काँग्रेसभित्र जवानीको खोजी



हाम्रो इकोनोमि

 

‘मेरो शरीर पो बुढो भएको हो, मनमा त जवानी उम्लिरहेको छ नि !’ मान्छेलाई बुढ्यौलीले छोएपछि हुने यस्ता गफहरू हामीले प्रायः सुन्दै आइरहेका छौं । तर डाक्टरहरूका अनुसार शरीरले बुढ्यौली छुने बेलादेखि कतिपय ‘जवानीका हार्मोन’हरू निष्क्रिय हुँदै जान्छन् । यौनको भोक जागिरहनु मात्र तन्नेरी भएको संकेत होइन अर्थात राजनीतिक भाषामा, सत्ताको भोक जागिरहनु मात्र ‘तन्नेरी पार्टी’ भएको प्रमाण हुँदै होइन ।

 

‘वृद्धहरूको पार्टी’ बनेको नेपाली काँग्रेसभित्र यदाकदा उमेर, अवकाश जस्ता विषयहरूले छलफलमा स्थान पाउने गरेका छन् तर बारम्बार हुने ति प्रस्तावहरु छलफलमै केन्द्रीत हुने गरेका छन् ।

 

नेपाली काँग्रेसभित्र युवानेता नै नभएका भने होइनन्, तर ठाउँ जति सबै वयोवृद्धहरूले ओगटिरहेका देखिन्छन् । यस्तो प्रतित हुन्छ, मानौं नेपाली काँग्रेसमा कुनै पदाधिकारीको जिम्मेवारी लिनको लागि ७० वर्ष पुग्नै पर्ने छ । अर्थात नेपाली कांग्रेसमा नेता बन्नको लागि एउटा प्रमुख योग्यता भनेको बुढो हुनु हो ।

 

केही साताअघिदेखि काँग्रेसका एक दर्जन हाराहारीका केन्द्रीय सदस्यहरुले ७० वर्ष उमेर कटेका नेताहरुलाई कार्यकारी भूमिकाबाट बिदा गर्नुपर्ने भन्दै लबिइङ तीब्र पारेका थिए । यसबारेमा समान धारणा बनाउन उनीहरुबीच छुट्टै छलफल समेत भएको थियो । सो छलफलमा गगन थापासहित चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल, गुरु घिमिरे, बद्री पाण्डे, कमला पन्त र कल्याण गुरुङ लगायतका नेताहरु सहभागि थिए ।

 

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा गगन थापाले पार्टीबाट रिटायर्ड हुने उमेर ७० वर्ष हुनुपर्ने र यसलाई विधानमा किटेरै लेख्नुपर्ने अभिव्यक्ति दिए । ‘वृद्ध नेताहरुको पार्टी’ बनेको नेपाली काँग्रेसमा शुरू भएको यस बहसले काँग्रेसलाई फेरि जवान बनाउन सक्ला कि नसक्ला भन्ने जिज्ञासा आम जनता र काँग्रेस पार्टी कार्यकर्तामा सृजना भएको छ ।

 

कांग्रेसका अधिकांश केन्द्रीय समिति सदस्यहरू बुढा भैसकेकाले उमेरहदको यो प्रावधान लागू गर्न निकै कठिन देखिएको छ । अहिले केन्द्रीय समितिमा रहेका मध्ये बाटै धेरैजना पदाधिकारीमा दोहोरिने भएकाले र आफ्नो पालो आउँदा आफू पनि बुढो हुनुपर्ने देखेर काँग्रेसभित्रका अधिकांश युवा नेताहरूले उमेरहदको प्रस्ताव गर्ने गरेका छन् ।

 

केही समयअघि नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघमा पनि ३२ वर्षे उमेरहदको प्रावधान कायम गरिएको थियो । त्यसैलाई उदाहरण मानेर मातृ पार्टीमा पनि उमेरहद कायम गर्नुपर्ने बहस चलेको विषयले बुढा केन्द्रीय सदस्यमाथि बज्रपात पार्न सक्छ ।

 

काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका डाक्टर मिनेन्द्र रिजाल यो बहस सकारात्मक भएको बताउँछन् । ‘बयोवृद्ध नेताहरूले पुनः एकपटक योगदान गर्नुपर्ने आवश्यकता छ’, रिजालको भनाइ छ । तर उमेरहद तोक्नुपर्ने आवश्यकता भने नभएको रिजालको तर्क रहेको छ ।

