‘सुरुमै सरकार आयोजक भनेर लेखिनुनै गल्ती भयो’



 

एसिया प्यासिफिक सम्मेलनलाई लिएर सरकार र नेकपा विवादमा तानिएका छन्, यसमा तपाईंको धारणा के छ ?

एसिया प्यासिफिक समिट नेपालमा हुनु भनेको आफैमा पनि खुसीको कुरा हो । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, फैलाउन र प्रबद्र्धन गर्न यदि नेपाललाई आयोजना स्थल बनाइन्छ भने त्यो यो राम्रै कुरा हो । जहाँसम्म यो संस्थाको कुरा रहेको छ, त्यो संस्थाभित्र तीनवटा छुट्टाछुट्टै संस्था छन् । एउटा युनिभर्सल पिस फेडेरेसन, अर्को इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटकल पार्टिज् (आईक्याप) र तेस्रो इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टिरियन फर पिस (आईएपीपी) हो ।

 

तीनवटा संस्थामध्ये आईक्यापमा एसियाका तीन सय ५० वटा पार्टी र तीनका नेता संलग्न छन् ।  त्यसका संस्थापक अध्यक्ष होजे डे भेनेन्सिया आफैले सम्मेलनमा सहभागिता जनाउने चासो राख्नुभएको थियो । तर उहाँलाई एक हजार मिटरमाथिको उचाइमा समस्या हुने भएकाले स्थायी समितिका सदस्यहरू, थाइल्यान्डका पूर्वमन्त्री र बीजेपीका नेता विजय जोलीलाई खटाउनुभएको हो । मसँग पनि उहाँले आईक्यापको विषयमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । मैले पनि नेपालमा हुँदा राम्रै हुन्छ भनेर भनेको हुँ ।

 

त्यसैगरी शान्तिका लागि सांसदहरूको अन्तर्राष्ट्रिय सङ्गठन (आईएपीपी) भन्ने संस्था छ । त्यो सङ्गठनमा विभिन्न देशका सांसदहरू जोडिएका छन् । भारतको सत्ताधारी पार्टीकै एकजना सांसद सो सङ्गठनअन्तर्गत भारतको प्रमुख हुनुहुन्छ । जहाँसम्म युनिभर्सल पिस फेडेरेसनको कुरा छ, यो सङ्गठनलाई संयुक्त राष्ट्रसङ्घको आर्थिक र सामाजिक परिषद्ले साधारण सदस्य नै बनाएको हुनाले यस्तो संस्थामाथि हामीले प्रश्न खडा गर्नुभन्दा यूएनसँग सोध्दा राम्रो हुन्छ । नेपाल सरकारलाई शङ्का लागेको छ भने सोधखोज गर्न सकिन्छ । मलाई पनि यी सबै विषयमा जानकारी हुने कुरा भएन । मैले संस्थाबारे प्रश्न खडा गरेको छैन ।

 

र, प्रश्न खडा गर्न उचित पनि ठानेको छैन । उसको उद्देश्य प्रणाली जे रहेको छ, त्यो पनि ठीक देखिन्छ । त्यो संस्थाको उद्देश्य नै विश्वशान्ति रहेको छ । अर्को कुरा यो संस्था पहिलो पटक नेपाल आएको पनि होइन । यो संस्थालाई लिएर अचानक यति ठूलो विवाद गर्नुको पछाडिको कारण के होला ? मैले पनि बुझ्न सकेको छैन । पहिलेदेखि नै प्रश्न खडा भएको भए एउटा कुरा हुन्थ्यो । त्यसमाथि यो संस्था नेपालको शन्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलिरहेका संस्थामध्ये एक पनि हो ।

 

एउटा कम्युनिस्ट पार्टीको सिद्धान्त र धर्मनिरपेक्ष राष्ट्र उल्लेख भएको हाम्रो संविधानविपरीत एउटा अमूक धर्मको प्रचारक संस्थाको प्रवद्र्धक नै बनेर सरकार र पार्टीका नेतृत्व लागेपछि विरोध हुनु स्वभाविक भयो, होइन र ? 

