मकवानपुर चेपाङ गाउँमा श्रृंखलाले बनाएको हेल्थपोष्ट जहाँ अहिले दैनिक एक सय जानाले सेवा लिन्छन



 

चीनको सान्यामा जारी रहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालकी सुन्दरी श्रृंखला खतिवडाले दुईवटा अवार्ड आफ्नो नाममा पारिसकेकी छन् । सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्यूटी विथ प्रपोज’ को अवार्ड जितेसँगै अन्तर्राष्ट्रियस्तरमा उनको चर्चा चुलिएको छ ।

 

उनले जितेको मल्टिमिडिया अवार्डमा उनका समर्थकहरुको हात थियो किनकि यो अवार्ड पब्लिक भोटिङको आधारमा दिइन्छ । ब्यूटी विथ प्रपोजको अवार्ड भने उनले आफ्नै बलबुतामा हासिल गरेकी हुन् । श्रृंखलाले यो अवार्डका लागि आफूले प्रस्तुत गरेको भिडियो सार्वजनिक गरेकी छन् । यो आठ मिनेट २१ सेकेन्डको भिडियोमा छर्लंग देखिन्छ उनले गरेको दुख र मिहिनेत ।

 

मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङ, जुन गरिबी र अशिक्षाले आक्रान्त छ ।

 

राजधानीबाट केही सय किलोमिटर मात्रै दुरीमा रहेता पनि यहाँ बिजुली, पानीलगायत कुनै पनि आधारभूत सुविधा छैनन् । यहाँका बस्ती र रहनसहन हेर्दा कुनै आदिम समयको झल्को आउँछ ।

‘तर, यहाँका मानिसहरुको अनुहारमा मुस्कानको भने कमि छैन,’ भिडियो निर्देशक सिसन बानिया भन्छन् ।

 

यहाँँ पुग्न नै कुनै एड्भेन्चरभन्दा कम थिएन । श्रृंखला भिडियो खिच्न त्यहाँ जाने क्रममा पनि बाटोमा एउटा जीप दुर्घटना भएको थियो । श्रृङ्खलाको निर्देशनमा उनको गाडीका चालकले दुर्घटनाका घाइतेलाई नजिकको हस्पिटल पुर्‍याउन सहयोग गरे ।

 

मनहरीको पुल हुँदै सडक छोडेर उनको टोली दक्षिणतिर लाग्यो । त्यहाँ खोला सुकेको बेला मात्रै गाडी चढ्थ्यो ।

चेपाङ बालबालिकाहरु हाम्रो टोलीलाई देखेर अचम्म मानिरहेका थिए,’ बानियाँले यूट्यूवमा राखेको आफ्नो भ्लगमा भनेका छन् ।

यहाँका गाउँवासीहरुको अवस्था दर्दनाक छ । हरेक परिवारमा कम्तिमा पाँच–५ छोराछोरी जन्मिने । उनीहरुमध्ये अधिकांस कुपोषणले ग्रस्त । बालबालिका शिक्षादिक्षाबाट पनि टाढा छन् । सबैको हेरविचार गर्न बाबुआमाले नभ्याउने भएकाले बच्चाहरुले नै आफूभन्दा साना बच्चा हेर्नुपर्ने ।

 

श्रृंखलाले घर–घर डुल्दै गाउँवासीहरुको पिरमर्का बुझिन् । उनलाई सबैभन्दा बढी खड्कियो स्वास्थ्योपचारको समस्या । बिरामी हुँदा धामी झाँक्रीको भर पर्थे गाउँवासी । उनीहरुले कहिल्यै हस्पिटलको मुख देख्न पाएका थिएनन् र अनेक रोग पालेर बसेका थिए ।

 

उनीहरुको वार्षिक आम्दानी औसत बीस हजार । खेतबाट भएको सामग्रीले खान पुग्दैन । उत्पादन गरेको सामग्रीले बजार पाउँदैन । जति अभावग्रस्त भए पनि हाँसिखुशी नै बाँचिरहेका छन् उनीहरु ।

 

यो भिडियो बनाउन जानुभन्दा अगाडि नै श्रृंखला आफ्नी आमा मुनु सिग्देललाई लिएर सो गाउँमा पटक–पटक पुगेकी थिइन् । उनले हेल्थ पोष्ट भवन बनाउन स्थान छनोट गरिसकेकी थिइन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले आफैं विल्डिङ डिजाइन गरिन् । ६ महिनासम्म स्रोत जुटाउनेदेखि विभिन्न गृहकार्यहरुमा व्यस्त भइन् । ५० लाख रुपैयाँ नेपालीहरुबाटै जम्मा गरिन् ।

 

हेल्थ पोष्टको पहिलो दिन १० जना विभिन्न विधाका डाक्टरहरु लगेकी थिइन् । त्यहाँका धेरैको लागि यो पहिलो हस्पिटल अनुभव थियो ।

हेल्थ क्याम्पमा २ सय ७० जना बिरामी आए । ७० थरीका औषधि निशुल्क वितरण गरिए । कतिपय अशक्त बिरामीहरु डोकोमा बोकिएर आएका थिए ।

 

श्रृंखलाले दशैंको उपचारस्वरुप बच्चाहरुलाई जाडोमा लगाउने लुगा पनि प्रदान गरियो । यो गाउँमा बालबालिकालाई नयाँ लुगा लगाउन दशैं नै आउनुपथ्र्यो । त्यसैले नयाँ लुगा लगाउन पाउँदा उनीहरुलाई दशैं आए बराबर भयो ।

 

भिडियोको मेकिङ उत्कृष्ट छ । भिडियोको अन्त्यमा श्रृंखलाले भनेकी छन्, ‘यो गाउँमा अरु धेरै गर्न बाँकी छ, र कैलाश जस्ता गाउँहरु थुप्रै छन् । तर, साझा प्रयासले सबै सम्भव तुल्याउन सकिन्छ । एउटा भवनले समुदायलाई परिवर्तन गर्छ, एउटा व्यक्तिले देश परिवर्तन गर्न सक्छ र एउटा विचारले सिंगो संसारलाई परिवर्तन गर्न सक्छ ।’

 

श्रृंखलाको भिडियोमा अत्यधिक सकारात्मक प्रतिक्रियाहरु आएका छन् । भिडियोलाई नेपाली मात्रै होइन, विदेशी दर्शकले पनि उत्तिकै मन पराएको पाइन्छ । धेरैले यसपाली उनी मिस वल्र्डको हकदार भएको बताएका छन् । यस्तो कमेन्ट गर्नेमा भारतीय पनि छन् ।

 

तर, यतिबेला खोला बढेको थियो । अत्यन्त अप्ठेरो पहाडी बाटोमा गाडी पटकपटक रोकियो ।काठमाडौंबाट हिँडेको दोस्रो दिनमा श्रृंखलाको टोली कैलाश गाउँपालिका पुगेको थियो ।चार दिनसम्म श्रृंखला सो गाउँमा रहिन् । त्यहाँको निर्माणाधिन वडा कार्यालय भवनमा उनी बास बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने