगलाई चित्त बुझाउन नसकेपछि केही पनि आएन । नमुना कार्यक्रम पनि आएन, बजेट पनि आएन । कर्मचारी पनि नआएपछि काम गर्ने के ? मजस्तो कवि हृदय भएको मान्छेले लोखर्के गन्नुबाहेक अरू के गर्ने ? त्यो मैले भनेकै हुँ ।
अरूले बुझून् भनेरै भनेको हुँ । केपी ओलीजीले उखानटुक्का भन्नुहुन्छ नि, त्यो ठ्याक्कै उहाँको कपी गरेको हुँ । ‘लोखर्के गनेर बसेको छु, केही काम भएन’ भनेको भाइरल भयो नि । एउटा जनमत बन्यो नि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाएको छैन, बजेट पनि दिएको छैन भनेर । मेरो वाक्यले प्रदेशलाई शक्तिसम्पन्न बन्न आधार खडा गर्यो । दोस्रो कुरा, मेरो विचारमा काभ्रेलाई सेन्टर बनाएर राजधानी बनाउनुपर्छ ।
अलिकति ललितपुरको भूभाग, अलिकति सिन्धुपाल्चोकको भीमटारदेखि मेलम्चीवरिपरिको भूभाग र भक्तपुरको अलिकति नालाको भाग गयो भने त्यो १३ लाख रोपनीजति जग्गा हुन्छ । राजधानी भनेको दुई सय, चार सय, सात सय रोपनी जग्गामा राख्ने होइन । राजधानी बनाउने हो, राजधानी राख्न जाने होइन नि । संसारभरका लगानीकर्तालाई आकर्षित गर्ने हो । त्यहाँका उद्योगहरूलाई लगानी गर्ने हो । विदेशमा बस्ने ४०÷५० लाख मान्छेले एकमुष्ठ लगानी गर्यो भने विश्वको एउटा उत्कृष्ट सहर बनाउन सकिन्छ भन्ने चेतना हो क्या त्यो । त्यसकारण काभ्रेमा सहर बनाउने भनेकै हो ।
त्यस्तै, धादिङको सल्यानटारमा त्यहाँका कुमालहरू विस्थापित भइरहेका छन् । त्यो कुमालहरूको भूमि हो । मैले त्यहाँ गएर ‘यो ४० हजार रोपनी जग्गा बिक्री रोक्का गर्नू’ भनेर त्यहाँको गाउँपालिकाका अध्यक्ष शम्भु थापालाई भनेको हुँ । त्यसमध्ये २० हजार रोपनी जग्गाचाहिँ सरकारी छ, जहाँ एयरपोर्ट हुन्छ । संसारकै उत्कृष्ट हस्पिटल आउन सक्छ, विश्वविद्यालय बनाउन सकिन्छ ।
अरू बाँकीमा एकीकृत जग्गा विकास गरेर कालीगण्डकीको प्रोजेक्ट भएपछि ५० किलोमिटरभन्दा ठूलो ताल बनेपछि संसारको सबभन्दा उत्कृष्ट ठाउँ हुँदैन ? अहिले रोपनीमा बिक्री हुने जग्गा हातमा बिक्री हुन्छ । त्यहाँका कुमालहरू करोडौँका मालिक हुन्छन् । त्योभन्दा माथि गइसकेपछि तिप्लिङ र गणेश हिमालसम्मको खानीबीचमा चाहिँ हनिमुन जोन बनाउने । माछाको खेती हुन्छ । त्यहाँ आइरहेको पानीको स्रोतमा १०/१५ वटा राम्रा ट्राउट फार्मिङ बन्छन् । त्यस्तो स्वर्गजस्तो ठाउँ सल्यानटारमा संसारभरका हनिमुनरहरू ल्याउन सकिन्छ भनेर के अपराध गरेँ ?
अभियोग ९ : स्थानीय तहको निर्वाचनबाट फेरि काठमाडौंको मेयर बन्ने दौडधुपमा लाग्नुभयो । तर, टिकट पाउनुभएन । विद्यासुन्दर शाक्यको चुनाव अभियानमा खटिनुभयो । र, सय दिनमा गर्ने भनेर तत्काल गर्नै नसकिने १०१ कामको पुलिन्दा तयार गरिदिनुभयो । चुनावमा प्रतिबद्धता जनाएका तिनै १०१ काम गर्न नसकेर अहिले विद्यासुन्दरलाई गलपासो बनेका छन् ।
मेरो वजन भएर नै टिकट टुंगो लगाउने अन्तिम १५ मिनेट बाँकी रहँदासम्म केशव हो कि विद्यासुन्दर हो भन्ने थियो नि । मेरो वेट आफैँ प्रमाणित भयो । विद्यासुन्दरलाई मैले बोकेँ । दुई/तीन रात लगाएर १०१बुँदे कार्यक्रम बनेको हो । ति गर्न सकिने कार्यक्रम भएरै त बनाइएका हुन् ।
अब महानगरले त्यो गर्दैन भने त्यसमा मेरो के दोष छ ? विद्यासुन्दरलाई निर्देशन दिन म सेन्ट्रल कमिटी अथवा यहाँको पार्टी इन्चार्ज होइन । पार्टीको एउटा साधारण सदस्य मैले काठमाडौंको मेयरलाई ‘तैँले यही गर्नुपर्छ’ त भन्दिनँ नि । तर, मैले उहाँलाई काँधमा बोकेको हो । अब पनि बोक्छु भनेकै हो । तर, उहाँले ‘तेरो काँध चाहिँदैन’ भन्दाभन्दै ‘तँलाई फेरि म बोक्छु’ भनेर त म जान्नँ ।
यो सबै केशव स्थापितले ड्राफ्ट गरेको हो, यी काम गरेपछि त त्यसको श्रेय उही केशव स्थापितलाई जान्छ भनेर नगरिएको पनि हुन सक्छ । मेयरलाई ‘यी काम गर्नुहुँदैन’ भनेर रोक्ने तत्व पनि त्यहाँ छ कि । त्यहीँभित्रका पुराना खराब कर्मचारीलाई केशव स्थापित फेरि पनि सफल हुन लाग्यो भन्ने त हुन्छ नि ।
अभियोग १० : प्रचारका लागि जस्तोसुकै स्टन्ट पनि गर्नुहुन्छ । न्यूनतम राजनीतिक संस्कार पनि देखाउनुहुन्न । कांग्रेस नेता गगन थापाले ‘बाख्रापालनका नाममा सरकारी रकम दुरुपयोग गरेको’ अपुष्ट खबरलाई संसद्को निर्वाचनका वेला अन्तर्वार्ता दिएर भाइरल बनाउनुभयो ।
म व्यक्तिमाथि आक्षेप लगाउँदिनँ । उत्खनन पनि गर्दिनँ, मेरो प्रवृत्ति नै होइन त्यस्तो । तर, गगनजीले चुनावका वेला अलि बढी स्टन्ट गर्न थाल्नुभयो । उहाँको हैसियतभन्दा अलि बढी बोल्न थाल्नुभयो । सिंगै एमाले पार्टीमाथि औँला उठाउन थाल्नुभयो । कुनै एउटा मान्छेले रक्षा त गर्नुपर्यो । मैले उहाँको सन्दर्भ उप्काएको मात्रै हो । टोखाभन्दा अलिमाथि ट्राउट माछा खाने ठाउँ रहेछ । चुनावअघि एकपटक हामी गयौँ । केही साथीहरूले ड्रिंक्स गरे । त्यहाँ केही स्थानीय मान्छेहरू आएर ‘तँ नेता होइनस्’ भनेर मलाई अश्लील व्यवहार गर्यो । उसले ‘जम्मै नेता चोर नै हुन्’ भन्दैथ्यो ।