हामी त्यो संस्थाको सदस्य पनि होइनौँ । हामी त्यो संस्थामा संलग्न पनि छैनौँ । त्यो संस्थाले आयोजना गरको कार्यक्रममा सहभागी भएका मात्रै हौँ । सहभागी नै हुनुहुँदैन भन्ने हो भने त हामीले तय गर्नुपर्यो यो–यो र यस्ता–यस्ता संस्थाका कार्यक्रममा सहभागी हुनुहुँदैन भनेर । किनभने युनिभर्सल पिस फेडेरेसनले आफै धर्मको प्रचार गर्दैन, गरेको पनि मैले पाएको छैन । उसँग जोडिएका कतिपय संस्था वा व्यक्तिहरूबारे प्रश्नहरू उठेका होलान् । त्यसरी उठेका प्रश्नको छानविन गर्नुपर्छ भन्ने हो भने, त्यो पनि गर्नुपर्छ ।

 

धर्मको कुरा छ भने व्यक्तिको निजी आस्थाको विषयका रूपमा लिनुपर्छ । कसैले आफूलाई देवताको अवतार ठानेको छ भने त्यसमा हामीले के गर्ने ? यदि त्यस्तै हो भने हाम्रो देशमा अस्ति भर्खर जैन धर्मका गुरु आउनुभएको थियो । त्यहाँ सबै मानिस पुग्नुभएको थियो । त्यसो भए त त्यहाँ पनि पुग्नुहुन्थ्यो या हुँदैन थियो ? त्यस्तै राधेराधेका पनि ठुलै गुरु हुनुहुन्छ । उहाँ कृष्णकै अवतार मानिनुहुन्छ । त्यसलाई कसरी लिने ? हामी त कम्युनिस्ट भयौँ, धर्म मान्दैनौँ । हामीलाई धर्मसँग मतलब पनि छैन । तर, त्यो कार्यक्रममा सहभागी हुनेबित्तिकै धर्म परिवर्तन गरेको अनुवाद गरियो ।

 

यदि त्यस्तो हो भने पाकिस्तानका प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो । उहाँको धर्म बदलिनुपर्ने नि ? भारतीय जनता पार्टीका तीन जना नेता पनि हुनुहुन्थ्यो । उहाँहरूको पनि धर्म परिवर्तन हुनुपर्यो । इस्लाम धर्मका ताज महमद हुनुहुन्थ्यो, उहाँको पनि धर्म परिवर्तन हुनुपर्ने । त्यसैगरी धेरै हिन्दु र बुद्ध धर्मका गुरुहरू कार्यक्रममा आउनुभएको थियो । उहाँहरू सबैको धर्म परिवर्तन त भएन होला । बरु सर्व धर्म समान भन्ने भावनाका साथ सबै धर्मको बीचमा सहिष्णुता र सहअस्तित्वको भावना रहोस् भन्ने सन्देश उहाँहरूले दिनुभयो ।

 

कार्यक्रमको एउटा पक्ष के थियो भने सबै धर्मका गुरुहरूसँग संवाद गरेर ‘कसरी राम्रो हुन्छ ? कसरी राम्रो संस्कार विकास गर्न सकिन्छ ?’ भन्ने विचार त्यहाँ व्यक्त भएका थिए । त्यहाँ कुनै एउटा धर्मको प्रचार गरेको मैले देखिनँ । त्यहाँ क्रिस्चियन, जैन, शिख, इस्लाम, हिन्दु सबै धर्मका मानिस थिए । हिन्दु धर्मका अझै प्रकाण्ड विद्वान र गुरुहरू पनि हुनुहुन्थ्यो । उहाँहरू सबै आफ्नो धर्मप्रति निष्ठावान नै हुनुहुन्थ्यो । कुनै एउटा सेसनमा एउटा धर्मको कुरा भएको हुनसक्छ । त्यसमा हाम्रो कुनै सरोकार रहने कुरा भएन ।

 

त्यस कार्यक्रमको आयोजना गर्न तपाईं आफू नै पूर्णरूपमा सहभागी हुनुभयो भन्ने छ नि त ?