 

रिजाल भन्छन्, ‘दोस्रो पुस्ताका नेताहरूको लागि नेपाली काँग्रेसको पहिलो पुस्ताले बाटो खोलिदिनुपर्छ, यसबारेमा म मेरो पालो आएपछि केन्द्रीय समितिको बैठकमै धेरै कुरा बोल्नेछु ।’ तर दोस्रो पुस्ताका नेताहरूको उमेर पनि ढल्कदै गएको अवस्थामा उमेर हदको बहस ढिलो भएन र रु भन्ने प्रश्नको उत्तर भने रिजालसँग छैन ।

 

केही दिनदेखि नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा प्रस्तावित विधान संशोधनको दफावार छलफल चलिरहेको छ । सो छलफलबाट एक संयुक्त डकुमेन्ट तयार गरेर बैठकमा पेस गर्नेसम्मको तयारी गरिएको छ तर त्यस्तो डुकमेन्ट भने पेस भइसकेको छैन । यद्यपी गगन थापाले काँग्रेसलाई पुनर्ताजगी र गति दिने पहलका साथ ७० वर्षे उमेरहदको प्रस्ताव गरेका छन् ।

 

नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने बहस बारम्बार हुने गर्दछ । तर उमेरहदको विषय भने यदाकदा छलफलमा उठ्ने गरेता पनि बहसकै गतिमा चलेको छैन । नेता थापाले केन्द्रीय समितिमा छलफलको क्रममा ल्याएको उमेरहदको प्रस्तावले वृद्ध नेताहरूलाई ‘इजी एक्जिट’ गर्न सजिलो हुन्छ भने राजनीतिमा युवापुस्ताको प्रभाव बढ्ने सम्भावना रहन्छ ।

 

भारतकी सफल नेतृ तथा हालकी परराष्ट्रमन्त्री सुष्मा स्वराजले आगामी २०१९ को आमचुनाव नलड्ने घोषणा गरेकी छिन् । उनले आफ्नो स्वास्थ्य र उमेरलाई देखाएर उक्त घोषणा गरेकी हुन् । तर यस्ता कुराले नेपालका नेताहरूलाई केही फरक पार्दैन । विदेशिएका राष्ट्रभक्तहरू आफ्नै माटोमा मर्न पाउँ भन्दै देश फर्किन्छन्, तर बुढा नेताहरू पदमा रहँदा रहँदै ‘इहलिला’ समाप्त होस् भन्ने कामना गर्छन् र आफूलाई पार्टीको कार्यकारी पदमा राखिराख्न प्रयास गर्छन् ।

पछिल्लो समय त नेपाली कांग्रेसमा सभापति बाटै मात्र नभइ संसादबाट नै विदा हुने परम्पराजस्तै देखिएको छ ।

 

लामो समयम काँग्रेस सभापति रहेका गिरिजाप्रसाद कोइरालाले अन्तिम स्वास लिउन्जेल सभापति पद छोडेनन् । त्यसपछि सभापति बनेका सुशील कोइरालाको निधन उनी सभापति भएकै बेलामा भएको थियो ।

 

केहीदिनअघि एक कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले कर्‍याङकुरुङ चराको कहानी सुनाए । ‘कर्‍याङकुरुङ चरा पखेटा जोेडेर हजारौ माइलको यात्रा तय गर्दछ । जुन चरा बुढो हुन्छ उसले अरुको पखेटा थामेर उड्न सक्दैन । उसको भार अरुले थामिदिनु पर्छ, उड्न नसक्ने चराले अरुको अगुवाई गर्न सक्दैन’, कोइरालाले चराको कथा सुनाउँदै भने, ‘मेरो कुरा तपाइहरुले बुझिसक्नु भयो, कांग्रेसको हजारौ पाइलको यात्रा पुरानो चराले अगुवाई गर्न सक्दैन ।

 