‘यो गगन थापासँग आएको होइन ?’ भनेर मलाई र्याखर्याख्ती पार्यो । त्यहाँ गगन थापाको के थियो भन्ने पनि मलाई थाहा थिएन । ‘यही हो गगन थापाले बाख्रा पालेको । अहिले खोर पनि छैन, बाख्रा पनि छैन । सिँगाने खसी र जुम्रे बाख्री ल्याएको थियो, सरकारी पैसा पनि खायो । तँ पनि त्यही होस्’ भनेर गाली गर्न थाल्यो । कुरा सुनेर भाग्नु पनि भएन । त्यहाँ भएका अरू स्थानीयले उसलाई सम्झाएर लगे ।
यति सबै मैले बुझेर आएको थिएँ । मैले गगनजीलाई ‘स्टन्ट’ नगरौँ राजनीतिमा मात्रै भनेको हो । स्टन्ट गर्ने भए त्यसका लागि पहिले आफ्नै नैतिक चरित्र निर्माण गर्नुपर्छ । उहाँले सरकारी कोषबाट साढे चार करोड रुपैयाँ ल्याएकै हो । त्यो प्याक्ट भन्ने संस्थाबाट ल्याएकै हो । उहाँ त्यसमा इन्भल्भ नै हो । उहाँले त्यहाँ पुगेर बाख्राको खोर पनि बनाएकै हो । सिँगाने खसी र जुम्रे बाख्री ल्याएको पनि हो । काठमाडौंमा मासु पसल खोलेकै हो । केही समयपछि गोठका केही मरे, केहीमा अरू समस्या आयो । उहाँले युवाहरूलाई उत्साहित गरेर सिकाउन खोजेकै हो ।
तर, म्यानेजमेन्ट नमिलेपछि त जति पोलिटिकल हाइटमा पुगे पनि पैसा मासिने रहेछ । मैले त्यही प्रश्न उठाएको हो । त्यस्तो जायज प्रश्न उठाउन पाइँदैन ? मैले फेरि कुनै आक्रोशमा भनेको होइन । बनावटी कुरा गरेको पनि होइन । ‘ए गगनजी, तपाईं ठूल्ठूलो खोक्नुभन्दा ती खसी खोई बाबा ?, ती बाख्रा खोई ? सिंगाने खसी र जुम्रे बाख्री ल्याएर खोर बनाएजस्तो राजनीतिमा के अभिनय गरेको ?
पहिला आफ्नो नैतिक धरातल भयो भने तपाईंको प्रश्नको जवाफ दिउँला’ भनेको मात्रै हुँ । पार्टीमाथि पनि हमला गर्न खोज्ने काम तपाईं दुर्वल मान्छेले नगर्नुस्, अलि योग्य मान्छे प्रस्तुत गर्नुस् भन्ने आशयबाट मैले त्यो अन्र्तवार्ता दिएको हुँ । मेरो भाषामा अलिकति पनि आक्रोश थिएन है । मैले मुख बिगारेर भनिनँ । अपशब्द बोलिनँ । खसी खोई ? बाख्रा खोई ? त्यो खोर कहाँ गयो साथी ? भनेर सोधेको मात्रै हुँ ।
अभियोग ११ : तस्करहरूसँग पनि तपार्इंको घनिष्टता छ । बैंकिङ कसुरमा जेल परेका र सुन तस्करीमा संलग्न रहेको आरोप लाग्ने गरेका प्रकाश टिबडेवालासँग तपाईंको व्यापारिक साझेदारी रहेको आरोप तपार्इंकै पार्टीभित्रबाट लाग्ने गर्छ ।
पार्टीले आनन्द अग्रवाल, प्रकाश टेबडेवालाजस्तासँग थुप्रैसँग पैसा लियो । त्यसवेला उहाँहरू सबभन्दा देशभक्त, हाम्रा नेता/कार्यकर्ताले पनि अँगालो मार्थे । तपार्इंले अघि सोधेको सांसदहरूलाई होटेलमा राख्दाको खानपिनदेखि बसोबाससम्म प्रबन्ध गर्न उहाँहरूले नै पैसा दिएको हो ।