पाकिस्तानका प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो । उहाँले जाऊँ–जाऊँ भनेपछि कुन ठूलो कुरो भयो र ? यस्ता प्रसङ्गहरूलाई मैले विशेष रूपमा लिन्न । मेरा बारेमा किन अनावश्यक कुरा हुन्छ ? पाकिस्तानका प्रधानमन्त्रीको पनि विरोध गर्नुपर्यो ।

 

नेपालमा यो कार्यक्रम सम्पन्न गर्न तपाईं आफैले सहजीकरण गर्नुभयो हैन र ?

हो, म पनि निमन्त्रणाको चियरमेन हुँ । पत्र मेरै नाममा पनि गएको हो । मैले कम्बोडियाका प्रधानमन्त्री र म्यनमारका स्टेट काउन्सिलरलाई मेरो सन्देश दिएँ । धेरै ठाउँमा मैले चिनेको भएर विभिन्न राष्ट्र अध्यक्षहरूलाई मैले नै सन्देश पठाएको हुँ । उहाँहरू पनि नेपाल आउन चाहनुभएको थियो । यसबाट उहाँहरूले नेपालमा भ्रमण गर्ने राम्रो अवसर पाउनुभयो । विभिन्न देशका प्रधानमन्त्री, राष्ट्रपति, पूर्वप्रधानमन्त्री, सभामुखलगायतले हाम्रो देशको भ्रमण गर्दा के नराम्रो भयो र ? हामी त्यो कार्यक्रमको निर्माता त होइन । के कसरी गर्ने भनेर हामीले भन्ने होइन ।

 

आफू आयोजक होइन भन्ने अनि आफै निमन्त्रणा पठाएपछि विवादमा तानिने भइहाल्ने हुनभयो नि ? 

मैले आयोजना गरेका कार्यक्रम भनेको कार्ल माक्र्ससम्बन्धी गोष्ठी मात्र हो । यहाँ बोलाउने कुराहरूमा मैले निमन्त्रणा मात्र गरेका हुँ । निमन्त्रणामा मेरो मात्र भूमिका छैन आईक्यापका संस्थापक अध्यक्ष भेनेन्सियाको पनि सहयोग छ । आईक्याप आफैमा योसँग जोडिएको संस्था हो ।

 

यसले अगाडि सारेको विभिन्न कुराहरू सुशासनसँग लिएर जोडिने गरेका छन् । साथै आर्थिक, इन्टर कन्याक्टिभिटी र अहिले विश्वका चुनौतीहरू के हुन् भन्ने बारेमा पनि छलफल भएको थियो । यसबारे गहन विचारहरू आए । हामी मिलेर अघि बढ्नुपर्छ भन्ने कुरा आयो ।

साथै, नेपालको शान्ति प्रक्रियाबाट सिक्नुपर्छ भनेर धेरैले सन्देश बोकेर गए । कसरी द्वन्द्वलाई सहज रूपमा समाधान गर्न सकिन्छ भनेर कार्यपत्रहरू पनि प्रस्तुत भए । यसले नेपालले आफूलाई चिनाउने राम्रो अवसर पायौँ ।

 

भ्रमण वर्ष भनेर सन् २०२० लाई तोकेका छौं, त्यसका लागि पचासौँ कार्यक्रम गर्नुभन्दा त यो एउटै कार्यक्रमले १५०० मानिसलाई आकर्षित गर्यो । ४५ देशका मानिस यहाँ आए । यहाँ आइसकेपछि विभिन्न ठाउँमा गए पनि । माउन्टेन फ्लाइटमा विभिन्न देशका प्रधानमन्त्री, नेताहरू गए । लुम्बिनी र पोखरा पुगे, कतिपय चितवनमा गएका होलान् । कोही केवलकारहरू चढ्न गए ।

 

काठमाडौँ उपत्यकाका ठाउँहरू घुम्न गए । आजै पनि मकहाँ टर्कीको नेता आउनुभएको थियो । उहाँलाई भक्तपुर घुम्न भनें । भोलि लुम्बिनी उहाँ जाँदै हुनुहुन्छ । अझै पनि कतिपय राष्ट्रका राष्ट्रपतिले के भन्नु हुन्छ भने फेरि अर्को पटक म आफ्नो श्रीमतीसहित आउनेछु । मलाई नेपाल धेरै राम्रो लाग्यो । अहिलेसम्म घुम्न पाइएको थिएन । नेपालमा त पटक पटक आइरहुँझैँ लाग्यो भन्नुभयो । यो त राम्रो अवसर हो ।