अब म नेतृत्व गर्न चाहान्छु ।’ सोही कार्यक्रममै त्यसको जवाफ दिँदै काँग्रेस सभापति शेर बहादुर देउवाले कोइरालाले नेतृत्व छाड्न गरेको आग्रहलाई ठाडै अस्वीकार गरे । ‘म थाकेकै छैन कहाँ पालोपालो गर्नू’ देउवाले भने, ‘कर्‍याङकुरुङ थाकेको होला, म थाकेको छैन, म थाक्नेवाला क¥याङकुरुङ पनि होइन ।’

 

सभापति देउवाको आशयले के देखाउँछ भने उनी पनि तत्काल सभापतिको पद छाड्नेवाला छैनन् र आगामी महाधिवेशनमा आफूलाई सभापतिको निर्विकल्प उम्मेदवार देखाउन चाहन्छन् ।

 

उमेर ७२ काटेका देउवामा अझै पाँच वर्ष पार्टीको नेतृत्व हाक्ने र ताकपरे सरकारको पनि नेतृत्व अभिलाषामा छन् । त्यसो त देउवाले संघीय चुनावको प्रचार प्रसारका क्रममा आफूलाई ज्योतिषीले अझै तीन पटक प्रधानमन्त्री बन्छस् भन्ने भविष्यवाणी गरेको सुनाएर ‘जग हसाए’का थिए । यस अर्थ तत्कालै काँग्रेसले ‘जवान नेतृत्व’ को अपेक्षा गर्ने अवस्था देखिँदैन ।

 

गर्विलो इतिहास

कुनै समय यस्तो थियो नेपाली काँग्रेसमा नेताहरू सबै युवा हुने गर्दथे । १९७१ सालमा जन्मेका बीपी कोइराला २०१५ सालमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका थिए । उनले ४५ वर्षको उमेरमा नेपालको प्रधानमन्त्री बनेर देखाइदिए । लामो जेलजीवन र जहाँनिया राणाशासन अन्त्यको मशाल बालेका कोइरालाको योगदानलाई भजाउँदै काँग्रेस आजपर्यन्त जीवित छ ।

बीपी कोइरालाले स्थापना गरेको पार्टी नेपाली काँग्रेसमा हाल अधिकांश नेता वयोवृद्ध अवस्थामा छन् ।

 

१९७२ सालमा जन्मेका गणेशमान सिंह ४५ वर्षको उमेरमा मन्त्री बने । प्रधानमन्त्री बन्ने अवसर पाउँदा समेत गणेशमानले पदलाई अस्वीकार गरे । तर अहिले काँग्रेस नेतृत्व उनको पथलाई तिलान्जली दिँदै कुँदिरहेको छ ।

 

१९६७ मा जन्मेका सुवर्ण शमशेर राणा ४५ हाराहारीमा मन्त्रिपरिषदको अध्यक्ष बनिसकेका थिए । उल्लेखित व्यक्तित्वहरु पार्टी स्थापना गरेर अहिलेको स्थितिसम्म ल्याइपुर्‍याउने मार्गदर्शक नेता थिए । तर नेपाली काँग्रेसको अहिलेको नेतृत्वले पुरानो नेतृत्वलाई भजाएर भोट ल्याउन सफल रहे पनि पुरानो नेतृत्वको कुनै ‘खासियत’ बोक्न तयार देखिएको छैन ।

 

के कुरा सत्य हो भने, नेपालमा तत्कालीन राजा महेन्द्रले तीस वर्षे पञ्चायती शासन लागू नगरेको भए अर्थात २०१७ सालमा ‘कू’ नगरेको भए हालका नेपाली कांग्रेसका वयोवृद्ध नेताहरूले धीत मरुन्जेल पार्टी र देश चलाउने मौका पाउने थिए । धेरै नेताहरूले पञ्चायत विरुद्ध संघर्ष गर्दा गर्दै जवानी गुमाए । यो आफ्नो पार्टी र देशको लागि उनीहरूको ठूलो योगदान थियो तर यसको अर्थ अन्तिम स्वास नलिँदासम्म नेता बनिरहनुपर्छ भन्ने पनि होइन  ।

विधानमा उमेरहदको प्रावधान राखेर नेपाली काँग्रेसले पार्टीलाई ‘जवान’ बनाउने दिशातर्फ कदम चाल्न सकोस्, अहिलेलाई शुभकामना मात्र दिन सकिन्छ ।

(ईश्वर अर्याल  लोकान्तरबाट)

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...