अनि, त्यो सांसद थुन्न सकेन भनेर प्रकाश टेबेडेवाला एकैचोटि भोलिपल्ट तस्कर हुन्छ ? उनले के व्यवसाय गर्छन् थाहा छैन । तर, उनका बाजेदेखि हामीले चिनेको भोटसँग युद्ध गर्दाखेरि रसदपानी सबै सित्तैँमा दिने परिवारको हो । उहाँहरू देशभक्त हो । प्रकाशको बुवा कैलाशजीलाई देशभक्त भनेर राज्यले ठूलो तक्मा दिएको छ ।
अनि, हल्लाको भरमा प्रकाश टेबेडेवालालाई घोच्न पाइन्छ भन्या ? ऊ जत्तिको इनोभेट मान्छे मैले देखेको छैन । यसबीचमा पार्टीले उसको पैसा प्रयोग ग¥यो । हिजो राजनीतिक हतियार बनायो । सांसद ओसार्न लगायो । हिजो हामीले सहयोग पैसा तिर्नुपर्ला भनेर बरु यसलाई जेलमा थुनाए हुन्छ भन्ने कर्म हामीले गर्न हुन्छ ? कुनै नजिकिएको मान्छे गलत लाग्यो भने त्यससँग मैले कहिल्यै संगत नै गर्दिनँ । मेरो मोबाइलमा नम्बर खोज्यो भने त्यस्ता व्यापारीको एउटा नम्बर पनि हुँदैन । किनभने, त्यससँग मेरो सरोकार केही पनि हुँदैन ।
भूमिकाको किनबेच गर्ने, खोला थुनछेक गरेर तस्करी गर्नेहरू कसैको नम्बर मसँग हुँदैन । तर, आएर ‘दाइसँग सल्लाह चाहियो, म अब सत्कर्ममा लाग्छु’ भन्ने कोही छ भने छलफल चलाउँदा के फरक पर्छ ? हिजो काठमाडौँमा गुन्डागर्दी गर्दै हिँड्ने, मारपिट गरेर हिँड्ने मैले नामै चिनेका १०÷२० जना होलान् । मेरो सत्प्रयासले उनीहरूलाई सही बाटो देखाएँ । अहिले काठमाडौँमा गुन्डागर्दीको एउटा नामोनिसान छैन ।
अब सबैले मलाई अंकल भन्छन्, दाइ भन्छन् । उनीहरूले मलाई पितातूल्य माने भने मैले के खराब कर्म गरेँ ? हिजो पार्टीभित्रै झगडा गर्ने मान्छेहरू अहिले अनुशासित भएका छन् । हिजो नाम चलेका गुन्डा अहिले होटेल व्यवसायी, उद्यमी भएका छन् । अब त्यसमा मैले के बिगार गरेँ ?
अभियोग १२ : तपार्इंको नैतिक आचरणमाथि पनि गम्भीर प्रश्न उठ्यो । काठमाडौंको मेयर हुँदा ‘सेक्स्युअल ह्यारेसमेन्ट’ गरेको भन्दै दुई महिलाले तपाईंमाथि आरोप नै लगाए ।
यो घटना छाडेर मेरो धारणा सुन्ने हो भने फरक छ । मान्छेले प्रेम प्रस्ताव नराखीकन प्रेम अंकुरण हुन्छ ? म त प्रेम गरून् भनेर लभपार्क बनाउनुपर्छ भन्ने मान्छे । मेरो छोराले बुहारी बनाउनुपर्यो, मेरी छोरीले ज्वाइँ बनाउनुपर्यो । यस्तो खुला समाजमा फूल होस्, बगैँचा होस् जहाँ बसेर एकबार कफी खाएर, संगीत सुनेर एकअर्कालाई चिन्न/बुझ्न पनि सजिलो होस् भन्छु म । त्यो त नजिकिएर त अनुभव गर्ने कुरा हो नि । १०, २०, ५० वटा दुर्घटनापछि यो मेरो जीवनसाथी हो है । अलिकति फ्लर्ट नगरीकन समाज अघि बढ्छ ? जन्ती–जनहीविना ताल्चा लगाएर ‘ल तेरो बिहे भो’ भन्न पाइन्छ ? पाइँदैन नि । म एकदमै खुला समाजको पक्षधर हुँ ।