 

अब सबै राष्ट्रपतिहरूलाई शङ्का गर्न थाल्ने ? उहाँहरू त वर्तमान तथा पूर्वराष्ट्रप्रमुख वा सरकार प्रमुख हुन् । सभामुख तथा मन्त्रीहरू हुन् । यी सबै दिमाग शून्य भएका व्यक्ति त होइनन् होला ? सबै जाने बुझेका व्यक्तिहरू हुन् । यो कार्यक्रम नेपालमा नभएको भए अन्यत्र पनि हुन सक्थ्यो नि ।

 

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रोकिएको सम्मेलन शक्तिशाली कम्युनिस्ट सरकार हुँदा सम्भव भयो कसरी ?

होइन पहिले प्रयास भएकै थिएन ।

 

तपाईंले त्यसभित्रका पनि तीनवटा संस्था छन् भन्नुभयो, फरक फरक कार्यक्रम भएका होलान् तर यही कार्यक्रम त भएको थिएन नि ?

होइन, यूपीएफले पटक–पटक अन्य कार्यक्रम गरेको छ । गिरिजाबाबुको पालामा भएको छ । बाबुराम भट्टराईको पालामा भएको छ । उहाँहरू आफैले उद्घाटन गर्नुभएको छ । यो संस्थाले गर्ने कार्यक्रम त नेपालमा पटक पटक भएको छ ।

 

यही संस्थाको कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहभागिता रह्यो । खिलराज रेग्मीजीको सहभागिता रह्यो । विभिन्न मन्त्रीको सहभागिता रह्यो । नेताहरूको सहभागिता रह्यो । कार्यक्रम त भएको छ नि ।

त्यसो भए किन यो पटक यति धेरै विरोध भयो ?

नेपाल कम्युनिस्ट पार्टीको नाम संसारभरि चल्यो, दुनियाँमा नेपालको नाम चल्यो भनेर कसैलाई पोल्यो होला ।

 

त्यसो भए पार्टीभित्रकै धेरै नेताहरू पनि यो कार्यक्रमको विरोध गरी रहनुभएको छ, किन ? 

ठीक छ । त्यो त बहस गर्न सकिन्छ । छलफल गर्न सकिन्छ । किनभने नेपालको पैसा खर्च भएको छैन । फेरि संसारमा बद्नाम संस्था भन्ने आएको छ । यो बद्नाम संस्था होइन ।

 

यो संस्था र त्यसमा नेतृत्व गरेका व्यक्तिहरू त विवादित छन्, हैन र ? 

यो कुराको बारेमा बहस गरौँ न त हामी । त्यसो भए अबदेखि धर्म मान्ने मान्छे आए के गर्ने त हामी ? हिन्दू धर्मका मान्छे, कोही प्रकाण्ड विद्वान, शङ्काराचार्य आए हामी के गर्ने ? अर्को कुरा राज्य यो कार्यक्रमको आयोजक भएको भनेर आलोचना भएको हो भने त्यो जायज छ ।

 

सुरुमा कार्यक्रमको आयोजककै रूपमा सरकार पनि रहेको थियो । विवादपछि हटाइयो, समर्थनमा भनियो । तर कुनै एउटा गैरसकारी संस्थाको कार्यक्रमका लागि प्रधानमन्त्री आफैले पत्र लेख्नु र राज्य स्रोतको दुरूपयोग गर्नु कति जायज हो ?