मलाई जुन आरोप लगाइयो नि त्यो गहिरिएर के भन्न खोजेको हो बुझ्नुस् है । उहाँले केशव स्थापित महानगरमा आएपछि मलाई हटाइयो भन्नुभयो । तर, उहाँले पाँच वर्ष त काम गरेको रहेछ नि । म त्यहाँ जानुभन्दा चार महिनाअगाडि उहाँलाई सार्वजनिक बेइज्जती गरेर त्यहाँका कूचीकारहरूले ठेलेर अहिलेको टेकुको अफिसमा मञ्चमा उभ्याएर माफी माग्न लगाएको रहेछ । उहाँले त्यसवेलाको कार्यकारीसँग सम्बन्ध गाँसेर प्रत्येक कर्मचारीलाई हेपेको रहेछ । जागिर खाइदिन्छु भनेको रहेछ । र, त्यसवेला विभागीय प्रमुख बनेर हैकम जमाएको रहेछ ।
कर्मचारीहरू आक्रोशित रहेछन् । त्यही दिन कार्यकारी अधिकृतले ती महिलालाई गाडी पनि नदिई पैदल घर पठाएका रहेछन् । त्यसपछि ती महिला कहिल्यै आइनन् । ती महिलालाई राखेर त्यसवेलाको कार्यकारी अधिकृतदेखि स्थानीय विकास मन्त्रालयका प्रतिनिधि, आन्दोलनकारी, विभागीय प्रमुखसहित बसेको सर्वदलीय बैठकको निर्णयमा सबैको नामावली छ । ४०–५० जना बसेर त्यसमा तीनवटा निर्णय गरेका छन् । निज महिलाले आर्थिक दुर्व्यवहार गरेकाले त्यो ठाउँबाट हटाउने निर्णय गरिएको छ ।
एउटा समिति गठन गरेर सात दिनभित्र रिपोर्ट पेस गर्ने र कसुरअनुसारको कारबाही गर्ने भनेको छ । त्यो कसुरमा लिखित रूपमा माफी मगाउने भनिएको छ । र, तेस्रो निर्णयमा चाहिँ यो करारमा उपल्लो तहमा बसेर हैकम जमाएको कारणले करारको अवधि सकिएपछि उहाँलाई बिदा गर्ने भनिएको छ । अब यसमा मेरो कहाँनेर चाहिँ दोष भयो ? सार्वजनिक रूपमा माफी माग्ने उहाँ, मञ्चमा उभिएर मैले गल्ती गरेँ भन्ने उहाँ । त्यस्तो मान्छेले मलाई केही भन्ने अधिकार राख्छ ?
यस्तो आरोप मलाई चारपटक आयो । पहिलो, म मेयरको उम्मेदवार हुँदा । अर्को, म संघीय समाजवादीबाट उम्मेदवार हुँदा । त्यतिखेर म उम्मेदवार हुँदा उहाँ संघीय समाजवादीको केन्द्रीय प्रचार समितिको सदस्य हो । त्यतिखेर किन केही भन्नुभएन ? तेस्रो, संघ र प्रदेशको चुनावका क्रममा मैले गगन थापाको विरुद्ध बोलेको लगत्तै फेरि बोल्नुभयो । उहाँलाई कसले भाडामा लिएर बोल्न लगायो मैले बुझेको छैन ।
चुनाव सकिएपछि फेरि सेलाउनुभयो । चौथो, मलाई मन्त्री पदबाट अपदस्त गर्नुअघि फेरि उहाँ देखिनुभयो । अहिले देखा पर्नुहुन्न फेरि । किनभने, उहाँको प्रयोग सकियो । उहाँलाई खासखास तत्वले प्रयोग गरेको यहीँबाट बुझिन्छ । म फेरि पनि भन्छु, यसका विरुद्ध म अदालत जान्छु, जेल हाल्छु, जरिवाना गराउँछु । (खगेन्द्र पन्त नयाँपत्रिकाबाट)