त्यो लेख्ने कुरा गल्ती हो । मैले देख्ने बित्तिकै भनेको थिएँ । जब मेरो नजर पर्यो मैले भने कि दुईवटा संस्था यसको आयोजक राख्न हुँदैन । एउटा नेपाल सरकार, अर्को सङ्घीय संसद । यी दुईवटै सहयोगी मात्र हुनुपर्थ्यो । सहयोगको निम्ति आभार व्यक्त गरिनुपथ्र्यो । किनकि जुन देशमा गर्ने हो त्यो देशको सरकारलाई त धन्यवाद दिनै पर्छ नि ।

 

त्यस हिसाबले मूल आयोजक यूपीएफ हो । सहयोगीको रूपमा रहेका भनेका आईक्याप र आईएपीपी हो । त्यहाँ नेपाल सरकार र ससंद लेख्ने काम चाहिँ ठीक भएन । माथि राख्ने काम नै गलत हो । मैले नै यो कुरा उठाएको हो, बरु उहाँहरूको त विवाद भएपछि ध्यान गएको हो । त्यसले पनि अलि बढी विवाद निम्त्याइदियो ।

 

गैरसरकारी संस्थासँग पनि नेपाल सरकारले सहकार्य गर्न सक्ला । यसअघि नगरेको पनि होइन । डीएफआईडीले गरेको कार्यक्रम नेपाल सरकारले आयोजना गर्दैन र ? गर्छ नि । अब गर्नै नसक्ने कुरा त होइन । तर यो भने नेपाल सरकारले आयोजना गर्ने किसिमको कार्यक्रम होइन ।

 

सरकारको नेतृत्व गरेको हुँदा प्रधानमन्त्री जोडिनुभयो । कार्यक्रमको कोर्डिनेरका रूपमा तपाईं त्यहाँ जानुभयो । अन्य मन्त्री र नेताहरूलाई पनि बोलाइएको थियो तर उहाँहरू धेरैको उपस्थिति देखिएन । यो कार्यक्रम ठीक छैन भनेर नै उहाँहरू त्यो कार्यक्रममा नगएको देखिन्छ हैन र ?

होइन, मन्त्रीहरू जानुभयो । प्रदीप ज्ञवालीले ‘पेपर’ प्रस्तुत गर्नुभयो । वनमन्त्रीले पनि ‘पेपर’ प्रस्तुत गर्ने कुरा थियो तर उहाँ बाहिर जानुपर्ने भएकाले त्यहाँ उपस्थित हुनुभएन । प्रधानमन्त्रीले रात्रिभोज दिनुभएको थियो । त्यहाँ उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि पुग्नुभएको थियो ।

 

उपप्रधानमन्त्री त स्वागतकै लागि एयरपोर्टमा पुग्नुभयो । विश्वमा पछिल्लो समय आलोचित बनिरहेका आङ सान सुकी र हुन सेनलाई नेपालमा भव्य स्वागत गरिँदा यसले कूटनीतिक रूपमा असर गर्दैन ? 

 

झन् राम्रो हुन्छ । थाइल्यान्डको पूर्व प्रधानमन्त्री आउनुभयो । हाम्रो प्रधानमन्त्रीको निमन्त्रणामा कति धेरै हाइप्रोफाइल मान्छे आउनुभएको छ । स्वभाविक रूपमा यसले फाइदा गर्छ नि । अब देशमा पर्यटक बढाउनुपर्यो, संसारभरीबाट नेपाल आउनुस् भनेर विभिन्न समयमा भन्ने । यहाँ सम्मेलन गर्नुस्, यहाँको प्राकृतिक वातावरणको तपाईं अनुभव पनि गर्नुस् र संसारभरी सन्देश पठाउनुस् । बुद्ध जन्मेको देशको शान्तिको सन्देश सगरमाथाको सबैभन्दा उचाइबाट पठाइरहेका छौंँ । कति खुसीको कुरा हो ।

 

अचम्म मान्नुपर्ने कुरा के छ भने क्रिस्चियन धर्मकै मानिसहरूले विरोध गरेको देखेको छु मैले । यसमा प्रवेश गरेर साध्य छैन । व्यक्तिको निजी आस्थाको कुरा हो यो । जो व्यक्तिमा धर्मप्रति आस्था छ, उसले मान्छ । उसलाई जुन धर्ममा विश्वास छ, त्यो मान्छ । हामी कसैको धार्मिक आस्थामा हस्तक्षेप गर्दैनौँ । त्यही कारणले त्यहाँ आएका जति सबै क्रिस्चियन भए भनेर ठान्नु गलत हो ।

 

त्यसो भए तपाईंंले हाक जा हान मुनबाट आशीर्वाद लिनुभएन ?

मलाई जनताको आशीर्वाद भए पुग्छ । अब कसैले भन्न आउने कुरा पनि भएन । माधव नेपाललाई कसैले आशीर्वाद लिन आउ भनेर भन्छ ? चिन्या छैन माधव नेपाल कस्तो स्वभावको मान्छे हो भनेर ? म र पाकिस्तानका पूर्वप्रधानमन्त्री लगायत अन्य देशका राष्ट्रपतिहरू त्यहीँ लाइनमा थियौँ ।

 

नेपालमा भएको यो कार्यक्रमले धर्म परिवर्तन गराउनेहरू उत्साहित भएको जस्तो देखिन्छ नि ? 

यो कार्यक्रमबारे क्रिस्चियनहरूकै पनि विरोध छ, मैले अघि भनिहालेँ । यहाँ कसैले धर्म परिवर्तन गराउन खोज्यो भने नेपाल सरकारको कानुन छ, उनीहरू दण्डित हुन्छन् । धर्मका लागि गरिएको कार्यक्रम होइन त्यो, धर्म परिवर्तन गर्नका लागि नेपालको संविधानले अनुमति दिँदैन ।

 

कुनै व्यक्तिले बोल्दाखेरी अल्लाह हु अक्बरबाट सुरु गर्छ । कसैले क्रिस्चियनको देवताको नामबाट गर्ला । कसैले ओमबाट सुरु गर्छ । अब तपाईं के गर्नुहुन्छ ? व्यक्तिको प्रशिक्षणमा जाने कुरा भएन । कुनै धर्म विशेषलाई घृणा गर्नुपर्ने पनि छैन । कुनै धर्मलाई प्रशंसा गर्नुपर्ने पनि छैन । जहाँ जान्छौँ धर्मको राम्रो पक्षको कुरा गर्छौं ।

 

हामी राजनीति गर्नेको कामै त्यही हो । हामी कुनै इस्लाम धर्मको कार्यक्रममा जान्छौं भने त्यहाँ इस्लाम धर्मले राम्रो कुरा सिकाउँछ भन्नै पर्यो । क्रिस्चियन धर्ममा त्यहाँ मान्छेलाई एकता भावनामा गोलबन्द गर्न सिकाउँछ भन्नै पर्यो । हिन्दु धर्ममा जान्छौँ भने राम्रो सेवा गर्नु, पवित्र भावना जन्मियोस्, त्यही भन्छौँ ।

 

एउटा धार्मिक प्रचारक संस्थाको प्रवद्र्धकका रूपमा सरकार र पार्टी जोडिनु गलत भयो भनेर खुलेरै आलोचना गर्नुभएको छ, तपाईंकै पार्टीका नेता भीम रावलले ? 

उहाँले उठाउनुभएजस्तै गलत छ भने यी विषयमा छानविन गर्ने हो ।

 

उहाँले त यो कार्यक्रममा ठूलो आर्थिक चलखेल भएको छ । मान्छेलाई पैसाले प्रभावित पारियो पनि भन्नुभएको छ । 

यदि कोही पैसाले प्रभावित पारिएको छ भने त्यस्ता व्यक्तिलाई दण्ड दिनुपर्यो । पैसाको पछि लाग्ने कोही छ भने दण्ड दिनुपर्यो ।

पार्टीका सिनियर नेताहरूबाट यस्तो गम्भीर प्रश्न उठ्नु भनेको विषय चानचुने त छैन होला ? 

उहाँले के भन्नुभयो, भन्नुभएन त्योबारे म जानकार छैन । मिडियामा आएकै आधारमा चल्नु हुँदैन ।

 

यहाँ कस्तो हुने गरेको छ भन्ने उदाहरण दिन्छु । म घानामा थिएँ तर मिडियामा माधव नेपाल काठमाडौँको एक कुनामा बसेर पार्टीभित्र गुटबन्दी गर्दै छ भन्ने आयो ।

म चितवन बसेको छु, माधव नेपाल काठमाडौँमा रातभरी मिटिङमा थिए भनेर मिडियामा आयो । त्यसैले पेपरमा के लेखेको छ भन्नेको पछि म लागेको छैन ।

 

तर भीम रावलले बोलेको अडियो सबैतिर चर्चामै छ त ?

उहाँको मनमा होला । त्यसबारे सरोकारवालाहरूसँग छलफल बहस होला । पार्टीभित्रबाटै छानविन गर्नुपर्ने देख्यो भने गर्ला । त्यसमा कुनै बदमासी भएको छ । कुनै गल्ती भएको छ वा नराम्रो काम भएको छ, सबैको इज्जत प्रतिष्ठा डुब्ने काम भएको छ भने छानविन गर्ने । होइन भने किन डराउनु ? गल्ती गरेको छ भने पो डराउनु, नभए किन डराउनु ?

 

यो कार्यक्रमबारे पार्टीभित्र छलफल भएको थिएन ?

पार्टीको निर्णय नभएकाले छलफल हुँदैन । किनभने पार्टीको सहभागिता होइन नि त्यहाँ । त्यहाँ त व्यक्तिगत सहभागिता हो । त्यसकारण छलफल भएको छैन ।

 

तर यस्तो विवादित कार्यक्रम आयोजना गर्नमा तपाईंको भूमिका थियो भनेर नै त होला धेरै नेताहरूले दोष तपाईंको टाउको थुपारेका ?

नबिराउनु, नडराउनु । मैले बदमासी वा कुनै गल्ती गरेको भएपो म डराउनु । नत्र किन डराउँछु ? मैले शिर निहुरिने कुनै काम गरेको भए पो डराउनु । किन कि मलाई त्यस्तो काम गर्नु नै छैन । पवित्र भावनाका साथ काम गर्छु । देशको हितमा, राष्ट्रको हितमा, जनताको हितमा नै मैले काम गर्छु ।

 

राष्ट्र र जनताको हितमा काम गरेको भए त अहिले सबैतिरबाट प्रशंसा हुन्थ्यो होला नि ? यो कार्यक्रमपछि त सरकार र सिङ्गो पार्टीकै विरोध भएको छ ? 

यहाँ त राम्रो काम गर्यो विरोध मात्रै हुन्छ । पुल बनायो, त्यहाँ विरोध हुन्छ । बाटो चौडा गर्यो, त्यहाँ विरोध हुन्छ । राहत बाँड्यो, त्यहाँ विरोध हुन्छ । विरोध गर्नेहरूलाई मेरो भन्नु केही छैन ।

 

मैले कतिसम्म अचम्म देखेको छु भने म्याडम मुनको उच्च प्रशंसा गर्दै देउता जस्तो सम्झेर, उहाँको नाम सम्झिनुस् पवित्र हुन्छ भनेर भन्नेहरूले विरोध गरेको देखेको छु । त्यो भाषण भाइरल भइरहेको छ । अब म कति भाषण गरेको छु तर कहिल्यै त्यस्तो बोलेको छैन । त्यस्तो शब्द मेरो मुखबाट कहिल्यै निस्किँदैन । तर सीमा नाघेर मुनको प्रशंसा गर्नेहरूले पनि विरोध गरेको पाएँ । त्यस्तो सुहाउँछ ?

 

विपक्षी दलले विरोध गर्योभन्दा त्यो जायज हुन्छ तर तपाईंकै पार्टीका शीर्ष नेताहरूले विरोध गरिरहनुभएको छ । हैन यो कार्यक्रम ठीक थियो भनेर उहाँहरूलाई चित्तबुझ्दो जवाफ त दिनुपर्यो नि तपाईंले पनि ?

 

जवाफ दिने नि । यो कार्यक्रम गरेर मलाई नराम्रो लागेको छैन । किनभने यो संस्था नै विवादास्पद होइन । संयुक्त राष्ट्रसङ्घसँग जोडिएको संस्था हो । ल बहस गरौँ, कस्तो कस्तो संस्थालाई दिने भनेर कमिटी बनाऊँ छानविन गरौँ । ठीक छ, पार्टीभित्र छलफल हुन्छ, बहस हुन्छ । त्यसले के बिग्रिन्छ र ? कहिलेकाहीँ रिस एकतिर पोखु भन्ने लागेको हुन्छ तर त्यो अन्यत्रै पोखिदिन्छन् । पार्टीभित्र पनि र बाहिरका मान्छेहरूलाई विरोध गर्न मनलागेको बेला के निहुँ पाऊँ, कनिका पोखौँ, त्यस्तै हुन्छ । निहुँ खोजिरहेको बेलामा यसैलाई निहुँ बनाऊँ भन्ने त हुन सक्छ । या मान्छेलाई भ्रम पनि हुन सक्छ ।

 

म त्यत्तिकै कसैलाई आरोप लगाउन चाहन्न । तर, चित्त कहाँ दुख्छ भने आफू सहभागी हुदाँसम्म सबै ठीक हुने, नहुँदा सबै बेठीक ?

अरूले त व्यक्तिगत विरोध गर्नुभएको होला । नेपाली काँग्रेसले पार्टीगत विरोध गरेको छ । शेरबहादुरजी आफै सहभागी हुने । काँग्रेसका एक से एक मन्त्रीहरू सहभागी हुने । गिरिजाबाबुदेखि सुशील कोइरालासम्म सहभागी हुने । सुजाता कोइरालादेखि लिएर अरू सबै सहभागी हुने, अनि अहिले आफै विरोध गर्ने ? यसरी विरोध गर्नलाई अन्तर्राष्ट्रिय अपराधी नै हुनुपर्यो ।

 

धर्मान्तरणका लागि लागेको भनेर त्यो विवादित संस्था, त्यसमा पनि त्यसका संस्थापक फादर मुन घोर कम्युनिस्ट विरोधी । कम्युनिस्ट सरकारले नै किन यो कार्यक्रमलाई प्रवद्र्धन गर्यो भनेर प्रश्न उठ्नु स्वभाविक हैन र ?

तपाईं कस्लाई कम्युनिस्ट समर्थक मान्नुहुन्छ ? सबै मान्छे कम्युनिस्ट समर्थक हुनुपर्छ भन्ने छ ? म अमेरिका एउटा कार्यक्रममा जाँदा मैले भाषण गर्नुपूर्व एकजनाको भाषण सुन्दै थिएँ । उनले कम्युनिस्टको खिल्ली उडाउँदै कम्युनिस्ट मान्छे नै होइन भने । त्यहाँ म जुरुक्क उठेर भने, ‘म हो कम्युनिस्ट । के म दैत्य जस्तो छु ? के हाम्रो देशको पार्टी भनेको दैत्य हो ? कसलाई खाएको छ ? कसको रगत चुसेको छ ? जनताले भोट दिएका छन् । जनताले वाह वाह गर्छन् ।’

 

 

यो कार्यक्रमले नेपाललाई के फाइदा भयो ?

नेपालको प्रवद्र्धन भयो । पर्यटनमा फाइदा पुर्यायो । यहाँ आएका सबैले नेपाललाई प्रत्यक्ष देख्न पाए । उनीहरू जहाँ जान्छन् नेपालको चर्चा गर्छन् । चाहिएको हामीलाई यही त हो । नेपालको चर्चा गरून् भनेर पर्यटन दूत बनाउँछौँ । तर, कार्यक्रमका आएका सबै दूत जस्तै हुन पुगे ।

 

लन्डन जाँदा एउटा गीत गाउँदा नेपालको प्रचार हुन्छ । अमेरिका जाँदा एउटा नेपाली कलाकारको प्रस्तुतिले तहल्का मच्चाउँछ । जापानमा जाँदा नेपालबारे १० मिनेटको स्लाइड देखाइएको थियो, त्यसले त्यहाँका मानिस प्रभावित भए । यहाँ त त्यो कार्यक्रममा नेपालकाबारे धेरै सेसन राखिएको थियो । किन मानिसहरूलाई पोलेको होला ? मैले कुरा बुझ्न सकेको छैन ।

बबिता शर्मा रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा

रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले